क्याङ्जिनमा जब हिउँ पर्न थाल्यो

यहाँको वरिपरि हिमाल देख्न सकिन्छ । क्याङ्जिन गुम्बा हिमालको काखमा रहेछ । संयोग कस्तो भने, हामी पुगेकै दिन त्यहाँ हिउँ पर्यो । कहिल्यै हिउँ नदेखेको र हिउँ नटेकेको मलाई यो एकदमै स्मरणीय क्षण थियो ।
२४ जेठ,काठमाडौं । काठमाडौंको चौघेराभित्र जन्मी हुर्केको म । यो उपत्यकाबाट बाहिर निस्केर अर्को संसार हेर्ने मौका सहजै जुर्दैन । त्यसैले काठमाडौं बाहिरको गन्तव्य पहिल्याउन लामै तयारी गर्नुपर्छ । यसपालि लाङटाङका लागि पनि त्यस्तै भयो ।




लाङटाङ, नाम नै काफी थियो । सुन्दै त्यहाँ जानका लागि जाँगर चल्ने । त्यही जाँगर लिएर हामी गएको बुधबार काठमाडौंबाट निस्कियौं । सामाखुसीमा भेला भएर हिँडेका हामीले मध्याह्नतिर धुन्चेमा पुगेर खाना खायौं । भोक लागेर हो वा खाना नै त्यस्तै भएर, असाध्यै स्वादिलो लाग्यो । मन नै तृप्त हुने भेज खाना खाएर हामी स्याफ्रुङ बेंसीतर्फ लम्कियौं ।
स्याफ्रुङबेंसी हाम्रो गाडीको अन्तिम यात्रा थियो । त्यहाँसम्म पुगेर हामीले पैदल यात्रा सुरु गर्नुथियो । पैदल यात्रा आफैमा रमाइलो अनुभूति हो । पाइलैपिच्छे भेटिने नयाँ परिवेश, नयाँ मान्छे, नयाँ दृश्यहरूले खुट्टालाई विश्राम दिँदैन । हिँडिरहुँ लाग्छ । स्याफ्रुङ बेंसीबाट हामी निरन्तर हिँडिरह्यौं । लगभग ४ घण्टा हिँडेपछि पुगियो, ब्याम्बो भन्ने ठाउँ । यो ठाउँको नाम चाहिँ विदेशी पर्यटकहरूले जुराइदिएका रहेछन् । यो ठाउँमा बास नै बास पाइने भएकाले उनीहरूले ब्याम्बो भनेका रहेछन् । आजको हाम्रो अन्तिम बिसौनी यहीँ थियो ।

ब्याम्बोमा हामीलाई तातोपानी दिएर स्वागत गरे । ठाउँको बखान गर्नै परेन, अत्यन्तै सुन्दर। खाना पनि उस्तै मिठो । सबैकुरा मिठो भनौं । चाहे त्यो आतिथ्य होस् वा खानेकुरा । तर, यहाँ केही प्राविधिक समस्या भने खेप्नुपर्ने हुनसक्छ । खासगरी मोबाइलमा बारम्बार सम्पर्क गर्नुपर्ने अवस्थामा । किनभने त्यहाँ नेपाल टेलिकमको सिम चल्दैनथ्यो । मोबाइल चार्ज गर्न मिल्दैन । त्यसैले पावर बैंक बोकेर जानुपर्छ ।
हिँडेर जाँदा शरीर थाकेको र बाँफिएको हुनसक्छ । नुहाउन मन लाग्नसक्छ । यदि तातोपानीले नुहाउने हो भने अतिरिक्त ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । ब्याम्बोको कुरा यही थाँती राखौं । किनभने हामी अझै माथि उक्लनु छ ।
भोलिपल्ट बिहानै ब्रेकफास्ट खाएर हामी अगाडि बढ्यौँ । हामीले बीचमा खाना खानका लागि लामा होटल तोकिसकेका थियौं । राम्ररी हिँड्नेलाई त लामा होटल पुग्न २ घण्टा लाग्ने रहेछ । हामीलाई भने ४ घण्टा लाग्यो । त्यहाँ खाना खाएपछि हाम्रो सोझै गन्तव्य थियो, लाङटाङ भ्याली ।

