डोनाल्ड ट्रम्पको ‘१८औँ ब्रुमेर’
सन् २०१६ देखि २०२० सम्म डोनाल्ड जे ट्रम्पले ४४औँ अमेरिकी राष्ट्रपतिका रूपमा काम गरे । अहिले उनले आफूलाई ४७औँ नम्बरको राष्ट्रपतिका रूपमा पुनः निर्वाचित गराउन सफल भएका छन् । कार्ल माक्र्सले हामीलाई इतिहासका प्रवृत्तिबारे ‘पहिलोपटक दुखान्तको रूपमा र त्यसपछि प्रहसनका रूपमा’ भन्ने एउटा बिर्सनै नसकिने उक्ति छाडेर गएका छन् ।
आजका दिनमा यो उक्ति स्मरणयोग्य त छँदै छ तर विद्यमान अवस्थामा हुबहु लागु नहुने अवस्था छ । जब ट्रम्पले पहिलोपटक निर्वाचन जिते, वास्तवमा त्यो आफैँमा प्रहसन थियो । धेरै फूर्तिफार्ती र होहल्लाका बाबजुद उनले अमेरिकाका आधारभूत संस्थालाई ध्वस्त पार्न सकेका थिएनन् । मेक्सिकोसँग जोडिएको अमेरिकाको दक्षिणी सिमानामा उनले दुई हजार माइल लामो पर्खाल बनाउने र त्यसको खर्च मेक्सिकोले भुक्तान गर्नुपर्ने बताएका थिए ।
पारिवारिक अलगावको उनको पीडादायी नीतिले हजारौँको जीवन नष्ट त गर्यो, तर उनको प्रशासनले झन्डै पाँच सय माइलभन्दा धेरै पर्खालको निर्माण गर्न सकेन । यो पर्खाल पनि पहिलेदेखि नै कायम रहेको तारबारलाई थोरै बलियो बनाउने तहमै सीमित रह्यो । यसको खर्च धान्ने काम अमेरिकी करदाताको भागमा आइपर्यो ।
उनले बाराक ओबामाका पालामा सुरु भएको स्वास्थ्यसम्बन्धी व्यवस्था ‘अफोर्डेबल केयर एक्ट’लाई हटाएर अझ राम्रो व्यवस्था ल्याउँछु भनेका थिए तर गर्न सकेनन् । ‘अफोर्डेबल केयर एक्ट’ ओबामा कार्यकालको सर्वाधिक लोकप्रिय प्रावधानका रूपमा कायमै रह्यो ।
उनले मुस्लिम बहुल मुलुकबाट आउने नागरिकको आगमनमा कडाइ गर्छु भनेका थिए । त्यसका लागि उनले केही बल त गरे तर अदालतले यी प्रयासमा अंकुश लगाइदियो । यस्ता वाचा उनले हामीमाझ ‘अमेरिकालाई फेरि महान् बनाउने’ हावादारी नारामा मिसाएर ल्याइएका थिए ।
ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमन लोकतन्त्रको विसंगति मात्रै नभएर असाध्यै घातक त्रुटि नै भएको मान्नुपर्नेछ ।
अमेरिका महान् त के बन्नु, झनैै उपहास र चासोको विषय पो बन्न गयो । खास गरेर हाम्रा युरोपेली मित्रहरूले अमेरिकाको प्राविधिक रूपमै सही पुरानो मानिएको लोकतन्त्र नै पछि फर्केको पो हो कि भन्ने आशंका गर्न थाले ।
यस्तो अवस्थामा अब पुरानो माक्र्सवादी नारालाई थोरै फेर्नुपर्ने भएको छ । ट्रम्पको पुरानो कार्यकाल प्रहसन थियो भने अब पुनरागमन दुखान्ततर्फको यात्राजस्तो हुँदै छ । त्यो पनि फेरि सुधार्नै नसकिने प्रकारको दुखान्त । भविष्यमा यी परिघटनाका हरेक आलोचकले फरक–फरक पोस्टमार्टम गर्नेछन् ।
कसैले त्यसमा डेमोक्र्याटिक पार्टीमा हुर्किएको सम्भ्रान्त दबदबा र यसबाट सिर्जित गतिरोध भेट्नेछन् । उनीहरूले यही गतिरोधका कारण उदार मध्यपन्थको आदतका कारण गरिखाने वर्गको दुःखलाई भुलेको कुरालाई मुख्य कारक मान्नेछन् । कसैले व्यापक आर्थिक न्यायको बाटो छाडेर यौनिक र जातीय पहिचानका मुद्दालाई बोकेर हिँडेको कुरालाई दोष दिनेछन् ।
कोही–कोहीले त अमेरिकी समाजमा कायम रहेको स्त्रीद्वेष र जातिवादमा खराबी देखाउनेछन् । अर्को समूहले गाजामा भएको विध्वंशमा अमेरिकी समर्थनका कारण आक्रोशित मतदाता माझ चर्चामै नरहेकी उम्मेदवार जिल स्टेनको पक्षमा मत दिएर प्रतिशोध साँधेको कुरामा पनि जोड्नेछ ।
