नेपाल र अमेरिकामा सहकारी : समान सिद्धान्त, विपरीत अभ्यास
मुलुक अहिले सहकारीमय भएको छ । खासगरी केही बचत तथा ऋण सहकारीका बचतमारा सञ्चालकहरूले सहकारीको ठूलो रकम हिनामिना गरेका खबरहरू टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइनखबर, सामाजिक सञ्जाल आदिमा दिनहुँ जस्तो पढ्न र सुन्न पाइन्छन् । र, यो मुलुकको कुना–कुनासम्मका सर्वसाधारण समेतको चासोको विषय भएको छ ।
सिद्धान्ततः बचत तथा ऋण सहकारी संस्थाहरू वित्तीय सहकारी संस्था हुन्, जुन यसका सदस्यहरूको स्वामित्व र नियन्त्रणमा एक सदस्य एक मतको आधारमा प्रजातान्त्रिक हिसाबले सञ्चालित हुन्छन् । तिनीहरू सदस्यहरूसँग भएको स–सानो बचत जम्मा गरेर कुनै सदस्यलाई आवश्यक भएको बेला सहुलियत दरमा ऋण प्रवाह गर्दछन् । वित्तीय सहकारीको मूल उद्देश्य सामाजिक हो र तिनीहरू नाफा कमाउने भन्दा पनि सामान्यतया विपन्न तथा सीमान्तकृत समूहका सदस्यको बचत तथा ऋण सम्बन्धी आवश्यकता पूर्ति गरी तिनीहरूको जीवनस्तर सुधार्नु हो ।
तर सरकारीको मर्म विपरित नेपालमा केही सहकारीका लोभी–पापी सञ्चालकहरूले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई पूर्ण रूपमा कुल्चेर सहकारीको ठूलै दुरुपयोग गरेका एकपछि अर्को घटनाहरू सतहमा आइरहेका छन् । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम व्यक्तिगत फाइदाको लागि प्रयोग गरेको, व्यक्तिगत सम्पत्ति जोडेकोे मात्रै होइन, कानून विपरीत निजी कम्पनी, हाउजिङ, शेयर तथा मिडियामा लगानी गरेका घटनाहरू पनि प्रशस्त छन् । विना कागजात वा सामान्य प्रक्रिया पूरा नगरेर रकम चलाएको, विना धितो ऋण दिएकोे, गैर सदस्य तथा कार्य क्षेत्र बाहिरका व्यक्तिलाई ऋण दिएको, नक्कली व्यक्तिको नाममा फर्जी ऋण खडा गरेको तथा गैर कानूनी किसिमले सहकारीको रकम विदेश लगेका उदाहरण पनि प्रशस्त देखिन्छन् । सहकारीलाई दुरुपयोग गर्ने उद्देश्यले विभिन्न स्थानमा विभिन्न सहकारी स्थापना गरेका, एकभन्दा बढी सहकारीमा सञ्चालक भएका, सहकारीमा पारिवारिक एकाधिपत्य जमाएका, नक्कली सेयर सदस्य खडा गरेको र सहकारीमा एकल निर्णय गर्ने गरेको जस्ता उदाहरण पनि प्रशस्त छन्, ती सबै सहकारीका सिद्धान्त विपरीतका काम हुन् ।
सहकारीका लुटेराहरूबाट भएको यस किसिमको खराब अभ्यासबाट ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन २०८१’ ले आफूले अध्ययन गरेका सहकारी संस्थाहरूमा रु.८८ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । सर्वाङ्गीण रूपमा समस्याग्रस्त झण्डै ५०० जति सहकारीका १४ लाखभन्दा बढी सदस्यहरूको अढाइ खर्ब भन्दा बढी बचत संकटमा परेकोे अनुमान गरेको छ ।
यसमा लाखौं निमुखा जनताले रगत र पसिना बगाएर कमाएको रकम पनि समावेश छ । कतिपय विपन्न वर्गले गाँस काटेर सहकारीमा जम्मा गरेको रकम आवश्यक भएको बेला झिक्न नपाएपछि औषधोपचार गर्न नपाएको, तनावले गर्दा स्वास्थ्य बिग्रेकोे, मनस्थिति बिग्रेको, आत्महत्या गरेको, छोराछारीको पढाइलाई निरन्तरता दिन नसकेकोे र घरबार सकिएको जस्ता दर्दनाक घटनाहरू घटेका छन् । सहकारी पीडितहरू आन्दोलित छन् ।
