ट्रम्पलाई हराएर कमला ह्यारिसले रच्नेछिन् इतिहास 

चुनावी उम्मेदवारी परित्याग गर्ने राष्ट्रपति बाइडेनको निर्णय मैले मेरो जीवनकालमा देखेको विशुद्ध देशभक्तिबाट प्रेरित भई लिइएको कदममध्ये एक थियो । यसले बाँकी हामीलाई अमेरिकाको आत्मा बचाउन उनले चालेको संघर्षलाई जारी राख्न प्रेरित गर्नुपर्छ । अब अमेरिकाले आगामी नोभेम्बर ५ को चुनावबीचमा पहिले कहिल्यै नभोगेको अनुभव गर्नेछ । र, अहिलेको चुनावी दौड डेमोक्य्राटहरूले जित्न सक्ने र जित्नैपर्ने दौड हो । बाइडेनले एउटा कठिन र दुर्लभ काम गरेका छन् । बाइडेनको राष्ट्रपतिका रूपमा सेवा गर्ने जीवनभरको सपना थियो । र, जीवनका उत्तरार्धमा उनी जब साँच्चै सो पदमा पुगे, तब उनी यसमा असाधारण रूपमा कुशल देखिएका छन् । त्यस्तो अवस्थामा चुनावी उम्मेदवारी त्याग्नु र आफूले सुरु गरेको काम पूरा गर्न आफ्नो उत्तराधिकारीमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने बोध गर्न वास्तवमै नैतिक स्पष्टता आवश्यक पर्छ । यस्तो निर्णय गर्दा देशलाई आफूभन्दा माथि राखिन्छ । बाइडेनकै जस्तो सपना देखेर प्रतिस्पर्धामा हासिल भएको हार सहज रूपमा स्वीकार गरेको व्यक्तिको रूपमा मलाई थाहा छ कि बाइडेनको निर्णय सजिलो थिएन । तथापि, त्यो गर्नैपर्ने निर्णय थियो । 

चुनावसँग भविष्य जोडिएको हुन्छ । त्यसैले म उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीलाई लिएर उत्साहित छु । उनले अमेरिकी राजनीतिको नयाँ सुरुवातको प्रतिनिधित्व गर्छिन्, जसले आशा जगाउने र सबैलाई जोड्ने दर्शन प्रदान गर्न सक्छ । उनी प्रतिभाशाली, अनुभवी भएकीले राष्ट्रपति बन्न पूर्णतः योग्य व्यक्ति हुन् र मेरो विश्वासमा उनी डोनाल्ड ट्रम्पलाई हराउन सक्षम छिन् । आगामी चुनावको विकल्प थप टड्कारो गरी भिन्न देखिएको छ । एकातिर छन्, डोनाल्ड ट्रम्प, अदालतले नै अपराधी भनेको व्यक्ति, जसले आफ्नो मात्रै चिन्ता गर्छन् । ट्रम्प राष्ट्रपति बनेर अमेरिका र यहाँका नागरिकलाई पछाडि लान चाहन्छन् । अर्कोतर्फ छिन्, एक सक्षम वकिल र सफल उपराष्ट्रपति कमला ह्यारिस, जसले अमेरिकाको भविष्य अझै सुन्दर छ भन्ने आमअमेरिकी विश्वासलाई प्रतिनिधित्व गर्छिन् । नोभेम्बरको चुनावमा मतपत्रमा दुई विकल्प हुनेछन्– उही पुरानो गुनासोविरुद्ध नयाँ समाधान ।

frontline

ट्रम्पका समर्थकले ह्यारिसको विगत र उनको चरित्रविरुद्ध अनलाइनमा झुटा तथा कुरूप पूर्वाग्रहको बाढी ल्याउँछन्, जुन सुरु हुन थालिसकेको छ । ह्यारिस र उनको चुनावी अभियानले ती कोलाहललाई चिर्नुपर्छ र मतदाताले पनि आपूले पढ्ने र सेयर गर्ने सामग्रीको विश्वसनीयतामा सोचविचार गर्नुपर्ने वेला भएको छ । 