यी सबै आलोचकले सत्यको थोरै अंश पक्कै बोक्छन् । सामाजिक यथार्थ अप्ठेरो गरी जेलिएको हुन्छ । यसलाई व्याख्या गर्ने हाम्रो क्षमता भने प्रायशः यसको एउटा पक्षमा मात्रै प्रकाश पार्न सक्षम हुन्छ । यस्ता व्याख्या जेसुकै होउन्, हामीले एउटा सत्य स्वीकार गर्नैपर्ने हुनेछ । अर्थात् ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमन लोकतन्त्रको विसंगति मात्रै नभएर असाध्यै घातक त्रुटि नै भएको मान्नुपर्नेछ ।
माक्र्सले यस्तो कुरा बुझेका रहेछन् । १८५१ डिसेम्बर २ तारिखका दिन नेपोलियन बोनापार्टका भतिजा लुई बोनापार्टले फ्रान्सको राज्यलाई नियन्त्रण गर्दै आफूलाई सम्राट घोषणा गरेका थिए । यो तख्तापलट धेरै अघिबाटै आकलन गरिएको थियो ।
सन् १८३६ मा पनि लुई बोनापार्टले यस्तै ‘कु’को प्रयास गरेका थिए । त्यस बखत उनले लेखेका थिए, ‘मलाई लाग्छ, समय–समयमा नियतिले मुलुकको भविष्यको दिशा तय गर्ने मान्छे खडा गर्छ । म आफूलाई त्यही मान्छे ठान्छु । म गलत छु भने म यत्तिकै समाप्त हुन सक्छु । म सत्य निस्केँ भने नियतिले मलाई मेरो अभियान पूरा गर्ने भूमिकामा पक्कै पुर्याउनेछ ।’
जब पहिलोपटक ‘कु’को प्रयास असफल भयो, लुई बोनापार्ट भागेर अमेरिका पुगे, त्यहाँबाट लन्डन आएर धेरै वर्ष आलिसान जीवन बिताएर बसे । सन् १८४० मा फेरि उनी ‘भाग्यले आफूलाई विजयी बनाउने’ आशामा फ्रान्स छिरे । यसपटक त उनको प्रयास यसरी असफल भयो कि यसले त्रास सिर्जना गर्नुको सट्टा ठट्टाजस्तो पो हुन पुग्यो । उनलाई पक्रेर आजीवन कारावासको सजाय तोकियो ।
अखबारहरूले जोकरका रूपमा उनको खिल्ली उडाए, तर उनले प्रयास गर्न छाडेनन् । सन् १८४६ मा उनी फरक भेषमा भागेर लन्डन पुगे । उनी त्यहाँ सन् १८४८ सम्म बसे । सन् १८४८ मा फ्रान्समा क्रान्ति भयो । क्रान्तिले राजा लुई फिलिप्पेलाई हटाउनुका साथै सबै पुरुषलाई मताधिकारको समेत व्यवस्था गर्यो । लुई बोनापार्टले यसलाई आफ्ना लागि शक्तिमा फर्कने उपयुक्त मौकाका रूपमा लिए ।
अन्ततः त्यसै वर्षको डिसेम्बरमा भएको निर्वाचनबाट नेपोलियन बोनापार्टका भतिजा लुई बोनापार्टले आफ्नो महत्त्वाकांक्षा पूरा गरे । कुल खसेको मतमा झन्डै ७० प्रतिशत मतसहित उनी राष्ट्रपति निर्वाचित भए । उनको अन्तिम आकांक्षा त अझै हासिल हुन बाँकी नै थियो, संविधान अनुसार प्रत्येक चार वर्षमा राष्ट्रपतिको नयाँ चुनाव हुन्थ्यो, उनलाई यो व्यवस्था सह्य थिएन ।
उनले यसलाई फेर्ने असफल प्रयास पनि गरे । भाग्यको भूत सवार भएको आफ्नो सपनाको घोडा चढेर उनले धेरै समयअघि आफ्ना काका नेपोलियन बोनापार्टले जस्तै सबै नियम–कानुन रद्दीमा मिल्काएर अन्ततः सम्पूर्ण शक्ति आफ्नै हातमा लिएको घोषणा गरे ।
फ्रान्समा यी घटना घटिरहँदा माक्र्स लन्डनमा थिए । यी घटनाक्रमलाई नियालिरहेका उनले यस सन्दर्भमा ‘लुई बोनापार्टको १८औँ ब्रुमेर’ नामको विस्तृत निबन्ध लेखे । यसको शीर्षकले आधा शताब्दी अघि काका बोनापार्टको सत्तारोहणको भद्दा नक्कललाई व्यंग्य गरेको थियो । फ्रान्सको राज्य क्रान्तिपछि चलेको क्रान्तिकारी पात्रो अनुसार १८औँ ब्रुमेर भनेको नोभेम्बर ९, १७९९ का दिन पर्छ ।
