निगममा ब्यापक आर्थिक अनियमितता
नेपाल वायुसेवा निगमभित्र कर्मचारी बढुवा/नियुक्ति, तालिम केन्द्र छनोट, विमान चालकको उडान तालिका निर्धारणलगायतमा आर्थिक अनियमितता
काठमाडौँ । नेपाल वायुसेवा निगमभित्र कर्मचारी बढुवा/नियुक्ति, तालिम केन्द्र छनोट, विमान चालकको उडान तालिका निर्धारणलगायतमा आर्थिक अनियमितता देखिएको छ ।
योग्यता नपुगेका विमान चालकलाई निगमको अपरेसन डाइरेक्टर नियुक्ति, कानुनविपरीत अपरेसन डाइरेक्टरको योग्यता निर्धारणसम्बन्धी मापदण्ड संशोधन, विदेशी विमान चालकले तिर्नुपर्ने आयकरबापतको रकम गैरकानुनी रूपमा छुट दिई निगमबाटै भुक्तानी, विमान चालक अभ्यासका लागि बढी कबोल गर्ने विदेशी कम्पनी छनोट, चालकलाई मासिक रूपमा दिइने उडान अवसरमा विभेदलगायत अनियमितता भएको हो ।
निगमभित्रका प्रशासनिक कामकारबाहीमा भएका अनियमितता अनुसन्धान गर्न उजुरी परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७७ कात्तिक २३ मा राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत प्रहरी उपरीक्षक राजेन्द्रकुमार पोखरेलको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनी सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिले ७ महिना लगाएर तयार पारेको प्रतिवेदन असार ३ गते राष्ट्रिय सतर्कता केन्द्रमा बुझाएको छ । प्रतिवेदनमा आर्थिक हिनामिना गर्ने निगमका अधिकारीमाथि कारबाही गरी हिनामिना भएको रकम असुल गर्न सुझाव दिइएको छ ।
प्रतिवेदन कार्यान्वयनका लागि सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । अनियमिततामा संलग्नमाथि कारबाही गर्न पनि भनिएको छ ।
स्रोतका अनुसार केन्द्रको प्रतिवेदनपछि पर्यटन मन्त्रालयले केही दिनअघि उपसचिव प्रह्लाद पुडासैनीको संयोजकत्वमा तनुजा पोखरेल र भुवन आचार्य सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको छ भने अख्तियारले पनि निगमभित्रको हिनामिना र अनियमितताबारे अनुसन्धान अघि बढाएको छ ।
प्रतिवेदनअनुसार अपरेसन डाइरेक्टरको छनोट गर्दा निगमका पाइलट वरीयता क्रममा ज्येष्ठता, योग्यता र कार्यक्षमतालाई आधार मान्नुपर्नेमा वरीयतामा १९ औं नम्बरमा रहेका दीपुराज ज्वारचनलाई नियुक्त गरिएको छ ।
यो पदमा २० वर्ष जिम्मेवारी बहन र कुनै पनि कारबाहीमा नपरेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने नियममा उल्लेख भए पनि १२ वर्ष मात्रै काम गरेका र नागरिक उड्डयन प्राधिकरणले हवाई उड्डयनसम्बन्धी कानुन उल्लंघनको आरोपमा १४ फेब्रुअरी २०१७ मा ५ हजार रुपैयाँ जरिवाना गराएका ज्वारचनलाई नियुक्ति दिएको पाइएको छ ।
ज्वारचनलाई निगमले २५ जुलाई २०१९ मा अपरेसन डाइरेक्टर नियुक्त गरेको थियो । त्यसबेला कार्यकारी अध्यक्ष मदन खरेल थिए । ज्वारचन नियुक्त भएको केही महिनामै खरेल निगमबाट हटे । २८ जुलाईमा अन्तर्वार्ताका लागि समय निर्धारण गरिएकामा समयअगावै प्राधिकरणले उनको नियुक्ति स्वीकृतिका लागि सहमति दिएको खुलेको छ ।
