प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण : के–के हुँदैछन् सम्झौता ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) थाइल्यान्ड भ्रमणमा जाने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैँठौ समिटमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन् ।
थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको पहिलो औपचारिक विदेश भ्रमण हो । उनको भ्रमणको तयारी प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।




प्रधानमन्त्री ओलीले त्यहाँका प्रधानमन्त्री सिनावात्रासँग विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले थाइल्यान्ड सरकारले केही सम्झौतामा हस्ताक्षर हुन सक्ने र त्यसको तयारी चलिरहेकाले टुंगो लागिसकेपछि जानकारी गराइने बताए ।
प्रधानमन्त्री ओली आज मध्याह्न थाइल्यान्डतर्फ जाने जानकारी दिँदै उनले त्यसअघि भ्रमणबारे विस्तृत जानकारी आउने बताए ।
अप्रिल २ अर्थात २० गते प्रधानमन्त्री ओलीको स्वागत थाई सरकारले एक कार्यक्रमको आयोजना गर्नेछ । सो कार्यक्रमपछि दुई प्रधानमन्त्रीबिच औपचारिक भेटघाटा तथा वार्ता हुनेछ र त्यहाँ केही समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
नेपाल सरकार र थाइल्यान्डबिच पर्यटन, संस्कृति, औषधि, कृषि र शिक्षा गरी पाँच क्षेत्रमा समझदारी हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा समझदारी हुनुका साथै शिक्षा क्षेत्रमा छाात्रवृत्तिलगायतमा समझदारी हुने बताइएको छ । साथै दुवै राष्ट्रहरूले साझा वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्न कृषि व्यापार विस्तार गर्ने र जलवायु परिवर्तन न्यूनीकरण रणनीतिहरूमा समझदारी हुने बताइएको छ ।
दुईपक्षीय भेटघाटमा आर्थिक सहयोग तथा दुई देशका जनताबिचको सम्बन्ध अझै बलियो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।
यो भ्रमणले थाइल्यान्ड र नेपालबीचको सम्बन्धलाई सुदृढ, नयाँ व्यापार व्यवसाय विस्तार गर्न र दुवै देशका लागि विभिन्न क्षेत्रहरूमा सहयोग प्रवद्र्धन गर्न महत्वपूर्ण कदम हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत सरकारका उच्चपदस्थ अधिकारीसहित २३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ ।
औपचारिक द्विपक्षीय भेटघाटपछि प्रधानमन्त्री ओलीले थाइल्यान्डले आयोजना गर्ने बिम्स्टेकको छैटौं समिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । सोही क्रममा विभिन्न देशमा प्रमुख तथा प्रतिनिधिसँग साइडलाइन वार्ता र छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
ओलीले चैत २२ गते सो समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । समिटलाई सम्बोधन गरेर उनी २३ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत सरकारका उच्चपदस्थ अधिकारीसहित २३ सदस्यीय प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ ।
सन् १९९७ मा स्थापित, बिम्स्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड रहेका छन् । थाइल्यान्डमा अप्रिल ३ र ४ मा हुने बिम्स्टेकको सम्पूर्ण तयारी पूरा भएको थाई सरकारका प्रवक्ता जिरायु हौंगसुबले त्यहाँका सञ्चारमाध्यमलाई जनाएका छन् ।
बिम्स्टेक सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिहरू अप्रिल १ देखि आउने थाल्ने उनले सञ्चारमाध्यमहरूसँग भनेका छन् । भूकम्पबाट पीडित बनेका म्यानमारका प्रधानमन्त्री पनि बिम्स्टेकमा भाग लिन आउने निश्चित भएको उनले जानकारी गराएका छन् ।
अप्रिल ३ मा थाई प्रधानमन्त्री सिनावात्राले त्यहाँका एक होटेलमा बिम्स्टेक समिटमा भाग लिन आउने पाहुनाको स्वागतमा रात्रिभोज आयोजना गरेकी छन् । समिटको उद्घाटन ३८ वर्षीय प्रधानमन्त्री सिनावात्राले गर्ने बताइएको छ । बिम्स्टेकले २०३० सम्ममा ‘समृद्ध, लचिलो र खुला क्षेत्र’ स्थापना गर्ने लक्ष्य राखेको ।
प्रतिक्रिया दिनुहोस्