चितवनतिर छिनछिनमा लाइन काटिएर असाध्यै हैरानी

‘स्याल कराउनु र बाख्रा हराउनु’ भनेझैं कुलमान हट्नु अनि लाइन पनि ग’को गई गर्नु केवल संयोग मात्रै हुन सक्ला ? उर्जामन्त्री दिपक खड्काको नियतमै खोट नभई नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई त्यसै हटाइएकै होइन । वर्षाैंदेखि अर्बाैं घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई केही वर्षमै नाफामा लगेर देशलाई लोडसेडिङको अवस्थाबाट मुक्त गराउन सफल कार्यकारी निर्देशकलाई प्रधानमन्त्री ओली समेत लगेर जबरजस्ती हटाइनुमा स्वार्थ समूहको चलखेल त छँदैथियो ।
कुलमानलाई निकालेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको एमडी बनाइएपछि देशमा फेरि अहिले अघोषित रुपमा लोडसेडिङ भइरहेको छ । जेनेरेटर, इन्भर्टर र सोलार व्यापारीहरुसँग उर्जामन्त्रीको कनेक्सनकै असर नभए के हो त ? यो प्रचण्ड गर्मीमा हरेक दिन छिनछिनमा लाइन काटिने समस्याले सर्वसाधारण जनता असाध्यै मर्कामा छन् । जेनेरेटर, इन्भर्टर व्यापारीहरुको चाहिँ हड्डी हाँसेको हुनुपर्छ ।




पछिल्लो समय भरतपुर चितवनतिर विद्युतसेवामा दिनदिनै अवरोध भइरहेको अवस्था छ । घन्टैपिच्छे मिनेट–मिनेटमा र घन्टौंसम्म लाइन काटिने समस्याले दिक्क बनाएको हिजो नारायणगढमा भेटिएका एक युवकले बताए । बिहान, दिउँसो, साँझ र राति पनि बारम्बार लाइन काटिँदा राम्ररी सुत्न समेत नपाइरहेको जनसाधारणबाट व्यापक गुनासो आइरहेको छ । पारि गैंडाकोट, नवलपरासीमा पनि हरेक दिन यसैगरी छिनछिनमा लाइन काटिइरहने समस्याले विगत एक डेढ महिनादेखि हैरान बनाएको स्थानीयले बताएका छन् ।
जेनेरेटर वा इन्टभर्टर किन्न नसक्ने अवस्थाका सर्वसाधारण, जो गर्मीमा एउटा पंखाको भरमा राहत महसुस गर्छन्, दिन होस् या रातबेरात पटकपटक लाइन काटिँदा अहिले राम्ररी निदाउनसमेत नपाएर धेरै नै तनावमा छन् । लाइनको समस्याले मान्छेको दैनिक कामकाजमा पनि निकै असर परिरहेको छ । दिउँसो काम गर्न नारायणगढ आउने भरतपुर–२४ जगतपुरका युवक अभिषेक पोख्रेलले भने, ‘राति छिनछिनमा १–२ घन्टा त सधैं लाइन काटेकै हुन्छ ।’
भरतपुर–२० शारदानगरका हरिप्रसाद सुवेदीले कुलमान हुँदा राति खाना खानेबेला लाइन जान्छ भनेर बत्ती पनि किन्नु नपरेको बताए । अहिले कुलमान हटेदेखि नै दिनदिनै लाइन जान थालेको भन्दै उनले पनि रातिराति लाइन काटिँदा राम्ररी सुत्न नपाएर निद्रा नपुगिरहेको समस्या बताए ।
दिउँसो हरेक १÷२ घन्टाको बीचमा १०÷१० मिनेटमा र कहिलेकाहीँ लामै समय पनि लाइन काटिने भइरहेको भन्दै नायरायणगढकै लायन्सचोकस्थित विधान पुस्तक पसलकी सञ्चालिका माया कंडेलले भनिन्, ‘गर्मीमा लाइन गएपछि पसलमा बस्न एकदम गाह्रो छ । अहिले इन्भर्टर पनि छैन तर अब किन्नैपर्ने जस्तो भएको छ ।’
‘अघिल्लो वर्ष गर्मीमा यसरी लाइन गएकै थिएन’, भरतपुर–३ प्रेसमार्गस्थित शुभकामना अफसेट प्रेसका प्रितम फुयाँलले भने, ‘त्यो बेला भएको जेनेरेटर पनि चलाउन नपरी थन्केर बसेपछि बेचियो ।’ अहिले फेरि यो लाइन काटिइरहने समस्याले जेनेरेटर किन्नुपर्ने स्थिति देखिएको उनले बताए ।
