जुगल हिमालको काखमा अत्याधुनिक विद्यालय, उत्कृष्ट शिक्षा

सिन्धुपाल्चोकको भौगोलिक विकटता र चुनौतीलाई चिर्दै रत्नराज्य मावि नेपालकै नमूना शैक्षिक संस्थाको रूपमा खडा भएको छ। यो विद्यालय ग्रामीण क्षेत्रमा शिक्षाको उज्यालो किरण बनेर चम्किरहेको छ।
सामुदायिक विद्यालयलाई पहिले पनि सजिलो थिएन, तर यो देश हाँक्ने धेरै मस्तिष्क तिनैले उत्तीर्ण गरेर पठाए । आधुनिक नेपालको जग सामुदायिक स्कूलमै खनिएको थियो भन्न सकिन्छ ।




तर यस बीचमा स्थिति यसरी बदलियो कि अभिभावकहरू आफ्ना बच्चालाई हत्तपत्त सरकारी विद्यालयमा पढाउन मन गर्दैनन् । यस्तो लाग्छ, सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास धर्मराएको छ । अझ सरकारी विद्यालयको कमजोर नतिजाप्रति प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाट टिप्पणी गरिरहेको सुनिन्छ ।
यस वर्ष त सरकारले नै नीति तथा कार्यक्रममै सामुदायिक शिक्षा सुधार्न निजी विद्यालयसँग साझेदारी गर्ने घोषणा गर्यो । संविधान बनेको ९ वर्ष भइसक्यो तर शिक्षा ऐन नै अहिलेसम्म बनिसकेको छैन ।
यावत् प्रतिकूलताका बाबजुद देशमा केही यस्ता विद्यालय पनि छन् जसले हजारौं विद्यार्थी पढाइरहेका र उत्कृष्ट नतिजा पनि दिइरहेका छन् । यो त्यस्ता केही उदाहरणीय सरकारी विद्यालयको स्टोरी सेरिज हो, जहाँ हामी कम्तीमा सातै प्रदेशबाट केही नमूना सरकारी स्कूलको रिपोर्टिङ गर्नेछौं । – सम्पादक
काठमाडौं। चिनियाँ वास्तुकलामा निर्मित अत्याधुनिक भवन, वरिपरि हरियाली, फूलैफूलले सजिएको बगैंचा र फराकिलो खेल मैदान।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेमा रहेको रत्नराज्य माध्यमिक विद्यालयमा देखिने दृश्य हो यो। यस्तो भव्य संरचना नेपालका सरकारी विद्यालयमा सायदै पाइन्छ। विद्यालय प्रांगणमा प्रवेश गर्ने जोकोहीलाई यहाँको संरचनाले आश्चर्यचकित बनाउँछ ।
रत्नराज्य माविले विश्वस्तरीय भौतिक सुविधा मात्र होइन, शिक्षा पनि उत्तिकै स्तरीय प्रदान गर्दै आएको छ। जुगल हिमालको काखमा अवस्थित यो विद्यालय विद्यार्थीको सपना बुन्ने थलोको रूपमा चिनिएको छ। विपन्न बालबालिकाका लागि सहारा बनेको छ ।
चिनियाँ शैलीको भव्य संरचना
२०७२ सालको विनाशकारी भूकम्पले विद्यालयको पुरानो भवन ध्वस्त बनायो। हरेक विनाशपछि नयाँ निर्माण हुन्छ भने भने झैं चीन सरकारले एक अर्ब रुपैयाँको लगानीमा विद्यालय पुनर्निर्माण गर्ने निर्णय गर्यो।
पहिले अप्ठ्यारो परिस्थितिमा चलिरहेको विद्यालय चिनियाँ सहयोगपछि नेपालकै आधुनिक सरकारी विद्यालयमा रूपान्तरित भयो। ‘चिनियाँ सरकारले सहयोग गरेपछि विद्यालयको कायापलट भयो’, प्रधानाध्यापक टीका पौड्यालले सुनाए।
