प्रगतिवादी साहित्य चिन्तन र लेनिन

समाचार सारांश

  • प्रगतिवादी साहित्यको दार्शनिक आधार मार्क्सवादमा रहेको र लेनिनले कला र साहित्यलाई सर्वहारा वर्गको हितमा प्रयोग गर्नुपर्ने धारणा राखेका थिए।
  • लेनिनले साहित्यलाई क्रान्तिकारी परिवर्तनका लागि औजारको रूपमा प्रयोग गर्नुपर्ने र पार्टी साहित्यको अवधारणा अघि सारेका थिए।
  • लेखमा लेनिनका विचारहरू, जस्तै-लेखकले सुन्दर भविष्यको सपना देख्नुपर्छ र पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने कुराहरूलाई जोड दिइएको छ।

प्रगतिवादी साहित्य चिन्तनको दार्शनिक आधारको खोजी गर्दा मार्क्स, एङ्गेल्स र लेनिनले प्रतिपादन गरेका मान्यतासम्म पुग्नुपर्ने हुन्छ । ऐतिहासिक एवं द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यताबाटै प्रगतिवादको सैद्धान्तिक आधारभूमि निर्माण भएको छ । यस लेखनीको उद्देश्य प्रगतिवादसम्बन्धी दार्शनिक आधारको निरूपण गर्नु होइन र प्रगतिवादका बारेमा सैद्धान्तिक बहस गर्नु पनि होइन, बरु कला–साहित्यका बारेमा लेनिनले प्रस्तुत गरेका स्फुट धारणामा टेकेर सङ्क्षिप्त टिप्पणी मात्र गर्न खोजिएको छ । त्यसैले प्रस्तुत टिप्पणीका माध्यमबाट गम्भीर सैद्धान्तिक एवं दार्शनिक अध्ययन गर्ने उद्देश्य नभएर प्रगतिवादी साहित्यसम्बन्धी परिचयात्मक धारणा मात्र राख्न खोजिएको हो । 

कला–साहित्यलाई उपयोगिताका दृष्टिले हेर्ने तथा त्यसमा अन्तर्निहित सौन्दर्यात्मक दृष्टिले मूल्याङ्कन गर्ने वस्तुसम्मत धारणाको सूत्रपात दर्शनका क्षेत्रमा मार्क्सवादको उदयपछि मात्रै भएको पाइन्छ । मार्क्सवादी दर्शनको अविर्भाव हुनुपूर्व कला–साहित्यमार्फत समाज र युग जीवनको यथार्थपरक प्रतिविम्बन हुने वा हुन सक्ने मान्यता स्थापित भए पनि उपयोगिताका आधारमा कला–साहित्यका वैशिष्ट्य एवं यसका सौन्दर्यात्मक पक्षको मूल्याङ्कन गर्ने परिपाटी थिएन । अझ त्यसमा पनि कला–साहित्यसम्बन्धी पूर्वीय चिन्तन त पूर्णतः आदर्शवादी नै रहेको पाइन्छ । आत्मिक सुख वा आत्मिक शान्ति प्राप्त गर्ने हेतुले साहित्यको सिर्जना हुन्छ भन्ने मान्यता समेत प्रस्तुत हुनुले कला–साहित्य यथार्थ जगत्भन्दा धेरै टाढा रहेको बुझिन्छ, तर पाश्चात्य चिन्तन परम्परामा साहित्य सामाजिक जीवन र वस्तुगत यथार्थको कलात्मक प्रतिविम्बन हो भन्ने धारणा विकसित भएको पाइन्छ । त्यसैले यथार्थपरक चिन्तन र सिर्जनका दृष्टिले पाश्चात्य परम्परा धेरैअगाडि रहेको छ । 