जुन दिन नेपोलियनले वैधानिक प्रावधान रद्द गर्दै आफूलाई फस्र्ट कन्सुल घोषणा गरेका थिए । यसैले पाँच वर्षपछि उनलाई फ्रान्सको सम्राट घोषणा गर्ने बाटो खोलेको थियो । माक्र्सका लागि सन् १८५१ को यो तख्तापलट त्यही पुरानो घटनाको भद्दा पुनरावृत्ति थियो । भतिज नेपोलियन आफ्नो काकाको कुरूप र औसतप्रति सिवाय केही थिएनन् ।
उनका अनुसार ‘लुई नेपोलियन आफ्ना काकाको मृत मुखुन्डो ओढेर उटपट्याङ गरिरहेका उपद्राहा’ थिए । एक सय पृष्ठ हाराहारीको यो निबन्ध उनका समकालीन जोसेफ वेडमेयरले ‘डाए रिभोलुसन जर्नल’मा छपाएका थिए । आफ्नो शक्तिशाली लेखन शिल्प र व्यंग्य शैलीका कारण ‘१८औँ ब्रुमेर’ माक्र्सवादी र गैरमाक्र्सवादी दुवै खेमामा उत्कृष्ट कृतिको रूपमा सम्मानित छ ।
खासगरी ‘इतिहासमा घटना दुईपटक देखापर्ने’ यसको सुरुवाती वाक्य असाध्यै चर्चित छ । साथै यो पुस्तकमा हामी माक्र्सका बुझाइमा भएको आधारभूत परिवर्तन पनि भेट्न सक्छौँ । यस निबन्धमा माक्र्सले प्रत्येक लोकतान्त्रिक क्रान्ति सधैँ घोषित लक्ष्यमै पुग्छन् भन्ने पक्का नहुन सक्छ भन्ने कुरा सैद्धान्तिक स्तरमा बोध गरेका छन् ।
‘१८औँ ब्रुमेर’ निस्किएको तीन वर्षअघि प्रकाशित ‘कम्युनिस्ट घोषणापत्र’मा माक्र्स र एंगेल्सले व्यापक उत्साहका साथ क्रान्तितर्फ हेरेका छन् । उनीहरूले यस्ता अवसरलाई श्रमजीवी वर्गले आफ्नो मुक्तिका लागि उपयोग गर्ने तथा बुर्जुवा बुद्धिजीवीहरूले प्रगति र पुनर्जागरणका नवीन कुरा छरेर क्रान्तिलाई सघाउने कुरा आशावादी रूपमा लेखेका थिए । माक्र्स र एंगेल्सको सामाजिक सिद्धान्तले आफ्नो उदयको अवस्थाबारे समेत बोल्न सक्छ भन्ने ठान्थे ।
उनीहरूले बुर्जुवा बुद्धिजीवीहरू आफ्नो वर्ग स्वार्थबाट माथि उठेको ठानेका थिए । इतिहासको प्रवाहलाई बुझेर आन्दोलनको पक्षमा उभिएका छन् भन्ने सोचेका थिए । माक्र्स/एंगेल्स उत्पीडित वर्गले आफ्नो कार्यभार पूरा गर्नेमा ढुक्क थिए, तर वास्तविक जीवनमा मुक्तिको काम त सर्वहारा आफैँले गर्नुपर्ने थियो । त्यो वर्गले केवल आफूमाथि भएको शोषण बुझ्नुपर्ने थियो र त्यसपछि आफूलाई बाँधेका साङ्गला चुँडाल्नुपर्ने थियो । व्यवहारमा सबै कुरा सोचेजस्तो भएन । १८औँ ब्रुमेरका पृष्ठमा माक्र्सको यो निराशा प्रस्ट रूपमा पोखिएको भेटिन्छ ।
‘आम मताधिकार लामो समय टिकेन । यसको उपादेयता नै सबै कुराको अन्त्य घोषणा गर्ने लक्ष्य हासिल गर्नसम्म मात्रै सीमित थियो’ अर्थात् उनी यसरी नयाँ परिवर्तनले अझै धेरै कुरालाई निलिदिएको कुरा लेखिरहेका थिए ।
उल्लिखित पंक्तिमा माक्र्स धेरै निराश भेटिन्छन् । उनले गोथेको ‘फौस्ट’ नामक कृतिमा लेखिएको ‘अब दुनियाँमा काम लाग्ने केही रहँदैन’ भन्ने संवादलाई यहाँ प्रयोग गरेका छन् । माक्र्सको शैली द्वन्द्वात्मक छ तर यो सन्दर्भमा उनी अग्रगमनको नभएर ध्वंसको द्वन्द्ववाद प्रयोग गर्छन् । फ्रान्समा लोकतान्त्रिक संस्थाहरूको प्रयोग लोकतन्त्रलाई नै ध्वस्त पार्न गरिएको थियो ।
