गर्मी र प्रदूषित हावाको संयोजन : मृत्युको जोखिम ६४ प्रतिशतसम्म बढ्यो

अत्यधिक गर्मी र प्रदूषित हावा-यी दुई समस्याले नेपालजस्ता मुलुकहरूलाई हरेक वर्ष सताइरहेका छन् । तर, जब यी एकसाथ आउँछन्, त्यसले जनस्वास्थ्यमा कति भयावह असर पार्न सक्छ भन्नेबारे एक अन्तर्राष्ट्रिय अध्ययनले नयाँ तथ्य उजागर गरेको छ ।

२६ चैत, काठमाडौं । हरेक वर्ष हामी नेपालीहरु दुई चिनिन सकिने तर उपेक्षा गरिने शत्रुहरूबाट जुधिरहेका हुन्छौं । तीमध्ये एक हो अत्यधिक गर्मी र अर्को हो विषालु हावा । यदि यी दुबैले एकसाथ आक्रमण गरे के होला ?

frontline

स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युट अफ इनभाइरोन्मेन्टल मेडिसिनद्वारा गरिएको नयाँ अध्ययनले भीषण गर्मी र वायु प्रदूषणको संयोजनले मृत्युको जोखिमलाई नाटकीय रूपमा बढाउनसक्ने सम्भावना देखाएको छ । यसको मतलब जब वायु प्रदूषण र अत्यधिक गर्मी दुवै उच्च हुन्छन् तब मृत्युको जोखिम पनि उच्च हुन्छ ।

अध्ययनले कुनै एउटा कारक मात्र सक्रिय हुँदा पनि मृत्युको यो जोखिम अन्य दिनहरुको तुलनामा अत्यधिक हुने पुष्टि गरेको छ । यो अध्ययनको नतिजा एनभाइरोन्मेन्ट इन्टरनेशनल जर्नलमा प्रकाशित छ ।

यसअघि विभिन्न अनुसन्धानहरूले वायु प्रदूषण र गर्मीको कारण स्वास्थ्यमा पर्ने असरहरूलाई अलग–अलग रुपमा उजागर गरेका थिए । तर यी दुबैको संयोजन कति घातक हुन सक्छ भन्नेबारे अझै पनि सीमित जानकारी छ । नेपालमा त यसबारे अध्ययन भएको पाइएको छैन ।

यस सम्बन्धी अध्ययनको अभाव नेपालसहित भारत, पाकिस्तान जस्ता मुलुकहरूमा पनि महसुस गरिन्छ, जहाँ प्रत्येक वर्ष गर्मी र प्रदूषण दुवै प्रायः खतरनाक स्तरमा पुग्ने गर्छन् ।

यसलाई बुझ्नका लागि क्यारोलिन्स्का इन्स्टिच्युटसँग सम्बद्ध अनुसन्धानकर्ताहरूले आफ्नो नयाँ अध्ययनमा सन् २००८ देखि २०१९ को बीच भारतका १० प्रमुख सहरहरूमा हरेक दिन हुने मृत्युको तथ्यांक संकलन गरी विश्लेषण गरेका थिए ।

करिब ३६ लाख मृत्युलाई विश्लेषण गरेर उनीहरूले तापक्रम अत्यधिक हुँदा सूक्ष्म प्रदूषक कणहरू (पीएम २.५) र मृत्यु बीचको सम्बन्ध अत्यन्त बलियो हुने पत्ता लगाएका छन् ।

अनुसन्धानकर्ताहरूले समयसँगै वायु प्रदूषण, गर्मी र मृत्युमध्येको सम्बन्ध अध्ययन गर्न उन्नत वैज्ञानिक प्रविधिको प्रयोग गरेका थिए । विशेषगरी, तीव्र प्रदूषण र अत्यधिक गर्मीको संयोजनले कसरी मृत्युको जोखिम बढाउँछ भन्ने कुरा र तीमध्ये एउटाको असर अर्काको बढ्दो स्तरमा कसरी परिवर्तन हुन्छ भन्ने कुरा पनि अध्ययन गरिएको थियो ।

अध्ययनमा के पाइयो ?