frontline

कला–साहित्यलाई भौतिक तथा आर्थिक क्रियाकलापले प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । यस तात्पर्यमा कला–साहित्यलाई सामाजिक क्रियाकलापकै एउटा महत्त्वपूर्ण पाटोको रूपमा बुझ्न र सोही अनुरूप व्यवहार गर्नु उपयुक्त हुन्छ । मार्क्सले एकातिर कला–साहित्यलाई उत्पादन सम्बन्धसँग जोडेर आर्थिक क्रियाकलापबाट बेग्ल्याउन नसकिने धारणा प्रस्तुत गरेको र अर्कोतिर द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आधारभूमिमै सौन्दर्यशास्त्रीय चिन्तनको जग बसालेको सन्दर्भमा पनि कला–साहित्यलाई सामाजिक सम्बन्धबाट पृथक् गर्न नसकिने स्वतः स्पष्ट हुन्छ । खासगरी मार्क्स र एङगेल्सले कला–साहित्यका बारेमा विहङ्गम विमर्श नगरे पनि विभिन्न प्रसङ्गमा गरेका टिप्पणी तथा प्रतिक्रिया जे जति छ, तिनीहरू नै मार्क्सवादी साहित्य अध्ययनका प्रारम्भिक आधार स्रोत हुन् । मार्क्सले आरम्भ तथा स्थापना गरेका साहित्यसम्बन्धी चिन्तनको यसै धरातलमा लेनिनका कला–साहित्यसम्बन्धी सौन्दर्यशास्त्रीय दृष्टिकोण, विचार र चिन्तनको आधारशिला निर्माण भएको छ ।

लेनिनका विचारमा साहित्यले करौडौँ मजदुरहरूको सेवा गर्दछ । लेनिनको यो भनाइको तात्पर्य साहित्य कुनै व्यक्ति वा दल विशेषको स्वार्थ र हितको निमित्त लेखिने नभई सर्वहारा वर्गको हित र क्रान्तिकारी परिवर्तनका हेतु लेखिनुपर्छ ।

लेनिन महान् दार्शनिक चिन्तक तथा राजनेता थिए, त्यसैले उनका सारगर्भित सौन्दर्य चिन्तन र दृष्टिकोण पनि दार्शनिक राजनीतिक चिन्तन र वर्ग संघर्षको व्यापक सेरोफेरोभित्रैबाटै आविर्भाव भएका छन् । कला–साहित्यका बारेमा लेनिनबाट प्रस्तुत भएको विचार तथा दृष्टिकोण पनि राजनीतिकै केन्द्रीयतामा सम्प्रेषित भएका छन् । अर्थात्, जीवनलाई वस्तुवादी ढंगले बुझ्ने र बदल्ने द्वन्द्वात्मक पद्धतिकै सापेक्षतामा कला–साहित्यलाई राजनीतिबाट पृथक् गर्न नहुने मूल–मान्यताकै केन्द्रीयतामा लेनिनका साहित्यसम्बन्धी दृष्टिकोणको मूल मर्म फेला पार्न सकिन्छ । मूलतः सर्वहारा वर्गको पार्टी र त्यसद्वारा सम्पन्न हुने समाजवादी क्रान्ति नै मूल मुद्दा भएको तत्कालीन परिस्थितिमा लेनिनका निम्ति विशुद्ध सौन्दर्य चिन्तन सम्भव थिएन । त्यसो त समाजवादी क्रान्ति सफल भइसकेपछि पनि त्यसको आदर्श अनुरूपको आधुनिक, समुन्नत तथा समृद्ध समाजवादी संस्कृतिको निर्माण र सौन्दर्य चिन्तनप्रति लेनिनको विशेष चासो, चिन्ता र क्रियाशीलता रहेको पाइन्छ ।

