कोरोनाको खोप दुई अर्ब डोज
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध विश्वभर दुई अर्ब डोजभन्दा धेरै खोप बनिसकेको छ ।
महामारी नियन्त्रणका लागि कोसेढुंगा मानिएको खोपको वितरण विश्वमा कसरी भइरहेको छ भन्ने अहिले मुख्य चासोको विषय बनेको छ ।
महामारी नियन्त्रणमा अर्को खुशीको समाचार के छ भने यस वर्षको अन्तिमसम्ममा विश्वभरका पाँच अर्ब ८० करोड जनसंख्यालाई पूरा डोज लगाउन पुग्ने खोप उत्पादन हुनेछ ।
यद्यपि कोरोना खोपको उत्पादन भौगोलिक हिसाबमा केन्द्रीकृत छ ।
केही मुलुकले कोरोना खोप संग्रह गरिरहेका छन् भने केही मुलुकमा अभाव देखिएको छ ।
उत्पादन हुने स्थान महत्वपूर्ण
ड्युक्स ग्लोबल हेल्थ इनोभेसन सेन्टर (जीएचआईसी)का अनुसार यस वर्ष १२ अर्बभन्दा धेरै डोज कोरोना खोप उत्पादन हुन सक्छ ।
खोप उत्पादन र आपूर्तिमा निगरानी राख्ने एनालिटिक्स फर्म एयरफिनिटीले सन् २०२१ मा ११ अर्ब १० करोड डोजभन्दा धेरै खोप उत्पादन हुन सक्ने अनुमान गरेको छ ।
उसका अनुसार विश्वभरका पाँच वर्ष र त्यसभन्दा धेरै उमेरका ७५ प्रतिशत जनसंख्यालाई खोप लगाउन १० अर्ब ८२ करोड डोज खोप आवश्यक पर्छ ।
ड्युक ग्लोबल हेल्थ इनोभेसन सेन्टरकी सहायक निर्देशक एन्ड्रिया टेलरले भनिन्, ‘महामारीले देखाइदिएको छ कि समग्र विश्वभर समान रुपले कोरोना खोप उत्पादन हुन सकेको छैन ।’
खोपको वितरण कस्तो हुनेछ भन्नेमा उत्पादन भएको स्थान निकै महत्वपूर्ण हुन्छ ।
अधिकांश खोपको उत्पादन अमेरिका र युरोपमा भइरहेको छ ।
यी मुलुकका मानिसहरुले सबैभन्दा पहिला खोप पाएका छन् ।
यी मुलुकले खोप निर्यातमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकका लागि छिटो खोप सुनिश्चित गरेका छन् ।
आपूर्तिको चुनौती
खोप उत्पादनको अर्को चुनौती आपूर्ति सञ्जाल हो ।
खोपको लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिदेखि प्रविधि तथा जानकारी, मुलुकहरुबीच आपूर्ति सञ्जाल पनि अहिले राम्रो अवस्थामा छैन ।
जसको कारण कोरोना खोप बनाउन सक्ने कम्पनी पनि अहिले बन्द छन् ।
यो समस्याले खोप उत्पादनमा धेरै तरिकाले असर पारिरहेको छ ।
एयरफिनिटीको अनुमानअनुसार यस वर्षको समग्र खोप आपूर्तिमा तीन कम्पनीको दबदबा हुनेछ, फाइजर÷बायोएनटेक (दुई अर्ब ४७ करोड डोज), अक्सफोर्ड÷एस्ट्राजेनेका (एक अर्ब ९६ करोड डोज) र सिनोभ्याक (एक अर्ब ३५ करोड डोज) ।
अहिलेसम्म फाइजर र सिनोभ्याक कम्पनी उत्पादनको सुरुवाती लक्ष्य हासिल गर्न सफल देखिएका छन् ।
यद्यपि एस्ट्राजेनेकाले भने उक्त लक्ष्य भेट्टाउन सकेको छैन ।
कम्पनीले यस वर्ष तीन अर्ब डोज खोप उत्पादनको लक्ष्य राखेको थियो ।
यो लक्ष्य भेट्टाउन एस्ट्राजेनेका आफ्नो खोप उत्पादन गरिरहेका साझेदार कम्पनीमा निर्भर थियो ।
