छथर जोरपाटी गाउँपालिकाको तरकारी बंगलादेशसम्म
गाउँपालिकाबाट वार्षिक रुपमा ८० देखि ९० करोड रुपैयाँ बराबरको तरकारी निर्यात
छथर जोरपाटी गाउँपालिकाका ६० प्रतिशत किसान व्यावसायिक छन् । व्यावसायिक कृषकको तथ्यांक पालिकामा रहेका ४ हजार १४८ परिवारमध्ये २ हजार ४८८ परिवार हुन् ।
गाउँपालिका कोशी प्रदेशकै धेरै तरकारी उत्पादन हुने स्थानीय तह रहेको गाउँपालिकाका कृषि शाखा प्रमुख मिलन कार्की बताउँछन् । उनको अनुसार पालिकाको ८० प्रतिशत परिवार तरकारी खेतीमा संलग्न छ । ६० प्रतिशत व्यावसायिक हुँदा २० प्रतिशत निर्भाहमूखी किसान छन् ।पालिकावासीको प्रमुख आम्दानीको स्रोत नै तरकारी खेती रहेको उनी सुनाउँछन् ।
गाउँपालिकाबाट वार्षिक रुपमा ८० देखि ९० करोड रुपैयाँ बराबरको तरकारी निर्यात हुने गरेको उनले पालिकाखबरलाई बताए । पालिकामा सबैभन्दा धेरै उत्पादन हुने तरकारी बन्दा हो । यसको निर्यात भारत हुँदै बंगलादेशसम्म हुने गरेको उनी बताउँछन् । बन्दाबाहेक काउली, मुला, गाँजर, आलु, रायो, खुर्सानी छथर जोरपाटीमा उत्पादन हुने प्रमुख तरकारी बाली हुन् ।
उनी भन्छन्, ‘सिजन नभएको बेलामा कहिलेकँही पालिका बाहिरबाट गोलभेडा ल्याइन्छ । अरु तरकारीमा गाउँपालिका आत्मनिर्भर छ ।’
गाउँपालिकामा पकेट विकास कार्यक्रमबाट तरकारी खेती सञ्चालन भएका छन् । गाउँपालिकामा ६ वटा वडा छन् । त्यसमध्ये वडा नं २ र ६ का सम्पूर्ण क्षेत्रमा तरकारी खेती हुने गरेको उनी बताउँछन् । उनको अनुसार पालिकाको वडा नं १ र ५ का माथिल्लो भेगका सम्पूर्ण क्षेत्रमा र वडा नं ३ का केही क्षेत्रमा तरकारी खेती गरिन्छ । ‘वडा नं ४ मा पनि गोलभेडा खेती सुरु गरिएको छ,’ कृषि शाखा प्रमुख कार्की भन्छन् ।
कृषि प्रवर्द्धन काेषबाट एक लाख रुपैयासम्म ऋण
गाउँपालिकाले कृषि व्यवसायीलाई प्रोत्साहन गर्नका लागि विगत ३ वर्षदेखि ‘कृषि प्रवर्द्धन कोष’ खडा गरेर ऋण उपलब्ध गराइरहेको छ । सो कोषमार्फत बिना व्याज र बिना धितो १ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइएको उनी बताउँछन् । ‘तरकारी खेती गर्नका लागि ऋण लिएर जाने कृषकहरुले तरकारी बेचेर एक वर्षमै ऋण तिर्नुहुन्छ । पशुपालनको लागि ऋण लैजाँदा ३ देखि ४ वर्षभित्र ऋण चुक्ता गर्नुहुन्छ,’ कार्की बताउँछन् ।
गाउँपालिकालाई नेपाल सरकारले तरकारी जोन घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत तरकारी बालीसम्बन्धी प्राविधिक कर्मचारीहरु पालिकामा कार्यरत छन् । कृषकहरुलाई संघीय सरकारबाट ५० प्रतिशतमा आधुनिक कृषि मेसिनरी वितरण गरेको उनी बताउँछन् । उनका अनुसार कृषकहरुलाई प्लाष्टिक घर, फलामे प्लाष्टिक घर, सिँचाइको लागि पाइप मिनिटिलरलगायत सामाग्री प्रदान गरिएको छ ।
तरकारी खेतीको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तालिमहरु सञ्चालन गर्ने कार्यक्रम नराखेको गाउँपालिकाका कृषि शाखा प्रमुख मिलन कार्की बताउँछन् । उनी भन्छन् ‘बिगत्मा पालिकाबाट, एनजिओबाट र आईएनजिओबाट कृषकहरुलाई पहिला नै धेरै तालिम दिइएको छ । सबैजना कृषकहरु तालिम प्राप्त हुनुहुन्छ ।’
पालिकामा धेरै मात्रामा तरकारी खेती हुने भएकाले गाउँपालिकाले बीउ उपलब्ध गराउन नसकेको उनले बताए । उनको अनुसार एक जना कृषकले नै ३० देखि ४० हजारको त बीउ मात्र खरिद गर्छन् । सबै कृषकलाई निःशुल्क बिउ उपलब्ध गराउन गाउँपालिकाको क्षमता नरहेको बताउँदै उनी भन्छन्, ‘पालिकामा कृषि समूह, कृषि सहकारी सञ्चालनमा छन् । एउटा कृषि सहकारी बराबर २ देखि ३ लाख रुपैयाँसम्मका तरकारीको बीउ वितरण गरेका छौ ।’
उनको अनुसार पालिकामा सबैभन्दा धेरै उत्पादन हुने बन्दामा गाँठे रोगको समस्या बेला बेलामा देखिने गरेका छन् । ‘तरकारीमा रोग, किरा लागे पनि महामारीकाे रुप लिएको छैन । यदि त्यस्तो भएमा गाउँपालिकाले कृषकहरुलाई क्षतिपूर्तीको व्यवस्था गरिने छ,’ उनी सुनाउँछन् ।
प्रतिक्रिया दिनुहोस्