गौर ट्राफिक प्रहरी असुलीतिर, सडक दुर्घटना उच्च, बढ्दै

मेवालाल यादव
साउन , १७, रौतहट
रौतहटमा पछिल्लो समय सवारी दुर्घटना भई मानवीय क्षति हुने क्रम बढ्दो छ । रौतहटमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त र शुन्य जस्तै छ । रौतहटका मुख्य सडकमा विहान र दिउँसोको समयमा ट्राफिक प्रहरी देख्नै मुस्किल हुन्छ । उनीहरु दिनभर आ–आफ्नै सेटिङ्गमा ब्यस्त हुने गरेको ट्राफिक प्रहरी स्रोत बताउँछ ।
रौतहटमा सामान्य ट्राफिक नियमसमेत पालना नहुँदा रौतहटका सवारी दुर्घटना बढिरहेको छ । ट्राफिक प्रहरी भने ट्राफिक नियम विपरित चल्ने सवारी साधनलाई नियमित आम्दानीको स्रोत बनाइरहेको छ । ट्राफिक नियम पालना गराउनेतर्फ बेवास्ता गर्दै ट्राफिक प्रहरी नायब निरीक्षक संदिप कुमार जयसवाल असुलीमा मात्रै केन्द्रीत भएपछि रौतहटमा सवारी दुर्घटना तीब्ररुपमा बढिरहेका छन् ।
सेटिङमै राजस्व असुल्दै आएको गौर ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनतर्फ ध्यान नदिँदा सडक दुर्घटना बढिरहेको स्थानीयले बताए । सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्दा त्यसको न्यूनीकरणमा भन्दा रकम असुल्नेतिर मात्र ट्राफिकको ध्यान गएको आम रौतहट बासीको आरोप छ ।
‘सवारी चालक लाइसेन्स नहुँदा, हेलमेट नलाउँदा, ब्लुबुक नहुँदा, क्षमताभन्दा बढी सामान तथा मानिस बोक्दा ट्राफिक प्रहरीलाई १००–२०० रकम दिएपछि पुग्छ,’ एक जना मोटरसाइकल चालकले भने । गौर ट्राफिक प्रहरी कार्यालयका अगाडि चेकिङ्ग गरेर ट्राफिक प्रहरी रकम असुलीमा केन्द्रीत हुने गरेको आरोप छ ।
ट्राफिक नियम पालना गराउनुको साटो रौतहटका मुख्य सडकमा बसेर चेकिङ्गका नाममा ट्राफिक प्रहरीले रकम असुल गर्ने गरेको आम जनगुनासो पनि बढिरहेको छ । जसका कारण दिनप्रतिदिन रौतहटमा सवारी दुर्घटना बढ्नुका साथै धनजनको क्षति भइरहेको छ ।
ट्राफिक कार्यालय अगाडि ,बसपार्क, बमनगर , लगायतका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । ‘कति बेला मुर्गा भेटिन्छ’ भनेर ‘पासो’ थापेर बस्ने गरेको एक जना सवारी चालकले पत्रकार मेवालाल यादवलाई बताए ।
दुर्घटना न्यूनीकरण गर्नुभन्दा रकम असुली ट्राफिक प्रहरीको प्राथमिकतामा परेपछि सवारी दुर्घटनासँगै पछिल्लो समयमा रौतहटमा मुख्य शहर क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त बनिरहेको छ । ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापनभन्दा रकम असुलीका केन्द्रीत रहेको प्रष्ट हुन्छ ।
रौतहटमा ट्राफिक प्रहरीले सवारी धनीहरुलाई अनावश्यक दुःख दिएर विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको आरोप लाग्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना फैलाउनुको साटो सानातिना कमजोरी खोज्दै जरिवानाको बाहाना बनाएर रकम उठाउनेतर्फ केन्द्रीत भएको सम्वद्धहरु बताउँछन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here