चाडपर्वले सामाजिक एकता कायम गरेको छ : मुख्यमन्त्री शाक्य
वाग्मती, २१ असोज (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता कायम गरेको बताउनुभएको छ ।
विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठपर्वका अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पहिचान र परिचयलाई फराकिलो बनाउनुपर्ने बताउनुभयो ।
कुनै पनि संस्कृति र संस्कारभित्र विभेद गर्न नहुने उहाँको भनाइ थियो । शाक्यले धनी र गरिबबीचको दूरी बढाउने गरी चाडपर्व मनाउन नहुने धारणा राख्नुभयो ।
उहाँले समानताको सुरुआत घरबाट नै गर्नका लागि आग्रह गर्नुभयो । अहिलेको समयमा चाडपर्व धनीले मात्र मनाउने जस्तो बन्दै गएकाले सबैले मान्नसक्ने बनाउनुपर्नेमा उहाँको जोड थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेशका मन्त्री, राज्यमन्त्री, मन्त्रालयका सचिव, विभिन्न सरकारी कार्यालय तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो । –––






प्रतिक्रिया दिनुहोस्