काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो, शंखपार्क क्षेत्रको हावा सबैभन्दा अस्वस्थ

२५ चैत, काठमाडौं । नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर स्तरमा पुगेको छ । निकै अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ बजे नेपालको राजधानी काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । भारत नयाँदिल्लीको २७७ र पाकिस्तान लाहोरको २०८ छ ।




गत मंगलबार र शुक्रबार भने विश्वकै प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ । नेपालको राजधानी काठमाडौंको वायुको गुणवत्ता निकै अस्वस्थ रहेको भनेर प्याजी रंगले संकेत गरिएको छ ।
काठमाडौंभित्र पनि शंखपार्क क्षेत्रको हावा सबैभन्दा बढी अस्वस्थ छ । वातावरण विभागका अनुसार शंखपार्कको वायु गुणस्तर सूचकांक एक्यूआई २८४ पुगेको छ ।

त्यसपछि क्रमशः रत्नपार्क, भक्तपुर, भैंसीपाटी, खुमलटार, दाङको देउखुरी, इलाम, धनगढी र रारा क्षेत्रको वायुको गुणस्तर अस्वस्थ छ । ती क्षेत्रको हावा अस्वस्थ रहेको भनेर रातो रंगले संकेत गरिएको छ ।
वातावरण विभागका अनुसार केही दिनदेखि नेपालको विभिन्न क्षेत्रहरुमा लागेको वन डढेलोको कारणले काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थानमा वायू प्रदूषण बढेको हो ।
यस बाहेक उद्योग कलकारखाना, सवारी साधनबाट निस्किने धुँवा, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्किने धुँवा, सडक निर्माण कार्यबाट उड्ने धुलो आदिले पनि वायु प्रदूषण बढाउँछन् ।
हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण ह्वात्तै बढ्ने गर्दछ । यी महिनाहरुमा पानी नपरेर सुक्खा हुने र डढेलो धेरै लाग्ने भएकाले वायु प्रदूषण बढ्ने गरेको छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीहरुलाई बढी प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् । तसर्थ उनीहरु अनावश्यक रुपमा घर बाहिर ननिस्कन वा घर बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न पनि अनुरोध गर्दछन् ।
प्रदूषण |प्रदूषित शहर |वायु गुणवत्ता
प्रतिक्रिया दिनुहोस्