यसरी सहमति दिने प्राधिकरणका अधिकारीमाथि पनि अनुसन्धान गरी कारबाही गर्न प्रतिवेदनले सुझाव दिएको छ । आफू नियुक्त भएको केही महिनाभित्रै निगमबाट उनले अपरेसन डाइरेक्टर हुन चाहिने न्यूनतम योग्यता २० वर्षको अनुभवसम्बन्धी प्रावधानलाई घटाएर १० वर्ष बनाएका थिए । उनी सन् २००७ मा निगममा प्रवेश गरेका चालक हुन् ।
‘कुनै पनि नियम कानुन/कार्यविधि संशोधन गर्दा अपनाउनुपर्ने तोकिएको कार्यविधिगत प्रक्रियाको पालना नगरी गरिएको संशोधन थपघट गरेको कुरा वैधानिक नदेखिँदा संशोधन तथा नियमविपरीतको नियुक्ति वैधानिक देखिएन,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमको कर्मचारी सेवासर्तसम्बन्धी विनियमावली २०५८ को विनियम ३३ मा कायममुकायम भएको व्यवस्था गरी संशोधन तथा सोही संशोधनको आधारमा दीपुराज ज्वारचनलाई अपरेसन विभागको प्रमुखमा नियुक्ति गरेको विषयसमेत गैरकानुनी देखिन्छ ।’
निगममा कार्यरत विमान चालकका लागि उडान तालिका निर्धारण, तालिम/ प्रशिक्षण व्यवस्थापन, विदेशी तालिम केन्द्र छनोटलगायत चालकहरूको वृत्तिविकाससम्बन्धी निर्णय गर्ने अधिकारी नै अपरेसन डाइरेक्टर हो ।
उडानबिनै पारिश्रमिक, आयकरमा छुट
निगमका अधिकारीहरूकै मिलेमतोमा विदेशी चालकलाई तोकिएको उडान अवधि पूरा नगरी सन् २०२० को ११ महिनामा पारिश्रमिक भुक्तानी गरिएको छ । यस्तै विदेशी चालकले आयकरबापत तिर्नुपर्ने रकम पनि निगमबाटै दायित्व बहन गर्ने गरी छुट दिइएको छ ।
वायुसेवा निगमका दुईवटा जहाज ए३३० (वाइडबडी) र ३२० (न्यारोबडी) छन् । आयकरमा निगमको दायित्व बहन गराउने विषयलाई प्रतिवेदनले गैरकानुनी र अनियमितता भनेको छ । छानबिन प्रतिवेदनअनुसार निगममा १५ जना विदेशी चालक नियुक्त गरिएकामा महामारीका बेला उडान नै नभरी पारिश्रमिक दिलाउँदा व्ययभर थपियो ।
कोरोना महामारीका बेला थुप्रै विदेशी वायुसेवा कम्पनीले चालकलाई अवकाश दिएको तर निगमले यस विषयमा कुनै पहल नै नगरेको छानबिन समितिको निष्कर्ष छ ।
निगमले विदेशी चालकलाई १३ हजार डलर मासिक पारिश्रमिक र १५ सय डलर आवास भत्ता उपलब्ध गराउँदै आएको छ । तर सतर्कता केन्द्रले छानबिन समिति गठन गरेपछि भने ३ जनालाई कायम राखेर निगमले १२ जनालाई बिदाइ गरेको थियो ।
विदेशी सबै चालक कार्यरत छँदा उनीहरूका लागि सन् २०२० मा मात्रै पारिश्रमिकबापत १६ करोड ८७ लाख १५ हजार ५ सय ८३ रुपैयाँ भुक्तानी गरिएकामा आयकरबापत ५ करोड ८८ लाख ८१ हजार ५ सय ८७ रुपैयाँ कटाएर १० करोड ९८ लाख ३४ हजार ९९ रुपैयाँ मात्रै भुक्तानी दिनुपर्ने थियो ।
तर आयकरबापतको रकम निगमले नै बेहोर्ने गरी विदेशी चालकलाई रकम भुक्तानी गरेको छानबिनबाट खुलेको छ ।
१ हजार घण्टा उडान भर्नुपर्नेमा १ सयदेखि १ सय ८० घण्टासम्म मात्रै उडान भरेका चालकलाई पूर्ण उडान भरेसरह पारिश्रमिक दिइएको थियो ।
