कुनै पनि राष्ट्रका बीचमा विवाद उत्पन्न भएमा शान्तिबाट समाधान खोजिनुपर्छ : राष्ट्रपति भण्डारी

फाइल तस्बिर

१४ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि राष्ट्रहरूका बीचमा विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्ने नेपालको मान्यता रहेको बताएकी छिन्।

शनिबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विश्‍वमा आणविक हतियारको होडबाजी रोकिनुपर्नेमा जोड दिँदै सबै प्रकारका युद्धको विरोध गर्ने बताएकी हुन्।

frontline

संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्‍व-बन्धुत्वको भावना, अनाक्रमण र अहस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवम् विकासमा योगदान गर्ने नेपालको स्पष्ट दृष्टिकोण रहेको बताइन्।

जलवायु परिवर्तन आजको विश्‍वले भोग्नुपरेको ठूलो चुनौतीका रूपमा खडा भएको भन्दै उहाले यसका लागि अन्तर्राष्ट्रिय कानुनहरू बन्न बाँकी नै रहेको धारणा राखिन्। उनले न्यायमा आधारित विश्‍व व्यवस्थाले मात्र नेपाल जस्ता राष्ट्रहरूको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्नसक्ने बताइन्।

नेपाल संयुक्त राष्ट्रसंघको वडापत्र, मानवअधिकारको विश्‍वव्यापी घोषणापत्र, आफूले हस्ताक्षर गरेका द्विपक्षीय, बहुपक्षीय सन्धि, अभिसन्धि र महासन्धिप्रति सदैब प्रतिबद्ध रहेको बताइन्।

राष्ट्रपति भण्डारीले नेपालमा हुने अन्तराष्ट्रिय सम्मेलनहरुले नेपालको पहिचान अन्तर्राष्ट्रिय जगतमा अझ विस्तारित हुने र अन्तर्राष्ट्रिय कानुनको विकासमा नेपालको योगदान स्थापित हुने विश्वास गरिन्।

उनले भनिन्, ‘न्यायको सम्बन्ध कर्तव्य र उत्तरदायित्वसँग हुने भएकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्‍वका राष्ट्रहरूले जनाएको प्रतिबद्धता तब मात्र हासिल हुन सक्दछ, जब हरेक मुलुकसँग यसबारे न्यायपूर्ण दृष्टिकोण र भावना निर्माण हुन्छ।

अन्तर्राष्ट्रिय सम्मेलनको एउटा महत्वपूर्ण लक्ष्य पारस्परिक अन्तरक्रियाका माध्यमबाट ज्ञान, अनुभव र सम्बन्धित विषयमा विकास भएका नवीनतम् सिद्धान्त एवं अभ्यासका बारेमा जानकारी साझा गर्नु रहेको हुन्छ।

यस सम्मेलनले आपसी सम्बन्ध, मित्रता र छलफललाई स्थायी रूपमा अगाडि बढाउँदै अन्तर्राष्ट्रिय कानुनका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरेको छु।’

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here