जलवायु परिवर्तनका मुद्दा सञ्चारमाध्यमले महत्वका साथ उठाउनुपर्नेमा जोड

काठमाडौँ, १३ असोज (रासस) : जलवायु परिवर्तनको क्षेत्रका जानकारले जलवायु परिवर्तनका असरले आमनागरिकको जीवन सङ्कटमा पर्दै गएको मुद्दालाई सञ्चारमाध्यमले प्रभावकारीरूपमा उठाउनुपर्ने सुझाव दिनुभएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज सञ्चारमाध्यमका सम्पादकसँग आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा उहाँहरूले सो सुझाव दिनुभएको हो ।

स्कटल्याण्डको ग्लास्गोमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पक्ष राष्ट्रको २६ औँ सम्मेलनको तयारी र जलवायु परिवर्तनको नेपालको अवस्थाबारे कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा वातावरणविद् भूषण तुलाधरले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरुमा विपद्का ठूलठूला घटना भइरहेको र यी घटनालाई सम्बोधन गर्न ढिलो भइसकेको बताउनुभयो ।

frontline

जलवायु परिवर्तनले आमनागरिकको जीवन सङ्कटमा पर्दै गएको र यो मुद्दालाई सञ्चारमाध्यमले अझ प्रभावकारीरूपमा उठाउनुपर्ने उहाँको सुझाव थियो । कार्यक्रमका ‘प्यानलिष्ट’ तुलाधरले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सहभागी भएर आफ्ना मुद्दाहरु प्रभावकारीरूपमा राखे पनि जलवायु परिवर्तनबाट आमनागरिकलाई सुरक्षित राख्ने हो भने कामको सुरुआत नेपालबाटै गर्नुपर्ने बताउनुभयो ।

“नीतिहरु राम्रा राम्रा बनेका छन् तर कार्यान्वयनमा सधैँ समस्या छ । कतिपय नीति सरकार आफैँले पनि उलङ्घन गरिरहेको छ”, उहाँले उदाहरण दिँदै भन्नुभयो । अर्का ‘प्यानलिष्ट’ एवं नेपाली टाइम्सका प्रधानसम्पादक कुन्द दीक्षितले जलवायु परिवर्तन राजनीतिक मुद्दा भएको र यो आमनागरिकको जनजीवनसँग प्रत्यक्षरूपमा जोडिएको बताउनुभयो ।

जलवायु परिवर्तनले देशको अर्थतन्त्र, पानीको स्रोत, मानवीय स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्षरूपमा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमले यी विषयलाई अझै प्रभावकारीरूपमा उठाउनुपर्नेमा जोड दिनुभयो । “मानवीय स्वास्थ्य र सर्वसाधारणको बाँच्ने उमेरसमेत घटिरहेको अवस्था छ । अर्कोतिर देशको अर्थतन्त्र वातावरण प्रदूषण गर्ने प्रज्वलनशील इन्धनको आयातमा ठूलो खर्च भइरहेको छ ।

हाम्रोजस्तो मुलुकका लागि यो एउटा ठूलो सङ्कट हो”, दीक्षितले भन्नुभयो, “अहिले देशमा भएका सङ्कटहरुको पिरामिडको टुप्पोमा जलवायु परिवर्तन छ, समाजमा विद्यमान हरेक समस्या कहीँ न कहीँ र कतै न कतैबाट यो मुद्दासँग जोडिएका छन । त्यसैले समाजका विद्यमान समस्या र समाधानका उपाय खोतल्ने हो भने जलवायु परिवर्तनबाट सिर्जित समस्या पनि सम्बोधन हुन्छन् ।”

हिमालमा जलवायु परिवर्तनले पारेको प्रभाव प्रमुख मुद्दा अर्का ‘प्यानलिष्ट’ एवं वन तथा वातावरण मन्त्रालयका सहसचिव डा राधा वाग्लेले यस पटकको कोप–२६ मा नेपालले प्रभावकारी उपस्थित जनाउने गरी तयारी गरिरहेको जानकारी गराउनुभयो । “हामीले त्यहाँ उठाउने विषयबारे राष्ट्रिय धारणा बनाउन १० वटा ‘थिमेटिक’ कमिटी बनाएका छौँ ।

कमिटीले आ–आफ्नो सुझाव दिएपछि त्यसका आधारमा राष्ट्रिय दस्तावेज तयार गरेर हामी सम्मेलनमा भाग लिन जान्छौँ”, उहाँले भन्नुभयो । नेपालका हिमालमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसले आमनागरिकको तहमा निम्त्याइरहेको र सम्भावित सङ्कटलाई प्रमुख मुद्दाका रूपमा उठाउने उहाँले जानकारी दिनुभयो । सहसचिव डा वाग्लेले सरकारले प्रज्वलनशील इन्धनको खपत घटाउँदै लैजाने, अनुकूलन र नियमनका कार्यक्रम बढाउँदै लैजाने रणनीति अङ्गीकार गरेको जानकारी गराउनुभयो ।

उहाँले यो मुद्दा आमनागरिकको जीवनसँग जोडिएको र राजनीति पनि आमनागरिककै लागि गरिने भएकाले त्यहीअनुरूप विषयवस्तु उठान गर्न सञ्चारमाध्यमका सम्पादकलाई आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्रालयको जलवायु परिवर्तन महाशाखाका उपसचिव डा अरुणप्रकाश भट्टले जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधन गर्न नेपालले अनुकूलन र नियमनका क्षेत्रमा धेरै राम्रा काम गरेको उल्लेख गर्नुभयो ।

उहाँले यस मुद्दालाई सम्बोधन गर्न अहिलेसम्म आवश्यक रणनीति, नीतिहरु बनाइसकिएको जानकारीसमेत गराउनुभयो । नेफेजका अध्यक्ष कसमस विश्वकर्माले वातावरण र जलवायु परिवर्तनका मुद्दा राजनीतिक मुद्दा नै भएको उल्लेख गर्दै वातावरण संरक्षणलाई ध्यान नदिई गरिने विकास आयोजनाले क्षति मात्रै पु¥याउने भएकाले योजना बनाउँदा नै ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा कान्तिपुर टेलिभिजन, द काठमाडाँै पोष्ट, सेतोपाटी, देशसञ्चार, बाह्रखरी, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, द हिमालय टाइम्स, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन, हिमालयन टेलिभिजन, एपीवन टेलिभिजन, नेपाली टाइम्स, नेपालखबर, दृश्य टिभीलगायत सञ्चारमाध्यमका प्रधान सम्पादक तथा सम्पादकको उपस्थिति थियो । कार्यक्रम मन्त्रालयका लागि अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) र पोलिसी एण्ड इन्स्टिच्युसन फ्यासिलीटी (पिफ)को सहयोगमा नेफेजले आयोजना गरेको हो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here