चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ

ट्रम्पको ‘ट्यारिफ कार्ड’ ले निम्त्याएको चीन–अमेरिका व्यापार युद्ध

काठमाडौँ ।  अहिले विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र आपसमा सिँगाउरी खेलिरहेका छन् । यी दुई अर्थतन्त्र वरीयता क्रममा ठुलामात्र छैनन्, यिनले विश्व अर्थतन्त्रमा ठुलो हिस्सासमेत ओगट्छन् । सन् २०२४ को अन्त्यसम्म आइपुग्दा अमेरिकी अर्थतन्त्रको आकार वार्षिक उत्पादनको आधारमा करिब २९ ट्रिलियन अर्थात् २९ सय खर्ब डलर पुगेको छ ।

frontline

उता चीनको हकमा यो आँकडा १९ सय खर्ब डलर बराबर छ । अमेरिकी अर्थतन्त्र करिब साढे २ दशमलवले बढ्दा चीन ठ्याक्कै दोब्बर अर्थात् वार्षिक पाँच प्रतिशतले फैलिरहेको छ । क्रयशक्ति समताको आधारमा चीनको अर्थतन्त्र अमेरिकाभन्दा धेरै ठुलो भइसकेको छ ।

चीन एक्लैले विश्वको उत्पादनमा झन्डै एक चौथाइ हिस्सा ओगट्ने गर्छ । यसमा सबैभन्दा ठुलो व्यापार अमेरिकासँगै हुने गरेको छ । अमेरिका–चीनको आर्थिक प्रतिस्पर्धा सामरिक प्रतिस्पर्धामा फेरिँदै युद्धतर्फ उन्मुख हुन सक्ने खतराबारे चर्चा हुन थालेको छ ।

पूर्वी एसियामा ताइवान र दक्षिण चीन सागर आजको दिनमा वैश्विक टकरावका मुख्य ‘फ्ल्यास प्वाइन्ट’ मानिन्छन् । हिन्द महासागरमा चीनको प्रभाव विस्तार रोक्न तथा प्रशान्त महासागरमा चीनलाई अघि बढ्नबाट रोक्न अमेरिका, जापान, अष्ट्रेलिया तथा भारतले विविध खालका सहकार्य गरिरहेका छन् ।

दोस्रो विश्वयुद्धपछि झन्डै ४५ वर्ष चलेको शीतयुद्धपछि एक्लो महाशक्ति राष्ट्र बनेको अमेरिकाले यतिबेला आर्थिक, सामरिक तथा प्राविधिक सबै क्षेत्रमा चुनौतीको सामना गरिरहेको छ । चाहे त्यो डाभोस फोरम होस् वा इकोनोमिष्ट पत्रिकाको मुखपृष्ठ, यो सबैको केन्द्रमा छन्– चीन र अमेरिका ।

विगत दशकदेखि अमेरिकी अखबारहरू नियमित हेर्ने जो कसैले पनि चीन–अमेरिका संघर्षको तापक्रम सहजै अनुमान गर्न सक्छन् । कुन समय र विन्दुमा पुगेर यी दुई महाशक्ति आपसमा जुध्न सुरु गर्छन् भन्ने आशङ्काबिच नयाँ प्रकारको ‘युद्ध’ सुरु भइसकेको छ ।

यो ‘युद्ध’ सैन्य क्षेत्रसम्म लम्बिन्छ वा आर्थिक युद्धकै रूपमा विस्तार हुँदै जान्छ, त्यो भने हेर्न बाँकी छ तर, गत बिहीबारमात्रै अमेरिकाले चीनलाई १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरिसकेको छ । यसको प्रतिक्रिया स्वरुप चीनले अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत ट्यारिफ लगाइसकेको छ ।

सन् २०२४ को अन्त्यमा भएको अमेरिकी निर्वाचनमा जितेर राष्ट्रपति पदमा पुनरागमन गरेका डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुमै थालेको ‘भन्सार महसुल युद्ध’ को छनक दिइसकेका थिए । ट्रम्प अमेरिकी व्यापार तथा विदेश नीतिमा विगतका धेरै राष्ट्रपतिभन्दा भिन्न धारणा राख्छन् ।