हामी कहिले उकालो चढ्यौं । कहिले ओरालो झर्यौं । कहिले भर्याङ उक्लियौं, कहिले खोला तर्यौं । कतै फोटो खिच्यौं, कतै टिकटक बनायौं । अनि हिमाल हेर्दै हिँडिरह्यौं । किनकी गन्तव्य पुग्न नै थियो ।
साँझको ८ बजेतिर हामीले लाङटाङ भ्यालीमा पाइला राख्यौं । यो हिमाली बजार मेरा लागि एकदमै नौलो र रमाइलो थियो । यहाँको हावापानी र परिवेशले ताजापन महसुस गरायो । आसपासमा ठूल-ठूला भिरालो पहाड, बीचमा समतल भू-भाग । त्यही भू-भागमा झुरुप्प बस्ती ।
यहाँको प्राकृतिक सौन्दर्य, हिमालहरू (लाङटाङ लिरुङ, गञ्जेनपो) र तिब्बती सँस्कृतिले प्रभावित गुम्बा र स्थानीय तामाङ समुदायको जीवनशैलीले यो ठाउँलाई विशेष बनाउँछ ।
त्यहाँ हामीलाई तिब्बती शैलीमा सत्कार गरियो । हामी सनराइज होटलमा बास बसेका थियौं, जुन भर्खर बनाएको नयाँ रहेछ । होटल निकै सुविधायुक्त थियो । अट्याच बाथरुमसहितको । मोबाइल चार्ज गर्ने सुविधा पनि थियो । घाम लागेको बेला तातोपानीले नुहाउन सकिने रहेछ, निःशुल्क।
काठमाडौंको हावापानीमा अभ्यस्त मलाई त्यहाँ अलि गाह्रै भएको थियो । उच्च हिमाली भेगमा सायद धेरैलाई त्यस्तै हुन्छ । यस्तोलाई लेक लागेको भन्दोरहेछ । यसबाट बच्नका लागि न्यानो लुगा, लसुन बोक्नुपर्ने रहेछ ।
अर्को दिन हामीले लाङटाङ भ्यालीलाई छाड्यौं । अबको हाम्रो गन्तव्य थियो, क्याङ्जिन गुम्बा । चार घण्टा कस्सिएर हिँडेपछि हामी क्याङ्जिन गुम्बा पुग्यौं । त्यहाँ अवस्थित लिटल होममा खाना खायौं ।
यहाँ करिब चार दर्जन घर छन् । सबै होटल हुन् । यहाँ नेपालीहरूका लागि प्याकेज सिस्टम छ । यसमा बेलुकाको खाना, बिहानको ब्रेकफास्ट हुन्छ । यसको एक जनाको १५०० रुपैयाँ । विदेशीको हकमा अर्डर अनुसार रहेको छ ।
यहाँको वरिपरि हिमाल देख्न सकिन्छ । क्याङ्जिन गुम्बा हिमालको काखमा रहेछ । संयोग कस्तो भने, हामी पुगेकै दिन त्यहाँ हिँउ पर्यो । कहिल्यै हिँउ नदेखेको र हिँउ नटेकेको मलाई यो एकदमै स्मरणीय क्षण थियो । हामी धीत मरुञ्जेल हिँउमा रमायौं ।
यो समुद्री सतहबाट करिब ३,८५० मिटर उचाइमा अवस्थित छ । लाङटाङ ट्रेकको प्रमुख गन्तव्य मध्ये एक हो यो । यहाँको प्राकृतिक सौन्दर्य, हिमालहरू (लाङटाङ लिरुङ, गञ्जेनपो) र तिब्बती सँस्कृतिले प्रभावित गुम्बा र स्थानीय तामाङ समुदायको जीवनशैलीले यो ठाउँलाई विशेष बनाउँछ ।
रामकृष्ण ढकालको बिहान उठ्ने बितिकै हिमाल देख्न पाइ्योस गीतमा भनेजस्तै यहाँ उठ्नेबितिकै हिमाल देख्न सकिन्छ । त्यसैले समय मिलाएर घुम्न जानुहोला । स्वर्ग भन्दा कम छैन क्याजिङ ।



प्रतिक्रिया दिनुहोस्