नारायणहिटी दरबारको गद्दीमा बस्ने चर्चा हृदयेन्द्रको, चाहना ज्ञानेन्द्रकै

‘तेस्रो चरणमा मात्रै ज्ञानेन्द्र कि हृदयेन्द्रलाई राजा बनाउने भन्ने विषय आउँछ’

यो छुट्टै कुरा हो– १५ चैत्र (२०८१) को ‘तीनकुने ताण्डव’ मा संलग्नता–आरोपमा राजद्रोहको मुद्दा खेपिरहेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र २ जेठमा रिहा भएयता ‘गुमनाम’ भन्न मिल्नेगरी चुपचाप छन्। राजावादीहरूले १५ जेठदेखि सुरु गरेको ‘निर्णायक आन्दोलन’ मा सहभागी हुनु त परै–जाओस्, फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालमा पनि उनी निष्क्रिय देखिन्छन्। 

‘तीनकुने ताण्डव’को चार दिनअघि, ११ चैत्र (२४ मार्च) मा उनले सामाजिक सञ्जाल फेसबुक र एक्समा एउटा रोचक पोस्ट गरेका थिए। पोस्टको सन्दर्भ कुनै समय उनी आफै जागिरे रहेको बीबीसी नेपाली सेवामा राजावादी आन्दोलनका सम्बन्धमा उनले दिएको अन्तर्वार्ता थियो। तर, पोस्टमा फोटो भने हृदयेन्द्र शाहको राखेका थिए। र, लेखेका थिए, ‘अहिलेका राजापछिका राजा।’ 

frontline

अमेरिकामा अध्ययनरत तिनै हृदयेन्द्र शाह गर्मी बिदा मनाउन ३ जेठमा काठमाडौँ फर्कंदा राजावादीहरू त्रिभुवन विमानस्थल पुगे, पोखराबाट २५ फागुनमा काठमाडौँ फर्कंदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेकै शैलीमा नाति हृदयेन्द्रलाई पनि स्वागत गरे, नारायणहिटी पुर्‍याए। भलै हृदयेन्द्रलाई स्वागत गर्ने समूह भने निकै सानो थियो। तर, ज्ञानेन्द्रको स्वागतजस्तै हृदयेन्द्रको स्वागतको उद्देश्य पनि ‘राजतन्त्र फर्किसक्यो’ भन्ने सन्देश दिने खालको थियो। 

राजावादीहरूले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन चर्काइरहँदा पूर्वराजा शाहका २२ वर्षीय तिनै नाति पूर्वनवयुवराज हृदयेन्द्र शाह पनि चर्चामा छन्। १३ जेठमा बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजित सम्पादकहरूसँग भेटघाटमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘हृदयेन्द्रका नाममा सहमति भए ज्ञानेन्द्र पनि त्यो सहमतिमा आउनुपर्छ’ भनेपछि उनको चर्चा थप चुलिएको छ। 

१० जेठमा हृदयेन्द्रलाई लिएर पूर्वराजा शाह नारायणहिटीस्थित चतुर्व्युह नारायण मन्दिर पुगेपछि ज्ञानेन्द्रको विकल्पमा निर्मल निवासले हृदयेन्द्रलाई अघि सारेको हो कि भन्ने चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ। 

हृदयेन्द्रको चर्चा यस्तो बेला हुन थालेको छ, जतिबेला राजतन्त्र पक्षधरहरूको प्रतिवादस्वरूप गणतन्त्रवादी खेमाले पूर्वराजा ज्ञानेन्द्र शाहको अधिराजकुमारकालीन विवादित विगत र गद्दीमा छँदा चलाएको प्रत्यक्ष निरंकुश शासनको स्मरण गराउन थालेका छन्। राप्रपा नेपालका अध्यक्ष थापाले पनि सम्भवतः ‘हृदयेन्द्रको नाममा सहमति जुटे उनैलाई राजा बनाउन ज्ञानेन्द्र सहमत हुनुपर्छ’ यसैकारण भनेका हुनसक्छन्।