लेनिनले कला–साहित्यसम्बन्धी आफ्ना धारणा प्रस्तुत गर्दा तत्कालीन रुसी समाजको आवश्यकता र समाजवादी क्रान्तिको कार्यदिशालाई केन्द्रमा राखेको पाइन्छ । त्यस क्रममा रूसी समाजको विद्यमान अवस्था अनि कला–साहित्यका क्षेत्रमा देखिएका विभिन्न प्रवृत्तिको समेत लनिनले आधार लिनुभएको छ । वस्तुतः लेनिनले कला र साहित्यका बारेमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने सन्दर्भमा पूर्ववर्ती र समकालीन प्रमुख रुसी लेखकहरू र उनीहरूका रचनाको दृष्टान्त प्रस्तुत गर्दै तत्कालीन रुसी समाजका सापेक्षतामा यससम्बन्धी मान्यतालाई अगाडि सार्नुभएको छ । खासगरी तत्कालीन रुसी समाजमा विद्यमान साहित्यिक तथा सांस्कृतिक परिवेशका सन्दर्भमा प्रगतिवादी साहित्यका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मानिने लियो टल्सटायका कृतिको सर्वाङ्गपूर्ण विवेचना लेनिनले गरेका छन् । 

त्यति मात्र होइन लेनिनले उनको प्रातिभ क्षमताको कदर गर्दै एकातिर टोल्सटोयलाई ‘रुसी क्रान्तिको दर्पण’ समेत भन्नुभएको पाइन्छ भने अर्कोतर्फ उनीभित्रको गलत चिन्तन र दृष्टिकोणको कठोरतापूर्वक आलोचना र खण्डन पनि गर्नुभएको छ । त्यसैगरी चेर्निसेब्स्की, वेलिन्सकी, दोस्तोभस्की, नेक्रासोभ, हर्जेन, म्याक्सिम गोर्कीजस्ता महान् लेखक र उनीहरूका कृतिबाट लेनिन निकै प्रभावित हुनुहुन्थ्यो । विशेषतः यथार्थवादी रचना र रचनाकारको प्रभाव उहाँमा सर्वाधिक मात्रामा परेको थियो भन्ने पनि बुझिन्छ । सम्भवतः यथार्थवादी कला–साहित्यप्रतिको यही आकर्षण र आवश्यकता बोधले नै होला, लेनिनले समाजवादी क्रान्ति सम्पन्न भइसकेपछि पनि लियो टोल्सटोय, चेर्निसेब्स्की, दोस्तोब्स्की, हर्नेन लगायत साहित्यकारका कृतिलाई अत्यधिक सङ्ख्यामा छापेर वितरण गर्नुपर्ने कुराको उल्लेख गर्नुभएको छ ।

नयाँ जनवादी संस्कृतिको निर्माणमा प्रमुख भूमिका खेल्ने कला–साहित्यलाई जनवादी–समाजवादी क्रान्तिको अग्रदस्ता सर्वहारा वर्गलाई विचारले सुसज्जित र सुसंस्कृत गर्ने अभिन्न अङ्ग बनाइनुपर्छ भन्ने धारणा लेनिनको देखिन्छ ।

कला–साहित्यको आवश्यकता, उपयोगिता तथा प्रयोगधर्मिता वा रचनाधर्मिताका सम्बन्धमा व्यक्त भएका लेनिनका स्फुट धारणा निकै महत्त्वपूर्ण छन् । वस्तुतः लेनिनका सौन्दर्य चिन्तनसम्बन्धी विचारहरू अत्यन्तै सारगर्भित हुनुका साथै तिनले प्रगतिवादी साहित्यका क्षेत्रमा विशेष महत्त्व राख्छन् । अर्थात् लेनिनले त्यतिवेला प्रस्तुत गरेका धारणाले अहिलेको अवस्थामा पनि उत्पीडित राष्ट्र अनि त्यहाँका लेखक–कलाकारले अनुशरण गर्नलायक छन् । हामीले कला–साहित्यका सन्दर्भमा त्यसको विधि, प्रक्रिया, प्रयोजन, आवश्यकता र उपयोगिताका बारेमा जिज्ञासा राख्छौँ भने त्यसको जवाफ लेनिनका धारणाबाट प्राप्त गर्न सकिन्छ । लेनिनका विचारमा सबै सर्जकमा सौन्दर्य चेतनाको प्रस्फुरण र विकास समान रूपमा हुँदैन, बरु ज्ञानप्राप्तिको नियमानुसार क्रान्तिकारी एवं सौन्दर्यात्मक भावनाको विकास र तिनका बिचमा एकत्व स्थापित हुन्छ र हुनु जरुरी छ, तर सौन्दर्यचेत वा सौन्दर्यात्मक कार्यविना कुनै पनि उपयोगी वस्तुको प्राप्ति तथा सङ्घर्ष सम्भव छैन । यसको तात्पर्य व्यक्तिले अवलम्बन गरेको विचारले सौन्दर्यात्मक चेतनालाई प्रभाव पारिरहेको हुन्छ भन्ने लेनिनको धारणा देखिन्छ ।

