‘किसानको गाथा’ योगविलास र देवकी अधिकारीको संघर्षशील जीवनयात्राको लेखोट

जीवन निर्वाहका निम्ति मानव जातिले संघर्षका अनेक पलहरू गुजार्दै आए । राम्रा र उत्पादनशील भूभागहरू खोज्दै, चहार्दै हिँड्ने स्वभावले नै मानिसलाई परिश्रमी, सिर्जनशील र आत्मनिर्भर तुल्याएको हो । वर्तमानमा सबै खालका सुविधा प्राप्त हुँदा त मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुन चाहन्छन् भने पूर्ववर्ती समयमा अत्यन्तै कम सुविधा भएको बेलामा उत्पादनशील भूमिमा बसाइँ सरेर आफूलाई टिकाउने उपाय रच्नु मानिसहरूका लागि अनिवार्य पक्ष नै थियो ।
धादिङ जिल्लाको सुनौला बजार, नेवारपानीका योगविलास अधिकारीका पुर्खा पनि उत्पादनशील थातथलो खोज्दै आउने क्रममा त्यो थलोमा आएका थिए- १०/१२ पुस्ताअगावै । गोरखाका अधिकारीहरूमध्ये कोही कता, कोही कता बसाइँ सर्ने क्रममा योगविलासको पुर्खा भने प्राकृतिक रूपले मनोरमका साथै पानी, चरन र खेतीयोग्य सो भूभागमा आएर बस्न थालेका हुन् । ‘किसानको गाथा’ तिनै योगविलास र देवकी अधिकारीको संघर्षशील जीवनयात्राको लेखोट हो, जहाँको माटोसँग आत्मीय संवाद गर्दागर्दै र हावापानीसँग अभ्यस्त हुँदै यी दम्पतीले ६७ हिउँद-वर्षा झेलिसकेका छन् ।
मूलतः अधिकारी दम्पतीको जीवनका आरोह-अवरोह वरिपरि नै पुस्तक घुमेको भए पनि अधिकारी परिवारको वंशावली पनि समेटिएको छ । पुस्तकको अर्को खण्ड भने रेवीप्रसाद नेपाल, रेवतीरमण अधिकारी, रमा दुवाडी, बुद्धिनाथ अधिकारी, केशकुमारी कोइराला, निर्मला लामिछाने, राममणि दुवाडी, बाबुराम अधिकारी, सीता लम्साललगायतको आशीर्वचनले भरिएको छ । अधिकारी दम्पत्तिका परिवारका सदस्य, नातागोता र आफन्तहरूले उनीहरूबारे मूल्यांकन गर्न चाहेका छन् । एउटा प्रसंग, अघिल्लो वर्ष विश्वव्यापी रूपमा नै कोरोनाको महामारी फैलिएसँगै रोगप्रतिरोधी क्षमता बढाउने औषधीय तत्वहरूको खोजी गर्ने क्रममा गुर्जोको व्यापक प्रचार भयो । नेपालका प्रायजसो ठाउँमा पाइने गुर्जोको खोजी र त्यसको व्यापक प्रयोग पनि भयो । तर, योगविलासले भने गुर्जोको औषधीय महत्वलाई पहिले नै बुझेका उनका नाति आश्रय अधिकारीका यी शब्दले प्रस्ट पार्दछ, ‘काठमाडौंमा बुबाआमा आउँदा म होस्टेलमा बस्थेँ । घर बस्न थालेपछि भेट भयो । म धेरै नबोल्ने, आमा बोलिरहने । उहाँले मलाई केके, केके सिकाइरहनुहुन्थ्यो । बुबाचाहिँ थोरै र चाहिने कुरा मात्र भन्नुहुन्थ्यो । गर्मीमा पिसाब पहेंलो आउँदा मलाई बुबाले मिश्री हालेर गुर्जोपानी दिनुहुन्थ्यो । अरूले दिएको भए म खान्नथें तर बुबालाई म नाइँ भन्न सक्दिनथें । म स्कुलबाट आएपछि आमाबुबाले खाजा खान दिने र स्कुलको कुरा सोध्नुहुन्थ्यो । धेरै बोल्न नआए पनि म अलिअलि बताउँथें । अहिले पनि उहाँहरूसँग म्यासेन्जर र भाइबरमा कुरा भइरहन्छ ।’
सो पुस्तकको प्रकाशक रहेका प्रगतिशील कवि वासुदेव अधिकारीले भूमिका र प्रकाशकीय लेखेका छन् । उनले पूर्ववर्ती समाज र अहिलेको समाजबीच देखा परेको अन्तरविरोधलाई केलाउँदै आफ्ना अभिभावकको मूल्यांकन यसरी गरेका छन्, ‘खेतबारीको माटोको कणकणमा बाआमाको पसिना पछिसम्मै बसाउँछ जस्तो मलाई लाग्छ । मल तथा भकारोमा डुबेको उहाँको हात अग्र्यानिक बाली उत्पादनको प्रमुख कारक हो । त्यसमा हामीले बेलाबेला सिकसक माने पनि उहाँहरूले जहिल्यै गर्वबोध गरिरहनुभयो । उहाँहरूले हामीलाई एक लबटो नलगाई हुर्काउनुभयो । बा रिसाएको वा हामीलाई गाली गरेको मलाई थाहा छैन । उहाँलाई फुर्सद नभएर नरिसाउनुभएको कि मन नभएर, त्यो म भन्न सक्दिन । तथापि, गाउँमा त्यो विरलै पाइने चरित्र हो । केटाकेटीलाई माया गर्ने, उनीहरूको मनोविज्ञान बुझी व्यवहार गर्ने । त्यो कुरा उहाँले छोराछोरीमा मात्र होइन नातिनातिना र पनातिपनातिनीमा समेत देखाउनुभयो । सही मानिस हुन धेरै पढ्नुपर्छ र ? सज्जन र स्वाभिमानी हुन ठूलो मानिस हुनुपर्छ र ? बाको चरित्र पढ्दा पर्दैन भन्ने निष्कर्ष मैले निकालेको छु ।’
आफ्ना बुवा-आमाप्रति श्रद्धा गर्न कसैले तीर्थस्थलहरू घुमाउँछन्, कसैले अरू धार्मिक वा सामाजिक सत्कार्य गर्छन् तर अधिकारीले भने जीवनभर माटोसँग भिजेका आफ्ना बुवा-आमाप्रति श्रद्धा दर्साउन पुस्तक प्रकाशन गरेर स्तुत्य कार्य गरेका छन् । वर्षौंवर्षसम्म रहने पुस्तक प्रकाशन गरेर आफ्ना अभिभावकप्रति श्रद्धा दर्साउनु आफैँमा सिर्जनात्मक कार्य हो ।
कृति ः किसानको गाथा
विधा ः जीवनी
लेखक ः सुमी लोहनी
प्रकाशक ः वासुदेव अधिकारी
मूल्य ः रु. १०१।-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here