महामारीका बेला कामबिनै विदेशी चालकलाई पालियो । आयकर ऐनअनुसार कर काटी पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा नगरी आयकरको रकमसमेत वायुसेवा निगमबाट भुक्तानी भएको भन्दै यस विषयमा गम्भीर रूपमा थप छानबिन गरी गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन भनिएको छ ।
निगमले विदेशी पाइलटलाई भुक्तानी गरेको पारिश्रमिकमा आयकर निगमबाटै बेहोरिएको उल्लेख छ । छानबिन प्रतिवेदनमा विदेशी पाइलटलाई अनावश्यक नियुक्ति दिइएको र आयकरसमेत निगमबाटै भुक्तानी गरेर आर्थिक अनियमितता गरिएको उल्लेख छ ।
‘विदेशी पाइलटहरूलाई अनावश्यक नियुक्ति गरी निजहरूलाई आयकर ऐनअनुसार कर काटी पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा सो नगरी आयकरको रकमसमेत वायुसेवा निगमबाट भुक्तानी हुनु विधिसम्मत देखिएन ।
यसमा नेपाल वायुसेवा निगमको तालुक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणवाट छानबिन गराई निष्कर्षमा पुग्न मनासिब देखिन्छ ।’
चालकलाई उडानबाटै वञ्चित
निगमका दुईवटा अन्तर्राष्ट्रिय उडान भर्ने ए३२० का ३५ र ए३३० मा २५ विमान चालक रहेकामा सन् २०२० को १२ महिनामा अपरेसन डाइरेक्टर दीपुराज ज्वारचन र मानव संसाधन विभागको मिलेमतोमा कानुनविपरीत थुप्रै चालकलाई उडानबाट वञ्चित गरिएको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने चालकले प्रतिघण्टा करिब ६ हजार रुपैयाँ भत्ता पाउँछन् । अन्तर्राष्ट्रिय उडान भर्ने विमान चालकलाई महिनामा कम्तीमा ४५ घण्टा उडानको प्रत्याभूति गरिएको छ तर कसैलाई महिनामा १ सय घण्टा र कसैलाई अवसर नै दिइएको छैन ।
चालकको वृत्तिविकासमा उडान अवधिलाई मूल्यांकनको आधार मानिन्छ तर वृत्तिविकासमा नकारात्मक असर पर्ने गरी आधा दर्जन चालकलाई एक वर्षमा कुनै पनि उडान भर्न दिइएको छैन ।
छानबिन प्रतिवेदनअनुसार अर्विनराज पहारीले २०२० जनवरीदेखि डिसेम्बरसम्म ए३३० विमानमा जनवरी, फेब्रुअरी, मार्च, अप्रलि, मे, जुन, जुलाई, अगस्टमा उडान नै गरेनन् । उनले सेप्टेम्बरमा ११ घण्टा ६ मिनेट, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा शून्य छ ।
विमान चालक सुधीर गौरले जनवरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्ट, सेप्टेम्बरमा शून्य उडान गरेको उल्लेख छ ।
त्यस्तै लालबहादुर थकालीलाई जनवरी र सेप्टेम्बरमा क्रमशः ४४ घण्टा ४२ मिनेट र ११ घण्टा ६ मिनेट मात्रै विमान उडाउन दिएर बाँकी महिना शून्य गरिएको छ । विदेशी चालकलाई पूरै उडान नभई पनि पूर्ण पारिश्रमिक भुक्तानी गरिएको छ ।
नगेन्द्र भट्टराईलाई सेप्टेम्बरमा मात्रै ११ घण्टा ६ मिनेट उडाउन दिएर बाँकी महिना कामविहीन बनाइएको छ । त्यसैगरी रवीन्द्रकुमार शेरचनलाई जनवरी र सेप्टेम्बर महिनामा ५ घण्टाभन्दा कम उडान दिएर बाँकी महिनामा काममा लागाइएको छैन ।
प्रियापाल सिंहले अप्रिल, मे, सेप्टेम्बर र नोभेम्बरमा उडान नै भरेनन् । तर उनले पारिश्रमिक पूरै लिए ।
