प्रचण्डको ध्यान पूर्वतिर

काठमाडौँ । सत्ताबाट बाहिरिएपछि वर्ग समुदायतर्फ केन्द्रित भएको नेकपा माओवादी केन्द्रले पूर्वी क्षेत्रमा विशेष ध्यान दिएको छ । २०६४ को झल्को दिनेगरी २०८४ को आम निर्वाचनमा ठुलो दलको रूपमा आफूलाई स्थापित गर्न माओवादीले पूर्व क्षेत्र अर्थात् सहरी क्षेत्रलाई विशेष ध्यान दिएको हो ।
२०७९ को निर्वाचन पश्चात् कांग्रेस र एमालेको समर्थनमा करिब १९ महिना सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत वर्ष असार ३१ गते सत्ताच्युत भएका थिए । दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर प्रचण्ड नेतृत्वको सरकारलाई किनारा लगाएका थिए ।





असार १७ गते राति एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको ७ बुँदे सहमतिको आधारमा अहिले ओली प्रधानमन्त्री छन् । त्यस यता माओवादी वर्ग समुदायमा आधारित जागरण अभियान सञ्चालन गरिरहेको छ ।
वैशाख १७ गते पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गरेको उसले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान घोषणा गरेको छ । सत्ताबाट हटेपछि देश दौडाहामा निस्किएका प्रचण्ड पूर्वी क्षेत्रमा मात्रै ११ पटकभन्दा बढी पुगेका छन् । गत साउन महिनाभर चलेको माओवादीको पदाधिकारी र स्थायी समिति बैठकले शान्ति प्रक्रियामा आएदेखि लामो समयसम्म सत्तामा केन्द्रित हुँदा वर्ग समुदायसँग सम्बन्ध टुट्दै गएको निष्कर्ष निकालेको थियो ।
२०८४ को आम निर्वाचनमा आफ्नै खुट्टामा उभिएर बलियो पार्टी बनाउने गरी जागरण अभियान सञ्चालन गर्नुपर्ने निर्णय बैठकले गरेको थियो । साउनको अन्तिम साता सम्पन्न स्थायी समिति बैठकले सबै प्रदेशमा प्रदेश परामर्श समिति बैठक राख्ने निर्णय गर्यो ।
- १० महिनामा झण्डै १५ पटक पूर्व केन्द्रित कार्यक्रम
माओवादी केन्द्रले गत भदौ २२ र २३ गते कोशी प्रदेश परामर्श समिति बैठक राखेको थियो । त्यस बैठकमा अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरू सहभागी थिए । भदौ २४ गते प्रचण्ड उदयपुरमा भएको पार्टीको कार्यक्रममा सहभागी भए । भदौ २९ गते विराटनगर खबरदारी सभामा सहभागी भएका उनी भदौ ३० गते ओलीको गृहजिल्ला झापामा पुगेर एमाले लगायत विभिन्न पार्टीबाट ठुलो संख्यामा नेता तथा कार्यकर्तालाई माओवादीमा प्रवेश गराए ।

पुस १५ गते फेरि झापा पुगेका प्रचण्डले पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिए । पुस १८ गते उदयपुरको विभिन्न कार्यक्रममा सहभागी भएका उनले पुस २१–२३ गते काठमाडौँमा केन्द्रीय समिति बैठक बोलाए । सोही बैठकले गठबन्धन सरकारको भण्डाफोर गर्ने, पार्टी नेतृत्व र जनताबिच सम्बन्ध पुनर्स्थापना गर्न पूर्व–पश्चिम मार्ग केन्द्रित ठुल्ठुला अभियान सञ्चालन गर्ने निर्णय गर्यो ।
माघ ५ गते विराटनगरको ग्रामथान–२ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका प्रचण्ड फागुन १२ देखि १५ गतेसम्म पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी जागरण अभियान अन्तर्गत झापा, मोरङ र सुनसरी आसपासको क्षेत्रमा सहिद, बेपत्ता परिवारसँग भेटघाट, विरोधसभा, अन्तर्क्रिया कार्यक्रममा सहभागी भए ।
२०८२ वैशाख ७ गते विराटनगरका विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्ड वैशाख २७ गते पाँचथरको फिदिममा आयोजित कार्यक्रममा सहभागी भए । वैशाख २८ गते किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त कार्यक्रममा सहभागी हुन उनी धरान पुगेका थिए ।
वैशाख २१ गते बसेको माओवादीको पदाधिकारी बैठकले हुलाकी मार्ग केन्द्रित अभियान बहुआयमिक रूपमा सफल भएको निष्कर्ष निकाल्यो । अभियानबाट निकै हौसिएका माओवादी जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णयमा पुग्यो । अभियानको क्रममा करिब एक करोड जनतासँग प्रत्यक्ष तथा परोक्ष संवाद भएको माओवादी नेताहरूले दाबी गरेका छन् ।
- पूर्वमा किन आकर्षित ?