मसँग भएको ‘माक्र्स–एंगेल्स रिडर्स’को पुरानो पुस्तक, जुन धेरैअघि प्रिन्स्टन विश्वविद्यालयका राजनीतिशास्त्री तथा इतिहासकार रोबर्ट सी टकरले सम्पादन गरेका थिए । जुन आज पनि अंग्रेजीभाषी दुनियाँमा माक्र्सवादी सिद्धान्तबारे पढाउनुपर्दा प्रयोग गर्ने गरिन्छ । यसको परिचयमा उनले लेखेका छन्— ‘लुई बोनापार्टको उदय र शासन २०औँ शताब्दीमा फासिवाद भनिएको व्यवस्थाको प्रारम्भिक रूप थियो ।’
त्यो पुस्तकको पुनः प्रकाशनमा यो निबन्ध राखिएको छैन तर पनि यसको पूर्णपाठ माक्र्स–एंगेल्सका संकलित रचना भन्ने पुस्तकमा भेटिन्छ । सन् १९७८ मा उनले आफ्नो संकलन प्रकाशन गर्ने समयमा फासीवाद धेरै पुरानो र कम महत्त्वको विषय भएको ठानेर हटाएका पनि हुन सक्छन् ।
दोस्रो विश्वयुद्धपछि पुँजीवादी लोकतन्त्रमा देखापरेको स्थायित्वले इतिहासकारलाई साम्यवादको तुलनामा फासीवाद पुरानो र कम खतरा घोषणा गर्न सहज बनाइदियो । समय क्रमसँगै पूर्वी युरोपमा भएका समाजवादी भनिने सत्ताहरू एकपछि अर्को गर्दै ढल्न थालेपछि पश्चिमा जगत्का उदार विचारक हौसिएर ‘इतिहासको अन्त्य भएको’ घोषणा गर्न थाले । तर, यस्तो हुनेवाला थिएन । इतिहास सदाझैँ चलिरह्यो ।
इतिहास कुनै–कुनै बखत उल्टो पनि हिँडेको देखिन्छ । वा, भनौँ धेरै पछाडि छोडियो भनेर महत्त्व दिन छाडिएका शासनका रूप फेरि ब्युँतिएर आएका जस्ता हुन्छन् । माक्र्सले गज्जबले औँल्याएका थिए, ‘मृत भनिएका पुस्ताका परम्परा जीवित मानिसका मस्तिष्कमा दुस्वप्नको रूपमा आउने गर्छन् ।’
उनी थप लेख्छन्, ‘जब उनीहरू क्रान्ति वा परिवर्तनको काममा लाग्न थाल्छन्, कुनै नयाँ चिजको सिर्जना गर्न लाग्छन्, ठ्याक्कै यस्तै क्रान्तिकारी संकटको समयमा बहुत उत्सुकताका साथ विगतका भूत खोज्न थाल्छन् । पुराना नाम लिन थाल्छन्, लडाइँका नारा ल्याउँछन्, इतिहासबाट पहिरन समेत ल्याएर इतिहासको नयाँ परिदृश्यमा आफूलाई इतिहासको भाव भङ्गिमा प्रस्तुत गर्छन् ।’
माक्र्सले बुझेको तर हामीले बिर्सिएको कुरा के हो भने इतिहासमा सधैँ पछाडि फर्कन खोज्ने धारा विद्यमान हुन्छ । यसले प्राचीन कथाको नोहाको बाढीजस्तै सबै राजनीतिक उपलब्धिलाई तहसनहस बनाइदिन सक्छ । निराशा र आक्रोशमा माक्र्स यो प्रवाहमा आएका सबै शक्तिलाई लम्पट सर्वहारा भन्छन् । लुई बोनापार्टलाई यस्ता लम्पटहरूको लोकप्रिय नेता मान्दै उनी लेख्छन्—
‘यी लम्पटहरूको समूह मध्यमवर्गका पतीतहरू, टाट पल्टेका टोलीहरू, गरिखान नसकेर भेला भएकाहरू, सडकछापहरू, बर्खास्त सैनिक, जेलबाट छुटेका र भगौडा कैदीहरू, ठगहरू, चोरहरू, जुवाडेहरू, यौन कारोबारीहरू, कोठी चलाउनेहरू, भारी बोक्ने मजदुरहरू, मध्यम वर्गका लेखकहरू, गीताङ्गेहरू, कवाडी संकलन गर्नेहरू, चक्कु तिखार्नेहरू, माग्नेहरू कुल मिलाएर एकै ठाउँमा हुँदा यी लम्पटलाई फ्रान्सेली बोलीमा ला बोहेमे भनेर चिनिन्छ ।’
पक्कै पनि यहाँ माक्र्स अलि छुद्र देखिन्छन् । माक्र्सले लम्पट सर्वहाराको चित्रण त गरेका छन् तर यसले लुई बोनापार्टलाई मत दिने तीन चौथाइ फ्रान्सेली समाजलाई राम्रोसँग वर्णन भने गर्न सकेका छैनन् । बोनापार्टको अभियानलाई व्यापक मात्रामा सघाएको किसानहरूको तप्काबारे माक्र्सको फरक बुझाइ छ ।