अर्कोतर्फ सहकारीमा जम्मा गरेको बचतको दुरुपयोग भएकोले जाहेरी दिनेको संख्या बढ्दो छ । सहकारीको बचत हिनामिना गर्नेहरू विरुद्ध १६०० भन्दा बढी मुद्दा चलाइएका छन् । कति प्रहरीको हिरासतमा रहेका, कति धरौटीमा छुटेका, कति तारिख खेपिरहेका, कति फरार भएका, कतिले देशै छोडेका छन् । कतिलाई विदेशबाट फिर्ता ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय अपराधी प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएका छन्, कति कारागारमा छन् । खासगरी समाजका आर्थिक तथा सामाजिक हिसाबले पिछडिएका कमजोर वर्गले रगत र पसिना बगाएर कमाएको आयबाट स-सानो रकम बचाई सहकारीमा जम्मा गरेको रकम हिनामिना गर्ने अपराधीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ । तिनीहरू र तिनीहरूको परिवारको नाममा रहेको चल-अचल सम्पत्ति कब्जा तथा लिलाम गरेर निश्चित रकम (जस्तै रु.५ लाख) सम्मको सहकारी पीडितको बचत रकम तुरुन्त फिर्ता गर्ने कार्यलाई प्राथमिकता साथ कार्यान्वयन गर्नुपर्दछ । विभिन्न नीतिगत, कानूनी, प्रक्रियागत तथा संस्थागत सुधार गरेर सहकारीलाई स्वस्थ, सुरक्षित र संरक्षित बनाइनुपर्दछ ।
यसका साथै हाल सहकारीको दुरुपयोग सम्बन्धी विभिन्न दुर्घटनाले गर्दा सहकारी प्रति सिर्जना हुँदै गएको नकारात्मक धारणालाई परिवर्तन गर्नु जरूरी छ । सहकारी सम्बन्धी खराब अभ्यासहरूले सिंगो सहकारीको प्रतिनिधित्व गर्दैनन् । यी घटनाहरू झण्डै ३१ हजार सहकारी संस्थाहरूमध्ये करीब ५०० सहकारीसँग सम्बन्धित घटनाहरू हुन् ।
सहकारीको महान् दर्शनका विपरीत केही ठूला वित्तीय सहकारी सञ्चालन गर्ने ठगहरूले सहकारीलाई ठूलो मात्रामा दुरुपयोग गरेका छन् । त्यसले लाखौं बचतकर्ता पीडित भएका छन् ।
स्थानीय साधनको स्थानीय तहमा प्रयोग गरेर स्थानीय विकास गर्न, ग्रामीण क्षेत्रको विकास गर्न, गरिबी निवारण गर्न, रोजगारी सिर्जना गर्न, उत्पादन र उत्पादकत्व बढाउन, वातावरण अनुकूलका क्रियाकलाप बढाउन तथा दिगो विकास गर्न सहकारी कोसेढुंगा सावित हुने मान्यता अन्तर्राष्ट्रिय जगतमा बढ्दै गएको छ । हाल विश्वका के ठूला के साना, के धनी के गरिब, के पूँजीवादी के समाजवादी, के धनी के गरिब सबै मुलुकमा सहकारीको भूमिका बढ्दै गएको छ । मुलुकभित्र तथा बाहिर कतिपय सहकारी संस्थाहरूले सहकारीको मूल्य, मान्यता तथा सिद्धान्त अनुसारका क्रियाकलाप सञ्चालन गरेर सहकारीका सदस्यको जीवनस्तर सुधार्नुका साथै समुदायमा सकारात्मक प्रभाव पार्दै आएका छन् ।
सहकारी सम्बन्धी त्यस्ता सफल कहानीहरूको प्रचारप्रसार गरेर मुलुकमा सहकारी सम्बन्धी नकारात्मक नभई सकारात्मक समाचारले छाउने वातावरण सिर्जना गर्नुपर्दछ । यस सन्दर्भमा यस लेखमा संयुक्त राज्य अमेरिकामा सहकारी सम्बन्धी केही सफल उदाहरणहरू प्रस्तुत गरिनेछन् ।
संयुक्त राज्य अमेरिकामा सहकारीको स्थिति