उनको कार्यकाल सुरु हुनु अगावै मध्यपूर्वमा नरसंहार मच्चाइरहेको इजरायल र प्यालेष्टाईनबिच कूटनीतिक प्रयास मार्फत गराएको युद्ध विरामले संसारलाई दुई महिना गाजाका बालबालिकाको चित्कार सुन्नुपर्ने विवशताबाट राहत दिएको थियो ।

उनले शपथ ग्रहण गरेकै दिन हस्ताक्षर गरेका विभिन्न कार्यकारी आदेशले एकै पटक संसारभर सनसनी नै मच्चाइदिए । लगत्तै युक्रेन समस्या हल गर्न साउदी अरबको राजधानी रियादमा भएका दुई चरणका वार्ता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संवाद तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमै बोलाएर गरिएको नोक–झोकले अन्तर्राष्ट्रिय राजनीतिका विद्यार्थीदेखि कूटनीतिका धुरन्धरलाई समेत हायल कायल बनाएको थियो ।

यी सबै घटनालाई विस्मृतिमा पुर्‍याउने अर्को घटना घट्यो यही फागुन २० गते अर्थात् अप्रिल २ तारिखका दिन । ट्रम्पले ‘लिवरेसन डे’ अर्थात् ‘मुक्ति दिवस’ नाम दिएको उक्त दिन संसारभरका मुलुकबाट अमेरिका भित्रिने वस्तु तथा सेवामा एकै पटक भन्सार महसुल वृद्धि गरिदिए ।

कम्तीमा १० प्रतिशत आधारभूत भन्सार बढाएका उनले युरोपेली संघ र त्यसका सदस्य राष्ट्रलाई २० प्रतिशत, दक्षिण कोरियालई २५ प्रतिशत, जापानलाई २४ प्रतिशत, ताइवानलाई ३२ प्रतिशत तथा चीनलाई ३४ प्रतिशत भन्सार महसुल बढाइदिए । त्यसको केही दिनमै चीनलाई छोडेर अन्य देश यसलाई लगाइएको भन्सार महसुल ९० दिनका लागि स्थगन गरिदिए ।

यस अघि नै उनले मेक्सिको र क्यानडाका उत्पादनमा लगाएको भन्सार र अवरोधले सुरु गराएको यसअघि नदेखिएको मनमुटाव शान्त हुन बाँकी नै थियो । यो भन्सार वृद्धि लगत्तै विश्वभरका सेयर बजारमा भारी गिरावट देखा पर्न थाल्यो ।

भारत, बेलायत, हङकङ, जापान, अमेरिका सबैतिर पुँजी बजारमा पहिरो जान थाल्यो । यही अवधिमा अमेरिकी सेयर बजारले मात्रै करिब ६ ट्रिलियन डलर गुमायो । सबैजसो पश्चिमा अखबारका आर्थिक खण्डमा सम्भावित मन्दीका खबर छापिन थाले । यी कुनै खबरले ट्रम्प र उनको मन्डलीलाई असर गरेन ।

यतिमात्र होइन, ट्रम्पले खस्किँदो सेयर बजारतर्फ सङ्केत गर्दै सबैलाई सेयर बजारमा मूल्य घटेको बेलामा सेयर किन्न आह्वान गर्दै आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मा स्टाटास नै लेखे ।

उनका व्यापार मामिलाका प्रमुख सल्लाहकारले त फाइनान्सियल टाइम्समा ट्रम्पको नयाँ भन्सार महसुलले विश्व व्यापारमा भएको गडबडी ठिक हुने भनी लेख लेखे ।  छिटपुट रूपमा रिपब्लिकन पार्टीभित्रै भिन्न मत आउने बाहेक यो रिपोर्ट तयार पार्दासम्म अमेरिकी सत्तारुढ दलमा ठुलो असन्तुष्टि देखा परिसकेको छैन ।

प्रशान्त महासागरको अर्को छेउमा उत्पादनको केन्द्र बनेर बसेको अर्को महाशक्ति चीन यी सबै घटनालाई नजिकबाट नियालिरहेको मात्रै छैन, अमेरिकाका प्रत्येक कदमको समान तीव्रतामा जवाफ दिइरहेको छ ।

