ज्ञानेन्द्रले फेरि गरे राजावादी नेताहरूसँग भेट, छलफलको विषय गोप्य राखियो

समाचार सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरूसँग भेटघाट गरेका छन्, जसमा राप्रपाका नेताहरू पनि सहभागी थिए।
  • भेटघाटको विषय गोप्य राखिएको छ, तर राजावादी समूहले गणतन्त्र दिवसको दिन आन्दोलन गर्ने घोषणा गरेका छन्।
  • सरकारले राजावादी समूहलाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ, तर उनीहरूले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा बिहीबार ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् । 

स्रोतका अनुसार राजधानीको एक होटलमा ज्ञानेन्द्रलाई भेट्न सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का राजावादी नेता केशर बहादुर विष्ट पुगेका थिए । सो क्रममा के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन । 

frontline

स्रोतका अनुसार भेटको विषयलाई पूर्वराजाले गोप्य राख्न चाहेकाले पनि भेटमा सहभागीहरु खुल्न चाहेका छैनन् । यसबारे राप्रपाका अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सम्पर्क गर्दा सम्पर्कमै आएनन् । 

यस्तै रातोपाटीको सम्पर्कमा आएका विष्टले पनि भेटबारे केही बोल्न चाहेनन् । यसअघि वैशाख तेस्रो साता पूर्वराजाले नगरकोटमा बसेर राजावादी नेताहरुलाई भेटका थिए । लगत्तै राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका थिए । 

राजावादी समूहले राजतन्त्रको पुनर्स्थापना नभएसम्म आन्दोलन नरोकिने जिकिर गरेका छन् । तर, बिहीबार मात्रै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएका थिए । 

नगरकोटबाट फर्किएपछि पूर्वराजा अहिले निर्मलनिवासस्थित निवासमै बस्दै आएका छन् । त्यहाँपनि उनले भेटवार्ताहरु गर्दै आएको स्रोतको भनाइ छ ।

#ज्ञानेन्द्र शाह भेटवार्ता #राजावादी समूह #राजावादी #आन्दोलन

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here