संयुक्त राज्य अमेरिकामा विभिन्न क्षेत्रमा करीब ३० हजार सहकारी संस्थाहरू सञ्चालित छन् । त्यसमध्ये अधिकांश उपभोक्ता सहकारी छन् । हरेक ३ अमेरिकनमा एक जना सहकारीसँग सम्बन्धित छन् । सहकारीले हरेक वर्ष २० लाख रोजगारी प्रदान गर्दछ र सहकारी मार्फत अमेरिकी डलर ६ खर्बभन्दा बढीको वार्षिक कारोबार हुन्छ । यसैगरी ७ हजार ५०० क्रेडिट युनियनहरू (वित्तीय सहकारी) ले ९ करोड २० लाख अमेरिकनलाई वित्तीय सेवा पुर्याइरहेका छन् । २३ करोड मानिसहरू सहकारी तथा सम्बद्ध बीमा कम्पनीबाट सेवा पाइरहेका छन् । ९०० ग्रामीण विद्युत् सहकारीले ४ करोड २० लाख ग्रामीण जनतालाई विद्युत् सेवा आपूर्ति गरिरहेका छन् । २६० टेलिफोन सहकारीले ग्रामीण क्षेत्रका १ लाख २० हजार अमेरिकनलाई टेलिफोन सेवा उपलब्ध गराइरहेका छन् । ५० हजार अमेरिकी परिवार तिनीहरूको बच्चाको हेरचाहका लागि सहकारीको डे–केयर र पूर्व–विद्यालय सेवामा निर्भर छन् । कुल दूधको बिक्री वितरणमध्ये ७५ प्रतिशतभन्दा बढी सहकारी मार्फत हुने गरेको छ । यसबाट अमेरिकी अर्थतन्त्रमा सहकारीको भूमिका स्पष्ट हुन्छ । संयुक्त राज्य अमेरिकामा सहकारीको विकासमा अग्रगामी भूमिका खेल्ने म्यासाचुसेट्स राज्यमा सञ्चालित वित्तीय सहकारी, उपभोक्ता सहकारी र श्रमिक सहकारी गरी तीन सहकारीको संक्षिप्त स्थिति उदाहरण स्वरुप तल प्रस्तुत गरिएको छ ।
(क) हार्वर्ड संघीय क्रेडिट संघ– वित्तीय सहकारी
क्रेडिट युनियनहरू वित्तीय सहकारी संस्था हुन् जसले आफ्ना सदस्यहरूको बचत तथा ऋण सम्बन्धी आवश्यकता पूरा गर्दछन् । तिनीहरूले अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा निक्षेपमा बढी व्याज दिएर, ऋणमा न्यून व्याज लिएर र वित्तीय सेवाहरू निःशुल्क वा न्यून शुल्क लिएर सदस्यहरूलाई लाभ पुर्याउँदछन् । क्रेडिट युनियनको मूल उद्देश्य सामाजिक भएकोले तिनीहरू मुनाफा कमाउने भन्दा पनि सदस्यहरूको वित्तीय आवश्यकताहरू सहज र सुरक्षित रूपमा पूर्ति गर्ने कार्यलाई प्राथमिकता दिन्छन् ।
साधारण बैंकिङ प्रणालीमा सहज पहुँच नभएका साना व्यापारी तथा कृषकका बचत तथा ऋण सम्बन्धी आवश्यकताहरू पूरा गर्न क्रेडिट युनियनको अवधारणा सर्वप्रथम जर्मनीमा विकास भएको थियो, जहाँ स्थानीय साहुकारको चर्को व्याजबाट पीडितलाई राहत दिन सन् १८४८ मा फ्रान्ज हर्मन शुल्जे–डेलित्स्चले मिल र बेकरीहरूको सहकारीको व्यवस्था गरेका थिए । किसानलाई चर्को ऋणबाट मुक्त गर्नका लागि फ्रेडरिक विल्हेम राइफिसेनले सन् १८६४ मा पहिलो ग्रामीण क्रेडिट युनियन स्थापना गरेका थिए ।
जर्मनीपछि क्रेडिट युनियनको प्रयोग क्यानाडामा भएको थियो । सबभन्दा पहिले एक पूर्व पत्रकार तथा क्यानेडियन हाउस अफ कमन्सका स्टेनोग्राफर अल्फोन्स डेजार्डिन्सले सन् १९०१ मा क्रेडिट युनियन स्थापना गरेका थिए ।
संयुक्त राज्य अमेरिकामा सन् १९०८ मा सबभन्दा पहिलो सहकारीका रूपमा सेन्ट–मेरिज को–ओपरेटिभ क्रेडिट एशोसिएसन स्थापना भएको थियो । यस मुलुकमा सन १९०९ मा म्यासाचुसेट्स राज्यमा क्रेडिट युनियन एक्ट पारित भएपछि क्रेडिट युनियनको प्रयोग बढ्दै गएको थियो । सन् १९३४ मा राष्ट्र्रपति रुजवेल्टले फेडरल क्रेडिट युनियन ऐनमा हस्ताक्षर गरेपछि बचतलाई प्रोत्साहन गर्न र ऋण उपलब्ध गराउन मुलुकभर गैर–लाभकारी क्रेडिट युनियनको संयन्त्र (नेटवर्क) तयार भएको थियो । संयुक्त राज्य अमेरिकामा क्रेडिट युनियन संघीय वा राज्य कानून अन्तर्गत स्थापना गर्न सकिने व्यवस्था छ ।