म आफैँ विगतमा उम्मेदवार भएकाले बलियो महिला उम्मेदवारविरुद्ध अमेरिकी राजनीतिमा हाबी लिंगवाद र दोहोरो मापदण्डविरुद्ध लड्न कत्ति गाह्रो हुन सक्छ भन्ने मलाई राम्ररी थाहा छ । मलाई बोक्सी, ‘खराब महिला’ र अन्य धेरै खराब विशेषण प्रयोग गरियो । यहाँसम्म कि मेरो पुतलासमेत जलाइएको थियो । उम्मेदवारको हैसियतमा म पहिलो महिला राष्ट्रपतिको इतिहास रच्ने कुराबाट थोरैले टाढा रहेँ । सायद, मतदाता नै त्यसका लागि तयार थिएनन् कि ! म खासमा इतिहास बनाउँछु भनेर चुनावमा भाग लिएकी थिइनँ, म त आफू राष्ट्रपतिका रूपमा सबैभन्दा योग्य लागेकाले चुनावमा भाग लिएकी थिएँ । मैले इतिहास बनाउन नसकेकोमा मलाई अझै पीडा त हुन्छ, तथापि मैले दुईपटक राष्ट्रपति दौडमार्फत एक महिला पनि शीर्ष पदमा लड्न सक्छन् भन्ने कुरालाई सामान्यीकरण गरेँ भन्नेमा गर्व लाग्छ । 

ह्यारिसले थप चुनौती सामना गर्नेछिन् । उनी राष्ट्रपतीय उम्मेदवार हुँदा पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी महिलाको रूपमा लडिरहेकी हुनेछिन् । यो वास्तविक हो, तर हामी डराउनुहुँदैन । प्रगति असम्भव छ भन्ने कुरा खासमा भ्रमजाल मात्र हो । के बिर्सिनुहुँदैन भने मैले राष्ट्रपतिका लागि आवश्यक इलेक्ट्रोल मत कम पाए पनि सन् २०१६ मा लगभग तीस लाखभन्दा बढी लोकप्रिय मत पाएकी थिएँ । अमेरिकीहरूले देशको पहिलो अश्वेत राष्ट्रपति(बाराक ओबामा) चुनेको धेरै वर्ष पनि भएको छैन । सन् २०२२ को मध्यावधि चुनावमा गर्भपतन प्रतिबन्ध र लोकतन्त्रमाथिको आक्रमण देखेर जसरी महिला मतदाता पहिले कहिल्यै नदेखिएको स्तरमा मतदानका लागि उत्प्रेरित भए, ह्यारिसको उम्मेदवारीले पनि त्यस्तै रोक्न नसकिने लहर सिर्जना गर्न सक्छ । 

ह्यारिसका लागि चुनावी अभियानलाई व्यवस्थित गर्न समय कम छ । तर, बेलायतको लेबर पार्टी र फ्रान्समा व्यापक वामपन्थी गठबन्धनले भर्खरै कम समयमा ठूलो जित हासिल गरेर देखाएका छन् । ह्यारिसले डेमोक्य्राटहरूलाई शंकाका नजरले हेर्ने मतदातासम्म पुग्नुपर्छ र युवा मतदातालाई विश्वास दिलाउन आवश्यक छ । साथै उनले चुनावमा परिवारमाथि पर्ने आर्थिक भार घटाउने, बन्दुकबाट सुरक्षा दिलाउने कानुन लागू गर्नेजस्ता महŒवाकांक्षी मुद्दामा चुनावी अभियान अघि बढाउन सक्छिन् ।

ह्यारिससँग प्रस्तुत गर्न वर्तमान सरकारले गरेका धेरै उपलब्धिको सूची छ । ट्रम्पले महामारीको खराब व्यवस्थापन र अर्थतन्त्रमा पुर्‍याएको क्षतिलाई सम्हाल्दै बाइडेन र ह्यारिसले विश्व जगत्मा अमेरिकाको पुनरागमनको नेतृत्व गरे । तिनको नेतृत्वमा, संयुक्त राज्य अमेरिकाले १.५ करोडभन्दा बढी रोजगारी सिर्जना गरेको छ, जोसँगै देशको बेरोजगारी दर ५० वर्षयताकै न्यूनस्तर नजिक पुगेको छ । बाइडेन र ह्यारिस शासनमा आउँदा विश्वभर मुद्रास्फीति बढिरहेको थियो । त्यस्तोमा धेरै अर्थशास्त्रीले यसलाई नियन्त्रण गर्ने एक मात्र तरिका ठूलो रोजगारी गुमाउने खालको पीडादायी मन्दी हुने भनेका थिए । तर, बाइडेन र ह्यारिसले मुद्रास्फीति सामान्यस्तरमा झार्दै कामकाजीको वास्तविक आम्दानी बढाउन सफल भए ।

