कुमा सागर : उत्कर्षमा एउटा धुन

बुवाले सोधेथे, ‘तँलाई यसले पाल्छ ?’
त्यसबेला उनको हातमा गितार थियो । अल्लारे जोवन । बरालिने मन । गितार बजाउँथे, गीत गाउँथे । छोराको यस्तो चाल देखेर बुवा विरक्तिएका थिए । त्यसैले उनमा संशय थियो, के गाना बजानाबाटै जिन्दगी चल्छ ?




बुवाको प्रश्नमा कुनै जवाफ थिएन, सिद्धी सागर प्रजापतिसँग ।
किनभने उनको जिन्दगीले सुर र ताल पक्रेकै थिएन । मदमग्न बनाउने गीत गाएकै थिएनन् । हजारौं प्रशंसकहरूले घेरिएकै थिएनन् । कन्सर्टहरूमा अविश्राम तहल्का मच्याएकै थिएनन् । सिद्धी सागर प्रजापति असलमा कुमा सागर बनेकै थिएनन् ।
यो त्यही बेलाको कुरा हो, जतिबेला उनी कामकुरो छाडेर यताउता भौंतारिन्थे । बिहान भात खाएर हिँडेको छोरो राति मात्र घर फर्कन्थे । पढाइलेखाइ गोलमाल थियो । विद्यालय गएको केटो खोलामा पौडी खेल्दै गरेको भेटिन्थ्यो । बेपर्वाह सुरापान गरिरहेको भेटिन्थ्यो । लाप्पा खेलिरहेको भेटिन्थ्यो ।
एकफेर यस्तै अवस्थामा उनी बुवाको फेला परे । बुवा जो कडा मिजासका थिए, रामधुलाई नहान्ने कुरै भएन । नराम्ररी धुलाई भेटे । बुवाबाट यस्तो धुलाई भेटिरहन्थे, बेलाबेला ।
त्यसपछि उनलाई घरको संघार नाघेर बाहिर जानै बन्देज भयो । उपद्रो छोरोलाई तह लगाउने यही एउटा सूत्र बाँकी थियो । उनलाई होम रिह्याबमा राखियो ।
महिनौंसम्मको त्यो एकान्तवासमा उनले के–के सोचे होलान् ? के–के खोजे होलान् ?
एकदिन बुवा उनको नजिक आए । उनले भने, ‘अब घरमै बस्, बरु गिटार बजाएर बस् ।’ बुवाले उनलाई इलेक्ट्रिक गिटार किनिदिए । बुवाले कसरी उनको हृदयको भाषा बुझे ?
गिटार उनलाई चाहिएकै थियो । त्यो पनि इलेक्ट्रिक गिटार । त्यहीँ गिटारको स्ट्रिङमा औंला नचाउँदै जीवन संगीतको धुन खोज्न थाले ।
०००
संगीत रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ चलिरहेको थियो । उनले अधैर्यसाथ त्यसको फेसबुक पेजमा म्यासेज गरे, ‘म पनि गाउँछु, मलाई गाउने मौका दिनुपर्यो ।’
वर्ष बित्यो ।
तर, जवाफ आएन । उनले थाहा पाए, सो कार्यक्रमको लागि डिजिटल अडिसन दिनुपर्छ । एप डाउनलोड गरे । गीत गाएर पठाइदिए ।
दुई महिना बित्यो ।
उनको मोबाइलमा फोन आयो । डिजिटल अडिसन दिएको कुरा उनले बिर्सिसकेका थिए । फोनमा सोधियो, ‘सागर भाइ हो ? तपाईं ब्लाइन्ड अडिसनमा पर्नुभएको छ । आउनुहोस् ।’
उनी मख्ख परे । भ्वाइस अफ नेपालको स्टुडियोमा पुगे । त्यहाँ उनीजस्ता थुप्रै प्रतिस्पर्धी हाजिर थिए । उनलाई नेवारी गीत गाउन लगाइयो । गीत गाइदिए । र, फर्किए ।
दिनहरू बित्यो ।
उनको मोबाइलको घण्टी बज्यो । फोनकर्ताले सोध्यो, ‘भाइ तिमी कहाँ हो ? च्यामासिह होइन ? म भ्वाइस अफ नेपालबाट । घर अगाडि बस्दै गर, हामी आउँदैछौं ।’
उनी बेपत्तासँग खुसी भए । अनि घर अघिल्तिर उँभिएर पर्खिरहे । तर उनलाई लिन कोही आएनन् । पछि थाहा भयो, चिनेजानेकै दाइले उनलाई प्राङ्क गरेका रहेछन् ।
केही दिन बित्यो ।