उनी लेख्छन्, ‘बोनापार्ट वंशले क्रान्तिकारी नभएर परम्परावादी किसानको प्रतिनिधित्व गर्छ । सानो इकाइको स्वामित्वमा बाँच्नुपर्ने बाध्यताबाट बाहिर आउन खोजेको किसान होइन थप क्षेत्र हडप्न खोज्ने किसानको प्रतिनिधित्व गर्छ ।’
देहाततिर हेर्दा माक्र्स लेख्छन्, ‘बोनापार्टवादीहरू पुनर्जागरणको नभएर किसानको अन्धविश्वासको प्रतिनिधित्व गर्छन् । स्वतन्त्र चेतनाको नभएर पूर्वाग्रहको तथा भविष्यको नभएर विगतको प्रतिनिधित्व गर्छन् ।’
यसरी फरक छुट्ट्याउँदा त्यसको अन्तर्निहित विषय थाहा हुनुको साटो अस्थायी रूपमा मनको शान्ति मात्रै प्राप्त हुन्छ । सबभन्दा अप्ठेरो कुरा माक्र्सले लोकतान्त्रिक शासनको दर्दनाक सत्यलाई ख्याल गर्दैनन् । आम मताधिकारको तर्कअनुरूप लोकतन्त्र त्यति नै समृद्ध हुन्छ, जति त्यहाँका नागरिक हुन्छन् । जसले लोकप्रिय सार्वभौमिकताको प्रयोग गर्दा सजिलै प्रगतिको सट्टा पूर्वाग्रह तथा पुनर्जागरणको सट्टा झिल्के प्राधिकारलाई रोज्न सक्छन् ।
बोल्सोनारो, एर्दोगान र मोदीजस्ता दक्षिणपन्थी लोकप्रियतावादी तथा हिटलर र मुसोलिनीजस्ता खुलेआम फासीवादीको लामो लाइनसामु माक्र्सले सही कुरा ठम्याएका थिए । अर्थात् लोकतान्त्रिक प्रक्रिया मात्रैले प्रगति निश्चित गर्न सक्दैन । सन् १८४८ को प्रारम्भमा फ्रान्सका पुँजीवादी क्रान्तिकारीले पुरुषका लागि आममताधिकार स्थापना गरे । यद्यपि डिसेम्बर २ सम्म यी उपलब्धि छलछामपूर्ण रणनीतिमार्फत रद्द गरियो । राजतन्त्रलाई ध्वस्त पार्नुको सट्टा उल्टै फ्रान्सेली राज्यले शताब्दियौँको संघर्षबाट हासिल गरेका कठिन उदारवादी सुधारहरू गुमायो ।
पूर्वी युरोपमा भएका समाजवादी सत्ताहरू एकपछि अर्को गर्दै ढल्न थालेपछि पश्चिमा विचारकहरू हौसिएर ‘इतिहासको अन्त्य भएको’ घोषणा गर्न थाले तर यस्तो हुनेवाला थिएन । इतिहास सदाझैँ चलिरह्यो । बरु इतिहास कुनै कुनै बखत उल्टो पनि हिँडेको देखिन्छ । माक्र्सले गज्जब भनेका छन्— मृत भनिएका पुस्ताका परम्परा जीवित मानिसका मस्तिष्कमा दुस्वप्नको रूपमा आउने गर्छन् ।
यस सन्दर्भमा ‘उदार’ शब्दको ठुलो महत्त्व छ । आजका दिनमा यो शब्द उदारवादले ऐतिहासिक रूपमा खडा गरेका कुरालाई खारेज गर्नका लागि प्रयोग गरिन्छ । यो सत्य हो कि उदारवादको सम्बन्ध जातिवाद र साम्राज्यको विस्तारसँग जोडिएको छ । उदारवाद ऐतिहासिक रूपमा नवउदारवादको आधार हो भन्ने कोणबाट आलोचना पनि हुने गरेका छन् ।
हामीले बिर्सिनु नहुने कुरा भनेको माक्र्सले उदार मूल्यलाई दिएको महत्त्व हो । उनले तत्कालीन समयमा प्राप्त मूल्यलाई खारेज गर्नुको साटो लोकप्रिय संघर्षमार्फत प्राप्त उपलब्धिका रूपमा हेरेका थिए । यद्यपि तिनीहरू अझै अपूर्ण रहेको पनि बताउने गरेका थिए ।
उदारवादलाई पूर्णरूपमा झुटो नमानेर मात्रै हामी माक्र्सले लुई बोनापार्टको १८औँ ब्रुमेरमा पोखेको आक्रोशलाई ठम्याउन सक्छौँ । यसका लागि हामीले उदारवादलाई यसको उदयबाट फरक स्वरूपमा सही उद्देश्यमा रूपान्तरण गर्न सकिने सिद्धान्त र मूल्यको पनि हिस्सा भएको प्रणाली वा विचारका रूपमा हेर्नुपर्ने हुन्छ ।