सन् १९७० मा फेडरल क्रेडिट युनियनलाई नियमन र सुपरीवेक्षण गर्न एउटा स्वतन्त्र निकायका रूपमा राष्ट्रिय क्रेडिट युनियन प्रशासन स्थापना गरिएको थियो । यसैगरी राष्ट्रिय क्रेडिट युनियन शेयर बीमा कोष पनि स्थापना गरिएको थियो, जसले संघीय क्रेडिट युनियनका सदस्यहरूले क्रेडिट युनियनमा जम्मा गरेको अमेरिकी डलर २० हजारसम्मको रकमको बीमा गर्न शुरु गरेको थियो । सन् १९७४ मा बीमा गरिने रकम ४० हजार डलर कायम गरिएको थियो । संघीय क्रेडिट युनियनका सदस्यहरूको बीमा हुने निक्षेपको मात्रा सन् १९७९ मा एक लाख डलर पुर्याइयो । त्यतिखेर बैंकमा जम्मा गरिएको रकममध्ये एक लाख डलरको निक्षप रकम फेडरल डिपोजिट इन्स्युरेन्स कर्पोरेशनले बीमा गर्ने प्रचलन अनुरूप मिलाइएको थियो । सन् २००८ संघीय क्रेडिट युनियनमा सदस्यहरूले जम्मा गरेको २ लाख ५० हजार डलरसम्मको रकमको बीमा गर्ने व्यवस्था गरिएको थियो जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।
संयुक्त राज्य अमेरिकामा क्रेडिट युनियनको प्रयोग गर्ने क्रममा सन् १९३९ को जून महिनामा विश्व प्रसिद्ध हार्वर्ड विश्व विद्यालयका कर्मचारीहरूद्वारा ‘हार्वर्ड विश्वविद्यालय कर्मचारी क्रेडिट संघ’ स्थापना गरेका थिए । समयको परिवर्तनसँगै संघले कर्मचारीका अतिरिक्त अन्यलाई पनि सेवा प्रदान गर्न थालेकोले यसको नाम ३ जून, २०२४ देखि ‘हार्वर्ड फेडरल क्रेडिट युनियन’ (हार्वर्ड संघीय क्रेडिट संघ) मा परिवर्तन गरिएको थियो ।
संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजमा संचालित हार्वर्ड संघीय क्रेडिट संघ एक गैर–मुनाफाकारी वित्तीय सहकारी संस्था हो । यसमा हार्वर्ड सम्बद्ध कर्मचारी, प्राध्यापक, विद्यार्थी, पूर्व विद्यार्र्थी, हार्वर्ड विश्वविद्यालयका सेवानिवृत्त व्यक्तिहरू, हार्वर्ड शिक्षण अस्पताल र हार्वर्डसँग सम्बद्ध अन्य संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरू सदस्य हुन सक्छन् । सदस्य बन्नको लागि संघमा अमेरिकी डलर पाँच जम्मा गरेर बचत खाता खोल्नुपर्दछ, जुन सदस्यकोे स्वामित्व शेयरको रूपमा रहन्छ । क्रेडिट संघमा खाता खोलेर निक्षेप जम्मा गर्ने भनेको क्रेडिट संघको शेयर खरीद गरे जस्तै हो । संघमा खाता खोल्ने व्यक्ति संघको ग्राहकभन्दा पनि आंशिक मालिक हुन्छ । हार्वर्ड संघीय क्रेडिट संघमा खाता खोलेपछि सदस्यता नम्बर प्राप्त हुन्छ जसले संघद्वारा प्रदत्त विभिन्न सेवा तथा सुविधामा पहुँच दिन्छ ।
कुनै व्यक्ति हार्वर्ड संघीय क्रेडिट संघको सदस्य भएपछि निजको परिवारका सदस्यहरू पनि संघका सदस्य हुन पाउँछन् । एक पटक सदस्य भएपछि आजीवन सदस्य हुन पाउने व्यवस्था छ । विद्यार्थीले अध्ययन सिध्याएपछि, स्थानान्तरण वा रोजगारदाता परिवर्तन भए पनि सदस्यतामा फरक पर्दैन । हाल हार्वर्ड संघीय क्रेडिट संघका ५० हजार भन्दा बढी सदस्यहरू छन् ।
हार्वर्ड संघीय क्रेडिट संघ प्रजातान्त्रिक रूपमा सदस्यहरूद्वारा नियन्त्रित संस्था हो । यसमा हरेक सदस्यको हैसियत समान हुन्छ । एक सदस्य एक मतका आधारमा सञ्चालक समितिको चयन गर्नुका साथै महत्वपूर्ण नीतिगत तथा अन्य निर्णयहरू गरिन्छन् ।