रत्नराज्य माविका तीन वटा विशाल भवन छन्। भवनमा कुल १३७ कोठा छन्। कक्षा कोठा, सभा हल, प्रशासनिक कक्ष, प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, आवासीय भवन र सुरक्षाकर्मीका लागि छुट्टै कोठा छन्।
‘नेपालको सामुदायिक विद्यालयमा यस्तो भौतिक सुविधा विरलै पाइन्छ’ प्रधानाध्यापक पौड्याल भन्छन्, ‘मार्बलयुक्त भुइँ, सिसाका झ्याल सरकारी विद्यालयका लागि दुर्लभ नै हो।’

पहिलो लहरमा रहेको मुख्य शैक्षिक भवनमा २१ वटा अत्याधुनिक कक्षा कोठा छन्, जहाँ मार्बल बिछ्याइएको छ। विद्यार्थी चिनियाँ शैलीको आकर्षक डेस्क–बेन्चमा बसेर अध्ययन गर्छन्। भवनको हरेक तलामा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय र खानेपानीको व्यवस्था छ।
चीन सरकारले बनाइदिएको यो भवन विद्यालयलाई हस्तान्तरण गरिएको पाँच वर्ष भइसकेको छ। ‘हामीले कहिल्यै कल्पना गरेका थिएनौं, यस्तो वातावरणमा पढ्न पाउँछौं भनेर’ कक्षा ९ मा अध्ययनरत सुनिता अधिकारी अनुभव सुनाउँछिन्, ‘यस्तो दुर्गम ठाँउमा पनि डिजिटल प्रविधिमा पढ्न पाएका छौं।’
उनको घरबाट स्कूल आउन दुई घन्टा बढी लाग्छ। तर होस्टेलको सुविधा भएपछि पढाइमा ध्यान केन्द्रित गर्न सजिलो भएको उनको अनुभव छ। ‘घरबाट आउँदा-जाँदा धेरै गाह्रो हुन्थ्यो। तर होस्टल बस्दा एकाकार भएर पढिरहेका छौं’ सुनिताले भनिन्, ‘निःशुल्क रूपमा यसरी बसेर पढ्न पाउनु अहोभाग्य हो।’
बीचको संरचनामा ३६ कोठे प्रशासनिक भवन छ। जसमा प्रशासन, तालिम हल, बैठक कक्ष, पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्ष छन्। कार्पेट ओछ्याइएका कक्षामा पर्याप्त फर्निचर छन्। ५२ वटा आधुनिक कम्प्युटर राखिएका छन्, जसमा विद्यार्थी डिजिटल प्रविधि मार्फत पढ्छन्।
तेस्रो पाँचतले भवनमा छात्रावास छ, जसमा ८० वटा कोठा छन्। एकै पटक ६३० जनालाई राख्न सकिने क्षमता छ। हाल छात्रावासमा बसेर २२० विद्यार्थी निःशुल्क अध्ययन गरिरहेका छन्।
विद्यालयले भौतिक सुविधा मात्र होइन, स्वास्थ्य सेवा पनि प्रदान गर्छ। विद्यालय परिसरमै स्थापित स्वास्थ्य शाखामा स्टाफ नर्स दिलसरा बस्नेत कार्यरत छिन्। कुनै विद्यार्थी बिरामी परेमा तुरुन्तै प्राथमिक उपचार र आराम गर्ने व्यवस्था मिलाइएको छ।
‘दुई वर्षअघिसम्म विद्यार्थी फोहोर शरीर लिएर आउँथे। अहिले बच्चाको सरसफाइ र स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ’ स्टाफ नर्स बस्नेतले भनिन्, ‘पोषिलो खाना र नियमित स्वास्थ्य जाँचले उनीहरूलाई स्वस्थ रहन मद्दत गरेको छ।’
विद्यालयले शैक्षिक गुणस्तरमा पनि उत्कृष्ट प्रगति हासिल गरेको छ। ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ पढाइ हुन्छ। पालिकाभन्दा बाहिरका विद्यार्थीले पनि निःशुल्क प्राविधिक शिक्षा पाइरहेका छन्।