काठमाडौँ फिर्ता हुनुअघि, अमेरिकामै छँदा पनि हृदयेन्द्रको चर्चा काठमाडौँमा हुन थालिसकेको थियो। भलै त्यो चर्चा अलिक फरक सन्दर्भमा भयो। वैशाख दोस्रो साता प्रकाश सुवेदीसँगको एक अन्तर्वार्तामा अभिनेत्री सुरक्षा पन्तले ‘हृदयेन्द्र कलाक्षेत्रमा लाग्दा राम्रो हुन्छ’ भन्ने सुझाव दिएकी थिइन्। राजावादीहरूले यसलाई निको मानेनन्, ‘भविष्यमा गद्दीमा बस्ने नवयुवराजलाई फिल्म खेल्ने पात्र’ ठानेको भन्दै उनीहरू नायिका पन्तविरुद्ध खनिए। जसरी होस्, नायिका पन्तसँगै चर्चामा हृदयेन्द्र पनि आए। 

पहिलो संविधान सभाले गणतन्त्रको औपचारिक घोषणा गर्नुअघि पनि नयाँ राजाका रूपमा चर्चामा थिए, हृदयेन्द्र। फरक यत्ति हो कि, उतिबेला ‘बेबी किङ’ (बालक राजा) का रूपमा उनी चर्चामा थिए, ‘बेबी किङ’ को चर्चा सेलाएको १७ वर्ष बितिसकेको छ। उतिबेला हुन ‘नसकेका बेबी किङ’ हृदयेन्द्र वयस्क बनिसकेका छन्। र, राजा हुने भाग्यमा भएपनि–नभए पनि एकपटक फेरि चर्चामा आएका छन्।  

बेबी किङ : ज्ञानेन्द्रबाटै खारेज प्रस्ताव
‘जनआन्दोलन : २०६२–०६३’ पछि राजतन्त्रको डुङ्गा डुब्ने पक्कापक्की भइसकेको थियो। डुब्न लागेको राजतन्त्रको डुङ्गा जोगाउन राजतन्त्र पक्षधरहरूले विभिन्न प्रयास गरे। त्यसमध्येको दोस्रो प्रयास थियो, ‘बेबी किङ’ को प्रस्ताव– जसको केन्द्रमा १४ साउन २०५९ मा जन्मेका ४–५ वर्षे नवयुवराज हृदयेन्द्र थिए। तत्कालीन युवराज पारस शाहको विवादित छविका कारण ज्ञानेन्द्रको विकल्पमा हृदयेन्द्रको चर्चा हुन थालेको थियो। 

राजतन्त्रलाई निरन्तरता दिने पहिलो प्रयास भने नेपाली कांग्रेस र एमालेसहितका संसदवादी राजनीतिक दलहरूले पुनर्स्थापित प्रतिनिधि सभामार्फत् गरेका थिए। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक (४ जेठ २०६४) को विशेष घोषणाको दफा ५.१ मा ‘राजसंस्थाको उत्तराधिकार सम्बन्धी कानुन निर्माण, संशोधन र खारेज गर्ने अधिकार प्रतिनिधि सभामा रहनेछ’ भन्ने व्यवस्था गरेको थियो। 

यो व्यवस्थासँगै पुनर्स्थापित प्रतिनिधि सभामा ‘राजगद्दीको उत्तराधिकारी छोरी पनि हुनसक्छन्, उनीहरूले पनि गद्दीमा बस्न पाउनुपर्छ’ भन्ने माग हुन थाल्यो। एमाले उपाध्यक्ष एवं पुनर्स्थापित प्रतिनिधिसभाकी सदस्य अष्टलक्ष्मी शाक्यका भनाइमा महिलाहरूले पनि पुरुषसरह अधिकार पाउनुपर्छ भन्ने मान्यताका आधारमा उनीहरूले राजगद्दीको उत्तराधिकारी छोरी किन हुनसक्दैनन् भन्ने विषय संसदमा उठाएका थिए।  

