टेकु अस्पताल : एक सातामा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशभरि १६ जना संक्रिय कोरोना संक्रमित छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

frontline
  • पछिल्लो एक हप्तामा टेकु अस्पतालमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
  • अस्पतालले संक्रमितलाई होम आइसोलेसन र एकलाई भर्नामा राखेर उपचार गरेको छ।
  • देशभर हालसम्म १६ जना सक्रिय संक्रमित रहेका छन् र संक्रमणको प्रभाव भारतबाट आएको बताइन्छ।

२८ जेठ, काठमाडौं । पछिल्लो एक सातामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा परीक्षण गराएका मध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार पछिल्लो एकसातामा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

‘ज्वरो लगायतका लक्षण लिएर आएका बिरामीको परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘तर उनीहरू भर्ना हुनुपर्ने खालका संक्रमित छैनन् ।’

चिकित्सकका अनुसार ती बिरामीलाई घरमा छुट्टै आइसोलेनमा बस्नुपर्ने सुझाव सहित पठाइएको छ ।

तर एक जना संक्रमितलाई भने क्याबिनमा भर्ना गरिएको छ । ‘काठमाडौंको एक निजी अस्पतालबाट चार दिन अघि रेफर हुनुभएको थियो,’ डा. बसौलाले अनलाइनखबरसँग भने, ‘क्याबिनमा राखेर उपचार गराइरहेका छौं । स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म देशभर १६ जना संक्रिय संक्रमित छन् ।

ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले भारतमा कोरोना संक्रमित संख्या बढेसँगै नेपालमा पनि त्यसको केही प्रभाव परेको बताए ।

‘दुई –चार दिन अगाडि भारतबाट आउने मानिसको सिमाना क्षेत्रमा चेकजाँच गर्दा केही मानिसमा संक्रमण पुष्टि भयो,’ डा. झाले भने, ‘ तर आजभोलि संक्रमणको केस रिर्पोट भएको छैन ।’

टेकु अस्पताललले निरन्तर कोरोना संक्रमणबाट बच्नका लागि आकस्मिक कक्षबाट खोप पनि दिँदै आएको छ ।

जनस्वास्थ्यविदहरू भने कोरोना महामारीकै रूपमा देखा नपरे पनि समाजमा सामान्य रूपमा घुमिरहने बताउँछन् । विगत पाँच वर्षमा नेपालमा कोरोनाका कारण १२ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस रोगका लागि स्थापित भइसकेकाले बेला–बेला फाट्टफुट्ट देखिने सम्भावना रहिरहेको धुलिखेल अस्पताल, मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठ बताउँछन् ।

‘कोरोना रुघाखोकी, हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ । यसबारे सतर्कता अपनाउनुपर्छ,’डा. श्रेष्ठ भन्छन्,‘नयाँ–नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनुपर्छ ।’

कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here