फेरि उसैगरी फोन आयो । ‘भाइ हामी भ्वाइसबाट’ फोनकर्ताले सुरुमै भन्यो, ‘घर बाहिर निस्केर पर्खिराख, हामी आउँदैछौं ।’
उनले रुखो स्वरमा लापरबाहीसाथ भनिदिए, ‘ल ल आउनु, म पर्खिबस्छु ।’ तर साँच्चै नै भ्वाइस अफ नेपालको गाडी घर अगाडि रोकिएको थियो । खुसीले उनको आँखा रसायो । उनले कतिपनि ढिला नगरी बुवालाई फोन गरे, ‘बुवा बुवा मलाई लिन भ्वाइस अफ नेपालको गाडी आएको छ । मैले त्यहाँ गाउन पाउने भएँ ।’
बुवालाई दिनसक्ने सबैभन्दा खुसीको उपहार थियो यो । बुवाले उनका लागि के मात्र गरेका थिएनन् ? पढीगुनी राम्रो मान्छे बनोस् भनी स्कुल हालिदिए, गरिखान सिकोस् भनी पसल खोलिदिए । तर, उनले भाका टिपेनन् । मनमौजी हिँडिरहे ।
त्यसदिन बुवा र आमाको भिडियो खिचिंदै थियो । उनको आँखाबाट आँशु झरिरह्यो, हर्षको ।
०००
बुवा चाहन्थे, ‘छोरोले राम्ररी पढोस् ।’
सिद्धी सागर कल्पन्थे, ‘यो किताब र स्कुल सम्झनै नपरे हुन्थ्यो ।’
बुवा छोराको यही अन्तर्द्वन्द्व उत्कर्षमा पुग्दै थियो । सिद्धी सागर होम रिह्याबमा थिए । उनले एकदिन देखे, आफ्ना दौतरीहरू कलेज ड्रेसमा हिँडिरहेका छन् ।
उनी खिन्न भए । त्यसबेला उनले पढाइ छाडिसकेका थिए, ९ कक्षामै । किताब छुटेको थियो, साथीभाइ छुटेका थिए र समय पनि ।
उनले बुवालाई अप्रत्याशित भने, ‘म फेरि पढ्छु ।’
बुवा फिस्स हासे । उनलाई पत्यार लागेन शायद । बेवास्तापूर्वक भने, ‘तँ फेरि पढ्ने ?’
सिद्धी सागरले संक्षिप्तमा उही कुरा दोहोर्याए, ‘पढ्छु ।’
उनले खुला विद्यालयबाट एसएलसी दिए । सर्वोत्कृष्ट अंक निकाले । बुवा दंग परे । त्यसबेलासम्म उनलाई पढाइ पट्यारलाग्दो होइन, रहरलाग्दो लाग्न थालेको थियो । लेखपढ गर्नमा पनि बेग्लै आनन्द महसुस गर्न थालेका थिए ।
एसएलसीपछि उनले प्लस टु गरे । प्लस टु पछि के गर्ने ?
उनीसँग तयारी जवाफ थियो, ‘अब्रोड स्टडी ।’
तर, यही मोडमा पुगेपछि उनको पाइला मोडियो । उनले कन्सल्टेन्सीको फन्को लगाएनन् । बरु संगीतको आलोकमा प्रवेश गरे ।
त्यसो त बाजेको संगत र घर्षणले उनलाई धुनहरूको नजिक पुर्याएको थियो । बाजे भजन गाउँथे, बाजा बजाउँथे । आमा भन्थिन्, ‘तँ पनि भजनमा जा !’ बाजेलाई पछ्याउँदै उनी भजन मण्डलीमा पुग्थे । भजनको भाकामा स्वर मिसाउँथे । संगीतको झंकारले उनलाई स्पर्श गरिसकेको थियो ।
टोलमा चिनापर्चीका दाइहरु गिटार बजाइरहेका हुन्थे । गीत गाइरहेका हुन्थे । सानोतिनो कन्सर्ट गरिरहेका हुन्थे । उनी त्यही माहौलमा मिसिए । गिटार सिक्न रहर गर्थे । एउटा कर्ड सिक्दा गमक्क पर्थे । सुरुमा उनले सी कर्डमा हात बसाए । अनि गाउने अभ्यास गरे, ‘चिहानकी परी ।’
यही गीत थियो, जुन उनलाई गिटारमा बजाउन आउँथ्यो । गाइरहन्थे र सुनाइरहन्थे चिनेजानेकालाई ।
गिटारप्रति आशक्ति बढ्दै थियो । उनले थाहा पाए, एकजना दाइले गिटार बेच्दैछ । गिटारको मूल्य पन्ध्र सय । उनीसँग यत्तिका पैसा थिएन । भएको पाँच सय रुपैयाँ दिंदै भने, ‘बाँकी म तिर्छु ।’
