त्रिविका उपकुलपतिलाई लिएर एमाले–माओवादी आमनेसामने

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई लिएर नेकपा एमाले र माओवादी केन्द्र आमनेसामने भएका छन् । सत्ताको नेतृत्व सम्हालिरहेको नेकपा एमालेले बरालमाथि मेरिटोक्रेसीको धज्जी उडाइरहेको आरोप लगाएको छ । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने बरालको बचाउ गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले बराललाई उपकुलपति (भीसी)मा नियुक्त गरेको थियो । त्यतिबेला सत्ता साझेदार दल नेकपा एमालेले समेत उक्त निर्णयमा समर्थन जनाएको थियो । अहिले आएर दुवै दल आमनेसामने भएका हुन् ।

frontline

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को डीन, क्याम्पस प्रमुख लगायतको नियुक्तिमा ढिलाइ भइरहेको छ । त्रिवि कार्यकारी परिषद्का सदस्यहरूबिच मतभेद देखिएपछि रिक्त रहेका ८ सङ्कायका डीन र १८ क्याम्पस प्रमुखको नियुक्ति हुन सकेको छैन ।

छनोट तथा सिफारिस समितिले ३/३ जनाको नाम सिफारिस गरेको छ । तर, त्रिवि कार्यकारी परिषद्मा कसलाई नियुक्त गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । उपकुलपति बराल सिफारिसमा परेका पहिलो नम्बरकालाई नियुक्ति गर्ने पक्षमा छन् । तर, अन्य पदाधिकारीहरू भने त्यसमा सहमत छैनन् । जसले गर्दा उपकुलपति र अन्य पदाधिकारीबिच बेमेल छरपस्ट भएको हो

त्रिवि उपकुलपति कार्यालय स्रोतका अनुसार उपकुलपति बराल सिफारिसमा परेका पहिलो नम्बरको व्यक्तिलाई नियुक्ति दिने पक्षमा छन् । रजिष्ट्रार, रेक्टर, लगायतका अन्य पदाधिकारीहरू भने तीन जनामध्ये दोस्रो वा तेस्रो नम्बरमा परेकालाई नियुक्त गर्नुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ । जसले गर्दा पटकपटक बसेको त्रिवि कार्यकारी परिषद् बैठकमा सहमति जुट्न सकेको छैन ।

उपकुलपति बरालले पहिलो नम्बरको व्यक्तिलाई नियुक्त गर्नुपर्ने अडान राखेपछि त्यसको विरोधमा प्रमुख सत्तारूढ दल नेकपा एमाले उभिएको छ ।

एमाले महासचिव शंकर पोखरेलले त उपकुलपति बरालप्रति आक्रोश नै व्यक्त गरेका छन् । महासचिव पोखरेलले उपकुलपति बरालले मेरिटोक्रेसीका नाममा भद्दा नाटक गरिरहेको आरोप लगाएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटलाई मेरिटोक्रेसीका आधारमा गरिएको भनेर खुबै प्रचार गरे पनि माओवादीले आफू निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रक्रिया अघि बढाएको दाबी गरेका थिए ।

‘सोही अनुसार माओवादी निकटका चित्रवहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजना अनुरूप २ नम्बरमा रहेका बराल भीसी बनाइए’, महासचिव पोखरेलले भनेका छन्, ‘सोही समयमा पूर्वाञ्चल विश्वविद्यालयमा पनि भीसी बनाइयो । त्यहाँ पनि सोही अनुसारको प्रक्रियाबाट सत्ता निकट व्यक्ति भीसी चुनिए । अनि त्यस चयनलाई पनि भनियो मेरिटोक्रेसी ।’

पोखरेलले यतिबेला पनि त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीका नाममा सोही समयको तत्कालीन सत्ता गठबन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लीन रहेको र मेरिट्रोकेसीको जामा लगाइदिएको आरोप लगाएका छन् । ‘अनि त्यही नाटकलाई उनी निकटका माओवादी समर्थकहरू धुवाँधार रूपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन्’, महासचिव पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले साँच्चै त्रिभुवन विश्वविद्यालयका भीसी बराल मेरिटोक्रेसीमा हिँड्न चाहेको भए छनोट कमिटीमा कुनै चासो वा हस्तक्षेप गर्नतिर लाग्न नहुने बताएका छन् ।