‘हाम्रो विद्यालयले गरिब तर प्रतिभाशाली विद्यार्थीलाई महँगो इन्जिनियरिङ शिक्षा निःशुल्क प्रदान गर्छ’ शिक्षक विष्णु श्रेष्ठ भन्छन्, ‘यो हाम्रो ठूलो उपलब्धि हो।’
बढ्दो लोकप्रियता

कुनै समयमा २०० भन्दा कम विद्यार्थी भएको यो विद्यालयमा अहिले ५५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा २५ जना शिक्षकको स्थायी दरबन्दी छ।
वर्षेनि विद्यार्थी संख्या बढ्दो छ। अहिले त विद्यालयको क्षमताले धान्नै नसक्ने अवस्था छ। विद्यार्थी छनोट गरेर मात्र भर्ना लिनुपर्ने अवस्था सिर्जना भएको छ।
‘पहिले कोही आउँदैनथे, अहिले त भर्ना हुनेको लाइन लाग्छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिलवालले भने, ‘जुगल गाउँपालिकाका मात्र होइन, काभ्रेको पाँचखाल र सल्यानदेखिका विद्यार्थी होस्टेल बसेर पढिरहेका छन्।
स्थानीय गोपाल अधिकारीकी छोरी कक्षा १० मा पढ्छिन्। ‘पहिले हामी सोच्थ्यौं, राम्रो पढाइका लागि शहर जानुपर्छ। तर होइन रहेछ। विकट गाउँमा पनि अत्याधुनिक विद्यालय हुनेरहेछ’ अधिकारी गर्वका साथ भन्छन्, ‘हाम्रा बच्चाले पनि उत्कृष्ट शिक्षा पाउने रहेछन्।’ केही वर्ष अगाडिको तुलनामा यो विद्यालयमा शैक्षिक गुणस्तर सुधार हुँदै गएको अधिकारीले महसुस गरेका छन्।
विकट ठाउँमा पनि काठमाडौंका निजी विद्यालयको भन्दा अत्याधुनिक भौतिक संरचना र शैक्षिक गुणस्तर राम्रो हुँदा नजिकका जिल्लाबाट पनि विद्यार्थी आउनेरहेछन् भन्ने उदाहरण रत्नराज्य माविले प्रस्तुत गरेको अधिकारीले बताए।
‘पहिला ढुंगाको छानो थियो, वर्षामा पानी चुहिन्थ्यो’ पुराना दिन सम्झिंदै अधिकारीले भने, ‘अहिले भौतिक संरचना र शैक्षिक गुणस्तर फेरिंदा विद्यार्थी पनि पढ्नमा उत्साहित छन्।’
सामाजिक शिक्षक श्रेष्ठ भौतिक संरचना राम्रो हुँदा शिक्षकलाई सिकाउन प्रेरणा मिल्ने बताउँछन्। ‘हामीले प्राविधिक शिक्षामा जोड दिइरहेका छौं, विद्यार्थी पनि उत्साहित छन्’, श्रेष्ठले भने।
अतीतदेखि वर्तमानसम्म

२०२० साल माघ २० गते प्राथमिक तहको रूपमा स्थापना भएको रत्नराज्य माविले लामो यात्रा तय गरेको छ। २०३४ सालमा निम्न माध्यमिक तह थपियो, २०४६ सालमा माध्यमिक तह शुरु भयो। २०४८ सालमा विद्यालयले एसएलसी परीक्षामा जिल्लामै उत्कृष्ट स्थान हासिल गरेर इतिहास रचेको थियो।
६१ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय आज सिन्धुपाल्चोकको गौरव बनेको छ। ‘विद्यालयको जग्गा एउटै कित्तामा भएकाले अत्याधुनिक भौतिक संरचना निर्माण गर्न सहज भएको हो’, प्रधानाध्यापक पौड्याल भन्छन्।
२०७२ सालको भूकम्पले विद्यालयको पुराना संरचना ध्वस्त पार्यो। ‘वास्तवमा, भूकम्पभन्दा अगाडि नै विद्यालयको भौतिक संरचना सुधार्ने योजना थियो’ पौड्यालले सम्झिए, ‘तत्कालीन सभासद अग्निप्रसाद सापकोटाले कूटनीतिक पहल गरी चीन सरकारको सहयोग जुटाउनुभयो।’