जब उदारवादी मूल्यहरू विश्वसनीयता गुमाउँछन्, वा राम्रोसँग खुट्टा टेक्सन सक्दैनन्, समाज अगाडि होइन पछाडि सर्दै जान्छ । यस्तो अवस्थामा लोकतन्त्रको प्रयोग लोकतन्त्रकै विरुद्ध हुन सक्छ । यो वातावरणले अधिनायकवादलाई बलियो बनाउन सजिलो बनाइदिन्छ । लोकप्रियतावादले उदारवादलाई प्रतिस्थापन गर्छ र आम जनताको आर्थिक जीवनको पीडा अन्धो राष्ट्रवाद र जातीय घृणामा परिणत हुन्छ ।
लुई बोनापार्टको १८औँ ब्रुमेर दुरुह खालको आलेख हो । यसले समाजको रिडक्सनिस्ट व्याख्या र गहन राजनीतिक अन्तर्दृष्टिको मिश्रण गरेर व्याख्या गर्ने कोसिस गरेको छ । त्यसमा माक्र्सले बोनापार्टिस्ट आन्दोलनलाई लम्पट सर्वहारा र किसानहरूको अनौठो खाले वर्गीय साँठगाँठको परिणामको रूपमा आएको हो भन्ने आफ्नो बुझाइमै दृढ रहन ढिपी गरेका छन्् ।
यद्यपि बोनापार्टिजम् भनेको आधुनिक राजनीतिमा लोकप्रियता र लोकतान्त्रिक प्रक्रिया मिसिएर आएको नयाँ प्रकारको चिज हो भन्ने उनको तीक्ष्ण अवलोकन थियो । माक्र्सलाई थाह थियो— सन् १८४८ को लोकप्रिय आन्दोलनबाट फ्रान्सको धनी बुर्जुवा वर्ग तर्सिएको थियो । उनीहरूले यस्तो अनियन्त्रित भीडको त्रासबाट जोगिन कुनै शक्तिशाली नेताले सहयोग गर्न सक्छ भन्ने ठानेका थिए ।
यस्तो आतंकित माहोलमा फ्रान्सेली बुर्जुवाहरू अनियन्त्रित जनताबाट जोगिनका लागि एउटा बलियो नेता खोज्नतर्फ लागे । फ्रान्समा किन यसरी बुर्जुवाहरू, धनाढ्यहरू मात्र नभएर आममानिसले पनि लोकतन्त्रको सट्टामा तानाशाहलाई रोजे भन्ने राम्रोसँग व्याख्या गर्न सकेनन् । यस्तो जटिलतालाई छल्न बरु उनले गालीगलौजको सहारा लिन पुगे ।
उनी लेख्छन्, ‘लम्पट सर्वहाराको अगुवाइ गरिरहेको बोनापार्टले त्यो भिडमा आफ्नो स्वार्थ र भावना मिलेको देख्यो । सबै वर्गको छिःछिः र दुर्दुरमा तथा छुवाछुतको भावबिच उसले लम्पटहरूको फौजमा आफूलाई निःसर्त समर्थन हासिल हुने आधार भेट्यो । ऊ यति धूर्त छ कि उसलाई यो सबै कुरा व्यर्थको नाटकजस्तो लाग्छ । पुरानो कथाको ठग शकुनीजस्तो बोनापार्टले राष्ट्रहरूको ऐतिहासिक जीवन र तिनीहरूको व्यवहारलाई केवल मामुली हास्य नाटक जस्तो ठान्छ । ऊ यी सबै कुरालाई आफ्नो अनुहार छोप्ने ठुलो मखुन्डो ठान्छ । शब्द र भावनालाई केवल ठगी छल्ने भेष मात्रै ठान्छ ।’
आजको समय र २०औँ शताब्दीमा तानाशाहको उदयभन्दा धेरैअघि लेखिएको माक्र्सको आलेखको अन्तर्यमा केही फरक कुरा थिए । ती अलिक अव्यवस्थित नै थिए । वास्तवमा ‘बोनापार्टिजम्’ कुनै वर्गको स्वार्थको अभिव्यक्ति दिने राजनीतिक आन्दोलन थिएन, यो त वर्गको विघटनबाट जन्मेको आन्दोलन थियो ।
हाम्रो आजको समय र २०औँ शताब्दीका तानाशाको उदयभन्दा धेरैअघि लेखिएको यस आलेखको अन्तर्यमा माक्र्सले केही फरक कुरा देखेका थिए । ती कुरा अलि अव्यवस्थित नै थिए । वास्तवमा बोनापार्टिजम् कुनै वर्गको स्वार्थको अभिव्यक्ति दिने राजनीतिक आन्दोलन थिएन । यो त वर्गको विघटनबाट जन्मेको आन्दोलन थियो । वास्तविक स्वार्थहरूलाई विस्थापित गर्दै स्वार्थहरूको काल्पनिक भुलभुलैया बलियो हुँदै गएको तथा वास्तविक जीवनमा हाबी हुँदै गएको थियो ।
