गुन्डामाथि प्रहरीको विशेष निगरानी, ४५ जनाको सूची तयार

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तयार पारेको सूचीमा रहेका व्यक्तिहरूमाथि निगरानी गर्न र आवश्यक परेको बेला पक्राउ गरी कारबाही गर्नेसम्मको निर्देशन प्रहरीलाई दिइएको छ ।
१ फागुन, काठमाडौं । ‘सर्वसाधारणलाई त्रास देखाएर ठग्ने, अपराधलाई बढावा दिने तथा गुन्डागर्दी गर्नेहरूको प्रोफाइलिङ तयार गर्दैछौं । टोले गुन्डा होस् वा राजनीतिक संरक्षण प्राप्त, सबैलाई कारबाहीको दायरामा ल्याउँछौं ।’




काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी टेकबहादुर तामाङले गत बिहीबार आफ्नै कार्यालयमा पत्रकार सम्मलेन गर्दै उद्घोष गरेका थिए । पुराना गुन्डाहरूको अहिलेको अवस्था अपडेट गर्ने र नयाँ गुन्डाको रूपमा देखा परेकाहरूको पनि प्रोफाइलिङ तयार पारेर कारबाही चलाउने एआईजी तामाङले प्रष्ट पारेका थिए ।
त्यसका लागि धमाधम प्रोफाइलिङ तयार गरिएको र सुरुवाती चरणमै सात जनालाई पक्राउ गरिएको उनले बताएका थिए ।
एआईजी तामाङले भनेजस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुन्डागर्दीमा संलग्न तथा सामाजिक सञ्जालमार्फत डर-त्रास देखाएको आरोपमा सात जनालाई २३ माघमा पक्राउ गरेको थियो ।
प्रहरीको विश्लेषण छ- काठमाडौं उपत्यकामा खुकुरी हान्ने, डान्सबार तथा क्लबहरूमा झगडा गर्ने र सामाजिक सञ्जालमार्फत आफ्नो रवाफ देखाउने शैली बढेको छ ।
त्यतिबेला प्रहरीले धादिङको गल्छीका २९ वर्षीय रोमन आले, तनहुँको भानु नगरपालिका–७ का ३६ वर्षीय मनोहर थापा मगर, गोरखाको आरुघाट नगरपालिका–७ का २७ वर्षीय सुमन पराजुली, काभ्रेको रोशी गाउँपालिका–७ का २६ वर्षीय रोशन तामाङ, तनहुँकै भानु–११ का ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखाको आरुघाटका २९ वर्षीय पदमबहादुर मगर र दोलखाको बैतेश्वर गाउँपालिका–३ का ३९ वर्षीय गोपाल मोक्तान पक्राउ परेका थिए ।
उनीहरूविरुद्ध अहिले सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान अघि बढाइएको छ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा खुकुरी हान्ने, डान्सबार तथा क्लबहरूमा झगडा गर्ने र सामाजिक सञ्जालमार्फत आफ्नो रवाफ देखाउने शैली बढेको प्रहरीको विश्लेषण छ ।
ठमेलमा प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्ति, बाँकीलाई पक्राउ पुर्जी
ठूलो आकारमा नभए पनि गुन्डागर्दीको सानो स्वरूप भने देखा पर्न थालेको प्रहरी अधिकृतहरू बताउँछन् । ‘निकै ठूलो गुन्डागर्दी भयो भन्ने होइन । तर विभिन्न आवरणमा गुन्डागर्दीको शैली भने देखा पर्न थालेको छ,’ एक अधिकृत भन्छन् ।
गुन्डागर्दीको सानो स्वरूप देखिएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अहिले गुन्डागर्दीमा संलग्नहरूको सूची समेत तयार पारेको छ । अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर आएपछि एसएसपी रमेश बस्नेतले गुन्डागर्दीविरुद्ध कारबाही गर्ने बताएका थिए ।
२० माघमा कमान्ड सम्हालेका उनले अनलाइनखबरसँग भनेका थिए, ‘गुन्डागर्दी, कुनै पनि किसिमका ग्याङ स्टार र आतंक सिर्जनाका कामहरूविरुद्ध निर्मम भएर कारबाही गर्न हामीले अपरेसन चलाएका छौं । अशान्ति मच्चाउने काममा संलग्न जोकोही विरुद्ध कारबाही गरिन्छ । सामाजमा आतंका सिर्जना गर्ने र गुन्डागर्दीमा संलग्नविरुद्ध निर्मम भएर काम गर्न निर्देशन दिएको छु ।’
एसएसपी बस्नेतको निर्देशनपछि अपराध अनुसन्धान कार्यालयको गुन्डागर्दी हेर्ने ४ नम्बर पिलर गुन्डाहरूको प्रोफाइलिङ तयार पारेको छ । प्रहरी स्रोतका अनुसार अपराध अनुसन्धान कार्यालयले गुन्डागर्दीमा संलग्नको आरोपमा ४५ जनाको सूची तयार पारेको छ ।
उनीहरूको गतिविधि निगरानी र आवश्यक परेको अवस्थामा पक्राउ गरेर कारबाही गर्नेसम्मको निर्देशन प्रहरीलाई दिइएको छ । पहिलाको तुलनामा भने अहिले गुन्डागर्दीको स्वरूपमा केही परिवर्तन भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
पहिला फिजिकल प्रिजेन्स भएर ग्याङ फाइट हुनेदेखि, धम्क्याउने, हप्ता असुली जस्ता गतिविधि हुन्थे भने अहिले त्यो फिजिकल प्रिजेन्स सामाजिक सञ्जाल विशेषगरी टिकटकमा हुने र त्यसबाट रवाफ देखाउँदै समाजमा आतंक सिर्जना गराउने प्रवृत्ति देखिएको एसएसपी बस्नेत बताउँछन् ।
