क्यान महासंघको ३२ औँ साधारण सभा विवादमा: भ्रष्टाचार र जबरजस्ती निर्णयमाथि सदस्यको चेतावनी
काठमाण्डौ — क्यान महासंघको ३२ औँ साधारण सभा सोमबार बिहान ९ बजे सुरु हुने भनिए पनि कोरम नपुग्दा ढिला भएको थियो । सभामा अध्यक्ष सुनैना पाण्डेको नेतृत्व र कार्यशैलीमाथि सदस्यहरूको असन्तोष चरममा पुगेको छ। सदस्यहरूले तत्काल राजीनामा माग गर्दै चेतावनी दिएका छन् यदि अध्यक्षले कार्य शैली सुधार नगरे, महासंघभित्रको भ्रष्टाचार र बिधान विपरीत निर्णयको सामना अदालत मार्फत गरिनेछ।
उद्घाटन सत्रमा पूर्व अध्यक्ष सुरेश कर्ण प्रमुख अतिथि थिए। यस अवसरमा कम्प्यूटर साईन्समा पीएचडी गर्नुहुने वैज्ञानिक शैलेन्द्र गिरी, एआइ.विज्ञ के.यू का प्रोफेसर सुदन झा साथै उत्कृष्ट जिल्ला तथा प्रदेशका क्यान शाखालाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र प्रदान गरे । तर यसले महासंघको वास्तविक विवादलाई ढाक्न सकेन।
जिल्ला बाहिरबाट आएका प्रतिनिधिहरूले अध्यक्ष, पदाधिकारी र कार्यसमितिको पूर्ण असफलताको आरोप लगाउँदै तत्काल राजीनामा माग गरे। “७२ जिल्लामा शाखा विस्तार भए पनि नेतृत्वले कार्यशैली सुधार नगरे महासंघको इतिहास मेटिन सक्ने स्थिति आएको छ,” सदस्यहरूले चेतावनी दिए।
एक पदाधिकारीका अनुसार अध्यक्ष पाण्डेको कार्यशैलीका कारण पूर्व अध्यक्षहरू समेत कार्यक्रममा अनुपस्थित रहे। स्मरण रहोस, केही महिना अघि पाण्डेले विदेश भ्रमणका क्रममा बिधान विपरीत कनिष्ट उपाध्यक्षलाई कार्यवाहक बनाउने निर्णय गरेकी थिइन्। अर्को उपाध्यक्षले भने, “बिधान संशोधन जबरजस्ती गराउने प्रयास र व्यक्तिगत स्वार्थले हालको असहज अवस्था सिर्जना गरेको हो।”
यस्तै अर्का सदस्यले महासंघको घरजग्गा कोषबाट ३३ लाख रुपैयाँ निकालेर अपचलन गरिएको आरोप लगाए । उनले वर्तमान अध्यक्ष पाण्डे र निवर्तमान अध्यक्ष रणजित पोदारले यसको जिम्मेवारी लिनुपर्ने बताए । “भित्रभित्र सिधा भएको भ्रष्टाचारलाई हामी यसै छोड्ने छैनौ ” उनले स्पष्ट पारे।
सदस्यहरूले साधारण सभामा पारदर्शिता नहुँदा, निर्णय प्रक्रियामा आम सदस्यको राय नलिनु, विदेश भ्रमणमा कार्यवाहक नियुक्ति, घरजग्गा कोषको दुरुपयोग जस्ता विषयलाई केन्द्रमा राखेर नेतृत्वको आलोचना गरेका छन् । “यदि सुधार र पारदर्शिता नल्याउने हो भने कानुनी प्रक्रिया मार्फत कदम चाल्न बाध्य हुनेछौं,” सदस्यहरूले चेतावनी दिए ।
अध्यक्ष पाण्डेले भनिन, “निर्णय प्रक्रिया पूर्ण रूपमा कानूनी र बिधान अनुसार भएको हो। विवाद भए पनि महासंघको प्रतिष्ठा कायम राख्ने पहल जारी छ।” तर सदस्यहरूले यसलाई अस्वीकार गर्दै भने, “अध्यक्ष र कार्यसमितिले व्यक्तिगत स्वार्थमा मात्रै ध्यान दिनु महासंघको ऐतिहासिक योगदानलाई जोखिममा पार्ने काम हो।”
क्यान महासंघमा यो विवाद केवल साधारण सभा र कोरमको ढिलाइमा सीमित छैन। यसले नेतृत्वको निर्णय क्षमतामा प्रश्न उठाएको छ। सदस्यहरूले चेतावनी दिएका छन् यदि सुधार र पारदर्शिता ल्याइएन भने संघभित्रको भ्रष्टाचार र नेतृत्वको असक्षम निर्णयको सामना अदालत मार्फत गरिनेछ।
संघका आजिवन सदस्यहरूको चेतावनी स्पष्ट छ: सुधार नगरे महासंघको इतिहास मेटिने खतरा छ, र कानुनी प्रक्रिया अवलम्बन गर्न तयार रहनु पर्छ। महासंघको भविष्य, सदस्यको विश्वास र संस्थाको ऐतिहासिक योगदानको रक्षा अहिले तत्काल आवश्यक छ। त्यसो त अध्यक्ष पाण्डेले आफ्नो व्यवसायीक पाट्नरसँग पैसा हिनामिना गरेको, कारोबार बापत सरकारलाई भ्याट नतिरेको कारण कालो सूचिमा पर्न गएको आरोप छ । यदि यो सत्य भएमा क्यान महासंघमा पनि यसको असर देखिनेछ खाताहरु रोक्का हुन सक्नेछ।






प्रतिक्रिया दिनुहोस्