यसका लागि खोप निर्माणको प्रविधि र जानकारी हस्तान्तरण गर्नुपर्छ ।
टेलर भन्छिन्, ‘एस्ट्राजेनेकालाई यस्ता मुद्दा सुल्झाउन धेरै समय लाग्यो ।
विश्वव्यापी रुपमा साझेदारी तथा प्रविधि हस्तान्तरण गरेर खोप उत्पादन बढाउने विषयमा सोचविचार गरिरहेका कम्पनीले पनि यस्तै समस्या भोगिरहेका छन् भन्ने लाग्छ ।
यो पूरा प्रक्रियाको कारण खोप उत्पादनमा ढिलाइ भइरहेको छ ।
त्यसको ठीक उल्टो फाइजर र सिनोभ्याकले आफ्नो लक्ष्यअनुसार नै खोप उत्पादन गरिरहेका छन् ।’
खोप मौज्दात राख्नु
विश्वभर खोपको वितरण प्रभावित गर्ने अर्को कारण खोप निर्यातमा लगाइएको प्रतिबन्ध पनि हो ।
एयरफिनिटीका वरिष्ठ विश्लेषक म्याट लिनलेले यो समस्याको कारण विकासशील मुलुकमा कोरोना संक्रमणको जोखिम बढेको बताए ।
फाइजरले सबैभन्दा धेरै कोरोना खोप बनाइरहेको छ ।
तर, यो कम्पनीको खोप धनीहरुमा मात्र पुगिरहेको छ ।
एस्ट्राजेनेकाको खोप उत्पादन युरोप र भारतमा भइरहेको छ र यसको वितरण अन्य मुलुकमा हुन सकेको छैन ।
एयरफिनिटीका अनुसार चीनले मात्र ठूलो मात्रामा कोरोना खोप उत्पादन गरिरहेको छ र अहिलेसम्म २६ करोड ३० लाख डोज कोरोना खोप विदेश निर्यात गरिसकेको छ ।
चीनले राष्ट्रसंघको सहयोगको कोभ्याक्स कार्यक्रमले भन्दा पनि धेरै खोप विदेश निर्यात गरिसकेको छ ।
रुसले पनि प्रतिबद्धता त गरेको थियो तर त्यसलाई पूरा गर्न भने सकेन ।
आपतकालीन योजनाको अभाव
एयरफिनिटीका अनुसार १७ मेसम्म रुसको स्पुतनिक भीको चार करोड २० लाख डोज खोप उत्पादन भएको छ ।
यीमध्ये एक करोड ३० लाख डोज खोप निर्यात गरेको छ ।
स्पुतनिक भी खोपको वितरणका साथै प्रविधि हस्तान्तरणमा पनि समस्या देखिएको छ ।
रुसले सुरुवातमा विश्वव्यापी रुपमा १८ खोप उत्पादन केन्द्रसँग सम्झौता गरेको थियो ।
तर, अहिले रुसबाहिर कजाकस्तानमा मात्र यो खोप उत्पादन भइरहेको छ ।
भारतमा पनि अगष्टदेखि स्पुतनिक भीको उत्पादन सुरु हुने घोषणा गरिएको छ र ८५ करोड डोज उत्पादन गर्ने लक्ष्य छ ।
अधिकांश विकासशील मुलुक भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको एस्ट्राजेनेकाको खोपमा नै निर्भर देखिएका छन् ।
सेरमले महामारी सुरु हुनुभन्दा पहिला विश्वको समग्र खोपको ६० प्रतिशत उत्पादन गर्ने घोषणा गरेको थियो ।
यद्यपि भारतमा यस वर्ष कोरोनाको घातक लहर आएसँगै सरकारले यो कम्पनीको खोप निर्यातमा रोक लगायो ।
जसको कारण गरीब मुलुकमा यो खोपको आपूर्ति रोकियो ।
टेलर भन्छिन्, ‘भारतमाथि धेरै निर्भरताको कारण विश्वव्यापी कोरोना खोप आपूर्ति नराम्रोसँग प्रभावित भयो ।’
‘भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि सेरमबाट खोप ल्याउने योजना असफल भयो ।