मलाई लाग्छ, यसले मात्र आजका आधुनिक शैलीका दक्षिणपन्थी लोकप्रियतावादलाई किन कथित राजनीतिक एकताको भ्रममा बाहेक अरु केहीमा पनि यसरी फस्टाउन सक्दैन भन्ने व्याख्या गर्न मद्दत गर्न सक्छ । आफ्नो अन्तर्वस्तु गुमाएको लोकतन्त्र केवल तमासाजस्तो मात्रै हुन्छ । ‘नेता’ र ‘जनता’ भनिने दुई ध्रुवमा केन्द्रित भएर राष्ट्रिय र जातीय भाव बोकेर हिँडेको हुन्छ ।
माक्र्सले यस्तो अवस्था आउनेबारे अनुमान गरेका हुन सक्थे तर उनी २०औँ शताब्दीमा यस्ता राजनीतिक चर्तिकला देख्ने समयसम्म बाँच्न पाएनन् । कतिपय माक्र्सवादीहरू अझै पनि चरम दक्षिणपन्थी लोकप्रियतावाद भनेको श्रमजीवी वर्गको आक्रोशको प्रतिक्रिया हो भन्ने सोचेरै चित्त बुझाइरहेका छन् । यो ढंगको बुझाइ चित्तबुझ्दो खालको पहिले पनि थिएन र आजको दिन पनि छैन ।
सन् २०१७ मा ट्रम्पले पहिलोपटक जितेलगत्तै रवीन डी.जी. केल्लीले श्रमिक वर्गको पुछारको हिस्सा काला र खैरा मानिस भएको र ट्रम्पले उनीहरूबारे केही नबोलेको लेखेका थिए । यसको सट्टा उनले ‘गोरा राष्ट्रवाद’ भन्ने नयाँ प्रजातिलाई चर्चामा ल्याएका थिए । त्यो यस्तो प्रजातिको रूपमा प्रस्तुत गरिएको थियो, जसले जातीय घृणामा आधारित आन्दोलनमा बल दिएको मात्रै थिएन, अझ ट्रम्पले चाहेका बेला उनको पक्षमा खडा हुने समेत गरेको थियो ।
पछिल्लो निर्वाचनमा ट्रम्पले गोरा बाहेकको समुदायको समर्थनको पनि फाइदा लिएका छन्, तर यो भन्दै गर्दा फेरि हामीले उसको आन्दोलनको केन्द्रमा जातीवाद छैन भनिहाल्न मिल्दैन । उसले त्यो उग्र जातिवादलाई आफू सन् २०२० को निर्वाचनमा पराजित भएर उसको निजी निवास मार–आ–लागोमा रहनुपर्दा होस् वा सन् २०२४ को निर्वाचन अभियानमा किन नहोस्, दुवैमा थोरै पनि भुत्ते बनाएकै छैन ।
इतिहासका खराब घडीबाट र मानव मनोविज्ञानका कुरूप कुनाबाट ल्याएका शब्द प्रयोग गरेर उसले आप्रवासीलाई अमेरिकी रक्तमा विष भर्ने दुष्ट जनावरको रूपमै हेरिरहेको छ भन्ने खुलेआम प्रस्ट पारिसकेका छन् । उसले बारम्बार भन्ने गरेका ‘दशौँ लाख आप्रवासीलाई पक्रेर घर फर्काउने’ जस्ता उग्र अभिव्यक्ति केवल वक्तव्यबाजी मात्रै हुन् भनेर कसैले दाबी गर्न त सक्छन् वा उसले आफूले भनेको कुरा गर्ने गरेकै छैन भन्न पनि सक्छन् तर त्यस्ता दाबीको कुनै अर्थ छैन ।
यसरी ट्रम्पको रक्षार्थ बोल्नेले तथा ट्रम्पवादका नाममा हुर्कंदै गरेको नस्लीय घृणालाई सामान्य ठान्नेले कस्ता कुरालाई कमजोर ठान्दै छन् भन्ने हामीले मसिनो गरी ख्याल गर्नुपर्छ । अमेरिका यो धर्तीकै सबैभन्दा विविधता भएको देश हो । यहाँको समाजलाई गोराहरूको मात्रै क्लब बनाउन खोज्नु खतरानक हो ।
यही काल्पनिक कुरामै खास विषय छ । नस्लवादले सधैँ निश्चित समूहभित्र ऐक्यबद्धताको भ्रम सिर्जना गर्छ । आकाशमा कुनै महल नै बनाएजस्तो काल्पनिक झिलिमिली देखाउँछ । यो सबैको जगमा बाँकी अन्य समुदायलाई लखेटेर निर्माण भएको एकात्मक समाजको काल्पनिकी बसेको हुन्छ । यही परिकल्पनाले मानिसलाई परिचालन गर्छ, उत्प्रेरित गर्छ र मानिसहरूको हत्या गर्न अभिप्रेरित गर्छ । किनभने यसले आफूलाई जुनसुकै सर्तमा लागु गराउनुपर्ने हुन्छ । जुन व्यावहारिक रूपमा मिलेकै हुँदैन ।
