ट्रकमा चामल मसिनो, भन्सारमा मोटा

कपिलवस्तुको कृष्णनगर भन्सारबाट सेटिङ्गमा जाँचपास गराइएका तीन ट्रक चामल प्रहरीले नियन्त्रणमा लिएको छ । मोटा चामलको भन्सार गरेर लङ्ग ग्रेन (मसिनो) चामल भित्र्याएपछि प्रहरीले गएराति कपिलवस्तुको पकडीबाट तीन वटा भारतीय ट्रकसहित चामल कब्जामा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चामल बोकेको ट्रक नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीका अनुसार यूपी ५१ एटी ४०३०, यूपी ५५ एटी ४०५० र यूपी ५१ बिटी ७६८५ नम्बरको ट्रक नियन्त्रणमा लिइएको छ । ‘विशेष सुराकीको आधारमा हामीले ट्रकहरु रोकेर हेर्दा भन्सार जाँचपास र ट्रकमा रहेको मालवस्तु फरक थियो,’ उनले भने । एक सय २६ टन चामलसहित ती ट्रक बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ । 

frontline

कृष्णनगर भन्सार कार्यालयले जारी गरेको प्रज्ञापनपत्र, प्लान्ट क्वारेन्टाइनको जाँचपासमा समेत मोटा चामल उल्लेख गरिएको पाइएको छ । भन्सार कर्मचारी दिलबहादुर दर्लामी तथा रनबहादुर बूढाले जाँच गरेर मोटा चामल भन्दै भन्सार राजस्व बुझाउन सिफारिस गरेका तीन वटै ट्रकमा एक सय २६ टन लङ्ग ग्रेन (मसिनो) चामल भेटिएको हो । 

भन्सार अधिकृत मयंककुमार कर्णले प्रज्ञापनपत्रमा हस्ताक्षर गरेर गाडी निकासीको आदेश दिएका थिए । कर्मचारी स्रोतका अनुसार दर्लामी र बूढा भन्सार प्रमुख फणिन्द्र खतिवडाका विश्वासिला पात्र हुन् । भन्सार दररेट अनुसार चामल आयातमा प्रतिकिलो मूल्यमा ११.५ प्रतिशत र १५ सय रुपैयाँ सिभिएफ चार्ज लाग्छ । भन्सार विभागले मोटा चामलको दर कम्तीमा प्रति किलो ३० रुपैयाँ र लङ्ग ग्रेन (मसिनो) चामलको ५५ रुपैयाँ तोकेको छ । ५५ रुपैयाँ पर्ने एक सय २६ टन चामललाई ३० रुपैया पर्ने मोटा चामलमा भन्सार कायम गरिएको हो । 

कर्मचारीको मिलेमतो बिना उक्त कार्य हुनै नसक्ने बताउँदै कृष्णनगरका व्यपापारीहरु भन्छन्, ‘यो त दररेटमै दोब्बर फरक पर्न गयो । यस्ता खेल भन्सारमा दिनहुँ भइरहेको छ, सबै सेटिङ्गमा छ,’ व्यापारी मदन गुप्ताले भने । 
भन्सार स्रोतले पछिल्लो चार महिना यता कृष्णनगरबाट चामललगायत, सर्फका कच्चा पदार्थ, फलफूल, ड्राइफ्रुटलगायतमा दररेट तथा वस्तु नै फरक पारेर भन्सार कटाउने काम भइरहेको दाबी गरेको छ । उक्त खेलमा भारतीय व्यापारी गोपाल गोयल, अजय बर्मा, विमल गुप्तालगायतको संलग्नता देखिन्छ । मसिनो चामललाई मोटो बनाएर लाखौं राजस्व छली गर्न सघाएका भन्सार अधिकृत कर्ण र भाडामा भन्सार क्लियरिङ्ग एजेन्टको लाइसेन्स लिएर बसेका भारतीय नागरिक अजय बर्माबीच निकै घनिष्ठ सम्बन्ध रहेको धेरैको भनाइ छ । 

हिजो भन्सार जाँचपास गरिएका तीन वटै ट्रक भन्सार एजेन्ट निमराज न्यौपानेको नाममा बर्माले गराएका थिए । भैरहवा गल्लामण्डीको अरिहन्त इन्टरप्राइजेज र हनुमानजी खाद्य भण्डारले आयात गरेको चामल छ किलोमीटर नजिकैको सुनौली भन्सारबाट नल्याएर ४० किलोमीटर टाढाको कृष्णनगरबाट जाँचपास गराउनुले पनि व्यापारी र कर्मचारी सेटिङ्ग सहज भएको मान्न सकिन्छ । 

राजस्व छलीमा भन्सार कर्मचारीसँगै प्लान्ट क्वारेन्टाइन कार्यालय कृष्णनगरकोसमेत मुख्य भूमिका देखिएको छ । कागजपत्र ल्याएकै भरमा र प्रतिट्रक पाँच सय पाएपछि कर्मचारीहरुले काम तमाम गर्ने गरेको अरु व्यापारीको आरोप छ । हिजो जाँचपास भएको चामलको घटनाले पनि उक्त आरोप पुष्टि भएको छ । मसिनो चामललाई मोटो चामल भनेर कृष्णनगर प्लान्ट क्वारेन्टाईन अधिकारी दिपनारायण यादवले प्रमाणीकरण गरिदिएका हुन् । यस विषयमा राजस्व अनुसन्धान कार्यालय बुटवलले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here