मानिसको कलात्मक चेतनाले वैचारिक पक्षसँग अविभाज्य तादात्म्य स्थापना गर्छ । मानिसमा चेतनाको निर्माण भौतिक जगत्सँगको सान्निध्यता र क्रिया प्रतिक्रियास्वरूप हुने गर्छ । भौतिक जगत्मा मानिसले सम्पन्न गर्ने क्रिया भनेको श्रम क्रिया नै हो, यस तात्पर्यमा श्रमक्रिया भनेको चेतनाको स्रोत पनि हो र विचार निर्माणका आधार पनि हो । मानव समाजमा सम्पन्न हुने सौन्दर्यात्मक एवं कलात्मक कार्य पनि श्रमसँग सम्बन्धित हुनाले कला–साहित्यलाई श्रमक्रियाबाट पृथक् गर्न सकिन्न । वस्तुतः कलाको उत्पत्ति श्रमको परिणतिस्वरूप भएको मात्र नभएर कला स्वयं श्रमको विशिष्ट स्वरूप समेत हुनाले श्रम र सौन्दर्य चिन्तनका बिचको सम्बन्धलाई पनि बेग्ल्याउन मिल्दैन । साहित्यको उपयोगिताका बारेमा चर्चा गर्दा लेनिनले सर्वहारा वर्गीय साहित्य सिर्जनामा विशेष जोड दिएका छन् । लेनिनका विचारमा साहित्यले करौडौँ मजदुरहरूको सेवा गर्दछ । लेनिनको यो भनाइको तात्पर्य साहित्य कुनै व्यक्ति वा दल विशेषको स्वार्थ र हितको निमित्त लेखिने नभई सर्वहारा वर्गको हित र क्रान्तिकारी परिवर्तनका हेतु लेखिनुपर्छ । त्यस्तो सर्वहारा मजदुर वर्ग भन्नु मुलुकका भविष्य हुनाले कला–साहित्य उनीहरूको स्वार्थ अनुकूल हुनुपर्ने धारणा लेनिनको देखिन्छ । 

लेखकले अवलम्बन गर्ने भविष्य दृष्टिको महत्त्वबारे पनि लेनिनले आफ्ना विचार प्रस्ट रूपमा प्रस्तुत गरेका छन् । मानवीय समाज र त्यस अन्तर्गतका समग्र क्रियाकलापको सौन्दर्यात्मक प्रस्तुति गर्ने लेखकले विगत र वर्तमानका जीवन परिवेशको मात्र यथार्थपरक चित्रण प्रस्तुत गरेर पुग्दैन, बरु भविष्यको खोजी गर्नुपर्छ भन्नेमा जोड दिएका छन् । यस सन्दर्भमा लेनिनको महत्त्वपूर्ण कथन छ, ‘हामीले सपना देख्नुपर्छ’ लेनिनको यो लाक्षिणक अभिव्यक्तिको तात्पर्य एउटा लेखकले सुसंस्कृत तथा समुन्नत समाज निर्माणको सपना देखिरहेको हुन्छ र देखिरहनुपर्छ भन्ने हो । लेखक वा स्रष्टाले जनताको पक्षमा लेख्छ वा सर्वहारा वर्गको पक्षमा लेख्ने गर्छ भने उसले उन्मुक्तिको पक्षमा लेख्नुपर्छ, सुन्दर भविष्यको पक्षमा लेख्नुपर्छ । यहाँ लेनिनको सपना उडन्ते सपना नभई भविष्य निर्माणसँग जोडिएको छ, त्यो सपना क्रान्तिकारी आशावाद तथा भविष्य दृष्टिसँग जोडिएको छ र त्यो वस्तुतथ्यमा आधारित छ । वस्तुतः लेखक कलाकारले सुन्दर भविष्य पछ्याउनुपर्छ र सुन्दर भविष्य प्राप्तिका लागि लेख्नुपर्छ भन्ने लेनिनको विशेष जोड रहेको छ ।