अत्यधिक गर्म दिनहरूमा, यदि पीएम २.५ को स्तर १० माइक्रोग्राम प्रति घन मिटरले बढेमा दैनिक मृत्युदर ४.६ प्रतिशतले बढ्ने अध्ययनले निष्कर्ष निकालेको छ । यो सामान्य गर्मी दिनहरूमा देखिएको ०.८ प्रतिशतको वृद्धिको तुलनामा धेरै नै बढी हो ।

यस्तै, जब तापमान ‘गर्मी’ बाट ‘अत्यधिक गर्मी’ भएमा त्यस अवस्थामा पीएम २.५ को स्तर २० माइक्रोग्राम प्रति घन मिटर पुगेको खण्डमा मृत्युको जोखिम ८.३ प्रतिशतले बढेको थियो । यसैगरी यदि प्रदूषणको स्तर १०० माइक्रोग्राम प्रति घन मिटर पुग्यो भने, मृत्युको जोखिम ६४ प्रतिशतसम्म बढेको पाइयो ।

शोधसँग सम्बद्ध प्रोफेसर जेरोन डी बोंटले यसबारे भनेका छन्, ‘निष्कर्षहरूले वायु प्रदूषण र अत्यधिक गर्मीको संयुक्त असरलाई देखाउँछन्, जुन विशेषगरी घना बस्ती भएका सहरहरूमा अत्यन्त खतरनाक हुन्छ, जहाँ यी दुई समस्याहरू अक्सर सँगै देखिन्छन् ।’

त्यसैले, उनका अनुसार मानिसहरूको स्वास्थ्य जोगाउन, वायु प्रदूषण र जलवायु परिवर्तनका कारण बन्ने उत्सर्जनलाई रोक्नका लागि तुरुन्त प्रतिकार्य आवश्यक छ ।

अध्ययनले वायु प्रदूषण र जलवायु परिवर्तन दुवैसँग सामना गर्न एउटा संयुक्त कार्ययोजनाको आवश्यकतामा जोड दिएको छ, किनभने विश्व तापमानमा वृद्धि भएसँगै भविष्यमा अवस्था अझ बिग्रन सक्ने सम्भावना छ ।

नेपालमा वायु प्रदूषण

वायु प्रदूषणका कारण नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ ।

नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० एक्यूआई हुनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ र २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार सोमबार राति १० बजेर ३२ मिनेट जाँदा काठमाडौंको वायु गुणस्तर सूचकांक अर्थात् एयर क्वालिटी इण्डेक्स (एक्यूआई) २६२ पुगेको थियो ।

मंगलबार बिहान ७ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक २४५ छ ।

यसअघि चैत २१ गते काठमाडौंको हावाको गुणस्तर सूचकांक ३७३ सम्म पुगेको थियो । त्यसपछि तत्कालीन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरोकारवालासहितको बैठक बोलाएर सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने लगायतका निर्णय गराएका थिए । तर, त्यो अहिलेसम्म कार्यान्वयनमा ल्याइएको छैन ।

२०७७ सालको चैत महिनामा प्रदूषण अत्यधिक बढेपछि सरकारले चार दिनसम्म स्कुल बन्द गरेको थियो । त्यतिखेर काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४७० पुगेको थियो । भिजिबिलिटी कम हुँदा हेलिकोप्टर उडान ठप्प भएका थिए भने आँखा पोल्ने, चिलाउने, घाँटी खसखस हुने जस्ता समस्या लिएर अस्पताल पुग्नेहरु पनि थिए ।

अहिले पनि श्वासप्रश्वाससँग सम्बन्धित बिरामीको संख्या बढेको त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ निरज बम बताउँछन् ।

सुक्खायाममा डढेलोको प्रकोप, पेट्रोल डिजलबाट चल्ने सवारी साधनको चाप, जथाभावी निर्माणका काम र उद्योग कलकारखाना वायु प्रदूषण बढाउने प्रमुख कारक मानिएका छन् । यही बेला तापक्रम पनि बढ्दा नेपालीहरु दोहोरो मारमा परिरहेका छन् ।

छाती रोग तथा सघन उपचार विशेषज्ञ डा. राजु पंगेनी वायु प्रदूषण साइलेन्ट किलर भएको बताउँछन् । यसकार असरबारे उनी भन्छन्, ‘प्रदूषणमा धेरै खालका रसायन हुन्छन् । हाम्रो नाङ्गो आँखाले देख्ने धुलोका कणहरू ठूला साइजका हुन्छन् । रौंको रेसा ५० माइक्रोनभन्दा ठूलो साइजको हुन्छ । तर वायु प्रदूषण १० माइक्रोग्रामभन्दा पनि साना हुन्छन्, जुन फोक्सोको भित्री तहसम्म पुग्छन् । अत्यन्तै साना कण फोक्सोबाट रक्तसञ्चार प्रणालीमा छिर्छ र शरीरका सम्पूर्ण अङ्गलाई असर गर्ने सम्भावना बलियो हुन्छ । जसले गर्दा मुटु, मिर्गौला, टाउकोसम्मै पुगेर पक्षघात, क्यान्सरसमेत हुने समस्या उत्पन्न हुन्छ ।’