त्यस्तै अमेरिकामा बढेको ध्रुवीकरणबीच देशका दुई दलबीच कुनै विषयमा पनि समन्वय नहुने सोचेको समयमा बाइडेन र ह्यारिसले रिपब्लिकन र डेमोक्य्राटहरूलाई पूर्वाधार र स्वच्छ ऊर्जा, माइक्रोचिप्स र राष्ट्रिय सुरक्षाजस्ता प्रमुख कानुन पारित गर्न एक ठाउँमा ल्याउन सफल भए । औषधिको मूल्यदेखि विद्यार्थी ऋणसम्मका विषयमा उनीहरूले हाम्रो देशलाई बलियो र जनताको जीवनलाई अझ राम्रो बनाउने नतिजा दिएका छन् ।

ह्यारिसको प्रायः न्यून मूल्याकन हुने गर्छ । तर, उनी राष्ट्रपतिको रूपमा एकदम तयार उम्मेदवार हुन् । क्यालिफोर्निया राज्यको सरकारी वकिल र महान्यायाधिवक्ताको रूपमा उनले लागूऔषध तस्कर, प्रदूषक र खराब ऋणदाताविरुद्ध दरिलोसँग उभिइन् । अमेरिकी सिनेटरको हैसियतमा उनले ट्रम्प प्रशासनका अधिकारी र उम्मेदवारलाई कडा रूपमा प्रश्न गरिन् । उपराष्ट्रपतिका रूपमा, ह्यारिसले राष्ट्रपतिलाई नेताले गर्न सक्ने सबैभन्दा कठिन निर्णय गर्न मद्दत गरेकी छिन् । त्यस्तै जब सर्वोच्च अदालतले ‘रो भर्सेस वेड’लाई उल्ट्याइदियो, उनी महिलाको प्रजनन अधिकार पुनस्र्थापनाका लागि सरकारको सबैभन्दा संवेदनशील र प्रभावकारी पक्षधर बनिन् ।

पहिलो कार्याकालमा असफल राष्ट्रपति बनेका ट्रम्प अहिले खतरनाक एजेन्डामा चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो ट्रम्प कार्यकाल पहिलोभन्दा धेरै खराब हुनेछ । राष्ट्रपति भएपछि कार्यान्वयन गर्ने भनिएका ट्रम्पका योजना झन् चरम छन् । उनी पहिलेभन्दा बढी खुला रूपमा आफ्ना काम कार्यान्वयन गर्नेछन् । यस्तोमा म ट्रम्पसँगको चुनावी बहसमा ह्यारिसले उनीविरुद्ध प्रयोग गर्ने बलिया तर्क सुन्न इच्छुक छु । ह्यारिसले ट्रम्प सत्तामा फर्किए भने मुद्रास्फीति फेरि बढ्नेछ भन्ने कुरा जनतालाई बुझाउन सक्छिन् । ट्रम्पद्वारा प्रस्तावित भन्सार कर, धनीहरूका लागि गरिने व्यापक कर कटौती तथा आप्रवासीको आम निष्कासनले यसमा योगदान दिनेछ । ट्रम्पका सहयोगीले तयार पारेको परियोजना २०२५ मा उल्लिखित नीतिले गर्भपतन अधिकारलाई थप कटौती गर्नेदेखि लिएर शिक्षा मन्त्रालयलाई भत्काउने बताएको छ, जसले अमेरिकालाई थप कमजोर, विपन्न र विभाजित बनाउनेछ । 

कानुन प्रवर्तनसम्बन्धी अनुभवले ह्यारिसलाई ट्रम्पको अपराध तथा अध्यागमनसम्बन्धी झुटको खण्डन गर्ने आधार प्रदान गरेको छ । तथ्यहरू ह्यारिसको पक्षमा छन्, ट्रम्पको शासनमा अपराध बढेर पछि बाइडेन–ह्यारिस प्रशासनअन्तर्गत हत्यादरमा ह्रास आएको थियो । त्यस्तै अवैध सीमापार गर्ने पनि यस सरकारको पालामा द्रुत रूपमा घट्दै गएका छन् । अहिले यो सन् २०२० पछिकै न्यून दरमा पुगेको छ, जसमा बाइडेनको पछिल्लो कार्यकारी आदेशको योगदान छ । यदि ट्रम्पले आफ्नो स्वार्थी राजनीतिक उद्देश्यका लागि यस वर्ष कंग्रेसमा पेस गरिएको द्विपक्षीय आप्रवासन सम्झौतालाई फेल नगराएको भए हामी अझ धेरै प्रगति गर्ने थियौँ । बाइडेनको मित्र र समर्थकका रूपमा उनको बहिर्गमनबाट म दुःखी भए पनि ह्यारीका रूपमा हामीले एक विश्वनीय नेतृत्व पाएका छौँ । 

हिलारी रोडम क्लिन्टन सन् २०१६ का लागि राष्ट्रपतिको पदका लागि डेमोक्रेटिक उम्मेदवार थिइन् । 
न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here