ट्रम्पको रक्षार्थ बोल्नेले तथा ट्रम्पवादका नाममा हुर्कंदै गरेको नश्लीय घृणालाई सामान्य ठान्नेले कस्ता कुरालाई कमजोर ठान्दै छन् भन्ने हामीले मसिनो गरी ख्याल गर्नुपर्छ । अमेरिका यो धर्तीकै सबैभन्दा विविधता भएको देश हो । यहाँको समाजलाई गोराहरूको मात्रै क्लब बनाउन खोज्नु खतरनाक हो ।
जब लोकतन्त्र आफ्नो सार गुमाएर दूषित विचार बोकेको फगत एउटा भाँडोमा रूपान्तरित हुन्छ, यसले आमजनतालाई त्यही परिकल्पनाको पोषण गर्ने हतियारको रूपमा मात्रै उपयोग गर्छ । सन् १८५१ मा यसको नतिजा उदारवाद बेगरको लोकतन्त्र भएको थियो । यसले व्यापक सैन्य प्रदर्शनसहित ‘थर्ड इम्पाएर’का लागि बाटो खोलेको थियो ।
आजको दिनमा विश्वव्यापी रूपमा फैलिरहेको हिंस्रक र अनुदार लोकप्रियतावादका लागि भने लुई बोनापार्ट आउनेवाला घटनाबारेको अगमवक्ता वा अगुवाजस्तो भएको छ । लुई बोनापार्ट जस्तै ‘महानता’को खोल ओढ्दै लोकतान्त्रिक व्यवस्थालाई प्रयोग गरेर लोकतन्त्रलाई नै कब्जा गर्न आएको शक्ति बन्न पुगेको छ ।
ट्रम्पले अनुदार लोकतन्त्रबाट फासीवादतर्फ फड्को मार्छन् वा मार्दैनन् अहिले नै किटान गरेर भन्न सकिन्न तर उनले आफ्नो आकांक्षा प्रस्ट पारिसकेका छन् । आधुनिक युगको इतिहासबारे जानकार सबैले यो विषयमा प्रस्ट हुनुको विकल्प छैन । यसरी हेर्दा ट्रम्पको उदय कुनै अपवादको घटना होइन । अमेरिकी राजनीतिमा यस्तो लोकप्रियतावादमा टेकेर आएको सरकारबारे आकाश नै खसेजस्तो गरेर हामी कसैले अचम्म मानुपर्ने पनि छैन ।
आजको दिनमा लम्पट सर्वहारा वर्गद्वारा होइन तर औसत अमेरिकीको फराकिलो मतको छनोटद्वारा राष्ट्रपति पदमा पुनः फर्किएका ट्रम्पले आफ्नो ‘१८औँ ब्रुमेर’लाई लागु गर्न र संवैधानिक अवरोधलाई पन्छाउनका लागि अहिले सर्वोच्च अदालत वा अमेरिकी सदन (कंग्रेस) ले प्रभावकारी रूपमा नियन्त्रण नगरेको खालको लोकतान्त्रिक जनादेश प्राप्त गरेका छन् ।
पहिलो कार्यकालमा उनले गर्न खोजेका गलत कामलाई ती संस्थाहरूले रोकेका थिए । आफ्नो जीवनमा पहिलोपटक टेलिभिजनमा प्रस्तुत भएर कुराकानी गर्दाका बखत राम्रोसँग बोल्न पनि नजान्ने तथा जिज्ञासाहीन औसत दर्जाको व्यक्तिको रूपमा ट्रम्प नेपोलियन तेस्रोजस्तै विगतको गौरव फर्काउने वाचा पहिरिएर फेरि हामी सामु आएका छन् ।
उनले हाम्रो समाजको यस्तो ऐनाको रूपमा आफूलाई प्रस्तुत गर्दै छन्, जसले हाम्रा सबै कुरूप आकांक्षा र भावनालाई सानदार ढंगले देखाइरहेको छ । यस्ता दुर्भावनामा जातीय घृणा, एकल जातिवाद, लैङ्गिक हिंसा तथा ईश्वरले हामीलाई सारा जगत्माथि राज गर्न छानेका हुन भन्ने खालका बुझाइ पर्छन् । अहिलेको जस्तो अवस्थामा अमेरिकी संसद् कांग्रेस, न्यायपालिकाले अवरोध गर्न नसक्ने हो भने र उनले आफूले निर्वाचनताका भन्ने गरेजस्तो मुद्दा लागु गराउने हो भने हामीले अहिले त्यो दर्दनाक अवस्थालाई टुलुटुलु हेरेर बस्न मात्र सक्छौँ ।
अवस्था साँच्चै भयावह हुन सक्छ । त्यस्तो अवस्थामा अज्ञानताले विपत्ति जन्माएजस्तै लोकतन्त्रले आफ्नै सिकारी खडा गर्नेछ । निराशाका धेरै आधार विद्यमान छन् । साँच्चै आशाको दियो मधुरो बन्दै गएको छ ।
(लेखक गोर्डन हार्वड विश्वविद्यालयमा इतिहासशास्त्रका प्राध्यापक हुन् ।)
प्रतिक्रिया दिनुहोस्