भूकम्पपछि देशभर विद्यालय पुनर्निर्माणको अभियान चल्यो र यसै क्रममा चिनियाँ दूतावासको सहयोगमा दुई वर्षभित्रै विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भयो ।
विद्यालयको मुख्य आकर्षण : आवासीय सुविधा
रत्नराज्य माविको सबैभन्दा ठूलो विशेषता भनेको आवासीय सुविधा हो। ८० वटा कोठा भएको आवासीय भवनमा २२० विद्यार्थी र १७ शिक्षक बस्छन्।

विद्यालयले विशेषगरी विपन्न, गरिब र दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा दिने नीति लिएको छ। यसले गर्दा टाढा-टाढाबाट विद्यार्थी पढ्न आउँछन्।
‘बाहिरबाट आउने सबै शिक्षक पनि यहीं बस्छन्। उनीहरूलाई गाउँमा कोठा खोज्नुपर्ने बाध्यता छैन। यही कारणले पनि राम्रा शिक्षक आकर्षित भएका छन्’, प्रधानाध्यापक पौड्याल भन्छन्।
पहिला विद्यार्थी गाउँमा कोठा भाडामा लिएर पढ्थे। अहिले प्रदेश सरकारले प्रतिविद्यार्थी ४ हजारका दरले २०० जनालाई आवास शुल्क दिइरहेको छ। विद्यार्थीले थप ५०० रुपैयाँ मात्र तिर्नुपर्छ। जसले गर्दा विद्यार्थीको आकर्षण थप बढेको छ ।
अघिल्लो शैक्षिक सत्रमा विद्यालयमा साढे ५०० विद्यार्थी भर्ना भएका थिए। यस वर्ष विद्यार्थीको चाप अझ बढ्ने अनुमान गरिएको छ।
कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विधा गाउँपालिकाकै एक मात्र प्राविधिक धारको अध्ययन हो। जसले गर्दा काभ्रेको पाँचखाल, मण्डनदेउपुर, दोलखाको शैलुङ र सिन्धुपाल्चोकका अधिकांश पालिकाका विद्यार्थी आकर्षित गरेको छ।
‘अहिले त सुदूरपश्चिम र कर्णालीका दैलेख, डोल्पा, हुम्ला, डडेलधुराबाट समेत सयौं अभिभावक सम्पर्कमा आइरहेका छन्’ पौड्याल भन्छन्, ‘दैनिकजसो १० जनाभन्दा बढीको फोन आइरहेको छ।

अध्यक्ष सिलवालका अनुसार शैक्षिक सुधारका लागि होस्टेल बस्ने शिक्षकलाई थप जिम्मेवारी दिने योजना समेत रहेको छ। होस्टेल बसेका प्रत्येक शिक्षकले २० जना विद्यार्थीको जिम्मेवारी र उनीहरूको गतिविधि निगरानी गर्नुपर्ने उनी बताउँछन्।
‘स्कूल समयपछि एक शिक्षक बराबर २० जना विद्यार्थीको पठनपाठन, अनुशासन लगायतका सम्पूर्ण जिम्मेवारी दिन लागेका छौं’ अध्यक्ष सिलवालले भने, ‘यसले शैक्षिक गुणस्तरमा थप सुधार हुन्छ भन्ने अपेक्षा छ।’
विद्यालयमा विपन्न समुदायका विद्यार्थी बढी छन्। केही अनाथ विद्यार्थी पनि पढ्छन्। पछिल्लो समयमा विद्यालयमा बच्चा राखेर अभिभावक विदेश जाने प्रवृत्ति पनि बढेको छ।
‘हामी चाहन्छौं, हरेक विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन्’ प्रधानाध्यापक पौड्याल भन्छन्, ‘खुशी लाग्छ, जब विपन्न परिवारका बालबालिका राम्रो स्थानमा पुग्छन्। त्यही हाम्रो प्रेरणा हो।’
हिमालको काखमा, आधुनिक सुविधासम्पन्न रत्नराज्य माध्यमिक विद्यालय आज नेपालको ग्रामीण क्षेत्रमा शिक्षाको उज्यालो किरण बनेर चम्किरहेको छ।