नारायणगढकै न्यू गौरव छापाखानाका प्रोप्राइपटर गुमानसिंह खड्का अहिले दिनको ३–४ घन्टासम्म लाइन जाने भइरहेको बताउँछन् । उनले पनि दुई वर्षअघि जेनेरेटर चलाउन नपरेर बेचेको सुनाउँदै भने, ‘अब अहिले जेनेरेटर पनि छैन । आज दिनुपर्ने भनेको अर्डर दुईदिन पेन्डिङ गर्नुपर्ने भएको छ । जेनेरेटर चलाएर मुनाफा निकाल्न पनि गाह्रो छ । तर अब यस्तै भइरहे फेरि जेनेरेटर किन्नुपर्ने देखिन्छ’, उनले थपे, ‘प्रिन्टिङ क्षेत्र पनि प्रेस नै हो । पत्रपत्रिकादेखि विद्यार्थीका महत्वपूर्ण प्रश्नपत्र छाप्नुपर्ने हुन्छ ।’ यसलाई पनि अत्यावश्यक सेवाको रुपमा इन्डष्ट्रियल लाइन अन्तर्गत समेटिनुपर्ने मागसमेत उनले गरे ।
बजारमा अहिले जेनेरेटरको माग र बिक्री बढ्न थालेको विभिन्न पसलहरुबाट प्रस्टरुपमा बुझिएको छ । लाइन जाने–आउने भइरहने कारण विद्युतको भर नहुँदा अहिले कृषकहरुले सिँचाइको लागि समेत इलेक्ट्रिक पम्पको सट्टा पेट्रोल वा डिजेलबाट चल्ने पम्पिङ सेट किन्न थालेको पनि मेसिनरी व्यवसायी बताउँछन् ।
‘गत वर्ष जेनेरेटरको व्यापार शून्य जस्तै थियो भन्छन् भरतपुर, नारायणगढकै मेसिनरी पसल चितवन मिल स्टोरका सेल्सम्यान नेत्रनारायण गौतम र कुलप्रसाद आचार्य । ‘२–३ वर्षदेखि जेनेरेटरको व्यापार नै थिएन’, उनीहरुले भने, ‘अहिले ५–७ केभीएको लाख–सवा लाखसम्म पर्ने जेनेटर ४–५ वटा मगाएर बेचिसक्यौं ।’ माग भएर अझै दुई–तीनवटा जेनेरेटर ल्याएर राखेको पनि उनीहरुले बताए ।
नारायणगढकै एक होटल व्यवसायी भन्छन्, ‘यस्तै अवस्थाले अब होटल पनि चलाउन सकिँदैन ।’ अहिले दिनदिनै लाइन काटिइरहने समस्याले जेनेरेटर चलाएर होटल व्यवसाय चलाउनु परिरहेको बताउँदै मेला रेष्टुरेन्ट एण्ड तास घरका सञ्चालक पूर्णखर सुवेदीले भने, ‘एक त होटलमा खान आउने मान्छे नै छैन । कोही खान आउने मान्छे पनि यो गर्मीमा लाइन नभई को बस्छ ?’ अहिले दिनदिनै २–३ घन्टा जेनेरेटर चलाउन परिरहेको उनले बताए । भने, ‘एक घन्टा जेनेरेटर चलाउँदा हजार रुपैयाँ डिजेलमै खर्च हुन्छ ।’
‘घोषित लोडसेडिङ त छैन तर दिनदिनै लाइन गइराछ’, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल भन्छन्, ‘यसले उद्योगीहरुलाई मर्का त परेकै छ । वैकल्पिक उर्जा प्रयोग गर्नुपर्दा उत्पादन लागत बढेको छ ।’ अहिले मिनेट–मिनेटमै २–३ पटक लाइन जाने–आउने भइरहँदा एसी, कम्प्युटर लगायतका मेसिनहरु बिग्रिने गरेको उद्योगीहरुको गुनासो पनि उनले सुनाए । ‘गत वर्ष यत्तिको समस्या थिएन’, उनले भने, ‘बरु निश्चित समय तोकेर लोडसेडिङ गर्ने हो भने त्यो समयमा अर्काे प्लानिङ गर्न सकिन्थ्यो ।’
