नर्थ अन्नपूर्ण बेस क्याम्प : चाँदीको हिमालमा सुनको जलप (तस्वीरहरू)

हावाले हिमालको घुम्टो उघार्‍यो । एकातिर तिलिचो हिमाल देखियो, अर्कोतिर अन्नपूर्ण रेन्जका थुप्रै हिमटाकुरा ।

यात्रालाई पैतालाको स्वाद मन पर्छ, आत्मालाई साधनाको । हरेक ६ महिना, वर्ष दिनको अन्तरालमा पैतालालाई काउकुती लाग्छ  ।  अनि आँखा हिमालको सामिप्य चाहन्छन् । बिदाहरू क्यालेन्डरबाट निस्किएर हामीसँगै हिमालका फेदीतिर दौडिरहन्छन् । यसपालि मजदुर दिवसको छुट्टीको छेको पारेर हामी अन्नपूर्ण बेस क्याम्प, म्याग्दी जाने भयौं ।

frontline

सन् १९५० मा फ्रान्सका नागरिक मौरिस हर्जोगका आँखा र पैतालालाई पनि अन्नपूर्ण हिमालको भोक लागेको रहेछ । लुई लासेनाललाई साथै लिएर हर्जोगले अन्नपूर्ण चढेका रहेछन् (अन्नपूर्ण, मौरिस हर्जोग, १९५१) । नेपालमा हिमाल आरोहणको शृंखला त्यही विन्दुबाट सुरु भएको मानिँदोरहेछ । यसपालि आरोहणको ७५औं वर्षमा हिरक जयन्ती मनाउने तयारी भइरहेको छ  (गोरखापत्र अनलाइन, २०८२ वैशाख २३) ।

हाम्रो यात्राको सुरुवात फरक विन्दुबाट थियो । तर गन्तव्य एउटै । पहिलो दिन म्याग्दीको भुरुङ तातोपानीमा भेट हुने र बास बस्ने सल्लाह थियो । यात्रामा ८ जना थियौं । तातोपानीसम्म व्यवस्थापन मिलाउन बेनीबाट सर्विन्द्र आएका थिए ।

भोलिपल्ट बिहानै तातोपानीदेखि हुमखोला जाने जिप आयो । उसै पनि ५ जनाको सिटमा ८ जना अटाउन सजिलो थिएन । बाटो हेर्दा हिउँद जस्तो लाग्दैनथ्यो । वर्षाका डोबहरू बाटोभरि छुटेका थिए ।

साँझको साढे ४ बजेतिर मौसम खुल्यो । चाँदीको हिमालमाथि सुनको जलप थपियो । हिमालको स्पष्ट छाया तालमा देखियो । हिमाल लजाइरह्यो, प्रेमीको आँखामा आफ्नो तस्वीर देखेर लजाएकी प्रेमिका जसरी

सुरेश दाइ बीचबीचमा ६ महिना अगाडि वर्षायाममा आउँदा पहिरो खसेको, भर्‍याङ राखेर पहिरो काटेको सुनाउँनुहुन्थ्यो ।

छेउको सिटमा बसेर तल हेर्दाको छाँगो होस् वा पछाडि छोडेर आएको, एकोहोरो उकालो चढ्ने, साँघुरो नागबेली, भीरको बाटो होस, हेर्दैमा मुटु चिसो भएर आउँथ्यो । बीचमा नरच्याङ, बेली गाउँ हुँदै  झन्डै दुई घण्टापछि फोर ह्विल लगाएर, दमको बिरामीझैँ सास फुलाउँदै जिपले हुमखोला पुर्‍यायो ।

हुमखोलामा अन्नपूर्ण आधार शिविर पदमार्ग, म्याग्दीका अभियान्ता तेज गुरुङको होटेल रहेछ । यो भन्दा माथि वस्ती भेटिँदैन । पदयात्रा यहींबाट सुरु हुन्छ । निलगिरिखोला हाइड्रोपावरको इन्टेक हुँदै बाटो उकालो लाग्छ । गुराँसेडाँडाको उकालो उक्लिसक्दा, गुराँसका थुंगाहरू बोटबाट झर्न तयारझैँ देखिन्छन् । सिजनको अन्तिम-अन्तिम गुराँसका थुँगाहरू मलिन छन् । हुन त, बिदाइ कसलाई पो मिठो लाग्दो हो ?

