दरबार हत्याकाण्डको २४ वर्ष पूरा, भएन स्वतन्त्र अनुसन्धान

२०५८ जेठ १९ गते राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो। उक्त हत्याकाण्डको स्वतन्त्र अनुसन्धान अझै भएको छैन ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- आज काठमाडौंमा नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा भयो।
- २०५८ जेठ १९ गते राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो।
- हत्याकाण्डको छानबिन र अनुसन्धान अझै पूर्ण रूपमा भएको छैन।
१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।
दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेर राजसंस्था अन्त्य गरेका थिए ।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने । अहिले उनै ज्ञानेन्द्र वा ज्ञानेन्द्रका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने मागसहित राजावादीहरुले आन्दोलन गर्दै आएका छन् ।
भएन स्वतन्त्र अनुसन्धान
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको उक्त प्रतिवेदन रानाभाटले सार्वजनिक गरेका थिए ।
त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।
तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यवाजी गर्न नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन ।
अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।
प्रतिक्रिया दिनुहोस्