माओवादी केन्द्रका उपमहासचिव एवं कोशी प्रदेशका इन्चार्ज हरिबोलल गजुरेलले २०६४ को वैभव फर्काउनका लागि पूर्वी क्षेत्र अर्थात् सहर केन्द्रित अभियान चलाउनुपर्ने प्रस्ताव पदाधिकारी, स्थायी समितिमा गरेका थिए । १४ जिल्ला रहेको कोशी प्रदेशमा त्यतिवेला ४४ निर्वाचन क्षेत्र थियो । तीमध्ये माओवादीले २२ सिट जितेको थियो । दोस्रो ठुलो दल कांग्रेस र एमालेले ८/८ सिट जिते । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले ६ सिट जितेको थियो ।
२०६४ सालको निर्वाचनमा सबैभन्दा ठुलो दल बनेको माओवादीले त्यसपछिको निर्वाचनमा जनतासँग भन्दा सत्तासँग बढी केन्द्रित भयो । जनतासँग पार्टी सम्बन्ध टुट्दै जाँदा माओवादी आन्दोलन कमजोर भएको गजुरेलले विश्लेषण गरे । माओवादीको आधारभूमि रहेको रुकुम, रोल्पा, गोरखा, सिन्धुली लगायत क्षेत्र पार्टी संगठन मजबुत भए पनि पूर्वी तथा सहरी क्षेत्रमा संगठन विस्तारमा ध्यान दिन नसक्दा ठुलो क्षति भएको उनले निष्कर्ष सुनाए ।

‘हामीले विचारलाई दह्रोसँग समाउन सकेनौँ । वर्गलाई छोड्यौँ । हाम्रो सबैभन्दा ठुलो कमजोरी त्यही भयो । वर्गसँग राम्रो सम्बन्ध भएमा विचारको विकास हुन्छ । नयाँ विचार जन्मिन्छ । नयाँ विचारसँगै वर्गसँग जोडियो भने शक्ति बन्छ । जनता नै इतिहासका निर्माता हुन् । माओवादी अहिले त्यही शृङ्खलामा अगाडि बढ्दैछ’, उनले भने ।
२०७० सालको निर्वाचनपछि पूर्व क्षेत्रलाई उपेक्षा गर्दा पार्टीलाई निरन्तर क्षति भएको गजुरेलको जिकिर छ । मिसन–२०८४ पूरा गर्न पार्टी अब सत्तामा जान नहुने निष्कर्षमा नेताहरू पुगे । सोही अनुसार नेताहरूको समेत कार्यविभाजन भयो । गजुरेल कोशीका इन्चार्जको जिम्मेवारी लिएर पूर्वक्षेत्रमा सक्रिय रहे ।
गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न उनीसहित सिङ्गो पार्टी एकजुट भएर लाग्यो । आदिवासी जनजातिहरूको बाहुल्यता रहेको कोशी प्रदेशमा पहिचानको मुद्दालाई माओवादीले प्रमुखताका साथ उठायो । सरकारमा हुँदा गरेका राम्रा कामको ग्रास रुटमै गएर प्रचार गर्यो । विगतमा भएका गल्ती–कमजोरी अब नदोहोर्याउने बाचासहित जनताका मुद्दालाई प्राथमिकताका साथ उठाएकाले उपनिर्वाचनमा महत्त्वपूर्ण सफलता हासिल भएको गजुरेलले बताए ।
कोशी प्रदेशका स्थानीय तहका ८ पदमा भएको निर्वाचन परिणाम अनुसार ग्रामथान गाउँपालिका अध्यक्षसहित दुई वडाध्यक्ष माओवादीले हात पार्यो ।
मत परिणाम अनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा कांग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको थियो । माओवादीले कांग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पायो । स्थानीय तहको चुनावी परिणामबाट हौसिएको माओवादीलाई चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनले थप मनोबल बढायो ।