सुधीर तोमरलाई जनवरी, फेब्रुअरी, मार्च र डिसेम्बरमा मात्रै उडान भर्न दिइयो । उनी विदेशी चालक हुन् । सन् २०२० मा ए३२० विमानमा ५ जना पाइलटलाई १ वर्षसम्म उडान भर्न नै दिइएन । राकेश काफ्ले, प्रशान्त राई र प्रचण्ड खड्काले ४ महिना उडान भर्न नै पाएनन् । निपेन्द्र भट्टराई र सिर्जना रावतले वर्षभरि उडाउन पाएनन् ।
ज्वारचन र अरू केही कर्मचारीको मिलेमतोमा निकटका पाइलटलाई छानीछानी उडान अवसर दिइएको उजुरी परेको थियो । सतर्कता केन्द्रले उजुरी सत्यतथ्यमा आधारित देखिएका चालकलाई उडान अवसरबाट वञ्चित गराइनु गैरकानुनी भनेको छ ।
दुई चालकबीच महिनामा अधिकतम १५ घण्टा र वर्षमा १ सय ८० घण्टाभन्दा फरक पर्नु हुँदैन । फरक परेमा कारण र पुस्ट्याइँ गर्नुपर्ने नियममा उल्लेख छ तर निगमका चालकबीच एकअर्काको उडान भिन्नता ४ सय घण्टासम्म फरक परेको देखिन्छ ।
वायुसेवा निगमसम्बन्धी कानुन र नियमअनुसार पाइलटहरूलाई महिनामा कम्तीमा ४५ घण्टा उडान समयको प्रत्याभूत गरेको छ । सोहीअनुसार भत्ता/सुविधाको व्यवस्था छ । उडान अवसर दिँदा अपरेसन्स विभागका निर्देशकले कुनै भेदभाव नराखी चालकलाई उडान भर्न दिइने नेपाल वायुसेवा विनियमावलीमा उल्लेख छ ।
‘प्रत्येक महिना २ वा सो भन्दा बढी पाइलटहरूको १५ घण्टाभन्दा बढीको उडान घण्टाको फरक परेमा त्यसको पुस्ट्याइँ दिनुपर्ने बाध्यात्मक व्यवस्था गरी पाइलटहरूको सेवा सुविधाको प्रत्याभूत गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तर नेपाल वायुसेवा निगमबाट प्राप्त उल्लेखित विवरण हेर्दा कानुनले गरेको बाध्यात्मक व्यवस्थाको पालना नभएको र उडान घण्टा विवरण हेर्दा कुनै पाइलटलाई मासिक १०० घण्टा र कसैलाई १ घण्टा पनि उडान भर्न नदिएको देखिन्छ । यस्तो उडान घण्टा फरक परेको कुरालाई पुस्ट्याइँसहित कार्यालय प्रमुखलाई जानकारी गराउनुपर्ने कुरालाई समेत पालना गरेको देखिएन ।’
त्यस्तै १ वर्षको उडान घण्टा हेर्दा स्वदेशी पाइलटहरूबीच ४०० घण्टासम्म फरक परेको देखिन्छ । ‘कुनै पाइलटलाई शून्य घण्टा उडान दिएर अन्याय गरेको देखिन्छ भने विदेशी पाइलटहरूलाई उडानै नगरी वा अत्यन्त न्यून उडान गरेको भरमा करोडौं लगानी गरेको संलग्न तालिकाबाट देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
‘यसरी हेर्दा अपरेसन विभागले कानुनविपरीत कार्य गरी पाइलटहरूलाई अन्याय गरेको देखिँदा यसमा संलग्नलाई कानुनबमोजिम कारबाही गरी उडानमा समान अवसर तथा पहुँचको व्यवस्था मिलाउन र कानुनमा उल्लेखित प्रावधान अक्षरशः पालना गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिनुपर्ने देखिन्छ ।’
आर्थिक भार थोपरेर विदेशीलाई अवसर
निगमले हवाई तालिममा पनि नेपाली चालक पन्छाएर विदेशीलाई प्रशिक्षक छनोट गरेको पाइएको छ । नेपाली चालक सुभाष रिजाल र निगममै कार्यरत भारतीय चालक नागराज शंकरमूर्तिलाई पन्छाएर बहराइनस्थित गल्फ एभिएसन एकेडेमीलाई प्रशिक्षणको जिम्मा दिइयो । जसले गर्दा आर्थिक भार थपियो ।
