पत्रकार रजकलाई गोली लागेको हल्लापछि एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान

१९ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको छ ।
पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा रजकको शव पठाइए पनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन । पोस्टमार्टममा संलग्न चिकित्सकले रजकको शरिरको पोर्टेबल एक्स–रे नगरी पोस्टमार्टम गर्न अस्वीकार गरेको स्रोतले बतायो ।




‘राजावादी प्रदर्शनमा मृत्यु भएका दुई जनाकै शव पोस्टमार्टमका लागि पठाएका थियौं । एक जनाको पोस्टमार्टम भए पनि अर्को एक जना पत्रकारको भने पोस्टमार्टम हुन सकेको छैन’ परिसरका एक अधिकृतले भने, ‘गोली लागेको भन्ने हल्ला चलेपछि पोर्टबल एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडान छ ।’
पुरै शरीरको पोर्टेबल एक्स–रे गर्ने भनिए पनि त्रिवि शिक्षण अस्तालमा त्यस्तो एक्स–रे मेसिन नरहेकाले अन्यत्र बुझ्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरु सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका हुन् । यता प्रहरीले भने विज्ञप्ती निकाल्दै भ्रामक खबरहरु फैलाइएको र त्यस्तो खबर फैलाएर कारबाहीसम्म गर्ने बताएको थियो ।
रजकसँगै पोस्टमार्टमका लागि पठाइएका सुरेश महर्जनको भने पोस्टमार्टम भइसकेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्