किसिम किसिमका उद्घाटन शैली- कतै तामझाम, कतै उटपट्याङ

पोखराको बेलुन विस्फोटबाट भएको दुर्घटनाले आयोजकलाई सुरक्षा संवेदनशीलता अपनाउन चेताएको छ नै, त्यो भन्दा बढी त हाम्रा समारोह, उद्घाटन तथा घोषणा कार्यक्रमहरुको शैलीबारे घोत्लिन बहस माग गर्छ ।
५ फागुन, पोखरा । उद्घाटनजस्तो औपचारिकताका लागि जति लामो तयारी चल्ने गर्छ, त्योभन्दा बढ्ता यसमा हुने तडकभडक र उट्पट्याङले यसको सतहीपना उजागर गर्छ ।




शनिबार पोखरामा भएको दुर्घटनालाई हेरौं, जहाँ अर्थमन्त्री र पोखरा मेयर नै दुर्घटनामा परे ।
‘पोखरा भ्रमण वर्ष-२०२५’ घोषणा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य जलेर घाइते भएको घटना कति गम्भीर हो भन्ने कुरा सरकारले छानबिन समिति बनाएबाट नै पुष्टि हुन्छ ।
एकातिर पोखराको घटना कसरी घट्यो भन्ने अनेक कोणबाट बहस र छलफल भइरहेको छ भने अर्कातिर सार्वजनिक समारोह, उद्घाटन तथा घोषणा कार्यक्रमहरुको शैली कस्तो छ र कस्तो हुनुपर्छ भन्ने बहस पनि चलिरहेको छ ।
भ्रमण वर्ष घोषणा कार्यक्रम उद्घाटनका क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरू (स्पारकल्स)सँग ठोकिँदा ठूलो आवाजमा पड्किन पुगे । अर्थमन्त्री पौडेललाई आगोको लप्काले टिपेपछि मञ्चतिर दौडिए भने मेयर आचार्य आगोको मुस्लोमै परेका थिए ।
उनीहरुको पोखरामा सामान्य उपचार गरी आगोले जलेकाहरुको उपचार गर्ने कीर्तिपुरस्थित वर्न अस्पतालमा हेलिकप्टरमार्फत पुर्याइयो । दुवै जना खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
यो घटना छानबिन गर्न गृहमन्त्रालयद्वारा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा गठित समितिले १५ दिनभित्रै प्रतिवेदन बुझाएपछि कारण खुल्ला । तर कार्यक्रम उद्घाटनका क्रममा हुने उट्पट्याङ व्यवस्थापन, तडकभडक, प्रयोग गरिने सामग्री तथा शैलीका बारेमा पनि चासो र चर्चा भइरहेको छ ।
लम्बेतान आसन र भाषण, प्रमुख अतिथिबाट गरिने/गराइने उद्घाटनको शैली, नेताहरुलाई भारी माला र खादा, पिर्के सलामी लगायतका तडकभडकले कार्यक्रम नै पट्यारलाग्दा हुने गरेका छन् ।
आगोका झिल्का निस्किरहेकै ठाउँमा अति प्रज्वलनशील मानिने हाइड्रोजन ग्यास भरिएका बेलुनहरुको झुत्तो लैजाँदा भएको दुर्घटनाले सबैको ध्यान खिचेको छ । कार्यक्रम व्यवस्थापनमा भएको कमजोरी र सामान्य प्राविधिक ख्यालसमेत नगरेर बढी तडकभडकबाट निम्तिएको दुर्घटनाले ठूलो क्षतिबाट जोगिए पनि विभिन्न प्रश्नहरु भने उब्जाएको छ ।
लम्बेतान आसन र भाषण, प्रमुख अतिथिबाट गरिने/गराइने उद्घाटनको शैली, नेताहरुलाई भारी माला र खादा, फिर्के सलामी लगायतका तडकभडकले कार्यक्रमहरु नै पट्यारलाग्दा हुने गरेका छन् ।
