ग्लोबल वार्मिङकाे प्रभाव : लाङटाङ हिमालको हिमरेखा सरेपछि पर्यटक घटे

समाचार सारांश
- २० वर्षअघिको तुलनामा लाङटाङ क्षेत्रमा हिउँ पर्ने क्रम घटेको छ, जलवायु परिवर्तनका कारण हिमनदी पग्लिएर पहिरोको जोखिम बढेको छ।
- स्थानीय बासिन्दाका अनुसार, जलवायु परिवर्तनले पर्यटन व्यवसायलाई असर पारेको छ र फोहोर व्यवस्थापनमा समस्या देखिएको छ।
- जलवायु परिवर्तनका कारण हिमालमा परेको असर र यसले स्थानीय जनजीवनमा पारेको प्रभावबारे जानकारी दिइएको छ।
काठमाडौँ । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरू प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरू बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरूसँग खेल्दै सफा गर्न लाग्थे ।
तर अब यो अनुभव एकादेशको कथा जस्तो भएको बताउँछिन् स्थानीय पासाङ तामाङ । आकाशमा बादल लाग्दा र एकैछिनको झरी पर्दा पनि हिउँ पर्ने अनुमान गर्ने स्थानीयको अहिलेको अनुमानले समेत काम गर्न छोडिसक्यो । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा हिउँ पर्ने कुनै ठेगान हुँदैन । २० वर्ष अघिसम्म हिमनदी (ग्लेसियर) बस्तीको नजिकैसम्म फैलिएको बताउँछन् लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तामाङ ।




उनी भन्छन्, ‘पहिले ग्ल्यासियर तलसम्म थियो, अहिले त हिमाल पग्लिएर माथिसम्म पुगेको छ । बर्खामा पहिरो भन्ने कुरा हुन्थेन, अहिले त कहिले आउँछ भन्ने नै थाहा हुँदैन । ट्रेक जान पनि डर लाग्ने अवस्था छ ।’ जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्वतापमानमा भएको वृद्धिका कारण हिमालहरू सङ्कटमा परेको उनी सुनाउँछन् । उनले तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुने हुँदा होसियार भएर हिँड्नुपर्ने बाध्यता रहेको बताए ।
वि.स. २०७२ सालमा आएको विनाशकारी भूकम्प समेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने पासाङको आशङ्का छ । उनले पर्यटन व्यवसायको उचित व्यवस्थापन हुन नसक्दा जलवायु परिवर्तनको असर बढिरहेको बताए । हिमालका रेखाहरूसँगै पर्यटन व्यवसाय पनि मेटिँदै जाने उनको चिन्ता छ ।
उनले भने, ‘ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जको कारणले कतिखेर पहिरो आउँछ भनेर थाहा हुँदैन । सन् २०१५ गएको भूकम्प पनि क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङको कारणले नै हो जस्तो लाग्छ । पर्यटन भनेको हामी लाङटाङवासीको पेसा नै हो तर अहिले पर्यटन व्यवसाय पनि समस्यामा पर्दै गएको छ ।’
हिमरेखा सरेको देखेका स्थानीयको अनुभवले जलवायु परिवर्तनको प्रभाव हिमालमा कति परेको छ भन्ने प्रस्ट हुन्छ । बढ्दो औद्योगीकरण र पृथ्वीको तापमान द्रुत र अप्राकृतिक रूपमा बढेको कारण हिमालको जीवन सङ्कटमा पर्दै गएको छ । लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले २० वर्षअघि एक मिटर उचाइसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाए ।
पछिल्लो केही वर्षमा हिमरेखाहरू माथि जाँदै गरेको उनको भनाइ छ । यस क्षेत्रमा सञ्चालित होटल व्यवसाय व्यवस्थित नभएको कारण पनि पर्यावरणमा प्रतिकुल असर परेको उनको भनाइ छ । उनले सरकारले पर्यटकीय क्षेत्रमा सञ्चालित होटहरुको लागि उचित मापदण्ड बनाउन आवश्यक रहेको समेत बताए । पर्यटकको सङ्ख्या बढे पनि सबैजसो स्थानीयहरू होटल व्यवसायमै लागेको कारण अपेक्षाकृत कमाई हुन छोडेको उनको अनुभव छ ।
उनले भने, ‘२० वर्ष अगाडि जमिनदेखि एक मिटर माथिसम्म हिउँ पर्थ्यो । सानो घरहरूको त लेभलसम्म नै पुग्थ्यो । अहिले चाहिँ त्यस्तो छैन । अहिले त ग्लासियर पनि माथि माथि गयो । यसको कारण यहाँको होटल व्यवसाय पनि व्यवस्थित छैन । होटल व्यवसायीका लागि सरकारले कडा नियम लागू गर्न सकेन । क्लाइमेटलाई बिगार्ने काम हामी आफैँ गरिरहेका छौँ । यहाँ पर्यटकलाई आकर्षित गर्नुभन्दा कुरेर बस्ने कामहरू हुन थाल्यो । सबैले एउटै काम गर्न थालेपछि अहिले आयस्रोत निकै घटेको छ ।’
छेउछाउमा सेताम्मे हिमाल । बिचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घर जति छन् प्रायः सबै होटल हुन् । नेपालमा पदयात्रामा आउने पर्यटकको तेस्रो रोजाइमा पर्ने रसुवा जिल्लास्थित लाङटाङको क्यानजेन भ्याली पुग्ने आन्तरिक पर्यटकहरू बढे पनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् । यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र स्वयं होटल व्यवसायीहरुले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पर्यटकलाई निराश बनाउने गरेको छ ।
पर्यटकको सङ्ख्या बढेसँगै फोहोरको मात्रा पनि बढ्दा अगामी दिनमा पर्यटन व्यवसायमा नै असर पर्ने चिन्ता रहेको स्थानीय पासाङ लोप्छेङले बताए । पहिले अलिकति भएको फोहोरलाई समेत माटोमा पुर्ने गरिएकोमा अहिले जलाउने भएको कारण यसले वायु प्रदूषण समेत बढाउँदै लगेको बताए ।
उनले भने, ‘पहिले त्यति पर्यटकहरू चल्दैन थियो । त्यसो हुँदा फोहोर पनि कम हुन्थ्यो । अहिले त धेरे कुइरेहरू चल्छ । धेरै भएको फोहोरहरू पोल्ने गरेको कारण धुवाले पर्यावरणमा नकारात्मक असर पर्दै गएको छ । पहिले भन्दा अहिले निकै परिवर्तन भएको छ । पहिले गर्मीमा पनि एकदमै जाडो हुन्थ्यो अहिले त गर्मी हुन थालेको छ ।’
लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरू भौगोलिक, आर्थिक, र सामाजिक सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरू खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् । हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायल पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गर्ने भए पनि प्रभावितहरूलाई सहभागी नगराउँदा ती सभाहरू औचित्यहीन बन्दै गएका छन् । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्