‘तर केही समयपछि राजनीतिक कोर्स नै बदलियो, मुलुक गणतन्त्रमै प्रवेश गर्ने भयो’ एमाले नेतृ शाक्यले सम्झिइन्, ‘देश गणतन्त्रमा जाने भएपछि राजगद्दीको उत्तराधिकारी को हुने भन्ने विषय नै सान्दर्भिक रहेन।’ 

प्रतिनिधि सभा पुनर्स्थापना भएको केही हप्तापछि सशस्त्र युद्धरत माओवादी पनि शान्ति प्रक्रियामा आयो। २०६३ माघमा अन्तरिम संविधान–२०६३ घोषणा भयो, जसले माओवादीको सहभागितासहित पुनर्स्थापित प्रतिनिधि सभालाई ‘अन्तरिम व्यवस्थापिका–संसद्’ मा रूपान्तरित गर्‍यो। र, माओवादीकै जोडबलमा अन्तरिम व्यवस्थापिका–संसदबाट २०६३ चैत्रमा राजतन्त्र निलम्बन हुन पुग्यो। 

पहिलो संविधान सभा निर्वाचनमा माओवादीको विजय र गणतन्त्रको पक्षमा उर्लेको माहोलबीच संविधान सभाको पहिलो बैठकबाट जब गणतन्त्रको घोषणा हुने पक्काजस्तो देखियो, राजतन्त्र निरन्तरताको पक्षधरहरूले राजतन्त्र जोगाउने अनेक उपायको खोजी गरे। ‘बेबी किङ’ को अवधारणा यसअन्तर्गतको अन्तिम उपाय थियो। राजतन्त्रलाई निरन्तरता दिन नवयुवराज हृदयेन्द्र शाहलाई गद्दीमा राख्ने प्रस्ताव यो अवधारणाको केन्द्रमा थियो। 

कांग्रेस पृष्ठभूमिका तर २०१७ को कूमा राजा महेन्द्रलाई साथ दिएका पुराना नेता विश्वबन्धु थापाले केही वर्षअघि एक अन्तर्वार्तामा ‘बेबी किङ’ को अवधारणामा जान आफूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सुझाव दिएको दाबी गरेका थिए। बीपीकै पालादेखि थापाको कोइराला परिवारसँग राम्रो सम्बन्ध थियो। थापाका भनाइमा प्रधानमन्त्री कोइराला पनि ‘बेबी किङ’ को अवधारणासँग ‘सहमत’ थिए, भारतीयहरू पनि यो उपायप्रति सहमत देखिन्थे। 

आफ्नो आत्मकथामा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले पनि राजतन्त्र जोगाउने अन्तिम उपायस्वरूप ‘बेबी किङ’ को अवधारणा प्रधानमन्त्री कोइरालासँग राखेको, सुरुमा कोइरालाले अस्वीकार गरे पनि पछि उनलाई कन्भिन्स गर्न आफू सफल भएको दाबी कटवालले गरेका छन्। 

‘हुँदैहुन्न (भनेर) उहाँ (सुरुमा) कड्कनुभयो, मैले जानेको तर्क गरेँ, रुखो स्वर गरेँ,’ कटवाल आत्मकथामा भन्छन्, ‘कहिले नरम भएँ, (अन्तिममा) उहाँलाई सहमत गराएरै छाडेँ।’ 

कटवालका भनाइमा प्रधानमन्त्री कोइरालाले काठमाडौँबाटै ‘बेबी किङ’ को वकालत गर्दा माओवादीले आपत्ति जनाउने पक्का थियो, त्यसैले कोइरालाले विराटनगरबाट यो विषयमा बोलेर ‘टेस्ट’ गर्ने बताए। कटवाललाई पनि यस विषयमा सहमतिका लागि दरबारसँग कुराकानी गर्न आग्रह गरे। 

