“घर बगेजस्तो बग्दोरहेनछ बैंकको ऋण,”

श्रोत : ईन्टरनेट

वितण्डा मच्चाउँदै आएको मेलम्ची र इन्द्रावती नदीले १ /२ घर मात्र हैन सबैलाई बिर्सन नसक्ने घाऊ दिएको छ

मेलम्ची । आधुनिक सेवासहित मेलम्चीमा पर्यटन प्रवद्र्धनमा समेत सघाउ पु¥याउने उद्देश्यले उनले ३५ करोड लगानी गरेर बजारमा रिसोर्ट सञ्चालनको तयारी गरे ।

सिन्धुपाल्चोकमै पहिलोपटक लिफ्टसहितको ६ तले भवनमा आफ्नो व्यवसाय गर्ने गरी काम अन्तिम चरणमा पुग्दै थियो ।

frontline

रिसोर्टमा आधुनिक सेवा दिएपछि मेलम्ची बजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मेलम्चीका सागर श्रेष्ठको सपना त्यतिबेला तुहियो जब उनले सञ्चालनको तयारीमा राखेको रिसोर्टलाई असार १ गते बाढीले डुबानमा पारिदियो ।

श्रेष्ठले होटल व्यवसाय गर्न थालेको ८ वर्ष बित्यो ।

मेलम्ची बजारमा कहलिएका होटल व्यवसायी श्रेष्ठले नयाँ ढंगबाट व्यवसाय गर्ने सोचेर लिफ्टसहितको सुविधा ल्याएका थिए ।

जीवनभर कमाएको सम्पति माथि बैंकबाट ऋण लिएर थप सेवा दिन सुर कसेका सागरले मासिक किस्तामात्रै साढे पाँच लाख बैंकलाई बुझाउनुपर्छ ।

अहिले लगानी गरेको न्यू मेलम्ची क्याफे इन एण्ड थकाली भान्छा घर बाढीको डुबानमा छ ।

“भएका सामग्री कति बाढीले बगायो, कति अझै डुबानमा छ,” श्रेष्ठले भने, “त्यही बैंकमा भएको ऋण भने बाढीले बगाउन सकेन ।”

उनले बाढीले ऋण नै चिनो स्वरुप छाडेर गएको बताए ।

होटल बनेपछि कम्तीमा ३० जनाले रोजगारी पाउने थिए ।

स्थानीय किसानले उत्पादन गरेका दूध, तरकारी, फलफूल, चामल, मासुलगायत सामग्री यहीँ खपत गरी अर्गानिक स्वाद दिलाई पर्यटकीय केन्द्र रहेको मेलम्चीको उचाइ थप्ने उनको सपना बाढीसँगै बगेको हो ।

सुविधासम्पन्न भवनमा रुफटप र अन्डरग्राउन्ड रेस्टुराँ, पाँच हजार क्षमताको हल, ३५ वटा सुविधासम्पन्न कोठा, पर्याप्त पार्किङ, स्विमिङ पुल त बनिसकेका थिए ।

मात्रै बाँकी थियोे उद्घाटनको । उद्घाटन नहुँदै पनि केही पाहुना टोलीले उनको रिसोर्टको सेवा भने पाइसकेको उनी बताउँछन् ।

अझै डुबानमा रहेको उनको ३५ करोड लगानीको भवन कति बेला ढल्ने पत्तो छैन ।

तीन तला डुबेको भवनको संरचना अब काम लाग्ने अवस्थामा छैन । भवन नढलेको अवस्थामा पनि पछि खर्च गरेर भत्काउनुपर्ने हुन्छ ।

सागरजस्तै बैंकबाट ऋण लिएर मेलम्चीका लक्ष्मण गौतमले इन्द्रावती नदी किनारमा ६ करोड लगानी गरेर रिसोर्ट खोले ।

सिन्धुपाल्चाकको उत्तर पश्चिम गाउँ हेलम्बु र पाँचपोखरीका फरक दुुई नदीबाट एक साथ उर्लिएको बाढीले आँखै अगाडि उनको उद्घाटनको तयारीमा रहेको द मेलम्ची भ्यू रिसोर्ट बग्यो ।

“१ वैशाखमा उद्घाटनको तयारी थियो, कोभिडको महामारीले रोक्यो,” उनले भने, “सञ्चालन नहुँदै रिसोर्ट इन्द्रावतीमा विलय भएपछि ऋण तिर्ने समस्याले सताइरहेको छ ।” गौतमका समकक्षी युरोप, अमेरिकातिर छन् ।

कतिले व्यवसाय सञ्चालन गरेर आफ्नै खुट्टामा उभिएका छन् ।

“घर बगेजस्तो बग्दोरहेनछ बैंकको ऋण,” उनले दुःखेसो पोखे, “विपत्ति पनि ऋणको चपेटामा परेकामाथि नै आइलाग्दोरहेछ ।”
मेलम्चीकै दुर्गाबहादुर श्रेष्ठको पीडा पनि कम्ती छैन ।

ऋणपान गरेर ७० लाखभन्दा बढीमा बनाएको घर मेलम्ची बाढीले क्षणभरमै नदीमा मिसाइदियो ।

उनको परिवार अहिले इन्द्रावती माध्यमिक विद्यालयको सेल्टरमा आश्रित छ ।कमाइ छैन, भाडामा लगाएको घर पनि बाढीले बगायो,” उनले सुनाए, “बैंकको ऋणले पिरोलेको छ, अलिअलि भएको सम्पत्ति पनि बाढीमै गयो ।”

उनले करोडौंको सम्पत्ति भए पनि अहिले अरुले दिएको गास, बासमा जीवन धान्न बाध्य भएको बताए ।

वितण्डा मच्चाउँदै आएको मेलम्ची र इन्द्रावती नदीले गौतम र श्रेष्ठद्वयको मात्रै हैन ।

नदी किनार छेउ घर भएका र व्यवसाय सञ्चालन गरिरहेका सयौंको बिल्लीबाठ बनाएको छ ।

व्यवसाय सञ्चालनका लागि ऋण लिएकाको अवस्था पनि दयनीय छ ।

बाढीले गरेको विनासले मेलम्ची ३० वर्ष पछाडि सरेको स्थानीय बताउँछन् ।

“सुन्दर नगरीको उपमा पाइसकेको मेलम्चीलाई एकै दिनको बाढीले उथलपुथल गरायो,” मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याल भन्छन्, “बजारका मात्रै करिब डेढ सय घरटहरा बगे, स्थानीयबासी आहतमा छन् ।”

उनले खोज, उद्धार, पुनःस्थापनापछि मेलम्ची बजारलाई पहिलाकै अवस्थामा फर्काउन पहल गरिने बताए ।

बाढीले डुबानमा पारेर ३५ करोड खर्चेर बनाइएको रिसोर्टको भवन देखाउँदै व्यवसायी सागर ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here