ट्रम्पको कार्यकाल सुरु भए लगत्तै उनले पनामा नहरमा कार्यरत हङकङमा आधारित चिनियाँ कम्पनीलाई हटाउन बाध्य पारेको तथा पनामालाई चीनको ‘बेल्ट एन्ड रोड’ परियोजनाबाट बाहिरिन दबाब दिएको घटनाबाट आक्रोशित चीनको अमेरिकामा रहेको दूतावासले अनौठो खाले ट्वीट सार्वजनिक गर्‍यो ।

ट्वीटमा, ‘अमेरिका साँच्चै लडाइँ नै लड्न चाहन्छ भने चीन जस्तोसुकै लडाइँ अन्तिमसम्म लड्न तयार छ’ भनी लेखिएको थियो । केही अघिसम्म बिरलैमात्र सार्वजनिक वृत्तमा आक्रामक रूपमा प्रस्तुत हुने चीनको कूटनीतिक नियोगबाट आएको यस्तो धम्कीलाई धेरैले गम्भीर रूपमा लिए ।

जब अप्रिल २ तारिखमा ट्रम्पको मुक्ति दिवसवाला भन्सार महसुल वृद्धिको घोषणा आयो, त्यसले एक प्रकारको युद्धकै अवस्था ल्याइदियो । त्यसदिन सबैका आँखा बेइजिङतर्फ थिए । सबैको चासो अब चीनले कसरी जवाफ फर्काउँछ भन्नेमा केन्द्रित थियो ।

धेरैले गरेको अनुमान विपरीत चीनले अमेरिकी सामानमा पनि विभिन्न अवरोधसहित ३४ प्रतिशतकै भन्सार महसुल थपिएको घोषणा गर्‍यो । यसले वाशिङ्टनमा ठुलो तरङ्ग पैदा गर्‍यो । यसबाट रन्थनिएका राष्ट्रपति ट्रम्पले केही दिनमै थप बदला लिने उद्देश्यसाथ चिनियाँ उत्पादनमा भन्सार महसुल बढाएर १०४ प्रतिशत पुर्‍याइ दिए ।

यसमा चीन मौन रहेन । उसले तुरुन्तै भन्सार महसुल बढाएर ८४ प्रतिशत पुर्‍यायो । त्यसपछि गत बुधबारमात्रै अमेरिकाले थप १४५ प्रतिशत भन्सार महसुल लगाइदिएको छ । यसको प्रतिक्रिया स्वरुप समाचार तयार पार्दासम्म चीनका तर्फबाट केही प्रतिक्रिया आएको छैन ।  

दुई ठुला अर्थतन्त्र र संसारकै महाशक्तिहरूबिच भइरहेको व्यापार युद्धलाई सिङ्गो संसार किंकर्तव्यविमुढ भएर हेरिरहेको छ ।

विश्व अर्थतन्त्रमा सङ्कुचन आउन सक्ने खतरा, अमेरिकी अर्थतन्त्र महामन्दीमा फस्न सक्ने चेतावनी तथा वैश्विक महँगी बढ्ने आकलनले अखबारहरू भरिएका छन् । दोस्रो विश्वयुद्धपछि अमेरिकाले आफ्नै अगुवाईमा स्थापना गरेको विश्व व्यवस्थामा अमेरिकी राष्ट्रपतिले नै छुरा हानेको विश्लेषण पश्चिमा लेखकहरूले नै लेखिरहेका छन् ।

साउथ चाइना मर्निङ पोष्टमा एक लेख लेख्दै प्रख्यात विश्लेषक इयान ब्रेमरले ट्रम्पले अमेरिकालाई बर्बादीको बाटोतर्फ धकेलेको भनेका छन् । इकोनोमिष्ट पत्रिकाले त आफ्नो कभर पृष्ठमै ट्रम्पले चीनलाई धनी बनाउन लागेको भन्दै ‘मेक चाइना ग्रेट अगेन’ भन्ने नारा छापेको छ ।