प्रधानमन्त्री कोइराला ‘बेबी किङ’मा सहमत भएपछि कोइरालापुत्री सुजाताले ‘बेबी किङ’ को पक्षमा सार्वजनिक वकालत सुरु गरिन्। २०६४ को दशैँ मान्न प्रधानमन्त्री कोइराला आफै गृहनगर विराटनगर पुगे। कान्तिपुर टेलिभिजनले विराटनगर नै पुगेर कोइरालासँग अन्तर्वार्ता लियो। त्यो अन्तर्वार्तामा कोइराला ‘बेबी किङ’को पक्षमा बोले। 

‘यो २०६४ दशैँको अष्टमीको कुरा हो, उहाँसँग अन्तर्वार्ता लिन हामी काठमाडौँबाटै विराटनगर पुगेका थियौँ,’ कोइरालासँग अन्तर्वार्ता लिएका पत्रकार जगत नेपाल (हाल पत्रकारिताका उपप्राध्यापक) भन्छन्, ‘त्यो कुराकानीमा उहाँले ‘बेबी किङ’को वकालत गर्नुभएको थियो।’ 

यता कोइरालाको आग्रह बमोजिम सेनाप्रमुख कटवालले नारायणहिटीका एडीसीहरूमार्फत् राजा (निलम्बित) ज्ञानेन्द्रकहाँ हृदयेन्द्रलाई राजा बनाए राजतन्त्र जोगाउन सकिन्छ भन्ने प्रस्ताव पुर्‍याए। कटवालका भनाइमा आफ्ना एडीसी विजयविक्रम खड्कामार्फत् ज्ञानेन्द्रले जवाफ फर्काए, ‘तपाईं (कटवाल) ले सेरमोनियल वा बेबी किङबारे बोल्न जरुरी छैन।’

ज्ञानेन्द्रका बालसखा र व्यापारिक साझेदार प्रभाकर शमशेर राणामार्फत् कन्भिन्स गर्न सकिने ठानेर उनीमार्फत् कटवालले उही प्रस्ताव पठाए। 

प्रभाकर शमशेरले अप्ठेरो मानी–मानी ज्ञानेन्द्रलाई कटवालको प्रस्ताव सुनाएछन्। तर, ज्ञानेन्द्रबाट कुनै जवाफ पाएनन्। ‘त्यसो भए चिफसाव (कटवाल) लाई के जवाफ लैजाऊँ त!’ 

ज्ञानेन्द्रको जवाफ रहेछ, ‘उनलाई भनिदेऊ, तिम्रो कुरा सुनेँ।’ 

अर्थात् आफ्नो साटो नाति हृदयेन्द्रलाई राजा बनाउने प्रस्तावविरुद्ध ज्ञानेन्द्र अझै सख्त रहेछन्। आफूलाई गद्दीबाट निकालेर हृदयेन्द्रलाई राजा बनाउने प्रस्तावप्रति ज्ञानेन्द्र कति आक्रोशित रहेछन् भन्ने कुरा कटवालले ज्ञानेन्द्र शाह निकटहरूबाट सुने। 

‘बेबी किङबारे राजा ज्ञानेन्द्रको भनाइ भनेर केही दरबारियाले मलाई यस्तो पनि सुनाए : बेबी किङ विल बि ओभर माइ डेड बडी (बेबी किङ मेरो लासमाथि मात्र सम्भव छ) कटवाल आफ्नो आत्मकथामा भन्छन्, ‘ज्ञानेन्द्रले बेबी किङ किन मान्नुभएन भन्नेमा राजपरिवारनिकट केही सम्भ्रान्तको आफ्नै विश्लेषण छ : बेबी किङ भन्नु दाजु वीरेन्द्रको वंशजलाई बुझाउनु हो वा नाति हृदयेन्द्रको शासन हो। हृदयेन्द्रलाई शासनमा ल्याउनु हिमानीमार्फत् भारतीयकरणको निम्ति बाटो बनाइदिनु हो।’ 