कार्यक्रमको विषय र उद्घाटन तथा घोषणामा प्रयोग गरिने शैलीको तालमेल नमिल्दा कतिपय बेला प्रमुख अतिथि नै आलोचनाको केन्द्रमा पर्ने गरेका छन् भने व्यवस्थापनमा ध्यान नदिँदा कार्यक्रमको औचित्यमाथि नै व्यंग्यसमेत हुने गरेका छन् । तर यसबाट पाठ सिक्ने र कार्यक्रमलाई मौलिक, विषय सुहाउँदो बनाउन ख्यालै नगरिँदा बेला बेला दुर्घटनासमेत हुने गरेका छन् ।
पोखराको दुर्घटनासँगै उद्घाटन कार्यक्रमहरुमा देखिएका र चर्चामा आएका केही उटपट्याङ तथा शैलीको स्मरण पनि यतिबेला धेरैले गरिरहेका छन् । सुरुमा त्यस्ता केही नमुना घटनाहरु हेरौं ।
मेयर आफैंले डोजर चलाउँदा ५ जना घाइते
पोखराको बीच शहर हुँदै बग्ने फिर्के खोलामा पैदल मार्ग बनाउने कामको थालनी गर्ने कार्यक्रम थियो ।
फिर्के खोला संरक्षण गर्ने र त्यहाँ पैदलमार्गसहित बनाएर सौन्दर्यीकरण गर्ने कामको थालनी गर्न पोखराका तत्कालीन मेयर मानबहादुर जिसी आफैं हाजिर थिए । मेयर जिसीले आफैं डोजरमा चढे र लिभर दबाउँदा डोजरको बकेटले रेलिङ भत्कायो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसारै मेयर जिसीले अपरेटरकै साथमा बसेर डोजर चलाइदिएपछि दुखद् घटना घट्यो । डोजरको फोर्सले धक्का दिँदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे ।

ठूलो जनधनको क्षति नभए पनि पत्रकारसहित ५ जना घाइते भए । यो घटनाको देशैभरि चर्चा भयो र मेयर जिसी आलोचनाको केन्द्रमा रहे । यो घटना २०७५ साल असार १ गतेको हो ।
पैदल मार्ग बनाउने कामको थालनी मेयर आफैंले डोजर चलाएपछि थुप्रै ट्रोलहरु बने । पछि फिर्केको फुटट्रयाक बनाउने काम नै रोकियो तर फिर्के अतिक्रमण रोकिएन । अहिले पनि फिर्के संरक्षण र सौन्दर्यीकरणको बहस भइरहन्छ र त्यो घटना पनि विषयसँगै चर्चाको विषय बनिरहन्छ ।
जब प्रचण्डको पेस्तोल पड्किएन
गत जेठ ५ गते काठमाडौंमा ‘कान्तिपुर हाफ म्याराथन’ थियो । म्याराथनको उद्घाटन गर्ने प्रमुख अतिथि थिए, तत्कालीन प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
म्याराथनको उद्घाटन आकाशतिर फर्काएर पेस्तोल पड्काएर गर्नका निम्ति प्रचण्डलाई हतियार थमाइयो । तर पेस्तोल पड्किएन । केहीबेरको प्रयासपछि बल्ल पड्कियो तर सँगै रहेका व्यक्तिहरु झस्किए । प्रचण्डलाई फेरि अर्को पटक पनि पेस्तोल पड्काउन लगाइन्छ ।
‘पेस्तोल राम्रो रहेनछ, अघि मैले अट्याउँदाखेरि पड्किहालेन । अहिले पनि पड्किन्छ कि पड्किँदैन थाहा छैन,’ दोस्रो पटक पेस्तोल पड्काउनुअघि प्रचण्ड भन्छन्, ‘म पड्काउँछु, पड्किएन भने सुरु भयो भनेपछि तपाईंहरु कुद्नुहोला ।’

कार्यक्रम उद्घाटनको यो दृश्य टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरलै बन्यो । प्रमुख अतिथि रहेका प्रचण्डमाथि व्यंग्य भयो भने उनी ट्रोलको सिकारसमेत बने ।