यतिखेर विद्युत आपूर्तिमा भइरहेको समस्याले प्लाष्टिक उद्योगमा झन् धेरै मार परिरहेको बताइन्छ । ‘हाम्रो सिस्टममै कस्तो हुन्छ भने पहिला हिट दिनुपर्छ । एउटा मेसिन हिट गर्नलाई कम्तीमा दुई घन्टा लाग्छ । दुई घन्टामा मेसिन हिट गर्न नपाउँदै डेढ घन्टामा लाइन जान्छ । आधा घन्टा पछाडि फ्याट्ट लाइन आउँछ, त्यतिबेला चिसो भइसक्या हुन्छ । अनि फेरि हिट गर्नुपर्छ’, चितवनकै एक प्लाष्टिक उद्योगीले भने, ‘बरु यति बजेदेखि यति बजेसम्म लाइन आउँदैन भनेर तोक्दियो भने लोडसेडिङ अनुसार हामी आफ्नो सेड्युल गर्छाैं । तर फ्याट्टफ्याट्ट १० मिनेट, १५ मिनेट, आधी घन्टामा लाइन काटेको काट्यै गर्दा एकदम बढी समस्या भएको छ ।’ गत वर्ष यस्तो लाइन जाने समस्या धेरै नै कम थियो भन्छन् उनी पनि ।
भरतपुर अस्पतालमा गत वर्षको यही बेला भन्दा अहिले दोब्बर समय जेनेरेटर चलाउनुपरेको अस्पतालको इलेक्ट्रिकल शाखाबाट बुझिएको छ । गत वर्षको वैशाख÷जेठमा २० घन्टा जेनेरेटर चलाउनुपरेको थियो भने अहिले ४० घन्टा चलाउनुपरेको रेकर्ड पल्टाउँदै सबइन्जिनिर सन्दीप पौडेलले हामीलाई बताए । सिंगो अस्पतालमा एक घन्टा जेनेरेटर चलाउन ७०÷८० लिटर डिजेल खर्च हुने गरेको पनि उनले जनाए । भरतपुर अस्पतालमै हिजो भेटिएकी भरतपुर–१२ की बेलिका थापाले पनि अहिले धेरै नै लाइन जान थालेको बताइन् । उनले पनि भनिन्, ‘गत वर्ष यत्तिको लाइन गएकै थिएन ।’
भरतपुरको न्यूरोड स्थित दुर्गा मोटर्सका इन्भर्टर बिक्रेताले पनि गत वर्षभन्दा यसपालि इन्भर्टरको बिक्री केही न केही बढेकै बताए । न्यूरोडकै अर्काे एक इन्भर्टर पसलका व्यापारी भने, ‘पहिला भन्दा अहिले लोडसेडिङ पनि बढी छ । इन्भर्टरको व्यापार पनि यसपालि बढी नै छ ।’
यस विषयमा नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले भने अहिले कुलिङ लोड म्याक्सिमम बढेको अवस्थामा ओभरलोडका कारण तारहरु चुँडिएर बनाउनुपर्दा लाइन काट्नुपरेको समस्या बताएको छ । वितरण केन्द्रका प्रमुख नरेन्द्रबीर श्रेष्ठ भन्छन्, ‘चितवनमा यो पालि अत्यधिक गर्मी पनि बढेको अवस्था छ । गर्मी बढेसँगसँगै सिस्टम भोल्टेज पनि ड्रप भाको छ । भोल्टेज ड्रप भएपछि करेन्ट प्रवाह बढिहाल्छ । करेन्ट प्रवाह बढेपछि कहीँ तार चुँड्ने, कहीँ ट्रान्सफर्मरको फ्युज खाने, कहीँ तारै झरेको अवस्था पनि छ ।’
हिजो दिउँसो कुराकानी गर्दै उनले भने, ‘आज बिहानको कुरा गर्नुहुन्छ भने हावाहुरीले २–३ ठाउँमा रुखको हाँगा भाँचिएर हाम्रो तारमा प¥यो । त्यसले पनि लाइन काट्नुपर्ने समस्या भाथ्यो ।’ बसेनी सबस्टेसनको उपकरणमा पनि क्षमताभन्दा बढी लोड भएपछि अस्तिमात्र वैकल्पिक व्यवस्था मिलाउने काम गरिएको पनि उनी बताउँछन् । विद्युत प्राधिकरण भरतपुरका यी हाकिम भन्छन्, ‘लोडसेडिङ भाको पनि होइन । हुँदापनि हुँदैन । प्राविधिक कारणले हो । ट्रान्सफर्मरमा कतै समस्या आयो भने लाइन नकाटी काम गर्न सकिन्न ।
हामीले पनि त्यसै लाइन काट्न कहाँ मिल्छ र ? नाम लेखेर कारणसहित काट्नुपर्ने हुन्छ ।’ पछिल्लो समय ग्राहकको संख्या पनि बढ्दै गएको र एसी, कुलरको प्रयोग बढेको कारण पनि विद्युतमा लोड बढेको भरतपुर विद्युत कार्यालयका सूचना अधिकारी नन्दराज विष्टको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्