कामु गभर्नरको ‘फेक’ पत्राचार, सोचविचारमा नयाँ गभर्नर

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाबाट पछिल्लो डेढ महिनाको समयमा भएका केही निर्णय र गरिएको पत्राचार विवादास्पद पाइएको छ । रिक्त गभर्नरमा नियुक्त हुने चाहना र होडमा उनले केही गम्भीर व्यहोराको पत्र प्रेषित गरेको स्रोतको दावी छ । भलै आजदेखि डा. विश्व पौडेलले गभर्नरको जिम्मेवारी सम्हालेका छन् । हिजोसम्म कायम मुकायम गभर्नर रहेकी निलम स्वतः डेपुटीमा झरेको अवस्था छ ।




गभर्नर महाप्रसाद अधिकारीले चैत २४ गते अवकाश पाएपछि रिक्त पदमा निलमले २५ गतेदेखि अत्यावश्यक प्रशासनिक निर्णयका लागि कायम मुकायम गभर्नरको जिम्मेवारी पाएकी हुन् । हिजोसम्मको ४४ दिनमा उनले आफूखुशी केही निर्णय गरेको पाइएको छ । जबकि कार्यकारी निर्देशक गुणाकर भट्टले वैशाख ५ गते दिएको राजीनामा उनले अनेक बहानामा अड्काउँदै आइन् ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली काँग्रेसले चैत अन्तिमदेखि डा. गुणाकर भट्टलाई गभर्नरमा अघि सारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भट्टले बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । आफू कायममुकायम गभर्नरको जिम्मेवारीमा रहेको वरिष्ठ डेपुटी,भट्ट कार्यकारी निर्देशक भन्दै राजीनामा स्वीकृत नगरेपछि उत्पन्न ‘विशेष’ परिस्थितिमा हिजोदेखि पौडेल गभर्नर बनेका हुन् ।
केन्द्रीय बैंकका कार्यकारी निर्देशक र निर्देशकहरु विभिन्न सरकारी स्वामित्वका संस्थामा प्रतिनिधित्व गर्ने व्यवस्था छ । सोहीअनुरुप पछिल्लो समय उनै भट्ट कर्जा सूचना केन्द्रको अध्यक्षको जिम्मेवारीमा पनि थिए । आज दिउँसो ३ बजेसम्म भट्ट अध्यक्ष रहेको केन्द्रको वेवसाइटमा दिउँसो साढे ३ बजेपछि रामशरण खरेल तोकिएका छन् । खरेल प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाका छोरीज्वाईं हुन् । बैंकका कार्यकारी निर्देशकहरुमध्ये पुछारबाट पहिलो नम्बरमा रहेका खरेललाई गत आइतबार पठाइएको पत्रपछि केन्द्रको अध्यक्ष बनाइएको हो ।
आइतबार गभर्नरको कार्यालयबाट प्रेषित पत्रमा ‘कार्यकारी निर्देशक भट्टले राजीनामा दिएको र बैंक सेवामा नरहेको’ व्यहोरा उल्लेख गर्दै अर्का कार्यकारी खरेललाई अध्यक्षका लागि पठाइएको स्रोतको दाबी छ । जबकि हिजोसम्म कायममुकायम गभर्नरको जिम्मेवारीमा रहेकी निलमले उनको राजीनामा स्वीकृत गरेकी छैनन् । यसको अर्थ भट्ट आजसम्म पनि बैंकको कार्यकारी निर्देशकमा रहेको कानुनतः पुष्टि हुन्छ । नवनियुक्त गभर्नर पौडेलले आज पदबहाली गर्नुअघि बैंकमा आयोजित स्वागत कार्यक्रममा ‘भट्टजी’लाई नयाँ परिस्थितिमा बैंक सेवामा क्रियाशील हुन आफूले भरमग्दुर प्रयास गर्ने बताइसकेका छन् । यसबाट पनि उनी बैंकबाट अवकाश भइसकेको भन्ने म्याडमले कर्जा सूचना केन्द्रलाई आइतबार लेख्न लगाएको पत्र ‘नियोजित’ भएको स्वतः पुष्टि हुन्छ ।

सामान्यतयाः गभर्नरको कार्यालयबाट लेखिने त्यस्तो पत्र यसपटक खरेल आफैँले तयार पारेर कायममुकायम गभर्नरमार्फत् कार्यालयबाट प्रेषित गर्न लगाएको आशंका धेरैको छ । आफू अहिले गभर्नर बन्ने, आगामी फागुनमा खतिवडाका उनै ज्वाईं खरेललाई डेपुटी बनाउन रचनात्मक भूमिका खेल्ने योजना र चाहनामा रमाउँदा निलमको जागिरे करियर अन्तिम क्षणमा आइपुग्दा ‘ध्वस्त’ भएको छ । डेढ दशकअघि आफू निर्देशक हुँदाहुँदै तत्कालीन गभर्नर युवराजले वरिष्ठताको ९६ नम्बरमा रहेका कनिष्ठ उपनिर्देशक एवम् ज्वाईं खरेललाई अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालय,वासिङ्ग्टन डिसीमा पठाइदिएको घटना बिर्सेकी उनी हिजो साँझदेखि फेरि झस्किएकी छन् । डिसीमा ज्वाईं पठाउने खतिवडाको निर्णयको त्यतिबेला निलमले चर्को विरोध गरेकी थिइन् । अहिले ससुरा र ज्वाईंलाई विश्वास गर्दा उनी चेपुवामा परेकी हुन् ।
केन्द्रीय बैंकले सँधै बैंकिङ कार्यालयका कार्यकारी निर्देशकलाई पठाउने गरेको एनसीएचएलको सञ्चालक समितिमा म्याडमले यसबीच असम्बन्धित विभागका कार्यकारी निर्देशकलाई पठाइन् । कार्यकारी निर्देशकहरुबीच फाटो ल्याउन उनले त्यो हर्कत गरेको बताइन्छ । एकजना खरेलको चाहनालाई मूर्तरुप दिन उनले अन्य सोझा, इमान्दार कार्यकारी र निर्देशकहरुलाई बलिको बोको बनाएको स्वतः पुष्टि हुन्छ ।
पछिल्लो निर्णयानुसार राष्ट्रिय जीवन बिमा कम्पनीको सञ्चालक समितिमा रहेका निर्देशक मुक्ति सापकोटालाई झिकेर माधव दंगाललाई पठाएकी छन् । कर्जा सुरक्षण निगमको सञ्चालकमा कार्यकारी रोशन सिग्देललाई पठाइन् । गत चैत दोस्रो साता उनै सिग्देललाई माया गर्दै चीन सयरमा पठाइएको म्याडमको गलत निर्णय पनि कर्मचारीवृत्तमा आलोच्य बनेको छ ।
कायम मुकायम छँदा निलमले गरेका प्रतिशोधपूर्ण निर्णयलाई उल्टाइने काँग्रेस निकट कर्मचारीहरु बताउँछन् । नयाँ गभर्नरको नियुक्तिपछि उनको सचिवालयमा लैजाने भन्दै चर्चामा आएका एक जना निर्देशकले भने, ‘अब मानव संशाधन विभागबाट ज्वाईंलाई हटाइन्छ । बैंकिङ कार्यालयमा चालिएको प्रतिशोधपूर्ण व्यवहारलाई त्यहाँ मिलाइन्छ । कायममुकायम हुँदा गरिएको स्वेच्छाचारी निर्णय सबै सच्चाइन्छ । म्याडमलाई फागुनसम्मको कार्यकाल पूरा गर्न महाभारत हुने देखिँदैछ ।’
प्रतिक्रिया दिनुहोस्