‘हतियारबाटै सत्ता कब्जा गर्ने भन्दै युद्ध नै लडेर शान्ति प्रक्रियामा आएका प्रचण्डको पेस्तोल ओसिएछ, पड्किएन’ प्रचण्डमाथि व्यंग्य भए । कार्यक्रम उद्घाटन र व्यवस्थापनको तालमेल नमिल्दा प्रमुख अतिथि नै हाँसोको पात्र बने । अहिले पनि प्रचण्डले पेस्तोल पड्काएको त्यो दृश्य सामाजिक सञ्चालमा आइरहन्छ ।
उद्घाटन, शिलान्यास, कुनै अभियानको घोषणाका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत बेला बेलामा चर्चामा आइरहन्छन् भने नेतालाई लगाइने सयौं किलोका मालाले नेताहरुलाई गिज्याइरहने नागरिक अभियान्ता डा. अनिल सुवेदी बताउँछन् ।
डोरीमा झुण्डिएर सुपरम्यान शैलीमा स्वर्णिमलाई माला
विद्यालयको चौथो तलाबाट कार्यक्रमको मञ्चसम्मै डोरी टाँगिएको थियो । कार्यक्रममा प्रमुख अतिथि थिए, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले ।
जब कार्यक्रमको थालनी भयो र प्रमुख अतिथि वाग्ले आइपुगे, तब विद्यालय भवनको चौथा तलाबाट डोरीमा झुण्डिएर ‘सुपर म्यान’ छात्रा हातमा मालासहित आउँछिन् र स्वर्णिमको गलामा पहिर्याउँछिन् ।
गत पुस २७ गते तनहुँको आँबुखैरेनी गाउँपालिका- ३ को रामशाह माविको ३४औं वार्षिकोत्सवको घटना हो यो । उनले वाग्लेमाथि फूलको वर्षासमेत गराएकी थिइन् । विद्यालयले अपनाएको स्वागत गर्ने यो शैली एकाएक भाइरल बन्यो भने स्वर्णिमलाई समेत विवादमा तान्यो ।
जति नै तयारी र अभ्यास गरिएको भए पनि पनि नेताको स्वागतमा विद्यार्थीलाई जोखिमपूर्ण काममा लगाएको भन्दै चौतर्फी आलोचना भएको थियो । स्वर्णिमले आफूलाई स्वागतको यो शैली थाहै नभएको बताएका थिए भने विद्यालयले पूर्वतयारी गरेको स्पष्टीकरण दियो ।
रित्तो दर्शनदीर्घामा मन्त्रीको उद्घाटन भाषण !
हाम्रा सार्वजनिक समारोह र प्रमुख अतिथिको भूमिकोमा अर्को नमूना हो, रित्तो दर्शकदीर्घामा मन्त्रीको भाषण ।

गत साल पुस १३ गते पोखरा रंगशालामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह थियो । प्रमुख अतिथि थिइन्, गण्डकी प्रदेश सरकारकी तत्कालीन सामाजिक विकास तथा खेलकुदमन्त्री सुशीला सिम्खडा ।
उद्घाटन कार्यक्रमका सहभागी अधिकांश गइसकेका थिए । तर मन्त्री सिम्खडा भने प्रमुख अतिथिको भाषण गरिरहेकी थिइन् । मन्त्री बोलिरहेको भिडियो, रित्तो दर्शकदीर्घातिरबाट स्वकीय सचिवसमेत रहेका मन्त्रीकै श्रीमान्ले फोटो खिचिरहेका थिए । यो तस्बिर भाइरल भयो ।
कार्यक्रमको व्यवस्थापन र प्रमुख अतिथिले ख्याल नगर्दा कसरी आलोचित हुन्छन् भन्ने यो तस्बिर उदाहरण बन्न पुगेको छ । भएभरका सबै मञ्चमा बस्ने, सहभागी नै गइसकेको भए पनि भाषण गर्न नछाड्ने प्रवृत्तिले कार्यक्रमहरु कति उराठलाग्दा बन्छन् भन्ने यो गतिलो उदाहरण हो ।
