काभ्रेमा रासायनिक मल : मागभन्दा कोटा कम, गोदाम खाली

२७ जेठ, काभ्रे । कुनै समय काभ्रे जिल्ला सबैभन्दा बढी रासायनिक मल खपत गर्ने जिल्ला थियो । २०७७ मंसिर १ बाट जब कोटा सिष्टम लागू भयो त्यसपछि काभ्रेमा माग अनुसार कहिल्यै रासायनिक मल आएन । किसानले पग्ने गरी मल पाउन छोडे ।
०८०/०८१ मा स्थानीय तहहरुसँगको समन्वयमा कृषि विकास कार्यालय काभ्रेले तयार पारेको डाटा अनुसार १५ हजार १२६ मेट्रिकटन युरिया, ८ हजार ३२० मेट्रिकटन डिएपी तथा २ हजार ५४३ मेट्रिकटन गरी काभ्रेमा मात्र २५ हजार ९९८ मेट्रीकटन माग भएपनि अहिले ६ हजार २२१ मेट्रीकटन मात्र मल आएको कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बताए ।




उनका अनुसार अनुसार ३ हजार ८६४ मेट्रिकटन युरिया, एक हजार ८९७ मेट्रिकटन डिएपी तथा ४६० मेट्रिकटन पोटास मात्र कृषकसम्म पुगेको छ ।
पहाडी भेगमा मकै खेती र धान रोप्ने चटारोमा कृषक छन् । तर, मलको आधिकारिक बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेडको धुलिखेलमा रहेको गोदाममा युरिया मलको मौजात शून्य छ । कृषकको माग अनुसाको मल उपलब्ध गराउनको लागि राज्यले आवश्यक मात्रामा समयमा अनुदान उपलब्ध नगराउँदा विगत बर्षहरुबाटै प्रमुख खेतीको समयमा रासायनिक मलको अभाव भइरहेको छ ।
काभ्रे लगायत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको लागि मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनीको गोदाम खाली अवस्थामा रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख योगेन्द्र पराजुलीले माग अनुसारको कोटा नछुट्टिएको कारण काभ्रेमा समस्या आएको बताए ।
मुख्यत: धान मकै र गहुँबालीको लागि भनेर कोटामार्फत मल दिए पनि अन्य सिजनमा मल उपलब्ध नगराउँदा समस्या भएको पराजुलीको भनाइ छ । ‘काभ्रेमा धान, मकै र गहुँ मात्र हुँदैन, कुनै ठाउँमा ४ बालीसम्म खेती हुन्छ, आलु र तरकारी बढी फलाउने ठाउँमा मलको कोटा अनुसार नआउँदा समस्या भयो,’ पराजुलीले भने , ‘धेरैपटक खेति अनुसारको काभ्रेमा कोटा बढाउन माग गर्दा पनि भएन ।’
कार्यालय प्रमुख पराजुलीका अनुसार त्रैमासिक रुपमा बजेट निकासा गरेर मलको टेण्डर भएर स्वीकृत भएका तीनवटा सप्लायर्सले मल नल्याइदिएका कारण मलको समस्या भएको हो । विशेषगरी काभ्रेमा कोटा प्रणली लागू नहुने बेलामा १९ हजार मेट्रिक टन सम्म खपत हुन्थ्यो । तर, अहिले मुस्किलले ५/६ हजार मेट्रिक टन मात्र काभ्रेको गोदाममा आइपुग्छ ।
गोदाममा मल नभएका कारण जुन दिन गाडीमा मल आउँछ त्यहि दिन कृषकलाई बोलाएर गाडीबाट गाडीमै मल लोड गरेर पठाउने गरेको जानकारी दिए । ‘कृषि सामग्री कम्पनी लिमिटेडमा गत बिहीबार ६ सय र शुक्रबार ६ सय बोरा युरिया मल आएकोमा आएकै दिन सकिएको छ । मागको चाँङ छ तर गोदाम खाली छ’, पराजुलीले भने ।
काभ्रेको पाँचखाल, मण्डन, पनौती, धुलिखेल, बनेपा, नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल, बेथानचोक गाउँपालिका लगायत डाँडापारी, रोशीपारी, कोशिपारी क्षेत्रमा रासायनिक मलको अधिक माग छ ।
त्यस्तै सिन्धुपाल्चोकका मेलम्ची र चौतारा साँगाचोक नगरपालिका, हेलम्बु, इन्द्रवती र सुनकोशी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, सुनापति र दोरम्बा गाउँपालिका तथा दोलखाको भिमेश्वर नगरपालिका, तामाकोशी, वैतेश्वर शैलुङ गाउँपालिका लगायतका क्षेत्रमा रासायनिक मलको माग उच्च छ ।

प्रतिक्रिया दिनुहोस्