१५/२० मिनेट ओर्लंर्दैमा पुगिन्छ फुतफुते झरना । खोंचबाट निस्किएर निलो रङको तलाउ बनाएको झरना हेर्दैमा पेन्टिङ जस्तो देखिन्छ ।

छेउमै एउटा टेन्टमा टी सप खुलेको छ । यहाँ खान पाइन्छ, सुत्न पाइँदैन । यो पदयात्राको एउटा भव्य दृश्य, फुतफुते झरना मस्तिष्क र क्यामेरामा कैद गरेर हामी फेरि उकालो लाग्छौँ ।

साधिखार्कमा टेन्ट सहितको आवास र खानाको सुविधा भएको होटेल खुलेको छ । फुतफुतेबाट आधा घन्टामा सजिलै उक्लन सकिन्छ साधिखर्क । साधिखर्कदेखि सुन्दर काठको झोलुंगे पुल तरेर गुफाफाँट उक्लिन्छ ।

चिसो पाखामा प्री-मनसुनले अलिअलि पानी छिट्याउन थालेको छ । झन्डै एक घण्टामा गुफाफाँट आइपुगियो । होचा बुट्यानका पातहरूमा पानीका थोपा ठोक्किएर मिठो संगीत गुन्जिरहेको छ । शान्त,  स्निग्ध । बाटोमा फाटफुट बाहेक यात्रीहरू छैनन् । आत्माशान्तिको लागि साधनामा हिँडेझैँ छ, यो पदयात्रा ।

पारि पहरामा भीरमौरीको गोलो देखियो । प्रशान्तले सोध्यो, ‘हिमालतिर किन अरिंगालका गोलाहरू देखिँदैनन ?’ अर्जुन दाइले जवाफ दिनुभो, ‘अरिंगालहरू यता आए भने मेडिटेसनको लागि लोभिँदा हुन् ।  रिस नभएपछि उनीहरू पनि मौरी जस्तै भई जाँदा हुन्, अस्तित्व सकिने डरले अरिंगालहरू यता नआउने होलान् ।’

पानी मस्तारियो । हाम्रो दोस्रो दिनको गन्तव्य भुस्केटमेला हो । गुफाफाँटबाट भुस्केट पुग्न बाटो उकालो छैन ।  बीचमा कमिलाको गोलोझैँ माथि पहरामा प्वाल-प्वाल देखिने स्काई केभ भेटिन्छ ।

हामी खोला सँगसँगै मुहानतिर लागेका छौँ । एकघण्टा आसपास हिँडाइमै आइपुगियो भुस्केट । बाटोमा जीवन भाइ र म पछाडि छोडियौँ । त्यही मौकामा जीवनले सुनाइरहे, यसरी नै छोडिएको ‘असई सपना’ । भाइले अगाडि थपे, ‘दाइ, नदेखेकै जिन्दगी मिठो हुँदोरहेछ । जसरी हामीले यो ट्रेक आउनु अगाडि कुनै भिडियो नहेर्ने, एकैपटक आँखाले हेर्ने सल्लाह गरेका थियौं । जिन्दगीमा पनि जे आउँछ, जे देखिन्छ, त्यसैमा खुसी हुन आनन्द आउँदोरहेछ ।’

साधिखर्कदेखि माथि मोबाइलको नेटवर्क छैन । माइकल दाइलाई को आउँदैछ भन्ने सूचना आउँदैन । बरु यात्रीहरू नै आइपुग्छन्, अमिलो पोखिएझैँ साँझको रङ हिमालको प्रकाशमा मिसिने बेलातिर । कहिलेकाहीँ तलबाट आउने मान्छेले खबर बोकेर आउँछन्, ‘आज यति जनालाई सुत्ने व्यवस्था मिलाउनू ।’

हामी भुस्केट मेला पुग्यौं ।

फुसफुस गर्दै टेन्टका भित्तातिर कुइरो लटपटिँदै थियो । यो साढे ३५ सय मिटरको उचाइ हो । हावा चलेको बेला त चिसो मुटुमै ठोक्किन्छ । भुस्केट मेलामा माइकल दाइ अर्थात् वीरबहादुर पाइजा मगरको टेन्ट हाउस सहितको होटेल छ ।

एकैछिनमा हावाले हिमालको घुम्टो उघार्‍यो । एकातिर तिलिचो हिमाल देखियो, अर्कोतिर अन्नपूर्ण रेन्जका थुप्रै हिमटाकुरा ।

हामीपछि पनि दुईवटा समूह आइपुग्यो, बास बस्नेगरी । मसिना चामलको भात, डल्ले खुर्सानीको अचार, आलु भुजिया, मिक्स भेज तरकारी, सिमीको दाल र पनिर तावा सहित हाम्रो खाना तयार भयो । माइकल दाइले खाना खुवाउनुभो । टेन्ट न्यानो थियो ।

