टर्कीकी पत्रकार सदफ काबासलाई राष्ट्रपतिको अपमान गरेको मुद्दामा जेल सजाय

१० माघ, अ‌कारा । टर्कीको एक अदालतले शनिबार देशकी चर्चित पत्रकार सदफ काबासलाई देशका राष्ट्रपतिको अपमान गरेको मुद्दामा जेल सजाय सुनाएको छ।

सदफलाई हाल जुन कानून अन्तर्गत जेल हालिएको छ त्यसमा टेकेर टर्कीमा दशौं हजार व्यक्तिमाथि मुद्दा चलिसकेको छ।

frontline

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले काबासलाई स्थानीय समय अनुसार दिउँसो २ बजे हिरासतमा लिए र इस्तानबुलको मुख्य प्रहरी चौकीमा लगे। 

त्यहाँबाट, सदफलाई सहरको मुख्य अदालतमा लगिएको थियो। अदालतले उनको पहिलेको गिरफ्तारीलाई उचित ठहर गर्दै जेल सजाय सुनाएको थियो। सदफमाथि एक व्यङ्ग्यात्मक उखान भनेर एर्दोगानको आलोचना गरेको आरोप छ।

राष्ट्रपति एर्दोगानलाई साढेसँग तुलना

काबासले एक सरकारविरोधी टेलिभिजन च्यानल टेली १ मा बोल्ने क्रममा भनेकी थिइन, ‘एउटा प्रख्यात भनाइ छ नि श्रीपेच जसलाई लगाइदिए पनि उसमा बुद्धी पलाउँछ भन्ने हाम्रो देशमा सही देखिएन’,  काबासले अगाडि थप भनिन्, ‘दरबार पस्दैमा साढे राजा बन्दैन, बरु दरबार गोठमा बदलिन्छ।’ सदफले यो कुरापछि आफ्नो ट्विटरमा एकाउन्टमा पुन दोहोर्‍याइन् ।

सदफमाथि लागेको आरोपमा उनलाई एकदेखि चार वर्षसम्म कैद हुनसक्छ। एर्दोगानका मुख्य प्रवक्ता फहरेटिन अल्टुनले सदफको भनाइलाई ‘गैरजिम्मेवार’ भनेका छन् ।

‘एक तथाकथित पत्रकारले एउटा यस्तो टेलिभिजन च्यानलमा हाम्रा राष्ट्रपतिको अपमान गरिरहेकी छन् जसको घृणा फैलाउने बाहेक अरू कुनै उद्देश्य छैन’, एर्दोगानका प्रवक्ताले ट्विट गर्दै लेखेका छन्।

अदालतमा दिएको आफ्नो बयानमा सदफले राष्ट्रपतिको अपमान गर्ने कुनै नियत नभएको बताएकी छन् । टेली १ च्यानलका सम्पादक मर्दान यानार्डागले काबासको गिरफ्तारीको आलोचना गरेका छन्।

‘एक भनाइलाई लिएर दिउँसो २ बजे भएको सदफको गिरफ्तार अस्वीकार्य छ। यो कदम पत्रकार, मिडिया र समाजलाई डराउने प्रयास हो’, उनले भने। 

हजारौंमाथि राष्ट्रपतिको अपमान गरेको आरोप

अगस्ट २०१४ मा प्रत्यक्ष निर्वाचित पहिलो राष्ट्रपति हुनुअघि एर्दोआनले ११ वर्ष टर्कीको प्रधानमन्त्री रहेका थिए।

आफ्ना आलोचकमाथि कारबाही गरिरहेका एर्दोगानसँग अन्य देश पनि सतर्क रहन थालेका छन्। यही कारणले युरोपेली संघसँग टर्कीको सम्बन्ध बिग्रंदै गएको छ।

एर्दोगान राष्ट्रपति भए यता टर्कीमा हजारौं मानिसहरूले उनको अपमान गरेको आरोपमा मुद्दा खेपिसकेका छन्। सन् २०२० मा मात्रै लगभग ३१ हजार यस्ता मुद्दामा अनुसन्धान सुरु गरिएको थियो । न्याय मन्त्रालयको तथ्यांकअनुसार ७७९० मुद्दा दर्ता नै गरिए भने ३३२५ जनालाई सजाय भएको छ ।

मानव अधिकार समूहहरूले एर्दोगान सरकारमाथि पत्रकार पक्राउ गरेर र सरकारको आलोचक मिडिया संस्था बन्द गरेर प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरेको आरोप लगाउँदै आएका छन्।

२०१६ जुलाइको सैन्य विद्रोहबाट थोरैले बचेका एर्दोगानले त्यसपछि मिडियामाथि आफ्नो धरपकड तीव्र पारेको आरोप लाग्ने गरेको छ।

रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०२१ मा तयार पारेको प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशमध्ये टर्की १५३ औँ स्थानमा छ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here