नारायणहिटीमा ज्ञानेन्द्र थिए। निलम्बित भए पनि गद्दी र राजदण्ड उनकै नियन्त्रणमा थियो। उनैले तिरस्कार गरेपछि ‘बेबी किङ’को अवधारणा अन्तर्गत हृदयेन्द्र राजा बन्ने विषय चर्चामै सीमित भयो। 

चतुर्व्युह नारायण मन्दिरमा पूजाका क्रममा ज्ञानेन्द्र र हृदयेन्द्र। फोटो सौजन्य : द रोयल फ्यामिली नेपालचतुर्व्युह नारायण मन्दिरमा पूजाका क्रममा ज्ञानेन्द्र र हृदयेन्द्र। फोटो सौजन्य : द रोयल फ्यामिली नेपाल

नारायणहिटीको पूजा : संयोग मात्र
जहाँसम्म राप्रपा नेपालका अध्यक्ष थापाको १३ जेठको ‘हृदयेन्द्रलाई राजा बनाउने राजनीतिक सहमति भए ज्ञानेन्द्र शाहले पनि मान्नुपर्छ’ भन्ने प्रसङ्ग हो, राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ यो विषयसँग राजसंस्था पुनर्स्थापनाको आन्दोलनको अहिले कुनै सम्बन्ध नरहेको बताउँछन्। 

‘शक्ति र संगठनका हिसाबले राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्वकर्ता राप्रपा हो, यति हुँदाहुँदै हामीलाई पनि के लाग्छ भने यतिबेला हाम्रो शक्तिले मात्र राजसंस्था पुनर्स्थापित हुनसक्दैन, किनकि अहिले पनि हाम्रो भन्दा ठूलो सांगठनिक शक्ति र जनमत कांग्रेस–एमालेकै छ,’ तामाङ भन्छन्, ‘त्यसैले, कांग्रेस–एमाले सहमत नभई राजसंस्थाको पुनर्स्थापना सम्भव छैन। यो स्थितिमा अहिल्यै ज्ञानेन्द्रलाई कि हृदयेन्द्रलाई राजा बनाउने भन्ने चर्चा चलाउनु बेकारको कुरा हो।’

तामाङका भनाइमा सबैभन्दा पहिले कांग्रेस–एमाले सहमत हुनुपर्छ, अनि मात्र राजसंस्था पुनर्स्थापनाको वातावरण बन्नसक्छ। कांग्रेस–एमाले सहमत भए भने पुनर्स्थापनाको दोस्रो चरण सुरु हुन्छ। यसलाई तामाङ ‘कस्तो किसिमको राजसंस्था पुनर्स्थापना गर्ने भन्ने निर्णयको चरण’ भन्न रुचाउँछन्। 

‘त्यसक्रममा संवैधानिक राजसंस्था राख्ने कि सेरमोनियल (आलंकारिक) राख्ने भन्ने विषयमा छलफल–सहमति होला,’ तामाङ थप्छन्, ‘यसमा पनि सहमति भयो भने मात्र तेस्रो चरण अर्थात् ज्ञानेन्द्र कि हृदयेन्द्रलाई राजा बनाउने भन्ने विषय आउँछ।’

तामाङको भनाइ हेर्दा दुई कुरा देखिन्छ। एक, राजसंस्था पुनर्स्थापनाका लागि राजतन्त्र समर्थकहरू अहिले पनि सत्तारुढ कांग्रेस–एमालेकै मुख ताकिरहेका छन्। दुई, कांग्रेस–एमाले गल्ने छाँटकाँट देखिइनसकेकाले ज्ञानेन्द्रलाई कि हृदयेन्द्रलाई राजा बनाउने भन्ने बहस अहिले नै चलाउनु बेकार ठानिरहेका छन्। 