हार्वर्ड संघीय क्रेडिट संघको मूल उद्देश्य यसका सदस्यहरूको जीवनमा अहिले र भविष्यमा सकारात्मक प्रभाव पार्ने रहेको छ । सबै मिलेर उज्यालो संसार स्थापना गर्न सकिन्छ भन्ने मान्यता भएको हार्वर्ड संघीय क्रेडिट संघले आफ्ना सदस्यहरूलाई वित्तीय उपकरण तथा स्रोतमा पहुँच दिएर तिनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सघाउँदछ । हार्वर्ड संघीय क्रेडिट संघ गैर–लाभकारी वित्तीय सहकारी संस्था भएकोले यसले कमाएको मुनाफा सदस्यहरूलाई तिनीहरूको निक्षेपमा राम्रो व्याजदर दिने गर्दछ । संघले सदस्यलाई उपलब्ध गराउने ऋणमा न्यून व्याजदर लिने, संघले प्रदान गर्ने सेवामा लिने न्यून शुल्क तथा यसले सदस्यहरूलाई प्रदान गर्ने राम्रो सेवाका माध्यमले सदस्यहरूलाई लाभ पुर्याउँछ ।
सहकारीमा सदस्यहरूको संयुक्त स्वामित्व हुन्छ । सदस्यहरूले एक सदस्य एक मतका आधारमा प्रजातान्त्रिक हिसाबले नियन्त्रण गर्दछन् । यसबाट लाभ पनि सदस्यहरूले नै प्राप्त गर्दछन् । यो नाफाको लागि, परोपकारका लागि पनि होइन, सेवाको लागि गरिने व्यवसाय हो ।
हार्वर्ड संघीय क्रेडिट संघ संघीय सरकारको कानून अन्तर्गत स्थापित तथा ‘राष्ट्रिय क्रेडिट यूनियन प्रशासन’ द्वारा नियमन तथा अनुगमन गरिने क्रेडिट संघ हो । राष्ट्रिय क्रेडिट यूनियन प्रशासनले हरेक सदस्यको २ लाख ५० हजार डलरसम्मको खाताको बीमा गरेको हुन्छ । त्यसभन्दा बढीको रकमको बीमा म्यासाचुसेट्स क्रेडिट युनियन सेयर इन्स्योरेन्स कर्पोरेशनले गर्दछ । यसरी हार्वर्ड संघीय क्रेडिट संघमा जम्मा गरिएको रकम पूर्ण रूपमा सुरक्षित हुन्छ, एक डलर पनि गुम्ने डर हुँदैन ।
(ख) हार्वर्ड सहकारी संस्था-खुद्रा सहकारी
हार्वर्ड विश्वविद्यालयका विद्यार्थीले २० मार्च, १८८२ मा हार्वर्ड सहकारी संस्था स्थापना गरेका थिए । व्यापारीहरूले कायम गरेको चर्को मूल्यका कारण पुस्तक, शैक्षिक सामग्री र हिउँदमा घर तताउन आवश्यक काठ तथा कोइला खरीद गर्न कठिन भएकोले विद्यार्थीले आफूसँग भएको सीमित पूँजी जम्मा गरेर त्यस्ता वस्तु सुपथ मूल्यमा प्राप्त गर्न यो संस्था खोलेका थिए ।
संस्थाले विद्यार्थीलाई आवश्यक वस्तुहरू एकमुष्ट सस्तोमा खरीद गर्ने र ५ प्रतिशत मात्र बढाएर विद्यार्थीलाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने गरेको थियो । सन् २०१४ देखि यसले सदस्यहरूलाई गर्ने बिक्रीमा मूल्यको १० प्रतिशत छुट दिने गरेको छ भने गैर–सदस्यहरूलाई गर्ने बिक्रीमा कुनै छुट दिंदैन ।
हार्वर्ड सहकारी संस्था शुरुमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीबाट सञ्चालन गरिएको भए पनि सन् १९१६ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बोष्टनबाट क्याम्ब्रिजमा सरेपछि त्यसले एमआईटीलाई पनि समेटेको छ । संस्थामा दुई विश्वविद्यालयमा सम्बद्ध विद्यार्थी, पूर्व विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा हार्वर्ड मेडिकल स्कूलसँग सम्बद्ध अस्पतालका कर्मचारी सदस्य हुनसक्ने व्यवस्था छ ।
