पृथ्वी राजमार्गको धादिङ खण्डमा एकतर्फी सवारी सुचारु
समाचार सारांश
- पृथ्वी राजमार्गको धादिङ खण्डमा ३ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भयो।
- जरेखेत र जरे पुलमा एकतर्फी सवारी सञ्चालन गरिएको छ भने सात किलोमा दुईतर्फी सवारी सुचारु भएको छ।
- सडक अवरुद्ध भएपछि ७८० वटा सवारी साधन होल्ड गरिएको छ र ट्राफिक प्रहरीले सवारी आवागमनलाई प्राथमिकता दिइरहेको छ।
काठमाडौँ । पहिरो खसेर पृथ्वी राजमार्गको धादिङ खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ स्थित जरेखेत, गजुरी गाउँपालिका–४ स्थित जरे पुल र थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिलोमा सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडकमा एकतर्फी सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका एसपी नरेश सुवेदीले बताए । जरे खेत र जरे पुलमा एकतर्फी सवारी सञ्चालन गरिएको छ । थाक्रे गाउँपालिका–७ स्थित सात किलोमा चाहिँ दुई तर्फ नै सवारी चल्न थालेका छन् । एसपी सुवेदी भन्छन्– ‘पहिरो पन्छाएर सात किलोमा दुई तर्फी सवारी सुचारु गरिएको छ ।’
पहिरो खसेको ठाउँमा सडक विभागका प्राविधिक गएर अध्ययन गरिरहेका छन् । बिहान ३ बजेर २० मिनेटमा सड्क अवरुद्ध भएसँगै राजमार्गमा ७८० वटा सवारी होल्ड गरिएको छ । आदमघाट, मलेखु, सिम्ले, मझिमटार, खानीखोला, महादेववेशी, गजुरी र बेनिघाटमा सवारी साधन होल्ड गरिएको एसपी सुवेदीले बताए । उनले भने– ‘होल्ड गरिएका सवारी साधनलाई बिस्तारै पठाउँदैछौँ ।’
ट्राफिक प्रहरीले खत्रीपौवा र विशालटारमा पनि सवारी साधन होल्ड गरेर प्राथमिकताको आधारमा आउजाउ गराइरहेको छ ।






प्रतिक्रिया दिनुहोस्