जनस्वास्थ्यविद् कमल रानाभाट पनि अहिले काठमाडौंको हावा निकै अस्वस्थकर अवस्थामा रहेको बताउँदै सुरक्षाका उपाय अपनाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । त्यसैले त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ ।

नेपालमा बढ्दो तापक्रमसँगै असर पनि बढ्दै

नेपालमा हरेक वर्ष ०.०५६ डिग्री सेल्सियसको दरले तापक्रम वृद्धि हुँदै आएको जल तथा मौसम विज्ञान विभागले देशभरका मौसम मापन केन्द्रको ३० वर्षको तथ्यांक विश्लेषण गरी तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२३ लाई पनि उछिन्दै सन् २०२४ सबैभन्दा बढी गर्मी वर्षको रूपमा दर्ज भइसकेको छ ।

यस वर्ष पनि नेपालमा गर्मी बढ्ने आँकलन छ । गत हिउँदयाम र मनसुन अवधिका रातहरु पनि विगत वर्षहरूका तुलनामा तातो महसुस भएका थिए ।

गत असार १ गते काठमाडौं उपत्यकामा ३५ वर्षयताकै बढी गर्मी महसुस भएको थियो । सो दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन भएको थियो ।

यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड थियो । काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका धेरै मौसम स्टेसनमा अधिकतम र न्युनतम तापक्रम मनसुन सिजनका धेरैजसो दिनहरुमा सरदरभन्दा बढी पाइएको थियो ।

उदाहरणका लागि सन् १९९१ देखि सन् २०२० सम्मको ३० वर्षको अवधिमा काठमाडौंमा जुलाई महिनाको सरदर अधिकतम तापक्रम २८.७ र सरदर न्यूनतम तापक्रम २०.३ डिग्री सेल्सियस हो । तर यो वर्ष जुलाई ३१ तारिखको दिन काठमाडौंको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुगेको थियो ।

जुलाई महिनामा रूपन्देहीको भैरहवाको सरदर अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस भए पनि २९ जुलाईको दिन झण्डै ४० र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

जनकपुरको जुलाई महिनाको सरदर अधिकतम तापक्रम ३२.९ र सरदर न्यूनतम तापक्रम २६.५ भए पनि जुलाई ३१ तारिखको दिन अधिकतम तापक्रम ३८ र न्यूनतम तापक्रम झण्डै ३० डिग्री सेल्सियस रेकर्ड भएको थियो । धनगढी, नेपालगञ्ज, घोराही, विराटनगर, धरान लगायत अधिकांश स्थानमा पनि मनसुन अवधिका दिन र रात सरदरभन्दा ताता थिए ।

नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम भने १९९५ जुन १६ मा धनगढीमा मापन भएको ४६.४ डिग्री सेल्सियस हो ।

त्यसपछि, पनि केही सहरहरूमा उच्च तापक्रम मापन भएको छ ।

बाँकेको नेपालगञ्ज : २०२४ मे ३० मा ४५.२ डिग्री सेल्सियस ।

कैलालीको धनगढी : २०२४ मे ३० मा ४४.१ डिग्री सेल्सियस ।

बाँकेको नेपालगञ्ज : २०२४ मे ३० मा ४४.२ डिग्री सेल्सियस।

रुपन्देहीको भैरहवा : २०२४ अप्रिलमा ४३.६ डिग्री सेल्सियस ।

सर्लाही : २०२४ मा ४३ डिग्री सेल्सियस ।

सुनसरीको धरान : २०२४ अप्रिल २८ मा ४० डिग्री सेल्सियस।

काठमाडौं : २०२४ जुन १५ मा ३५.३ डिग्री सेल्सियस ।

यी तथ्यांकहरूले पुष्टि गर्दछन् कि नेपालमा पछिल्ला वर्षहरूमा विभिन्न सहरहरूमा उच्च तापक्रम मापन गरिएको छ । सँगसँगै तातो हावाको लहरका घटनाहरू पनि देखिने गरेका छन् ।

यी सबै तथ्यांकहरू नेपालमा तापक्रम तीव्र रूपमा बढ्दैछ र प्रदूषणसँगको संयोजनले जनस्वास्थ्यमा दोहोरो प्रहार गरिरहेको छ भन्ने उदाहरणहरु हुन् । यस्तो अवस्थामा सरकारले गर्मी र प्रदूषणको दोहोरो जोखिमको सामना गर्न एक ठोस र समन्वयात्मक रणनीति बनाएर कार्यान्वयन प्रभावकारी बनाउन जरुरी देखिएको छ ।

प्रदूषण वायु प्रदूषण

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here