गाउँ नपुगोस् हैजा!
देशभरि हैजा संक्रमण फैलने खतरा बढेको छ। सोमबार थप तीन जनामा हैजा पुष्टि भएसँगै त्यस्तो खतरा देखिएको हो। सोमबार प्युठानमा थप तीन जनामा पुष्टि भएको छ। थपिएकासहित हैजा संक्रमितको संख्या ३० पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पहिलो संक्रमित बाहिरै संक्रमित भएको र उनैबाट अरूमा संक्रमण भएको पाइएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए।
दुई सातादेखि फैलिएको हैजा साउनको तेस्रो साता प्युठानमा पुगेको हो। यसअघि काठमाडौं उपत्यका र कैलालीमा फैलिएको थियो। तथ्यांकअनुसार प्युठानमा सोमबारसम्ममा संक्रमित संख्या पाँच पुगेको छ।
हालसम्म कैलालीमा आठ, ललितपुरमा १६, काठमाडौंमा एक जनामा हैजा पुष्टि भएको छ। गर्मी तथा वर्षाको मौसमको अवधि थप समय बाँकी रहेकाले हैजाको जोखिम कायमै रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. घिमिरेले बताए।
फैलिसकेका ठाउँहरूमा हैजा नियन्त्रणमा आइसके पनि थप जोखिम रहेकाले हरेकले आफ्नो खानपान र सफाइमा ध्यान दिनुपर्नेमा उनले जोड दिए। ‘मुख्य कुरा सफा पानी पिउनु र हातको सफाइमा ध्यान दिनु हो,’ उनले भने।
उनका अनुसार वर्षामा पानीको स्रोत दूषित हुने भएकाले हामीले प्रयोग गर्ने पानी पनि दूषित हुन्छ। सफाइमै ध्यान दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले अनुरोध गरे। उनले सोमबार नागरिकसँग कुरा गर्दै भने, ‘हैजाबाट बच्ने उपाय भनेकै दूषित पानी नपिउने र हातको राम्रो सफाइ गर्ने।’
चिकित्सकहरूले यो अवधिमा शौचालय जानुअघि, खाना खानुअघि, खाना दिनुअघि साबुनपानीले राम्रोसित हात धुन सुझाएका छन्। त्यसैगरी काँचै खानुपर्ने फलफूल, सलादजस्ता खाने कुरा खाँदा राम्रोसँग शुद्ध पानीले पखालेर मात्र खान सुझाव दिइएको छ।
‘गाउँमा हैजा फैलिए मृत्युको जोखिम’
उपत्यकापछि प्युठानको गाउँमा हैजा संक्रमण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले गाउँमा हैजा फैलिए मृत्युको जोखिम हुने बताए। उनले अब गाउँघरतिरका बासिन्दा झनै सचेत हुनुपर्नेमा जोड दिए। ‘पछिल्लोपटक प्युठानको गाउँमा हैजा फैलियो,’ उनले भने, ‘म भन्छु, हैजा गाउँमा नपुगोस्।’
विगतका वर्षहरूमा जाजरकोेटका गाउँहरूमा हैजा फैलिँदा धेरैको मृत्यु भएको घटना स्मरण गर्दै डा. पुनले भने, ‘हैजा गाउँका लागि क्षतिको विषय हो ।’
गाउँमा हैजा फैलिँदा स्वास्थ्य सेवा, भौगोलिक विकटता र गाउँमा हेरचाह गर्ने युवाशक्ति नभएकाले पनि हैजा लागिहाले मृत्युको जोखिम हुने उनले बताए।
विकसित राष्ट्रहरूमा वर्षौं पहिला नै उन्मूलन भइसकेको हैजा नेपालमा अहिलेसम्म फैलिनु आफैंमा विडम्बना भएको उनले बताए। यसको कारण सफाइको कमी र असुरक्षित पानी मुख्य रहेको डा. पुनले बताए। ‘युरोप, अमेरिकालगायत देशमा हैजा धेरैै पहिला उन्मूलन भइसकेको हो, हामीकहाँ अहिले पनि हैजा संक्रमण भइरहनुको मुख्य कारण असुक्षित पानी नैै हो,’ उनले भने।
उपभोक्तामाझ वितरित खानेपानीका धारा असुरक्षित हुनु, त्यही धाराको पानी हामीले उपभोग गर्नु, सिधै पिउनयोग्य भनिएका जारका पानीमै हैजाको जीवाणु भेटिनुले संक्रमणको कारण रहेको उनको दाबी छ। ‘केही वर्षपहिले राजधानीमा हैजा आउँदा बिरामीले प्रयोग गरेको जारको पानीमा हैैजाको कीटाणु भेटिएको थियो,’ उनले भने।
उपत्यकामा सयौं वर्ष पुराना पाइपका कारण ढलको पानी धाराको पाइप मिसिएर पानी दूषित बनेको छ भने बजारमा वितरण हुने जारको पानीको अनुगमनमा कडाइ नभएकाले पूर्ण शुद्ध नभएको समस्याले हैजा निम्त्याउने गरेको डा. पुनको दाबी छ।
‘पुरै पिउन लायक छ भनेको जारको पानी नै अशुद्ध भेटियो। सरकारले यो पानीको अनुगमन गरेर, परीक्षण गरेर जनतालाई पानी सुरक्षित छ भनेर भन्न सक्नुपर्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्