हार्वर्ड सहकारी संस्थाको सदस्य हुन शुरूमा दुई डलर शुल्क तिर्नुपर्दथ्यो भने यसको कारोबार वृद्धि भएपछि सदस्यता शुल्क एक डलर मात्र कायम गरिएको छ । हरेक वर्ष एक अमेरिकी डलर तिरेर जून महिनामा सदस्यता नवीकरण गर्नुपर्दछ । हार्वर्ड सहकारी संस्थाको सदस्यता नम्बर प्राप्त भएपछि सदस्यहरूले सहकारीबाट गर्ने हरेक खरीदमा १० प्रतिशत छुट पाउँछन् । यो नम्बर अरूलाई दिन पाइँदैन, यसको दुरुपयोग गरेमा सदस्यता खारेज हुन्छ । हाल हार्वर्ड सहकारी संस्थाका ५५ हजार भन्दा बढी सदस्य छन्, जसमा हार्वर्ड र एमआईटीका २२ हजार जति विद्यार्थी सदस्य छन् भने बाँकी पूर्व विद्यार्थी, प्राध्यापक तथा कर्मचारी सदस्य छन् ।
हार्वर्ड सहकारी संस्था एउटा खुद्रा सहकारी संस्था हो । यसको अर्थ यो यसका सदस्यहरूको स्वामित्वमा रहन्छ ।
बेलायतमा कारखानाधनीले चलाएका पसलले बिक्री गर्ने सामानको न्यून गुणस्तर र चर्को मूल्यबाट पीडित श्रमिकहरूले गुणस्तरीय वस्तुहरू सुपथ मूल्यमा पाउनको लागि सन् १८४४ मा बेलायतको राचडेलमा ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायनियर्स’ को नामले विश्वको पहिलो उपभोक्ता सहकारी स्थापना गरेका थिए । हार्वर्ड सहकारी संस्थाको उद्देश्य पनि त्यस्तै छ ।
शुरूमा हार्वर्ड यार्डमा स्थित विद्यार्थी छात्रावासको एक कोठाबाट पुस्तक, स्टेशनरी, काठ तथा कोइलाको कारोबारबाट हार्वर्ड सहकारीे संस्थाको स्थापना भएको थियो । अहिले यसको कारोबार क्रमशः वृद्धि भई हाल यसले हार्वर्ड क्षेत्रका तीनवटा पसल र एमआईटी क्षेत्रका दुईवटा पसल सञ्चालन गर्छ । ती पसलबाट पुस्तकका साथै स्टेशनरी, लत्ताकपडा, संगीतका सामग्रीहरू, प्रिन्टिंग्स र अन्य वस्तुहरू पनि बिक्री गर्दै आएको छ । यसले धेरै वर्षसम्म संयुक्त राज्य अमेरिकाको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो कजेल बुकस्टोर भएको गौरव प्राप्त गरेको थियो । अहिले पनि यो संयुक्त राज्यको सबभन्दा ठूला खुद्रा पुस्तक बिक्रेताको श्रेणीमा पर्दछ ।
१४० वर्षभन्दा पुरानो हार्वर्ड सहकारी संस्थाले विश्व प्रसिद्ध ती दुई विश्वविद्यालयको शैक्षिक तथा व्यावसायिक समुदायलाई पुस्तक, शैक्षिक सामग्री लगायतका वस्तुहरू सुपथ मूल्यमा प्रदान गर्दै आएको छ । सहकारी संस्था सदस्यहरूको संयुक्त स्वामित्वमा रहेको प्रजातान्त्रिक रूपमा नियन्त्रित तथा सदस्य र समुदायकेन्द्रित व्यापारिक मोडेल हो भन्ने यसबाट स्पष्ट हुन्छ ।
(ग) वेलस्प्रिङ – श्रमिक सहकारी संस्था
संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको स्प्रिङफिल्डमा सन् २०१४ मा स्थापना भएको वेलस्प्रिङ सहकारी तुलनात्मक रूपमा नयाँ श्रमिक सहकारी संस्था हो । यो समुदायमा आधारित सहकारी विकास संस्था हो । स्प्रिङफिल्डको सीमान्तकृत क्षेत्रका कामदारको स्वामित्वमा रहेका संस्थाहरूको सञ्जाल (नेटवर्क) सिर्जना गर्ने लक्ष्य बोकेको यस संस्थाले त्यस क्षेत्रका न्यून आय भएका र बेरोजगारका लागि कार्यस्थल प्रशिक्षण, रोजगारी र सम्पत्ति आर्जन जस्ता अवसर सिर्जना गर्दछ ।