उधारोमा लिएको गिटार बोकेर उनी घर गए । तर, घरमा गिटार जोगाउने कसरी ? बुवा–आमालाई त्यसैसँग झोंक चलिरहेको । फुटाइदिन बेर छैन ।
त्यसबेला उनलाई हेभी मेटलले मोहनी लगाइसकेको थियो । अमेरिकी संगीत समूह पेन्टेराको संगीतले उनी अघाउँदैथने । यही आशक्तिले उनलाई आफूजस्तै साथीहरू खोज्न उकास्यो । साथीहरू भेटिए । ब्यान्ड बनाए । संगीत अभ्यास गर्न थाले । जस्तापाताले छाएको सानो टहरामा उनीहरूको बाजागाजा हुन्थ्यो । त्यहीँ संगीत अभ्यास पनि ।
ड्रम, गिटारसँगै आउने चर्को स्वरले छिमेकीको निद्रा बिथोल्थ्यो । तिनीहरू रिसाएर ढुंगा बर्साउथे । एकतमासले हेभी मेटल घन्काइरहेका केटाहरू हठात् चुपचाप लाग्थे । फेरि अभ्यास थालौं ? जस्तापातामा ढुंगा बज्रने निश्चित थियो ।
हेभी मेटलमै अभ्यस्त उनीहरू नारायण गोपालको गीत पनि चर्किएर गाइदिन्थे । मान्छेहरु भन्थे, ‘तैले गाएको गीत मिलेकै छैन ।’
उनी आफ्नै पारामा जवाफ दिन्थे, ‘होइन, यो यस्तै हो ।’
न उनीहरु आफ्नो रहर खुलेर व्यक्त गर्न सक्थे । न आफ्नो विधाको निर्धक्क परिभाषा दिन सक्थे । न आफ्नो धुन उन्मुक्त ओकल्न सक्थे ।
०००
‘भाइ तिमीलाई मायाको डोरीले गीत परेको छ’ भ्वाइस अफ नेपालको स्टेजमा उक्लनुअघि भनियो । उनलाई त लागेको थियो, त्यहाँ आफ्नो मर्जी अनुसार गीत रोज्न र गाउन पाइन्छ । तर, त्यस्तो भएन ।
जब जब उनी गाउन अग्रसर हुन्थे, यस्ता यस्तै गीतहरु गाइदिन आफर आउथे । चाहे टोलको कन्र्सटमा होस् वा रेष्टुराँको मन्चमा होस् । एकदिन उनलाई नारायण गोपालको गीत गाउन भनियो । उनले गाइदिए । गाएपछि लाग्यो, ‘मलाई अरुखाले गीत पनि खत्रै गाउन आउने रहेछ ।’
भ्वाइस अफ नेपालको मन्चमा उक्लिएपछि यो आत्मबल अरु बढ्यो, जब सामुन्नेका निर्णयकहरुको कुर्सी उनीतर्फ फर्किरहेको थियो । दर्शकहरु हुटिङ गरिरहेका थिए । यसबेला उनलाई लाग्यो, ‘मैले बबाल गाएँ ।’
तर, त्यस्तै लागेन जब सो भिडियो प्रसारण भयो ।
अब उनी अरु अभ्यास गर्न थाले । अरुले कसरी गाउँछन् ? कस्तो गाउँछन् ? सुक्ष्म अध्ययन गरे । आफैं पनि गीत लेखे । धुन भरे । तर, भ्वाइस अफ नेपालबाट उनी बाहिरिए ।
भ्वाइस अफ नेपालको यात्रा टुंगिएको थियो । जीवन संगीतको होइन । उनले आफ्नो सांगीतिक दौडलाई जारी राखे । गीत लेख्ने, धुन भर्ने, गाउने, रेकर्ड गर्ने उपक्रम रहिरह्यो ।
…
कुमा सागर एन्ड द ख्वाप, शहरमा जो उत्कर्षमा छ ।
जहाँ-जहाँ यो सांगीतिक समूह पुग्छ, त्यहाँ अनौठो सांगीतिक झंकार पैदा हुन्छ । युवा दर्शकको ठूलो जमातको भीड लाग्छ । स्वरमा स्वर मिलाउँदै गाउन थाल्छ । चर्को हुटिङ हुन्छ, लगातार ‘वान्स मोर’ ।
यतिबेला कसले गाउँदैन, ‘हावाको लहरसँगै उँडिरहन मन भो नि ।’ यतिबेला कसले सुन्दैन, ‘ओ चम्पा गना वाना ।’
जेन जी पुस्तामा कति रहरलाग्दो क्रेज !
मेटल र लोक संगीतको संयोजनले हो वा कुमा सागरको विनम्रताले ? बाजेको भजन, नेवारी जात्रा–परम्पराको पार्श्व धुन अनि हेभी मेटलको घर्षण । संभवत कुमा सागरको गायकी यही धरातलको सुरम्य भाका हो ।
प्रतिक्रिया दिनुहोस्