४९ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो र माओवादी निकट अखिल क्रान्तिकारी समग्रमा तेस्रो स्थानमा रहे । दुई ठुला संगठन नेविसंघ र अनेरास्ववियुको दबदबा रहेको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भयो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ एमाले ६ लाख ६५ हजार ६४० मत पाएर पहिलो दल भएको थियो । कांग्रेस ५ लाख ६२ हजार ९५६ मत पाएर दोस्रो दल हुँदा तेस्रोमा राप्रपाले एक लाख ९८ हजार ५११ मत पाएको थियो । माओवादी एक लाख ८१ हजार २४५ ल्याएर चौथो दल भयो । यी सबै तथ्यलाई मध्यनजर गरी संविधान निर्माणका बेला थाँती राखेको मुद्दा शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानमा आधारित संघीयतालाई ब्यूँताउने प्रयास माओवादीले गरेको छ ।
प्रत्यक्षतर्फ २०६४ सालमा २२ सिट जितेको माओवादीले २०७९ को निर्वाचनमा मोरङ–४, भोजपुर–१ गरी जम्मा दुई सिट जित्यो । कांग्रेसले सुनसरी–४, तेह्रथुम–१, मोरङ–३, ६, झापा–१, उदपयपुर–१ मा जित्यो ।
एमालेले ताप्लेजुङ–१, पाँचथर–१, इलाम–१, २, झापा–२, ४, ५, मोरङ–२, सुनसरी–२, ३, उदयपुर–२, सोलुखुम्बु–१ मा जित हासिल गर्यो ।
झापा–३ मा राप्रपाले जित्दा सुनसरी–१ मा एकीकृत समाजवादी विजयी भएको थियो ।
यस्तो छ विगतका निर्वाचनमा माओवादीले पूर्वमा जितेको सिट संख्या र मत परिणाम
- २०६४ को निर्वाचनः
निर्वाचन क्षेत्र जम्मा– ४४ (कांग्रेस ८, एमाले ८, माओवादी २२, फोरम ६)
कांग्रेसले जितेको क्षेत्र ताप्लेजुङ–१, पाँचथर–१, इलाम–३, झापा–५, तेह्रथुम–१, मोरङ–१, सुनसरी–४ र उदयपुर–१
एमालेले जितेको क्षेत्र ताप्लेजुङ–२, पाँचथर–२, इलाम–१, इलाम–२, झापा–६, संखुवासभा–२, सुनसरी–२ र सुनसरी–६
माओवादीले जितेको क्षेत्र झापा–१, २, ३,४ र ७, संखुवासभा–१, भोजपुर–१, २, धनकुटा–१ र २, मोरङ–२, ३, ८ र ९, सुनसरी–१, सोलुखुम्बु–१, खोटाङ–१, २, ओखलढुंगा–१, २ उदयपुर २ र ३
मधेसी जनअधिकार फोरमले जितेको क्षेत्र मोरङ–४, ५, ६, ७, सुनसरी–३, ५
- २०७० को निर्वाचनः
निर्वाचन क्षेत्र जम्मा– ४४(एमाले २३, कांग्रेस १७, माओवादी १, राप्रपा १, फोरम १ र फोरम लोकतान्त्रिक १)
एमालेले जितेको निर्वाचन क्षेत्र ताप्लेजुङ–१, २, पाँचथर–१, इलाम–१, २, झापा–१, ४, ६ र ७, तेह्रथुम–१, भोजपुर–१, २, धनकुटा–१, मोरङ–१, २ र ८, सुनसरी– १,२ र ६, खोटाङ–१, २, ओखलढुंगा–१, उदयपुर–२
कांग्रेसले जितेको निर्वाचन क्षेत्र पाँचथर–२, इलाम–३, झपा–२, ३, ५, संखुवासभा–१, २, मोरङ–३, ५, ६, ७, ९, सुनसरी–४, सोलुखुम्बु–१, ओखलढुंगा–२, उदयपुर–१ र ३
माओवादीले मोरङ–४, राप्रपाले धनकुटा–२, मधेसी जनअधिकार फोरम नेपालले सुनसरी–५ र फोरम लोकतान्त्रिकले सुनसरी–३ जितेको थियो ।
- २०७४ को निर्वाचनः
निर्वाचन क्षेत्र जम्मा–२८(एमाले १६, कांग्रेस ५, माओवादी ६, राप्रपा १)
एमालेले जितेको निर्वाचन क्षेत्र ताप्लेजुङ–१, पाँचथर–१, इलाम–१, २, झापा–२, ४, ५, मोरङ–१, ३, ६, सुनसरी–१, धनकुटा–१, तेह्रथुम–१, संखुवासभा–१, खोटाङ–१, ओखलढुंगा–१
कांग्रेसले जितेको मोरङ–२, सुनसरी–२, ३, ४ र उदयपुर–१
माओवादीले जितेको झापा–१, मोरङ–४, ५, भोजपुर–१, सोलुुखुम्बु–१, उदयपुर–२ र राप्रपाले झापा–३ मा जित हात पारेको थियो ।
- समानुपातिकतर्फ
एमालेले पाएको मत संख्या ६ लाख ७३ हजार ७०९
कांग्रेसले पाएको मत ५ लाख ८६ हजार २४६
माओवादीले दुई लाख ६ हजार ७८१ मत पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्