प्रहरीले तयार पारेको सूचीअनुसार अहिले पनि केही पुराना गुन्डाहरूबाट समेत सुरक्षा चुनौती रहेको विश्लेषण छ । प्रहरीले भनेजस्तै पुराना गुन्डा भनिएका मिलन चक्रे करिब डेढ वर्षअघि हतियारसहित देखा परेका थिए । २८ चैत २०७९ मा मिलन गुरुङ उर्फ चक्रे मिलन नेपालगञ्जमा ‘पोइन्ट टुटु’ ८ हतियार आफ्ना सहयोगीले बोकेको अवस्थामा देखा परेका थिए । त्यतिबेला चक्रेका सहयोगी गणेशबहादुर बोगटी पक्राउ परेका थिए ।
नेपालगञ्जको सिद्धार्थ होटलमा देखिएका बेला बोगटीले हतियारसहित चक्रेलाई स्कर्टिङ गरेको भिडियो टिकटकमार्फत सार्वजनिक भएको थियो । चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेका थिए । त्यतिबेला पनि उनले सामाजिक सञ्जालबाटै आफ्नो रवाफ देखाएका थिए ।
तरुण दलमा आबद्ध योगराज ढकाल ‘रिगल’ हत्यामा कैद मिनाहाबाट जेलबाट छुटेपछि पनि टिकटकमार्फत नै रवाफ देखाएका थिए । २८ असार २०७२ मा चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर उनी कारागार पुगेका थिए ।
रिगल छुटाउन देउवा, पूर्णबहादुर र गृहसचिवको मिलेमतो
तर, संविधान दिवसको अवसरमा ३ असोज २०८० मा कैद माफी-मिनाह हुँदै उनी रिहा भएका थिए । त्यसबेला घोराहीस्थित जिल्ला कारागारमा गाडीको लावालस्कर लागेको थियो । कांग्रेसका कार्यकर्ताहरूले उनको पक्षमा नारा लगाउँदै स्कर्टिङमा घर लगेका थिए । यो भिडिओ पनि सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको थियो ।
पछि चेतनकी श्रीमती हारतीले सर्वोच्चमा मुद्दा हालेपछि कैद मिनाहाको निर्णय बदर भएको थियो । त्यसपछि १५ कात्तिक २०८० मा पुन: पक्राउ परेर जेल गएका थिए ।
कारबाहीमा चुनौती
प्रहरीको गोप्य सूची अनुसार गुन्डा सूचीमा चक्रे मिलनदेखि धादिङका राधे भनिने राधाकृष्ण भण्डारीसम्म छन् । चक्रे एमालेमा आबद्ध छन् भने राधे तरुण दलमा । राधेले टिकटकमा सामाजलाई आतंकित पार्ने किसिमको भिडिओ पोस्ट गर्ने गरेको प्रहरीको बुझाइ छ ।
यो बाहेक कलंकीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गरेको आरोपमा अभिषेक सिंह प्रहरीको सूचीमा परेका छन् । न्यूरोडलाई आधार बनाउने बब शर्मा पनि प्रहरीको निगरानी सूचीमा छन् । ठमेल क्षेत्रमा भने सानुकान्छा गुरुङ र साजन गुरुङ छन् । बालाजु आसपासको क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा दिपेश धिताल प्रहरीको निगरानी सूचीमा छन् ।
गुन्डागर्दीमा जसको बाहुल्य छ, उही संलग्न पार्टी सरकारका रहेकाले कारबाहीमा भने ठूलै चुनौती देखिन्छ ।
बसपार्क क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गरेको आरोपमा सुरेश डंगोल र सानुभाइ भनिने युवराज गुरुङ प्रहरीको सूचीमा परेका छन् । सानुभाइ गुरुङ त २०८० फागुनमा पनि ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । ठमेलका प्लेब्वाई क्लबमा एक व्यक्तिमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरेर उनीविरुद्ध मुद्दा चलाइएको थियो ।
त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए । सानुभाइकै समूहले ठमेलको छायाँ सेन्टरको पार्किङमा समेत एक व्यक्तिमाथि आक्रमण गरेको थियो । त्यसैगरी बौद्ध क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा श्याम लामा, गौशाला क्षेत्रलाई आधार बनाएको आरोपमा धिरेन प्रधान समेतलाई सूचीमा राखेर प्रहरीले निगरानी थालेको छ ।
प्रहरीले कारबाही गर्ने र त्यसका लागि प्रोफाइलिङ गर्ने कुरा सार्वजनिक रूपमा बताएपछि सञ्जालमा हुने तडक-भडक कम हुनुका साथै पोस्ट गरिएका भिडिओहरू समेत डिलेट भएको प्रहरी अधिकारीहरू बताउँछन् । एक अधिकृत त केही गुन्डाहरूले राजधानी नै छाडेकोसम्म दाबी गर्छन् ।
प्रहरीले यस्तो दाबी गरे पनि गुन्डाविरुद्धको कारबाही भने निकै चुनौतीपूर्ण देखिन्छ । प्रहरीले तयार पारेको गुन्डागर्दीको सूचीमा समावेश भएका सबैजसो गुन्डा कुनै न कुनै पार्टीमा आबद्ध रहेका छन् । अझ यसको बाहुल्यता तरुण दल र युवा संघमा आबद्धरुको सूची बढी रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।
तर, पक्राउ गरेर उनीहरूलाई कारबाही नै गर्ने अवस्था भने चुनौतीपूर्ण रहेको प्रहरीकै स्वीकारोक्ति छ । गुन्डागर्दीमा जसको बाहुल्य छ, उही संलग्न पार्टी सरकारका रहेकाले कारबाहीमा चुनौती देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्