लेनिनले कला–साहित्यलाई सर्वहारा वर्गको पार्टी राजनीतिसँग जोडेर आफ्ना धारणा प्रस्तुत गरेका छन् । लेनिनले समाजवादी क्रान्तिको आवश्यकता अनुरूप पार्टी साहित्यकै निर्माण गर्ने कुरा बताएका छन्, जुन लेनिनले उठाएका साहित्यसम्बन्धी सवालमध्ये यो सर्वाधिक चर्चित र महत्त्वपूर्ण पनि हो । लेनिनले ‘पार्टी सङ्गठन र पार्टी साहित्य’ शीर्षकको लेखमा प्रस्तुत गरेका दृष्टिकोण साँचो अर्थमा क्रान्तिकारी परिवर्तन चाहने लेखकका निम्ति अत्यन्तै मननयोग्य र सार्थक छन् । त्यसमा लेनिनको भनाइ छ, ‘सम्पूर्ण सामाजिक जनवादी साहित्य पार्टी साहित्य बन्नु आवश्यक छ ।’ यसको तात्पर्य साहित्यलाई सर्वहारा वर्गको पार्टी र आन्दोलनबाट असम्पृक्त राख्नु सम्भव छैन, बरु साहित्यलाई सर्वहारा वर्गको आन्दोलनको महत्तम ऊर्जा अर्थात् अभिन्न अङ्गका रूपमा यसको गरिमालाई उँचो बनाउनुपर्छ भन्ने लेनिनको आसय देखिन्छ । यस सन्दर्भमा लेनिनको थप भनाइ छ, ‘साहित्य सर्वहारा वर्गको साझा उद्देश्यको एक अंश हुनुपर्छ, सम्पूर्ण मजदुर वर्गको । सम्पूर्ण वर्गचेतन औजारद्वारा सञ्चालित अभिन्न एवं महान् सामाजिक जनवादी यन्त्रको दाँती र पुर्जा हुनुपर्छ ।’ अर्थात्, वर्ग संघर्षसँगै नयाँ संस्कृतिको निर्माण गर्दै जाने परिप्रेक्ष्यमा त्यस्तो सांस्कृतिक आन्दोलनको सञ्चालन पार्टी साहित्यले मात्र गर्न सक्छ भन्ने लेनिनको धारणा रहेको बुझिन्छ ।

यसरी साहित्यलाई वर्गसंघर्ष तथा सर्वहारा वर्गको पार्टीकै एउटा अभिन्न अङ्गका रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता र औचित्यतालाई विशेष जोड दिँदै लेनिनले गैरपार्टी लेखकको कठोर आलोचना गरेका छन् । लेनिनको यो पार्टी प्रतिबद्धतासम्बन्धी कठोर तर वस्तुसम्मत धारणाले आफूलाई स्वतन्त्र प्रगतिवादी लेखक भनाउन रुचाउनेहरूलाई असामञ्जस्यमा पारेको देखिन्छ । खासमा पार्टी प्रतिबद्धतासम्बन्धी लेनिनको विचारलाई नेपाली प्रगतिवादी लेखकले पनि खासै पचाउन सकेको वा सहज रूपमा स्विकार्न सकेको देखिन्न । 