जहाँसम्म राजसंस्था पुनर्स्थापनाको आन्दोलन चर्कंदै जाँदा अमेरिकामा अध्ययनरत हृदयेन्द्र शाहको काठमाडौँ आगमन र नारायणहिटी परिसरमा रहेको नारायण मन्दिर पुगेर हजुरबुबा ज्ञानेन्द्रसँगै गरेको पूजाआजाको प्रसङ्ग हो, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिकी संयोजक अस्मिता भण्डारी यो विषयलाई ‘संयोग’ मात्र भन्न रुचाउँछिन्। भण्डारी नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना जनआन्दोलन समिति अन्तर्गतको निर्देशक समिति सदस्य पनि छिन्। 

भण्डारीका भनाइमा पहिलेदेखि नै राजाहरूले पूजाआजा गर्दै आएको सो मन्दिरमा २०६५ जेठमा नारायणहिटी छाडेपछि पूर्वराजा ज्ञानेन्द्रबाट पूजाआजा भएको थिएन। त्यसैले, ‘दरबार’सँग सम्बद्ध पण्डित–पुरोहित–ज्योतिषीहरूले त्यहाँ गएर पूजाआजा गर्न पूर्वराजालाई सल्लाह दिँदै आएका थिए। 

‘चतुर्व्युह नारायण मन्दिर मात्र होइन, शाहकुलसँग सम्बन्धित अन्य मठ–मन्दिरमा पनि पूजाआजा गर्दा राम्रो हुन्छ भन्ने सुझाव थियो, त्यही सुझाव अनुसार राजा (ज्ञानेन्द्र शाह) ले नारायणहिटी पुगेर पूजाआजा गरिबक्सेको हो,’ उनले भनिन्, ‘राजसंस्था पुनर्स्थापनाको आन्दोलन चलिरहेका बेला ‘राजा’ र ‘नवयुवराज’ नारायण मन्दिरसँगै गइबक्सेकाले कतै यो पूजाआजाको राजसंस्था पुनर्स्थापनासँग सम्बन्ध छ कि, अब नवयुवराजलाई अघि बढाउन पो नारायणहिटीमा पूजा गरिएको हो कि भन्ने लागेको होला। तर, त्यो पूजाको प्रयोजन यस्तो हुँदै होइन।’

जानकारहरूका भनाइमा गणतन्त्र घोषणापछि पनि सो मन्दिरमा पूर्वराजा शाहको तर्फबाट दैनिक पूजाआजा भइरहेकै थियो। बुढ्यौली र शारीरिक अशक्तताले गाँज्नुअघि पूर्व‘मुमा बडामहारानी’ रत्न आडैमा रहेको महेन्द्र मञ्जिलको भित्री ढोका प्रयोग गरेर त्यहाँ पुग्थिन् र पूजाआजा गरेर फर्किन्थिन्। 

पूर्वराजाले भने निर्मल निवासबाट चतुर्व्युह नारायण मन्दिरमा नियमित खर्च पठाएर पूजाआजाको परम्परा धान्दै आएका छन्। 

‘त्यहाँ पूजाआजाका लागि मासिक साढे छ हजार निर्मल निवासबाट नियमित रूपमा पठाइने गरिएको छ,’ निर्मल निवास स्रोतले भन्यो, ‘यसमध्ये ५ हजार दैनिक पूजाआजा र १५ सय रूपियाँ दैनिक बत्ती बाल्नका लागि हो। फरक यति मात्र हो कि, यसअघि ज्ञानेन्द्रबाट पुजारी–पण्डित–पुजारीमार्फत् पूजाआजा हुँदै आएको थियो, यसपटक हृदयेन्द्र काठमाडौँ आएको मौका परेकाले मात्र सँगै जानु भएको हो।’