एकता, सहयोग, समानता, लोकतन्त्र, बहुलवाद र दिगोपन जस्ता मूल्य बोकेको वेलस्प्रिङ सहकारीको मिशन सहकारी, समतामूलक, लोकतान्त्रिक र दिगो अर्थतन्त्र निर्माण गर्नु हो । यसले श्रम सहकारीको सञ्जाल विकास गर्नुका साथै समुदायको नेतृत्वमा पहल भएका गतिविधिलाई सहयोग गर्ने उद्देश्य राखेको छ ।
वेलस्प्रिङ सहकारी यसका सदस्यहरूद्वारा प्रजातान्त्रिक किसिमले शासित संस्था हो । यसमा स्प्रिङफिल्डमा रहेका वेलस्प्रिङ सहकारी, कलेज, विश्वविद्यालय र अस्पताल जस्ता एंकर संस्थाहरू, सामुदायिक र श्रम संगठनहरू, विकास संस्था र व्यक्तिगत सदस्यहरूको प्रतिनिधित्व हुन्छ ।
वेलस्प्रिङ सहकारीले सन् २०१६ मा वेलस्प्रिङ हार्भेस्ट स्थापना गरेको थियो । वेलस्प्रिङ हार्भेस्ट यसका कामदारको स्वामित्व र नियन्त्रणमा रहेको श्रमिक सहकारी हो । नयाँ कर्मचारीहरूले परीक्षण अवधिमा वेलस्प्रिङ हार्भेस्टको सञ्चालन, शासन तथा वित्तीय अवस्थाका बारेमा राम्रो जानकारी हासिल गरिसकेपछि सहकारीको सदस्य हुन चाहेमा निवेदन दिन सक्छन् । पुराना सदस्यहरूले सदस्यता स्वीकृत गरेपछि तिनीहरू सदस्य हुन्छन् । यसको सदस्यता शुल्क १ हजार अमेरिकी डलर छ, यसलाई विभिन्न किस्तामा तीन वर्षभित्र तिर्नुपर्ने व्यवस्था छ ।
सदस्यहरू सहकारीको हिस्सेदार, निर्णय प्रक्रियामा सहभागी र मुनाफाका भागीदार हुन्छन् । सहकारीको उन्नतिसँग सदस्यको उन्नति गाँसिएकोले कामदारहरू उत्तरदायी तथा उत्प्रेरित हुन्छन् ।
वेलस्प्रिङ हार्भेस्टले ब्राउनफिल्ड साइटलाई सम्पन्न शहरी हरितगृहमा रूपान्तरित गर्ने लक्ष्य राखेको छ । यसले स्थानीय सुपरमार्केट, अस्पताल, विद्यालयलगायत व्यावसायिक र संस्थागत ग्राहक र उपभोक्तालाई उच्च गुणस्तरको हाइड्रोपोनिक सलाद र जडीबुटीहरू उपलब्ध गराउँछ ।
निष्कर्ष
सहकारी बसोबास, व्यवसाय वा यस्तै अन्य कुनै आधारमा समानता भएका व्यक्तिहरूले आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक इच्छा तथा आकांक्षाहरू पूरा गर्न स्थापना गरेको विशिष्ट व्यवसाय हो । यसमा सदस्यहरूको संयुक्त स्वामित्व हुन्छ । सदस्यहरूले एक सदस्य एक मतका आधारमा प्रजातान्त्रिक हिसाबले नियन्त्रण गर्दछन् । यसबाट लाभ पनि सदस्यहरूले नै प्राप्त गर्दछन् । यो नाफाको लागि, परोपकारका लागि पनि होइन, सेवाको लागि गरिने व्यवसाय हो ।
सहकारी उपभोक्ता/खुद्रा, वित्तीय, श्रमिक लगायत विभिन्न प्रकारका हुन्छन् । तिनीहरूमध्ये उपभोक्ता वा खुद्रा सहकारी विभिन्न व्यक्ति वा व्यवसायले आफूसँग भएको साधन एकठ्ठा गरेर एकमुष्ट सामान सस्तोमा खरिद गरी सदस्यहरूलाई सुपथ मूल्यमा उपलब्ध गराउँछन् । सन् १८४४ मा बेलायतको राचडेलमा ‘राचडेल सोसाइटी अफ इक्विटेबल पायनियर्स’ को नामले स्थापित विश्वको पहिलो आधुनिक सहकारी र सन् १८८२ मा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजमा स्थापना भएको हार्वर्ड सहकारी संस्था यसका उदाहरण हुन् ।
वित्तीय सहकारी सदस्यहरूको छरिएर रहेको रकम जम्मा गरेर त्यसमा राम्रो व्याज दिने र आवश्यक परेको समयमा सहुलियत दरमा ऋण उपलब्ध गराएर सदस्यहरूको जीवनस्तर सुधार्ने संस्था हुन् । सन् १८६४ मा जर्मनीमा स्थापना भएको विश्वकै पहिलो ग्रामीण क्रेडिट युनियन र सन् १९३९ मा संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजमा स्थापना भएको हार्वर्ड विश्वविद्यालय कर्मचारी क्रेडिट संघ यसका उदाहरण हुन् ।
