‘गठबन्धन नगरौँ भन्नुहुन्छ भने ठीक छ, गठबन्धनबिनै एक्लै जितेर देखाउनुस् : सभापति देउवा

फाइल तस्बिर

२७ असार, काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा एकपछि अर्को चुनावी गठबन्धनको औचित्यबारे प्रश्न उठेको छ । सोमबारदेखि सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले सभापति शेरबहादुर देउवालाई सत्ता प्राप्तिबाहेक गठबन्धन गर्नुको औचित्य र भविष्य के हो भनेर प्रश्न गरेका छन् ।

स्थानीय तहमा तालमेल गरेका सत्तारुढ पाँच दलका बीचमा सभापति देउवाले आसन्न निर्वाचनमा पनि गठबन्धन गर्ने प्रतिबद्धता जनाइसकेका छन् भने अहिले सिट बाँडफाँडको विषय चर्चामा छ ।

frontline

गठबन्धनमा त्यसबारे छलफल हुनुअघि पार्टीभित्र सुझाव लिन चाहेका देउवाले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको परिणाम र चुनावी गठबन्धनको समीक्षा गर्ने एजेन्डा अघि सारेका छन् । बैठकमा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका कारण नेपाली कांग्रेस पहिलो पार्टी बनेको निष्कर्षसहितको प्रतिवेदन पेस गरेपछि बोल्ने क्रममा नेताहरूले गठबन्धनको औचित्यबारे प्रश्न उठाएका छन् ।

‘प्रि–इलेक्सन गठबन्धन गर्नुको औचित्य के हो ? पार्टीको नीति, विचार र संगठनको पनि अर्थ हुन्छ कि सत्ता प्राप्ति मात्रै प्रमुख हो ?,’ बैठकमा नेताहरूले उठाएको प्रश्नबारे एक केन्द्रीय सदस्यले भने, ‘नभए सीमित व्यक्ति र समूहको स्वार्थमा गठबन्धन गर्दा केही सिट जित्न सकिएला, त्यसले पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्‍याउँछ ?’

बैठकमा नेता शेखर कोइराला समूहका नेताहरूले भने गठबन्धन गरे पनि पार्टीले उल्लेख्य जित हासिल गर्न नसकेको बताएका छन् । नेता कोइरालाले गठबन्धनकै कारण मात्रै पार्टी स्थानीय चुनावमा पहिलो दल बन्यो भन्न नमिल्ने बताए । बरू चुनावी तालमेलका कारण गठबन्धनका अन्य दललाई भने धेरै फाइदा पुगेको बताए ।

‘कांग्रेसका हजारौँ नेता कार्यकर्ता गठबन्धनको पक्षमा छैनन्, तैपनि स्थानीय चुनावमा गठबन्धन गर्‍यौँ, हतारमा रस्साकस्सीका बीच भएको गठबन्धनले कांग्रेसलाई भन्दा अरु दललाई नै फाइदा पुग्यो,’ नेता कोइरालाले भने, ‘अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आएको छ, यसमा पनि हामीले व्यक्तिकेन्द्रित गठबन्धन गर्‍यौ भने पार्टीका साथीहरूलाई कसरी न्याय हुन्छ ? गठबन्धन गर्ने भन्ने निर्णय गर्नुअघि यसबारे गम्भीर हुनु आवश्यक छ ।’

बैठकमा प्रदेश सभापतिहरूले ७–७ मिनेट रिपोर्टिङ गरेपनि केन्द्रीय सदस्यहरूलाई ५–५ मिनेट बोल्ने पालो दिइएको थियो । तर, कोइरालाले भने १५ मिनेटभन्दा धेरै समय लिए । कोइरालाले सरकार र पार्टी सञ्चालनमा सभापति देउवाले राम्रो काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । तर, देउवाले भने त्यसबारे कुनै जवाफ फर्काएनन् ।

कोइरालापछि बोलेका केन्द्रीय सदस्य गुरु बरालले स्थानीय चुनावको गठबन्धन प्रभावकारी नभएको भन्दै आगामी निर्वाचनमा पार्टी एक्लैले चुनाव लड्नुपर्ने बताए । ‘हामी एक्लै चुनाव लड्नै सक्दैनौँ, जित्नै सक्दैनौँ भन्ने सन्देश गएको छ, गठबन्धनका अन्य दलको हैसियत नै नभएको ठाउँमा पनि मुख्य पद नै उनीहरूलाई छोड्नुपर्दा हाम्रो संगठन कमजोर बनिरहेको छ,’ बरालले भनेका थिए, ‘हामीले एक्लै चुनाव जित्ने हैसियत बनाउनुपर्छ ।

