कोपा कप: इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
कोपा कप: इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
इक्वेएडोलाई पेनाल्टी शूटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टीनेजले पेनाल्टी शूटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेर अर्जेन्टिना लगातार पाँचौं सेमिफाइनलमा प्रवेश गरेको हो ।
कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी शूटआउटबाट निर्धारण हुने प्रावधान रहेको छ । त्यसकारण खेल १-१ को बराबरीमा सकिएपछि टाईब्रेकर तर्फ धकेलिएको थियो ।
टाईब्रेकरमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी क्रसबारमा लागेर बाहिरियो । तर सधैझै मार्टिनेज चम्किए । उनले इक्वेडोरका एन्जल मेना र एलन मिन्डाको पेनाल्टी बचाए । जोन येबोआह र जोर्डी काईसेडोले गोल गरे ।
अर्जेन्टिनाका लागि भने जुलियन अल्भारेज, एलेक्सिस मकयालिस्टर, गोन्जालो मोन्टीएल र निकोलस ओटामेण्डीले भने गोल गरे ।
त्यसअघि ३५औं मिनेटमा डिफेन्डर लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो । लियोनेल मेस्सीको कर्नर किकमा एलेक्सिस मक यालिस्तरको फ्लिक अन हेडर पश्चात फार पोस्टमा मार्टिनेजले फ्रिहेडर प्रहार गरेका थिए ।
गोल गरेपछि धेरै मौकाहरु बनाउन नसकेको अर्जेन्टिनाले ६२औं मिनेटमा इक्वेडोरलाई पेनाल्टी मार्फत बराबरी गर्ने मौका प्रदान गर्यो । रोड्रीगो डेपलले बक्स भित्र ह्याण्डबल गरेपछि पाएको पेनाल्टीमा भने इक्वेडोरका कप्तान एनर भ्यालेन्सियाले गोल गर्न सकेनन् । किपर एमि मार्टिनेजले अर्को तर्फ डाइभ गरिसकेको अवस्थामा उनको पेनाल्टी अर्कोतर्फको पोस्टमा लागेर बाहिरियो ।
तर इन्ज्युरी समयको दोस्रो मिनेटमा इक्वेडोरले बराबरी गोल गर्यो । जोन येवोआहको क्रसमा केभिन रोड्रिगेजले हेडर मार्फत गोल गर्दै खेल पेनाल्टी शूटआउटमा धकेले । र अन्ततः शूटआउटमा अर्जेन्टिना विजयी भयो ।
अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेता विरुद्ध सेमिफाइनलमा खेल्नेछ । सो खेल शनिबार बिहान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्