कामदार सदस्य भई एक श्रमिक एक मतका आधारमा प्रजातान्त्रिक किसिमले नियन्त्रित सहकारी श्रमिक सहकारी हुन् । यसमा श्रमिकले श्रमको माध्यमले सहकारीको विकासमा योगदान दिन्छन् । सन् १९५६ मा स्पेनको मोन्ड्रागनमा स्थापना भएको मोन्ड्रागन सहकारी विश्वकै ठूलो श्रमिक सहकारी हो । संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको स्प्रिङफिल्डमा सन् २०१४ मा स्थापना भएको वेलस्प्रिङ सहकारी तुलनात्मक रूपमा नयाँ श्रमिक सहकारी हो ।
सबै सहकारीको मूल उद्देश्य सामाजिक हो । तिनीहरू मुनाफा कमाउने भन्दा पनि सदस्य र समुदायको सेवा गर्नका लागि स्थापित हुन्छन् । स्वावलम्बन, स्व–उत्तरदायित्व, लोकतन्त्र, समानता, समता, ऐक्यबद्धता, इमानदारी, खुलापन, सामाजिक उत्तरदायित्व तथा अरूको हेरचाह सहकारीका मूल्य हुन् । स्वेच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहकारिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारी–सहकारी बीच पारस्परिक सहयोग र समुदायको चासो सहकारीका सिद्धान्त हुन् । यी मूल्य र सिद्धान्तका आधारमा विश्वभरका सहकारीहरू सञ्चालन भइरहेका छन् ।
नेपालमा पनि सहकारीको व्यवस्था सहकारी सम्बन्धी उक्त अनुसारका मूल्य, मान्यता, सिद्धान्त तथा अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा तय गरिएको छ । तिनीहरू गरीब र कमजोर समूहलाई स्थानीय परम्परागत ऋणदाता (जस्तै मिटरव्याजीहरू/साहुकारहरू) को चर्को व्याज तथा अनैतिक व्यापारिक अभ्यासबाट बचाउन खोलिएका हुन् । उदाहरणको लागि नेपालको पहिलो सहकारी कानून ‘सहकारी संस्था ऐन, २०१६’ को प्रस्तावनामा ‘कृषक, कालिगड र कम पूँजीवाला व्यक्तिहरूको आर्थिक विकासार्थ, स्वावलम्बन, पारस्परिक सहयोग र किफायतको वृद्धिको निमित्त सहकारी संस्थाहरूको गठनलाई अधिक सुविधाजनक गर्न आवश्यक भएकोले … यो ऐन बनाई जारी गरिएको छ’ भनिएको थियो ।
यस किसिमको सहकारीको महान् दर्शनका विपरीत केही ठूला वित्तीय सहकारी सञ्चालन गर्ने ठगहरूले सहकारीलाई ठूलो मात्रामा दुरुपयोग गरेका छन् । त्यसले लाखौं बचतकर्ता पीडित भएका छन् । पीडकहरूलाई विभिन्न किसिमले कारबाही भइरहेका समाचारहरू पनि प्रकाशमा आइरहेका छन् । सहकारीका ठगहरूलाई कडा कारबाही गरेर पीडितलाई तत्काल राहत दिनु जति आवश्यक छ, सहकारी सम्बन्धी नीतिगत, कानूनी, प्रक्रियागत, प्रशासनिक तथा संस्थागत सुधार गर्नु उत्तिकै आवश्यक छ । यसबाट मात्रै नेपालको दिगो विकासका लागि सहकारीलाई महत्वपूर्ण माध्यमका रूपमा विकसित गर्न सकिन्छ । यस सन्दर्भमा सहकारी सम्बन्धी मुलुकभित्र तथा बाहिरका सफल उदाहरणहरू व्यापक रूपमा प्रचारप्रसार गर्नु आवश्यक छ । सहकारीका बारेमा व्यापक रूपमा शिक्षा, तालिम र सूचना सम्प्रेषण गरेर सहकारीलाई सहकारीका रूपमा सफलतासाथ लागू गर्ने राष्ट्रव्यापी अभियान सञ्चालन गर्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्