कार्यकर्तालाई ओलीको निर्देशन- १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ, तयारी थाल्नू

‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंमा नेकपा एमालेको नियन्त्रण आवश्यक भएको बताए।
- उहाँले आन्दोलनको समयमा कुनै प्रोटोकल लागू नहुने र तयारी गर्न निर्देशन दिए।
- राजावादीहरूले आन्दोलन गर्ने घोषणा गरेपछि ओलीले पार्टी कार्यकर्तालाई तयारी गर्न आग्रह गर्नुभयो।
११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिएका छन् ।
आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेको छ ।
उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न अध्यक्ष समेत रहेका ओलीले निर्देशन गरेका हुन् ।
यसबारेमा पार्टीले आवश्यक निर्देशन पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए ।
‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।
साथै, उनले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन् ।
‘म साथिहरूलाई आग्रह गर्न चाहन्छु । निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस्,’ प्रधानमन्त्री ओलीले भने ।
साथै, उनले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने पनि बताए ।
‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन । यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र ? सबै एकैतिर,’ ओलीले भनेका छन् ।
राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको बताए ।
‘यिनिहरू कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।
‘त्यसकारण हामीले आफूलाई बुझ्नुपर्यो । आफूलाई चिन्नुपर्यो । आफूलाई त्यस अनुसार तयार राख्नुपर्यो । निर्देशन पछि आउला, १५ गतेका लागि भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने पार्टीले भन्छ,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्