खासगरी आफूलाई प्रगतिवादी साहित्यिक आन्दोलनभित्रै दर्ज गर्न रुचाउने नेपाली साहित्यकारमा प्रतिबद्धतासम्बन्धी सवालमा मतैक्य देखिन्न । यथार्थतः दर्शन र राजनीतिमा पक्षधरता भएजस्तै सौन्दर्य चिन्तनका क्षेत्रमा पनि पक्षधरताको माग हुने गर्छ । वस्तुतः लेनिनले अगाडि सारेको पार्टी साहित्यसम्बन्धी दृष्टिकोण वर्तमान सन्दर्भमा प्रतिबद्धताको अनुशरण भन्नु महत्त्वपूर्ण वैचारिक आधार हो । यथार्थमा लेखकीय प्रतिबद्धता वा पार्टी पक्षधरताको अर्थ लेखकको सिर्जनात्मक सीप, शक्ति, शैली, अभिव्यक्ति तथा विषयवस्तुप्रतिको नियन्त्रण र लगामचाहिँ पटक्कै होइन भन्ने तथ्यलाई पनि बिर्सनु हुँदैन । लेनिनले अगाडि सार्नुभएको प्रतिबद्धताको तात्पर्य लेखकको निजत्वमाथिको अङ्कुश नभई अराजक प्रवृत्तिमाथिको अङ्कुश हुनाले निरपेक्ष स्वतन्त्रता भने सम्भव देखिन्न । यसको तात्पर्य लेखकीय स्वतन्त्रताको आग्रह नै अराजकतातर्फको यात्रा हो, जसको अन्त्य विसर्जन र पलायन पनि हुन सक्छ । एकातिर लेखकीय स्वतन्त्रताको आग्रह गर्ने लेखक स्वयं नै पूर्ण रूपमा स्वतन्त्र हुनु सम्भव छैन भने अर्कोतर्फ पुँजीको प्रतिस्पर्धामा चलेको समाज व्यवस्थामा स्वतन्त्रताप्रतिको मोह पाखण्डीपन सिवाय अरू केही हुन नसक्ने ठहर लेनिनको देखिन्छ ।

लेनिनका विचारमा लेखकले आफ्ना कृतिको अन्त्यमा क्रान्तिकारी समाधानको बाटो पहिल्याउने जिम्मा भने पाठकमै छाड्नुपर्छ, जसको समाधान खोज्न पाठक स्वयं नै सक्षम हुन्छ, हुनु आवश्यक छ । वस्तुतः साहित्यमा हुने यथार्थको चित्रण सर्वहारा वर्गको यथार्थसँग गाँसिने हुनाले कला–साहित्य भन्नु जनताको सम्पत्ति हो जसलाई जनताबाट अलग राख्नु हुँदैन भन्ने विचार पनि लेनिनले व्यक्त गरेका छन् । 

निचोडमा भन्दा नयाँ जनवादी संस्कृतिको निर्माणमा प्रमुख भूमिका खेल्ने कला–साहित्यलाई जनवादी–समाजवादी क्रान्तिको अग्रदस्ता सर्वहारा वर्गलाई विचारले सुसज्जित र सुसंस्कृत गर्ने अभिन्न अङ्ग बनाइनुपर्छ भन्ने धारणा लेनिनको देखिन्छ । कला–साहित्यले वर्गसंघर्षलाई महत्त्वपूर्ण ऊर्जा प्रदान गर्न सक्ने हुनाले त्यसका निम्ति पार्टी साहित्यको विकास हुनुपर्ने धारणा लेनिनको देखिन्छ । त्यसैगरी द्वन्द्ववादी दृष्टिकोण, लेखकीय प्रतिबद्धता, सौन्दर्यचेतना तथा समाजबोधको एकत्वबाटै समाजवादी यथार्थवादी वा प्रगतिवादी साहित्य सिर्जना हुन सक्ने देखिन्छ । अतः लेनिनका कला–साहित्यसम्बन्धी यी मान्यताहरू परिवर्तनधर्मी लेखक, पाठक तथा शुभचिन्तक सबैका लागि मननीय, अनुकरणीय एवम् ग्राह्य छन् भन्न सकिन्छ । 

#साहित्य

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here