उनीहरुसँग कुनै आपतकालीन योजना थिएन ।
साथै सेरम इन्ष्टिच्युटको स्थान लिने अर्को कम्पनी पनि विश्वमा छैन ।
त्यसैले यसको असर विश्वका कमजोर आय भएका मुलुकमा खोप पुर्याउने उद्देश्यका साथ ल्याइएको कोभ्याक्स कार्यक्रममा पनि परेको छ,’ टेलरले थपिन् ।
कोभ्याक्स कार्यक्रममार्फत २०२१ को अन्तिमसम्ममा करीब दुई अर्ब डोज खोप वितरणको लक्ष्य छ
यो अभियानमा सामेल मुलुकका २० प्रतिशत जनसंख्यालाई खोप पुर्याउने लक्ष्य थियो ।
युनिसेफका अनुसार कोभ्याक्स कार्यक्रमबाट १२५ मुलुकलाई सात करोड २० लाख डोज खोप वितरण गरिसकिएको छ ।
खोप साझेदारी
‘खोप कूटनीति’ र ‘खोप ऐक्यबद्धता’ जस्ता योजनाका बाबजुद धेरै मुलुकले आफ्नो खोप विदेश निर्यात गरिरहेका छैनन् ।
एयरफिनिटीको अनुमानअनुसार आपूर्तिको लक्ष्य पालना गरेको भए सन् २०२१ को अन्तिमसम्ममा समग्र विश्वमा थप २ अर्ब ६० करोड डोज खोप बढी हुनेछ ।
यो खोप कोभ्याक्सको सन् २०२१ को समग्र लक्ष्यभन्दा पनि धेरै हो ।
यसरी बढी हुने खोपको ९० प्रतिशत आपूर्ति युरोपेली संघ (ईयू) र पाँच अन्य मुलुक (अमेरिका, जापान, बेलायत, ब्राजिल र क्यानडा) मा हुनेछ ।
लिनलेका अनुसार यसरी बढी हुने खोप कोभ्याक्स कार्यक्रमलाई दिने हो भने यसबाट खोपको धेरै आवश्यकता परेका मुलुकका मानिसले कोरोना खोप पाउन सक्छन् ।
अहिले केही मुलुक आफ्ना नागरिकलाई प्रतिरोधी क्षमता बढाउन थप डोज खोप दिने वा बालबालिकालाई पनि खोप दिने योजनामा छन् ।
अहिलेसम्म विश्वभर जति खोपको अर्डर भएको छ, तीमध्ये करिब ५४ प्रतिशत धनी मुलुकले अर्डर गरेका छन् ।
जबकि उनीहरुको जनसंख्याको हिस्सा केवल १९ प्रतिशत मात्र छ ।
अहिले गरीब मुलुक खोप अभियानमा निकै पछाडि परेकाले धनी मुलुकले तत्काल आफूलाई बढी हुने खोप दिनुपर्ने विश्लेषकहरु बताउँछन् ।
अमेरिकाले आफूसँग बढी भएको एस्ट्राजेनेकाको ६ करोड डोज कोरोना खोप अन्य मुलुकलाई दिने घोषणा गरेको छ ।
यद्यपि अमेरिकामा भने यसलाई प्रयोगको अनुमति दिइएको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा अनुमति पाएका खोपको पनि दुई करोड डोज अन्य मुलुकमा पठाउन सक्ने बताएका छन् ।
फ्रान्सले जुनको अन्तिमसम्ममा कोभ्याक्सका लागि पाँच लाख डोज खोप दिने बताएको छ ।
युनिसेफका खोप केन्द्रका प्रबन्धक एन अटोसेनका अनुसार खोपको खोजी, उत्पादन तथा वितरणको गति ऐतिहासिक छ ।
यद्यपि अहिले समग्र विश्वलाई खोप आपूर्तिको चुनौती देखिएको छ ।
विश्वका स्वास्थ्य क्षेत्रको नेतृत्व गरिरहेका मानिसहरुले पनि कम तथा मध्यम आय भएका मुलुकमा कोरोना खोप उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।
यद्यपि त्यसको लागि अहिलेसम्म कुनै ठोस विकल्प भने आएको छैन ।
प्रतिक्रिया दिनुहोस्