विपन्न, गरिब र दुर्गम क्षेत्रका विद्यार्थीलाई पूर्ण निःशुल्क आवासीय सुविधा दिने योजना विद्यालयले बनाएको छ। तर आर्थिक क्षमता भएका अभिभावकलाई भने मासिक न्यूनतम दुई हजार लिने निर्णय गरिएको छ।
अंग्रेजी माध्यममा पढाइ हुने भएकाले स्थानीय विद्यार्थीको आकर्षण भने केही कम देखिन्छ। स्थानीय विद्यार्थी अंग्रेजी माध्यममा केही कमजोर भएकाले प्राविधिक शिक्षामा उनीहरूको संख्या कम छ।
‘हामी स्थानीय विद्यार्थीलाई पनि आकर्षित गर्ने प्रयास गरिरहेका छौं’ शिक्षक श्रेष्ठ भन्छन्, ‘उनीहरूको अंग्रेजी सुधार्नका लागि विशेष कक्षाहरू पनि सञ्चालन गर्दै आएका छौं।’
प्रविधिमैत्री कक्षा

विद्यालयले बाल विकासदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउन थालेको छ। आगामी शैक्षिक वर्षदेखि कक्षा ६ मा पनि अंग्रेजी माध्यम लागू गर्दैछ।
‘अंग्रेजी पढ्न गाह्रो हुन्छ भन्ने बुझाइ अझै चिर्न सकिएको छैन’ प्रधानाध्यापक पौड्याल भन्छन्, ‘अंग्रेजी भाषा हो, आवश्यकता अनुसार सिकिन्छ भन्ने चेतना अभिभावकमा छैन।’
विद्यालयले अपनाएको अंग्रेजी माध्यमको यात्रा सहज छैन। प्रधानाध्यापक पौड्यालका अनुसार सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्दा जनक शिक्षाको पुस्तक मात्र पढाएर पुग्दैन। निजी प्रकाशनका पुस्तकहरू पनि किन्नुपर्छ। तर धेरै अभिभावक यस्ता पुस्तक किन्न सक्ने अवस्थामा छैनन्।
विद्यार्थीमा प्राविधिक शिक्षातर्फको रोजाइ विस्तारै बढ्दो क्रममा छ। पहिलो वर्ष ८ जना विद्यार्थीबाट शुरु भएकोमा अहिले संख्या बढेर चौथो वर्षमा ३२ जना पुगेको छ। विद्यालयमा प्राविधिक शिक्षातर्फ पूर्ण क्षमता ४८ जनासम्म पुग्न सक्ने व्यवस्था छ।
रत्नराज्य माविले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा दिन विशेष प्रयास गरेको छ। सबै कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ। प्रत्येक शिक्षकले हप्तामा कम्तीमा तीन वटा कक्षा प्रोजेक्टर मार्फत अध्यापन गर्छन्। डिजिटल कक्षा कोठाको व्यवस्था गरिएको छ। विद्यालयले शिक्षाको गुणस्तर सुधार गर्दै गर्दा पहुँचको सवाललाई पनि महत्व दिनुपर्ने प्रधानाध्यापक पौड्याल बताउँछन्।
जुगलको माथिल्लो क्षेत्र तेम्माथान, गुम्बाथान, लिती जस्ता ठाउँबाट आउने विद्यार्थीलाई गाउँपालिकाको प्रमाणपत्र ल्याएपछि भर्ना गरिदिनुपर्ने बाध्यता छ। माथिल्लो ठाउँबाट आएका विद्यार्थी नेपाली भाषा समेत राम्रोसँग बोल्न सक्दैनन्। पढाइमा कमजोर हुन्छन्। यस्ता विद्यार्थीलाई भर्ना नदिनु भनेको पढाइबाट वञ्चित गर्नु हो। किनकि, उनीहरूलाई अन्य ठाउँमा जाने विकल्प नै हुँदैन। ‘९ कक्षामा भर्ना हुन आउने धेरै विद्यार्थी कमजोर छन्। तैपनि, उनीहरूलाई भर्ना गर्नैपर्ने बाध्यता छ’, पौड्याल भन्छन्।