‘प्राज्ञिक नेतृत्व जिम्मेवारीमा रहेका रेक्टरलाई छनोटको नेतृत्व दिन सक्थे वा प्राज्ञहरूको रोष्टर तयार गरेर लट्रीका आधारमा छनोट समितिका सदस्य चयन गर्न सक्दथे । तर उनले त्यो दुवै काम गरेनन् । आफूले चाहेको व्यक्ति छनोट हुनेगरी छनोट समिति गठन गरे । सोही अनुसार छनोटका मापदण्ड तयार गर्न लगाए’, पोखरेलले भनेका छन् । विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिरहेको उनको आरोप छ ।

उनले बरालको यस्तो क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने नभइ झन् धराशायी हुने भन्दै मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक बन्द गर्न भनेका छन् ।

एमाले महासचिव पोखरेलले लगाएको आरोपको माओवादी केन्द्रका नेताहरूले खण्डन गरेका छन् । प्रचण्डको स्वकीय सचिव रमेश मल्लले भ्रष्टाचार, बेथिति र अराजकता मच्चाउँदै आएकालाई विश्वविद्यालयमा मेरिटोक्रेसीले कति टाउको दुखेको रहेछ भन्ने पोखरेलको अभिव्यक्तिले पुष्टि गरेको बताए ।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलको आरोपको जवाफ दिँदै उनले विश्वविद्यालय मात्र नभइ राज्यका सबै अंगमा राम्रा हैन, हाम्रा मान्छेहरू हुलेर भ्रष्टाचार, बेथिति र अराजकता मच्चाउँदै आएको आरोप लगाएका छन् ।

पोखरेलको अभिव्यक्तिले खल्तीका पदाधिकारी नियुक्ति गरेर विश्वविद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाएकाहरूबाट योग्य र सक्षम प्रोफेसरहरूको सम्मान नहुने मल्लले बताए ।

शिक्षाध्यक्ष (रेक्टर) र कुलसचिव (रजिस्ट्रार) नियुक्ति गर्दा आफ्नो खल्तीको कार्यकर्ता भर्ती गर्न एमाले अध्यक्षमार्फत दबाब दिएको स्वीकार गर्दै मल्लले लेखेका छन्, ‘यतिसम्म दबाब दिनुभयो कि मेरिटोक्रेसीमा टिकेर नियुक्त गर्न तत्कालीन गठबन्धनको मुख्य नेताको असहयोगको कारण कुलपतिलाई दुई महिना लाग्यो ।’

अहिले महिनौँसम्म विश्वविद्यालयका विभिन्न संस्थान र सङ्कायको प्राज्ञिक÷शैक्षिक नेतृत्व गर्ने डीन नियुक्ति हुन नसकेको भन्दै उनले सत्तापक्षले कुलपतिमार्फत उपकुलपतिलाई मेरिटोक्रेसीमा नभइ आफ्ना मान्छे नियुक्त गर्न दबाब दिँदै आएको आरोप लगाएका छन् ।

देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान लिएर अघि बढेको बताउँदै मल्लले लेखेका छन्, ‘सार्वजनिक संस्थाहरू पारदर्शी, जफावदेही, सुशासनयुक्त र गुणस्तरीय सेवाप्रवाह गर्न सक्ने होउन् भन्ने हाम्रो पवित्र उद्देश्य हो । यदि भ्रष्टाचार र बेथितिका लागि सामान्य नैतिक मूल्य तोडेर सत्तापक्ष सडकमा नाङ्गो प्रहसन गर्दछ भने प्रतिपक्षी त सडकमै छ भन्ने हेक्का रहोस् ।’

यसअघि गत १४ मंसिरमा निजी  तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारले त्रिविका पदाधिकारीहरूमाथि  आक्रमण गर्न थालेको बताएका थिए ।

‘मेरो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागु गर्ने घोषणामात्र गरेन, लागु गरेरै देखायो,’ प्रचण्डले भनेका थिए, ‘त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए । तर, बिडम्वना अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here