प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक

काठमाडौँ । काठमाडौँका सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोध र प्रदर्शन गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार एक सूचना जारी गर्दै सिफल, कोटेश्वर र बल्खु बाहेकको क्षेत्रमा विरोधका कार्यक्रमम गर्न निषेध गरेको हो । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तीन स्थानभन्दा बाहेक अन्यत्र विरोधको कार्यक्रम नगर्न आदेश जारी गरेका हुन् ।




सिफल चौर, कोटेश्वरबाट बालकुमारी र बल्खु क्षेत्रबाहेक अन्यत्र दुई महिनासम्म धर्ना, घेराउ, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस क्षेत्रमा जनमानसमा त्रास, अवरोध वा अशान्ति फैलाउने खालका कार्यक्रम गर्न रोक लगाइएको जिल्ला प्रशासनले जनाएको छ । सार्वजनिक सेवामा अवरोध उत्पन्न हुने, सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने तथा सामाजिक सद्भावमा असर पार्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको प्रशासनले जनाएको छ ।
विरोध प्रदर्शनको कारण अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह तथा सार्वजनिक यतायात सञ्चालनमा असहजता भएको जनगुनासोको आधारमा सो निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
एसएसपी अधिकारीका अनुसार सोमबारदेखि माइतीघरलगायत यसअघि प्रदर्शन गरिँदै आएको क्षेत्रमा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
राजावादीको गतिविधिलाई लक्षित गरेर प्रशासनले पछिल्लो कदम चालेको हो ।

प्रतिक्रिया दिनुहोस्