कोइरालाले बोल्दा जवाफ नफर्काएका सभापति देउवाले बराललाई भने प्रतिक्रिया दिइहाले । ‘गठबन्धन नगरौँ भन्नुहुन्छ भने ठीक छ, नगरौँ । तपाईं गठबन्धनबिनै एक्लै जितेर देखाउनुस्,’ बरालले बोलिनसक्दै सभापति देउवाले जवाफ फर्काएका थिए ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि गठबन्धन नगरी सिट संख्या बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । ‘गठबन्धनका राम्रा नराम्रा पक्षमाथि छलफल गरौँ, सकेसम्म गठबन्धन नगरी पार्टीको सिट संख्या बढाउन सक्यो भने राम्रो हो,’ पौडेलले भनेका थिए, ‘गठबन्धनमा हामी नगए हाम्रोविरुद्व बन्ने गठबन्धन कति शक्तिशाली हुन्छ ? भन्ने कुरा मुख्य हो । त्यसैले त्यो कुरालाई केन्द्रमा राखेर मात्रै गठबन्धनबारेको निर्णय लिनु आवश्यक हुन्छ ।’

सुदूरपश्चिमका प्रदेश सभापति बीरबहादुर बलायरले गठबन्धन गर्दा दलको हैसियत हेरिनुपर्ने बताए । ‘चुनाव जित्नका लागि हो । यदि जित्न सहज हुन्छ भने त्यस्ता ठाउँमा गठबन्धन गरौँ । तर गठबन्धन गर्ने नाउँमा हैसियत नै नभएका ठाउँमा उम्मेदवार बनाएर अर्को पार्टीको उम्मेदवारलाई हामीले जिताइराख्नुपर्छ भन्ने हुदैन,’ बलायरले भने ।

प्रदेश सभापति बलायरले वडामा नजित्ने पार्टीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सपना देखेको भन्दै प्रश्न उठाए । ‘गठबन्धन किन गर्ने ? के कालागि गर्ने ? के का आधारमा गर्ने ? यसबारे नेताहरू प्रष्ट हुनुपर्छ । वडामा हारेका पार्टीलाई संघमा भोट हाल्न सकिदैन,’ बलायरले भनेका थिए, ‘मैले त स्थानीय चुनावमा पनि गठबन्धन गर्न दिइनँ, अब पनि हुदैन ।’

केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धनका विषयमा नेतृत्वले गम्भीर भएर मात्रै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘गठबन्धन नगर्दा चुनाव हारिएला , तर पार्टीको संगठन मजबुद हुन्छ । हाम्रो पहिलो प्राथमिकता गठबन्धनभन्दा पार्टीको संगठन सुदृढीकरण हुनुपर्छ,’ नेता महरले भने, ‘अहिलेकै अवस्थामा गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ । फेरि कम्युनिस्ट दलहरूबीचको एकताको विषय पनि निकै उचालिएको छ ।’

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने चुनावी गठबन्धन औचित्यहीन रहेको बताए । उनले स्थानीय चुनावमा पनि लुम्बिनी प्रदेशमा गठबन्धन सफल हुन नसकेको सुनाए । ‘हामीले प्रदेशका ४० स्थानीय तहमा गठबन्धन गर्‍यौँ । तर १६ तहमा मात्रै जित्यौँ । बरु ६९ पालिकामा एक्लै लड्दा ३२ पालिका जित्यौँ,’ उनले भने, ‘माओवादीले आफू बलियो भएको ठाउँमा गठबन्धनको नामै सुन्न चाहेन, गठबन्धनले हामीलाई भन्दा उनीहरूलाई धेरै फाइदा हुने हो, गठबन्धन गर्नैपर्ने भए व्यवहारिक गठबन्धन हुनु आवश्यक छ ।’

बैठकमा केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल, नारायणबहादुर कार्की, तारामान कार्की, दिनेशकुमार यादव र दिनेश कोइरालाले धारणा राखे । अर्को बैठक मंगलबार दिउँसो १ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here