छानबिन प्रतिवेदनअनुसार निगमकै प्रशिक्षक पाइलटबाट विमान चालक तालिम गराएको भए निगमलाई ५७ हजार ३ सय ४० अमेरिकी डलर लाग्ने थियो तर नेपाली प्रशिक्षकलाई ३२ घण्टा मात्र दिएर १ सय ५६ घण्टा प्रशिक्षण विदेशी विमान चालकबाट गराइएको छ ।
जसबाट नेपाल वायुसेवा निगमको ९१ हजार ६ सय ६० डलर खर्च भएको छ । विदेशी चालकबाट प्रशिक्षण गराउँदा निगमलाई ३४ हजार ३ सय २० डलर अतिरिक्त भार परेको छ । अहिलेको विदेशी विनिमय दरअनुसार नोक्सानी करिब ३८ लाख रुपैयाँ हो । त्यतिमात्र होइन, उमेर ५५ वर्ष पुगेको र कार्य अवधि ६ वर्षभन्दा कम भएका चालकलाई विदेशी तालिममा नपठाउने व्यवस्थाविपरीत ज्वारचनले नै गोपालसिंह विष्टलाई करिब ४० लाख रुपैयाँ आर्थिक भार बेहोरेर बहराइनस्थित गल्फ एभिएसन एकेडेमीमा पठाइयो ।
तालिममा पठाउँदा विष्टको उमेर ६० वर्ष रहेको निगमकै एक विमान चालकको भनाइ छ । यस्तै न्यारोबडीका लागि विदेशी चालक नागराज शंकरमूर्तिलाई २०१७ मा निगममा भित्र्याइयो । विमान भित्र्याएको ५ वर्षपछि नेपाली चालक नै उत्पादन गरेर विदेशीलाई बिदा गर्नुपर्ने प्रावधान भए पनि त्यसलाई बेवास्ता गरी नागराजलाई गुपचुप करार अवधि थपेर निरन्तरता दिइयो ।
पछि छानबिन सुरु भएपछि अहिले नागराजको करार थपिएन । निगमका एक विमान चालकले भने, ‘नेपाली प्रशिक्षक चालक हुँदाहुँदै विदेशीलाई अवसर दिइयो, त्यो पनि अपारदर्शी रूपमा, यसले निगमका विद्यमान नियम/कानुनलाई उल्लंघन मात्रै गरेको छैन, नेपाली चालकको करिअरमै धक्का पुर्याइएको छ ।’
ज्वारचन अपरेसन डाइरेक्टर नियुक्त हुनुअघि एक वर्षमा नयाँ विमान चालकका रूपमा १५ जना उत्पादन गरिएको थियो । उनी आएपछि उक्त तालिमबाट नेपाली विमान चालकलाई वञ्चित गराइएको छ ।
नयाँ चालक पनि उत्पादन गरिएन । हरेक ६/६ महिनामा नेपाली चालकलाई ‘अभ्यास उडान’ तालिम दिइनुपर्नेमा प्रशिक्षक विदेशीबाट गराइयो । निगममा अहिले सुभाष रिजाल यो प्रक्षिणका लागि मापदण्ड पूरा गरेका प्रशिक्षक चालक हुन् ।
त्यतिमात्र होइन, प्रतिवेदनमा जापानको नारितामा निगमको जहाजले उडान अनुमति पाएपछि क्रु मेम्बरका लागि बासस्थान व्यवस्थापनमा पनि करिब ६ करोड अनियमितता भएको आरोप निगम प्रशासनमाथि लागेको छ ।
क्रु मेम्बरका लागि पाँचतारे होटल वा त्यो सरहको हुनुपर्ने प्रावधानविपरीत निगमले तीनतारे होटल ‘नारिता गार्डेन इन’ लाई छनोट गरेको थियो तर यो मापदण्ड नपुगेको होटल हुँदाहुँदै अपारदर्शी ढंगले छनोट गरेर आर्थिक अनियमितता गरेको समितिको निष्कर्ष छ ।
पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले अनियमिततामाथि सूक्ष्म रूपमा छानबिन अघि बढेको र अख्तियारबाट पनि यस विषयमा अनुसन्धान गर्न निर्देशन आएको बताए । ती अधिकारीले अनियमितता गर्नेमाथि कुनै किसिमको मोलाहिजा नगरी कारबाहीको दायरामा ल्याइने बताए ।
प्रतिक्रिया दिनुहोस्