अप्रिल ५ मा सम्पादकीय लेख्दै वाल स्ट्रिट जर्नलले ट्रम्पले मुर्खतापूर्वक चीनलाई किस्तीमा राखेर रणनैतिक उपहार दिएको उल्लेख गरेको छ । अप्रिल ७ को आफ्नो सम्पादकीयमा द वाशिङ्टन पोष्टले भन्सार महसुलले अमेरिकी अर्थतन्त्रलाई बर्बाद पार्न थालेको बताएको छ ।

अप्रिल ५ तारिखमा द न्युयोर्क टाइम्सका एजरा क्लेनसँग कुरा गर्दै प्रख्यात अर्थशास्त्री तथा व्यापार मामलाका विद्वान पाउल क्रुग्म्यानले त ट्रम्पको कदमलाई ‘इतिहासकै सबैभन्दा ठुलो झट्का’ भएको भन्दै यसको विनाशकारी असर हुने बताएका छन् । 

विद्यमान पहिलो विश्व शक्ति र उदाउँदो विश्व शक्तिबिच अनिवार्य टकरावको रूपमा हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम एलिसनले भन्ने गरेको ‘थुसिडाइडिस ट्रयाप’ को त्रासबिच यसरी आमने सामने भएका अमेरिका–चीनको आगामी दिनबारे अन्योल सिर्जना भएको छ ।

गत दशकदेखि यता आफ्नो लामो मौनता तोड्दै आक्रामकतातर्फ उन्मुख चीनले भावी दिनहरूमा व्यापार युद्धलाई कता डोर्‍याउँछ भनी जान्नुु सबैका लागि जति रुचिकर छ, त्यति नै अन्योलपूर्ण पनि छ । यसमा सामान्यतया तीन विकल्पमाथि विश्वभर चर्चा भइरहेको छ ।

पहिलो, तत्काल अमेरिका–चीनबिच व्यापार वार्ता वा नयाँ सम्झौता हुन सक्छ । यसको सम्भावनालाई न्यून आकलन गर्न मिल्दैन । ग्राहम एलिसनले द वाशिङटन पोष्टमा लेख लेख्दै चीन–अमेरिका सम्बन्धमा केही अप्ठ्यारा घुम्तीका बाबजुद यी दुईको सम्बन्ध नयाँ उचाइमा पुग्ने अनुमान गरेका छन् । कतिले यसै सङ्कटलाई सम्बन्ध सुधारको बिन्दु पनि मानिरहेका छन् ।

दोस्रो, व्यापार युद्ध, सैन्य युद्धमा फेरिने सम्भावना । चीनलाई धेरै अघि बढ्नबाट रोक्नका लागि यो नै उपयुक्त समय भएकाले उसलाई निस्तेज पार्न सैन्य रणनीति अपनाउनु पर्ने मत राख्नेहरूको बहुमत ट्रम्प प्रशासनमा छ । यस्तो मत राख्नेहरू जसरी भए पनि चीनको वृद्धि र फैलावटलाई रोक्नुपर्ने धारणा राख्छन् ।

यसमा ट्रम्पका सल्लाहकार लगायत हालका विदेशमन्त्री मार्को रुवियो पनि पर्छन् । यदि यो मत हावी भयो भने जुनसुकै बहानामा युद्ध सुरु हुन सक्छ ।

तेस्रो, व्यापार युद्ध लम्बिने र अमेरिका आईसोलेसनमा जाने । यस मतका पक्षधरहरू बिस्तारै अमेरिका–चीनबिचको आर्थिक सम्बन्ध तोडिँदै जाने र अमेरिकी अर्थतन्त्र ‘आइसोलेसन’ तर्फ जाने बताउँछन् ।

यी तमाम सम्भावना बिच दुई महाशक्तिको सम्बन्ध अब कता जान्छ यसै भन्न सकिने अवस्था छैन । त्यसमाथि अमेरिकी राष्ट्रपति ट्रम्पको अनुमानै गर्न नसकिने मनोविज्ञानले पनि यसमा काम गरिहेको छ । तर, हामी, अर्थशास्त्री तथा ग्रीसका पूर्वअर्थमन्त्री यानिस भारुफाकिसले भनेजस्तै एउटा कुरा निश्चित रूपमा भन्न सक्छौँ– ‘अबको विश्व पुरानै अवस्थामा भने पटक्कै रहने छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here