तेस्रो दिन बिहान साढे दुईघण्टाको बाटो खोलाको तिरैतिर हिड्यौँ । खोलाको मुहान त पञ्जकुण्ड ताल रहेछ, जहाँ हामीलाई पुग्नु थियो ।

सुनखोला आएर पञ्चकुण्ड तालबाट झरेको खोलामा मिसिन्छ । वर्षायाममा तर्नै सकिँदैन भन्ने सुनेको सुनखोलामा पहेंला ढुंगाको रङले सुनको गरिमा त राखेको थियो तर पानी थिएन ।

सुनखोला कटेपछि मसिना लेकका फूलहरू भेटिए । दिपक भाइ गुनगुनायो, ‘रानी फूल बसायो, तिम्रो माया नभाको कहाँ हो र, अरुले फसायो ।’

साढे ९ बजे हामी पञ्चकुण्ड ताल पुग्यौँ । गाढा निलो रङको हिमतालमा अन्नपूर्ण र यसका छिमेकी हिमालहरू ऐना हेरिरहेका भेटिए । हेरेर पनि केही हेर्न बाँकी जस्तो, आत्मा अघाएर पनि आँखा नअघाए जस्तो । अद्भुत, अलौकिक ।

११ बजे आइपासमा मौसम बिग्रियो । हिमाल ढाकियो । प्रदिप दाइ स्थानीय लवजमा जिस्किनुभो, ‘छिरिन-छिरिनमा ढाकिन्छ, छिरिन-छिरिनमा खुल्छ ।’

हामी खाना खाएर टेन्टमा छिर्‍यौँ । बाहिरको हावा बसिसक्नु थिएन । टेन्टको न्यानोमा निदाएर ब्युझिँदा त दिन ढलिसकेछ । साँझको साढे ४ बजेतिर मौसम खुल्यो । चाँदीको हिमालमाथि सुनको जलप थपिएछ । हिमालको स्पष्ट छाया तालमा देखियो । हिमाल लजाइरह्यो, प्रेमीको आँखामा आफ्नो तस्वीर देखेर लजाएकी प्रेमिका जसरी ।

तालको वरिपरि हिँडिरहँदा हरेक थुम्को आसपास हिमालको छाया फरक-फरक देखिन्थ्यो । आँखाले बोल्न जानेनन्, मुस्कुराइरहे । थिएटरमा नाटक हेर्दा दृश्य सकिएपछि पर्दा तानेझैँ, हुस्सुले हिमालको पर्दा तान्यो । अध्याँरोले दिन निल्यो ।

बेलुकीको ९ बज्यो । बाहिरबाट कोही चिच्यायो, ‘खुल्यो, खुल्यो ।’ हो त, हिमाल फेरि हिउँदको सम्झना बोकेर आएछ ।

खुर्पे जुन हिमालको शिरैमा टाँगिएको छ । वरिपरि ध्वजापताकाझैँ  ताराहरू मिलिक-मिलिक  गरिरहेका छन् । हामीले एकै दिनमा हिमालका तीन अवतार देख्यौँ । आत्मालाई शान्त बनायौँ । आँख मा कैद गर्‍यौँ । थोरै सम्झना फोटोमा अटायौँ र सिउसिउ गर्दै टेन्टभित्र छिर्‍यौँ ।

तालको छेवैमा शिव-पार्वतीको मन्दिर छ, नजिकै ढुंगाले बनेको बुद्धको ।

मौरिस हर्जोगले  सुरु गरेको अन्नपूर्ण आधार शिविर थोरै वर सरेको छ । बिहानमा आधा घन्टामै नयाँ आधार शिविर प्रथम पुगिन्छ । पहिरोले पर्वतारोही निलेको पुरानो आधार शिविरमा पुग्दा हामीलाई झन्डै एक घण्टा लाग्यो । हिमालहरू नाकैमा ठोक्किएलान्झैँ नजिक देखिए ।

तालछेउ फर्किएर बिहानको खाजापछि तेस्रो दिन ओरालो झर्ने निधो भयो । ४/५ घण्टामा हुमखोला झरेपछि तातोपानीसम्म जिपमा आजै पुगिन्छ ।

फर्किने बेला छेउको थुम्कोमा बसेर हिमाल, काखमा हिमताल र छेउमा टेन्टसहितको आवास हेरिरहेछौँ । सबैका आँखा खुसीले गह्रौं भए । शालिन हिमालहरू तालमा पोखिएर बुद्ध बाचिँरहेका छन् । हेर्नेहरू नतमस्तक छन् । चिच्याहटको उच्छृङ्खलता छैन । शालिन । शान्त । भद्र । मौन । हिमालहरू गाइरहेछन ‘ॐ मणि पद्मे हूँ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here