पोखराको दुर्घटनासँगै उद्घाटन कार्यक्रमहरुमा देखिएका र चर्चामा आएका केही उटपट्याङ तथा शैलीको स्मरण पनि यतिबेला धेरैले गरिरहेका छन् ।
नेताको उद्घाटन मोह बोल्ने बुल्दीखोला घटना
दलका नेताहरुमा उद्घाटन मोह कतिसम्म राजनीतिक प्रतिष्ठा र प्रतिशोधको विषय बन्छ भन्ने अर्को उदाहरण हो, तनहुँको बुल्दीखोला पुल उद्घाटन ।
नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल र तत्कालीन एमाले सांसद किसान श्रेष्ठको प्रतिष्ठाको लडाईँले पुल्दीखोला पुल उद्घाटन देशैभरि चर्चा र राजनीतिप्रति नै व्यंग्यको विषय बन्न पुगेको थियो । घटना २०७७ मंसिर १७ को हो ।
तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दीखोलामा पक्की पुल बनेपछिको उद्घाटन विवादले दमौली बजार नै तनावग्रस्त बन्न पुग्यो । कांग्रेस वरिष्ठ नेता पौडेललाई उद्घाटन गर्न एमालेबाट रोकिएपछि पौडेलकै नेतृत्वमा दमौलीमा आन्दोलन भयो ।
एमाले र कांग्रेसले फरकफरक र्याली तथा विरोध सभाहरु गरे । र्याली, प्रदर्शन गर्दै दमौली बजारमा टायर बल्यो । अश्रुग्यास नै प्रहार भयो । ब्यास नगरपालिकामा निषेधाज्ञा जारी भयो । र, नेता पौडेल समेत पक्राउ परे ।
पौडेल पक्राउ परेपछि कांग्रेस एकाएक जाग्यो । आन्दोलन घोषणा गर्दै सरकारलाई खबरदारी गरेपछि पौडेल छुटे । विवाद र द्वन्द्वका बीच ठूलो आमसभा गर्दै कांग्रेस नेता पौडेलले नै पुल उद्घाटन गरे र शिलालेखमा नाम लेखाए ।

नेपालमा उद्घाटनको मोह, कतिसम्म हुन्छ र त्यसका निम्ति नेताहरु कतिसम्म पुग्छन् भन्ने बुल्दीखोला पुल उद्घाटन काण्ड अहिलेसम्म पनि गतिलो उदाहरण बन्न पुगेको छ ।
बढी तडकभडक र व्यवस्थापनमा कमजोरी
माथि उल्लेखित घटना त केही उदाहरण मात्रै हुन् । नेपाली समाजमा हुने सार्वजनिक समारोह र त्यसको शैलीको उदाहरण पेस गर्न सकिने यस्ता थुप्रै घटना सबैले देखेकै छन् ।
गत वर्ष श्रमदानबाट चितवन रामनगरमा पानी पुगेपछि खादा, माला, कुर्ता, पाइन्ट, जुत्तासहित धारामै थापिएका रवि लामिछानेको दृश्यले नयाँ भनिएका दल पनि कसरी प्रचारबाजीमा रमाउँदै उटपट्याङ गर्छन् भन्ने देखाउँछ । युट्युबरको समूह नै लगेर धरानका मेयर हर्क साङ्पाङको सिको गर्दै रविले अपनाएको यो शैलीले पनि नेताहरुको प्रचार मोहलाई झल्काउँछ ।

नेतालाई फूलमालाको भारी, ठूलो र्याली र बाजागाजासहित स्वागत, पिर्के सलामीदेखि उद्घाटन शिलान्यास, घोषणामा हुने तडकभडक र शिलालेखमा नाम लेखाउने होडबाजी नै हुने गरेको छ ।
पोखरामा शनिबार पनि त्यस्तै तडकभडक र कार्यक्रमलाई भव्य बनाउन खोज्दै अपनाइएको शैलीले घटना निम्त्याएको समाजशास्त्री डा. आरसी बरालको भनाइ छ । राजनीतिको सामाजिक मनोविज्ञान पनि त्यसरी नै विकास भएको तर्क बरालको छ ।