तर, राजनीतिसँग ज्ञानेन्द्र–हृदयेन्द्रले गरेको यो पूजाआजाको सम्बन्ध हुँदै नभएको भने होइन। यसर्थ पनि कि, राजतन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको समितिको सल्लाहकार समितिका अध्यक्ष डा. जगमान गुरुङ नै यो पूजाआजाका अगुवा थिए। र, १५ चैत्रको तीनकुने विध्वंसका कारण नवराज सुवेदी नजरबन्दमा परेपछि आन्दोलनको नेतृत्व केही दिन डा. गुरुङले नै गरेका थिए। 

‘मौसुफ ज्ञानेन्द्र शाहबाटै पूजाआजा गर्दा राम्रो हुन्छ भनेर हामीले सुझाव दिएका हौँ, हामी राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना चाहन्छौँ भन्ने कुरा लुकाएका पनि छैनौँ,’ विश्व हिन्दु महासंघकी अध्यक्ष भण्डारीले भनिन्, ‘हाम्रो दृष्टिमा यो धार्मिक उद्देश्यले गरिएको कार्यक्रम हो, यसलाई धार्मिक दृष्टिले कि राजनीतिक दृष्टिले हेर्ने– त्यो चाहिँ तपाईंहरूको कुरा भयो। यसमा राजनीतिक उद्देश्य लुकेकै छ भने तपाईंहरूलाई लाग्छ भने पनि हामी त्यसलाई अन्यथा ठान्दैनौँ।’ 

चर्चा हृदयेन्द्रको, चाहना ज्ञानेन्द्रकै
ज्ञानेन्द्र शाह शाह वंशका यस्ता दुर्लभ पात्र हुन्, जसलाई आफ्नो जीवनकालमा दुई–दुई पटक राजा हुने सौभाग्य प्राप्त भयो। आफ्नै पालामा राजतन्त्र समाप्तिको दुर्भाग्य पनि उनैले बेहोरे। उनको कोणबाट हेर्दा, आफ्नै पालामा राजतन्त्र पुनर्स्थापित भएको उनले देख्न चाहनु जति स्वाभाविक हो, राजतन्त्र पुनर्स्थापनाको प्रयत्न गर्नु पनि त्यत्तिकै स्वाभाविक हो। 

फेरि आफै राजा हुने कुरा सम्भव नभए नाति हृदयेन्द्र गद्दीमा बस्नेगरी राजतन्त्र पुनर्स्थापना गर्न चाहेका छन् भने– उनको कोणबाट हेर्दा– यो पनि स्वाभाविक हो। 

तर, के साँच्चै कमल थापाले आग्रह गरेजस्तै, नाति हृदयेन्द्रलाई राजा बनाउन राजनीतिक सहमति जुट्यो भने त्यसलाई पूर्वराजा शाहले स्वीकार गर्लान् त! वा नातिसँगै चतुर्व्युह नारायण मन्दिर गएर गरिएको पूजाआजा आफू नभए पनि नाति हृदयेन्द्र राजा होऊन् र राजतन्त्र पुनर्स्थापित होस् भन्ने कामनाका लागि होला त! 

‘कुनै कुराकानीमा पनि हामीले हृदयेन्द्रलाई राजा बनाउन पूर्वराजा ज्ञानेन्द्र राजी भएको संकेत पाएका छैनौँ,’ नाम उल्लेख गर्न नचाहने राप्रपाका अर्का नेताले भने, ‘राजसंस्था पुनर्स्थापनाको पक्षमा जुन जनमत बढेको छ, त्यो आफूप्रतिकै आकर्षण हो भन्ने उहाँको बुझाइ देखिन्छ। यो स्थितिमा पूर्वराजाबाट विकल्पमा हृदयेन्द्रलाई अघि सारिएको होला भन्ने आशंकामा म सत्यता देख्दिनँ।’  

उनले थपे, ‘नातिलाई चतुर्व्युह मन्दिर आफूसँगै लगिएको मेरो उत्तराधिकारी हृदयेन्द्र हुन् भन्ने सन्देश दिनका लागि होला कि!’ 

