गाउँगाउँमा सडक कालोपत्रे भएपछि स्थानीय खुसी

समाचार सारांश
- दाङको तुलसीपुर उपमहानगरपालिका-१२ मा कालोपत्रे सडक निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ। पहिले हिलाम्मे र धुलाम्मे सडकका कारण समस्या थियो।
- हरिपौरीमा नालीसहित सडक कालोपत्रे भएपछि वर्षाको समयमा घर डुबानको समस्या हटेको छ।
- वडाध्यक्षका अनुसार, ८६ लाख बजेटबाट सडक कालोपत्रे तथा अन्य पूर्वाधार निर्माण गरिएको हो, जसले गर्दा स्थानीय जीवनयापनमा सुधार आएको छ।
दाङ। तुलसीपुर उपमहानगरपालिका–१२ को लामिडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्रे भएपछि आवतजावतमा निकै सहज भएको छ । “पहिले हिलै हिलो हुन्थ्यो, साइकल लैजान पनि समस्या हुन्थ्यो”, स्थानीय नन्दकुमार पुनले भने, “अहिले त साइकलमा नै बजार पुग्न सजिलो छ, छिट्टै बजार पुगिन्छ ।”
कालोपत्रे नहुँदा गाडीले धुलो उडाउने र त्यो धुलो घरभित्रै पस्थ्यो । सुकाएका कपडामा पनि धुलै धुलो हुने अवस्था थियो । अहिले त्यो अवस्था हटेको स्थानीय देवी थापाले बताए। “सुकाएका कपडामा पनि धुलै धुलो हुन्थ्यो, घरै फोहर हुन्थ्यो, अब त सजिलो भयो”, उनले भने । सोही ठाउँको आठ सय मिटर सडक कालोपत्रे भएको हो ।




त्यसै गरी, तुलसीपुर–१२ कै हरिपौरीमा झनै कम्मरसम्म हिलो हुने समस्या थियो । त्यति मात्र होइन, वर्षात्मा घरहरू नै डुबानमा पर्ने अवस्था हुन्थ्यो । तर, अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको स्थानीय डिला केसीले बताए । “वर्षात्मा घरहरू पनि डुब्ने अवस्था हुन्थ्यो, कम्मरसम्म हिलो हुन्थ्यो”, उनले भने, “तर अहिले नालीसहित सडक कालोपत्रे भएपछि सहज भएको छ ।” जहाँ साढे तीन सय मिटर सडक कालोपत्रे भएको हो ।
यी दुवै सडकका लागि रु ८६ लाख बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षको नगरस्तरीय बजेटबाट उक्त काम पूरा गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए। उनका अनुसार वडाले आवश्यकताका आधारमा नगरस्तरीय बजेटलाई व्यवस्थापन गरेको भन्दै उनले यो ठाउँमा कालोपत्रे गरिएको बताए । “सबै क्षेत्रलाई सन्तुलन मिलाउने गरी हामीले अहिले गाउँगाउँका सडक स्तरवृद्धि तथा कालोपत्रे गर्ने काम गरिरहेका छौँ”, उनले भने, “यसले निकै सहज बनाएको छ ।” यस वर्षमात्र वडामा दर्जन बढी सडक स्तरवृद्धि गरिएको बताए । आवश्यकताअनुसार नयाँ ट्र्याक खोल्ने, नाली निर्माण गर्ने, कल्भर्ट हाल्ने, ग्राभेल गर्ने कार्यसमेत गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्