दुर्घटना अचानक हुने भए पनि सामान्य विषयमा सचेत रहिदिएको भए घटना घट्दैनथ्यो भनेर आवाज उठ्नु स्वभाविक बराल बताउँछन् । ‘पोखराको कार्यक्रममा रैथाने संस्कृति अनुशरण गरिएको भए जोखिम कम हुने थियो भन्ने आम चर्चा छ,’ बराल भन्छन्, ‘यसको प्राविधिक कारण पछि खुल्ला तर हाम्रा सार्वजनिक समारोहहरु भुत्ते बन्दै गइरहेका छन्, बढी तडकभडक र अर्काको देखासिकी गर्ने प्रवृत्ति हाबी छ ।’
पर्यटन भ्रमण वर्षजस्तै यस्ता घोषणाहरुमा अभियानको लोगो र कार्यक्रमको नाम लेखेर बेलुनमा तुल झुन्ड्याएर उडाउने नेपालमा प्रचलन नै बसिसकेको छ । बेलुनदेखि फायर क्यान्डिलहरुबिना यस्ता उत्सवहरु सम्पन्न हुँदैनन् भन्ने मानसिकता फेरिनुपर्ने बताउँछन्, वातावरणविद् डा. अनिल सुवेदी ।
कार्यक्रममा रिमोर्ट थिचेर फायर क्यान्डिलहरु बालिएको थियो । त्यसलगत्तै हाइड्रोजन भरिएको बेलुन उडाइएको थियो ।
‘विकसित धेरै मुलुकमा प्रतिबन्धित रहेको कार्य हो प्रज्वलनशील ग्याँस भरिएको बेलुन उडाउनु । यो खासगरी प्रकृति र पर्यावरणको अमैत्री अभ्यास हो,’ लेखक तथा अभियान्ता गनेस पौडेल भन्छन्, ‘त्यसमाथि अन्तर्राष्ट्रिय विमानस्थल रहेको सानो उपत्यकामा अति प्रज्वलनशील ग्याँस भरिएको बेलुन उडाउनु ग्वाँजे अभ्यास हो ।’ रिमोर्ट थिच्दैमा कार्यक्रम ‘स्मार्ट’ नहुने उनको भनाइ थियो ।
माटो र उत्पादनसँग जोडौँ, मौलिक शैली अपनाऔं
पोखराले २०२५ लाई भ्रमण वर्ष घोषणा गर्दा बेलुन उडाउने, फायर क्यान्डिलहरु बाल्नेभन्दा पनि यहाँको माटो, उत्पादन र पोखराको झल्को आउने काम हुनुपर्ने वातावरण संरक्षण अभियन्ता हुमबहादुर गुरुङको भनाइ छ ।
पर्यटनका निम्ति इको सिस्टकलाई जोगाइराख्ने, मौलिकता देखाउने र सम्बन्धित ठाउँको महत्व झल्किने काम गरेको भए अर्थपूर्ण हुने गुरुङले बताए । गुरुङले भने, ‘पर्यटकका निम्ति त पोखराले के पस्किन्छ भन्ने महत्वपूर्ण हुन्छ । पर्यटकका निम्ति पोखराको चिनो, यहाँको उत्पादन के हो भन्ने कुरासँग जोडेर उद्घाटन गरिएको भए त्यसको ठूलो अर्थ हुन्थ्यो ।’
पोखरामा भएको बेलुन प्रकरणले सरकारी तथा सार्वजनिक कार्यक्रमहरुको समय, प्रकृति, त्यहाँ प्रयोग हुने सामान, ढाँचासहित कार्यविधि नै बन्नुपर्ने आवाज समेत उठ्न थालेको छ ।
‘पोखराको घटनालाई विभिन्न कोणबाट हेर्छौं । कमजोरी त आउने भइनै हाले, कार्यक्रमहरु कसरी गर्ने भन्ने विषय पनि पक्कै आउने छ,’ सरकारले बनाएको छानबिन समितिका संयोजक तथा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भने, ‘पोखराको घटनाबाट अब हुने कार्यक्रमहरुमा पाठ पनि सिक्नुपर्ने देखिएको छ ।’
प्रतिक्रिया दिनुहोस्