अध्यक्ष भण्डारीका भनाइमा पनि राजसंस्था पुनर्स्थापनावादी खेमाभित्र विकल्पमा हृदयेन्द्रलाई अघि सार्ने विषयमा कहिल्यै छलफल भएको छैन। 

‘छलफल हुनु त परै जाओस्, यो विषय हामीले सोचेका पनि छैनौँ,’ उनले थपिन् ‘हामी त ज्ञानेन्द्र सरकारलाई नै श्री ५ महाराजधिराज भन्छौँ, राजसंस्था पुनर्स्थापना हुँदा गद्दीमा बस्ने मौसुफ (ज्ञानेन्द्र शाह) नै हो।’ 

राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङ राजतन्त्र पुनर्स्थापित हुने स्थिति आएमा हरेक दृष्टिले ज्ञानेन्द्र शाह नै राजा हुनु उपयुक्त हुने आफूहरूको धारणा रहेको बताउँछन्। 

‘उहाँसँग राजा भन्न मिल्ने व्यक्तित्व छ, अन्तर्राष्ट्रिय सम्बन्ध उत्तिकै राम्रो छ,’ तामाङ भन्छन्, ‘तत्कालीन परिस्थितिका कारण मुलुक गणतन्त्रमा गयो, यो छुट्टै कुरा हो। तर, गद्दीको अनुभव उहाँसँगै भएकाले राजतन्त्र पुनर्स्थापना भयो भने हाम्रो प्रस्ताव त उहाँ नै राजा हुनुपर्छ भन्ने हुन्छ।’ 

राप्रपा नेपालका पूर्वप्रवक्ता सुरेशप्रसाद आचार्य जारी राजावादी आन्दोलन र पूर्वराजा शाहका गतिविधिलाई नजिकबाट नियालिरहेका छन्, विश्लेषण गरिरहेका छन्। 

‘ज्ञानेन्द्र शाहले नाति हृदयेन्द्रलाई राजाका रूपमा अघि बढाउन खोजेका छन्’ भन्ने चर्चाले उनी आश्चर्यचकित समेत छन्।  

‘राजसंस्था पुनर्स्थापना भएमा ज्ञानेन्द्र शाह आफै राजा बन्न चाहनुहुन्छ कि नाति हृदयेन्द्रलाई बनाउन चाहनुहुन्छ, यो कुराको जानकारी मलाई छैन, तर आफ्नो डेड बडी (मृत शरीर) माथि मात्र हृदयेन्द्र राजा बन्न सक्छन् भन्ने उहाँ (पूर्वराजा शाह) को कुरा तत्कालीन सेनाप्रमुख कटवालमार्फत् सार्वजनिक भइसकेको छ त!’ आचार्य भन्छन्, ‘राजतन्त्रकै अन्त्य हुन लागेको त्यो प्रतिकूल स्थितिमा समेत मौसुफले त्यस्तो अडान लिइबक्स्यो। अहिले त परिस्थिति सहज छ नि। यो स्थितिमा आफ्नो साटो अरु कसैलाई अगाडि बढाउन खोजिबक्सेको होला भन्ने विश्वास मलाई लाग्दैन।’  

राजतन्त्र जीवित (तर निलम्बित) थियो, हृदयेन्द्र नवयुवराज थिए। त्यस्तो बेलासमेत उनी राजा बन्ने कुरा चर्चामै सीमित रह्यो। अहिले मुलुकमा राजतन्त्र नै छैन, उनी सामान्य नागरिकको हैसियतमा छन्। निकटस्थहरूको कुरा सुन्दा राजसंस्था पुनर्स्थापित भए फेरि एकपटक गद्दीमा बस्ने इच्छा ज्ञानेन्द्रकै देखिन्छ। 

सायद हृदयेन्द्रको निधारमा राजा हुने ‘चर्चा’ मात्र लेखिएको छ, ‘भाग्य’ लेखिएको छैन!

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here