पाइपलाइनबाट पेट्रोल आयात तयारी : ढुवानी खर्च लिटरमा साढे २ रुपैयाँ बचत

पाइपलाइन परीक्षणको काम पूरा भएपछि औपचारिक रूपमा आयात सुरु गरिने र त्यसले प्रतिलिटर पेट्रोलमा औसत साढे २ रुपैयाँ बराबर ढुवानी खर्च घटाउने छ ।

।नेपालमा पहिलो पटक पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात तयारी भइरहेको छ ।

frontline

भारत मोतिहारीबाट नेपालको बारा अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माण सम्पन्न भई अहिले विभिन्न चरणमा परीक्षणको काम जारी रहेको छ ।

‘पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माणको काम सकियो,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले अनलाइनखबरसँग भने, ‘अब यो प्रणालीबाट यी पदार्थ आयात गरी आन्तरिक बजारमा ढुवानीका लागि आवश्यक परीक्षणको काम जारी छ ।’

यसरी परीक्षणको काम पूरा भएपछि औपचारिक रूपमा आयात सुरु गरिने र त्यसले प्रतिलिटर पेट्रोलमा औसत साढे २ रुपैयाँ बराबर ढुवानी खर्च घटाउने उनले जानकारी दिए ।

नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये यस नाकामार्फत ६० देखि ७० प्रतिशत पेट्रोल र डिजेल आयात हुने गरेको तथ्यांक निगमको छ ।

२५ भदौ २०७६ देखि पाइपलाइनबाटै डिजेल आयात भइरहेको छ । यो परियोजनाको दोस्रो चरण अन्तर्गत पेट्रोल र मट्टीतेल आयातका लागि संरचना बनाइएको हो । परीक्षण सिलसिलामा पाइपलाइनबाट आएको पेट्रोल ट्यांकरमा लोड गर्ने, सेक्युरिटी लकिङ सिस्टम राख्ने सहित परीक्षण भइरहेका छन् ।

आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिना (मंसिर मसान्तसम्म) मा नेपालले कुल ४ लाख ७२ हजार ८ सय ७ किलोलिटर डिजेल र ३ लाख ६ हजार २ सय २९ किलोलिटर पेट्रोल आयात गरेको छ । यो देशभरिका नाकाबाट नेपाल भित्रिएको पेट्रोलियम पदार्थको कुल परिमाण हो । अमलेखगञ्जभन्दा बाहेकका नाकाबाट भने सबै प्रकारको पेट्रोलियम पदार्थ ट्यांकरमै आयात हुने गरेको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा मुलुकलाई एकसाथ धेरै पक्षमा लाभ हुने निगमका कार्यकारी निर्देशक भट्ट बताउँछन् ।

‘एक त ढुवानी खर्च कतौती हुँदा उपभोक्ता मूल्य नै साढे २ रुपैयाँसम्म सस्तो पर्छ,’ उनी भन्छन्, ‘चुहावट रोकिने, अनियमितताको सम्भावना नहुने र वातावरणीय प्रभाव कम हुने विषयले मुलुकलाई धेरै फाइदा हुन्छ ।’

अर्कातर्फ, मुलुकलाई अकस्मात धेरै पेट्रोलियम पदार्थ आयात पर्दा समेत पाइपलाइनबाट ल्याउन सहज हुनेछ । अहिले जडित पाइपलाइनबाट प्रतिघण्टा २ लाखदेखि ३ लाख लिटरसम्म पेट्रोल आयात गर्न सकिन्छ । भारतमा एक ट्यांकर पठाएर काठमाडौंसम्म तेल आयात गर्न भने कम्तीमा तीन दिन लाग्ने गरेको निगमको भनाइ छ ।

समग्रमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात र वितरण व्यवस्थित भई उपभोक्तालाई सहज सेवा उपलब्ध हुने कार्यकारी निर्देशक भट्ट बताउँछन् ।

परीक्षणका लागि ल्याइसकियो पेट्रोल र मट्टीतेल

संरचना बनिसकेपछि परीक्षणका सिलसिलामा भने यसअघि नै पेट्रोल र मट्टीतेल आयात भइसकेको छ । पाइपलाइन परीक्षणका सिलसिलामा ५ हजार ५ सय किलोलिटर पेट्रोल र १ हजार किलोलिटर मट्टीतेल ल्याइएको छ ।

पाइपलाइन विस्तार परियोजना अन्तर्गत इन्डियन आयल कर्पोरेसन (आईओसी) को सहयोगमा अमलेखगञ्जस्थित डिपोमा ४ हजार १ सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, २ सय ५ किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानी गर्न पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस तथा प्रयोगशाला बनाइएको छ ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइप लाइन हो । अमलेखगञ्जमा पेट्रोल भण्डारण क्षमता कम हुँदा यसअघि डिजेलमात्र आयात भइरहेको थियो । यहाँ एउटै पाइपलाइनबाट सबै पेट्रोलियम पदार्थ आयात हुनेछ ।

यो पाइपलाइनको लम्बाइ ६९.२ किलोमिटर छ । अमलेखगञ्जमा डिजेल भण्डार क्षमता भने १८ हजार किलोलिटर छ । पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थ भण्डार स्थलमा राख्ने र आवश्यक प्रक्रिया पूरा गरी ट्यांकर मार्फत अन्यत्र पठाउने गरिन्छ । पछिल्लो समय पेट्रोल भण्डारणका लागि बनाइएका संरचनामा १ अर्ब २८ करोड भारुभन्दा बढी लागत लागेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here