विद्यालयले शिक्षालाई जीवनसँग जोड्ने प्रयास गरिरहेको छ। ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणा अन्तर्गत उत्पादनमुखी कार्यमा संलग्न गराइएको छ। सिभिल इन्जिनियरिङका विद्यार्थीले वर्कसपमा काम गर्ने र डस्टबिन जस्ता उपयोगी वस्तुहरू निर्माण गर्न थालेका छन्।
गाउँपालिकाको सहयोगमा च्याउ खेती पनि शुरु गरिएको छ। विद्यालयले आगामी ५ वर्षका लागि रणनीतिक योजना बनाएको छ। जसअन्तर्गत आवासीय शिक्षक र विद्यार्थीको लागि आवश्यक तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसबाट विद्यालयलाई वार्षिक ३० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको प्रधानाध्यापक पौड्याल बताउँछन्। ‘सीपसँग जोडेर जीवनलाई उपयोगी हुने शिक्षा दिने प्रयासमा छौं’, उनी भन्छन्।
अहिलेको शिक्षा प्रणालीमा अंग्रेजी माध्यम र शतप्रतिशत पास दर नै राम्रो विद्यालयको मानक बनेकोमा उनको गुनासो छ। रत्नराज्य माविले भने व्यावहारिक र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिंदै अंग्रेजी माध्यमलाई समेत अँगालेर दोहोरो चुनौतीको सामना गरिरहेको छ।
कम छैन चुनौती

रत्नराज्य मावि सार्वजनिक शिक्षा प्रणालीमा आशाको किरण हो। पर्याप्त स्रोत, सही नेतृत्व र दूरदृष्टि भएमा सरकारी विद्यालय पनि उत्कृष्ट हुन सक्छन् भन्ने रत्नराज्यले प्रमाणित गरेको छ।
विद्यालयले धेरै सफलता हासिल गरे पनि चुनौती भने कम छैनन्। भवन आधुनिक र सुविधासम्पन्न छ। मार्बल फ्लोरिङ, सिसाका झ्यालहरू, सफा र चिटिक्क कक्षा कोठाले विद्यालयलाई आकर्षक बनाएको छ। तर यति ठूलो भवन व्यवस्थापन गर्न ठूलो चुनौती छ।
प्रधानाध्यापक पौड्याल भन्छन्, ‘आवासीय सुविधा पूर्ण रूपमा सञ्चालन गर्दा ६०० विद्यार्थी राख्न सकिन्छ, तर अहिले त्यति क्षमताको व्यवस्थापन गर्न सकिएको छैन।’
भवन सञ्चालनका लागि सरसफाइ, बिजुली, मर्मतसम्भारमा लाखौं खर्च लाग्छ। विद्यालयले केही कर्मचारी निजी स्रोतमा राखेको छ। भुइँ एकपटक पुछ्दा मात्रै ५० केजीभन्दा बढी सर्फ खर्च हुन्छ। बिजुलीको बिल, मर्मतसम्भार, पानीको खर्च सबै धान्न निकै गाह्रो छ।
भवनको स्तरीय मर्मतसम्भार र सेवा विस्तारका लागि थप बजेट आवश्यक छ। विद्यालयले प्रदान गर्ने सबै सुविधा निःशुल्क भए पनि यसलाई सञ्चालन गर्न ठूलो आर्थिक भार पर्छ। वार्षिक ५ लाख रुपैयाँ मात्रै विद्युत् शुल्क तिर्नुपर्ने हुन्छ।
‘यसका लागि जुगल गाउँपालिका र प्रदेश सरकारको महत्वपूर्ण सहयोग छ’ पौड्यालले भने, ‘तर दिगोपनको चुनौती बढ्दो छ। भौतिक संरचना जति सुन्दर भए पनि यसलाई टिकाउन निरन्तर स्रोतको आवश्यकता परेको छ।’
पहाडी भूगोलको विकटता र चुनौतीलाई चिर्दै रत्नराज्य मावि नेपालको नमूना शैक्षिक संस्थाको रूपमा खडा भएको छ ।
प्रतिक्रिया दिनुहोस्