दुर्गन्धित बनेपछि भत्काइएको टुकुचा महानगरद्वारा व्यवस्थापनको तयारी

२५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले भत्काएको टुकुचा व्यवस्थापनका लागि तयारी थालिएको छ । जमिनमाथि दुर्गन्धित ढल बग्न नहुने भन्दै महानगरले व्यवस्थापनको तयारी गरेको हो ।

महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खाल्डो खनिएको ठाउँ व्यवस्थापन गर्ने तयारी गरिएको बताए । “टुकुचा उत्खनन गरिएको होइन । खोलाको ट्रयाक खोजिएको हो । अब सो क्षेत्रमा त्यसै ढल बग्न दिनुभएन । त्यसको व्यवस्थापन गर्छौं,” उनले भने । 

frontline

गत साउन १२ गते महानगरले ३५ दिने सूचना जारी गर्दै टुकुचा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउन अल्टिमेटम जारी गरेको थियो । त्यसपछि भदौदेखि टुकुचा खोज्ने काम सुरु गरेको थियो । 

टुकुचा वरपर चार मिटर कायम गर्ने र टुकुचालाई खुला रूपमा बग्न दिने महानगरको योजना थियो । अहिले पनि सो योजना कायमै रहेको महानगरले जनाएको छ । 

मेयर बालेनको निर्देशनमा टुकुचामाथि बनेका घरहरू भत्काउने अभियान चलाएपछि टुकुचामाथि पर्ने २१ घरधनीहरूले उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर मुद्दा हालेका थिए । रिट निवेदकहरूले वैध रूपमा नै जग्गाजमिन खरिद गरी संरचना खडा गरेको हुँदा ती संरचनाहरू नभत्काउन माग गरेका थिए । त्यसपछि अदालतबाट ‘स्टे अडर’ जारी हुँदा टुकुचा उत्खनन कार्य रोकिएको थियो । 

हाल महानगरको खोतलेको टुकुचा अलपत्र छ । जमिनमाथि ढल आएर दुर्गन्धित बनेको छ । सडक फुटपाथको जमिन भाँसिदै गएको छ । 

महानगरले अवैध संरचना भत्काउने अभियानअन्तर्गत टुकुचाको ट्रयाक खोज्न विभिन्न स्थानमा १२ देखि १५ फिट गहिरो खाल्डो खनेको थियो । 

पूर्वाधार सल्लाहकार लम्सालका अनुसार अदालतको आदेश महानगरलाई प्राप्त भएपछि व्यवस्थापनको काम थालिनेछ । उनले टुकुचा बग्ने गुम्बज सामान्य इटाले बनाइएको  र  सो इटाको गुम्बज जीर्ण बनेपछि त्यसमाथि बनेका घरहरू पनि भाँसिने जोखिम उच्च रहेको बताए ।  

“हाम्रो काम खोलामाथि घर बनाउनु जोखिम हुन्छ भन्ने थियो । टुकुचा खोला बग्ने गुम्बज सामान्य इटाले बनाइएको छ । सो गुम्बज जीर्ण हुँदै गएपछि त्यसमाथि बनेका घरहरू भाँसिने जोखिम उच्च हुन्छ । त्यसैले समयमै व्यवस्थापनको आवश्यकता छ,” लम्सालले भने ।

लम्सालका अनुसार कतिसम्म सुरुङले धान्छ र सुरुङमाथि बनेका घरहरू कति सुरक्षित छन् भन्ने विषयमा गहन अध्ययन गरी दिर्घकालीन योजना बनाउन आवश्यक छ ।

घरधनीहरूको रिटमा असोज २ गते अदालतले तत्काल टुकुचामाथि बनेका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

गत माघ १८ गते अदालतले टुकुचा उत्खनन नगर्न आदेश दिएको थियो । महानगरले सुरु गरेको उत्खनन कानुन विपरीत रहेको ठहर गर्दै न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले जग्गाधनीको पक्षमा फैसला गरेको थियो । 

पुरातत्व विभागको अध्ययनले टुकुचा खोला १३० वर्ष पहिले वीर शमशेरको पालामा जमिनमूनि हाल्ने काम भएको पुष्टि गरेको थियो । महानगरले उत्खनन गर्दा श्री ३ वीर लेखिएको इँटासमेत भेटिएको थियो । 

विभिन्न व्यक्ति र संस्थाको स्वामित्वमा रहेका जग्गा र घरमा डोजर चलाउन नपाइने आदेशमा उल्लेख छ । बालेनले गहन अध्ययन र अनुसन्धान नै नगरी टुकुचा उत्खनन गर्नु दुर्भाग्य रहेको स्थानीयले बताउँदै आएका छन् । 

वर्तमान समयमा टुकुचा चुनदेवी, डालदेवी मन्दिर, चिनियाँ दूतावास, नीलसरस्वती, नारायणहिटी दरबार, जयनेपाल सिनेमा हल, तीनधारा मार्ग, बागवजार अद्वैतमार्ग, भृकुटी मण्डप, भद्रकालीस्थित सेनाको मुख्यालय हुँदै कालमोचन घाटमा पुगेर वाग्मती नदीमा मिसिन्छ ।

काठमाडौंका विभिन्न वडाहरूमा रहेका चुनदेवी मन्दिर, चुनदेवी परिसरको ईक्षेश्वर कुवा, टुँडालदेवी मन्दिर, नील सरस्वती, कमलादी गणेश, कालमोचनघाटस्थित जगहेमहिरण्य मन्दिर टुकुचा खोलाको दायाँ–बायाँमा रहेका महत्त्वपूर्ण सम्पदा हुन् ।

१३० वर्ष पुरानो राणाकालमा बनेको टुकुचाको सुरुङ इन्जिनियरिङ दृष्टिले समेत निकै महत्त्वपूर्ण रहेको पुरातत्व विभागको भनाइ छ । यसलाई नभत्काएर मौलिक स्वरूपमै संरक्षण गर्नुपर्ने पुरातत्व विभागको जोड छ । 

इच्छुमति नामले चिनिने टुकुचाको उद्गमस्थल भने एकीन गर्न मुस्किल रहेको विभागले जनाएको छ । वीर शमशेरको पालामा जग्गा अधिग्रहण गरेर टुकुचा बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here