काठमाडौंका मेयर र उपमेयरले पत्याएकाहरुको यो पारा

काठमाण्डौ महानगरपालिकाका मेयर र उपमेयर दुबैको सचिवालय चोरलाई चौतारोजस्तै भएको छ । मेयर सचिवालयका सदस्यमध्ये शहरी योजना आयोगका विज्ञ शैलेन्द्र झाको आय कहालीलाग्दो अंकमा पुगेको बताइन्छ ।
ठूला योजना बनाउने जिम्मेवारी आयोगको हो । तर सोही आयोगमा कोटेशनमा काम गराउने,जथाभावी मान्छे नियुक्त गरेर जनताले तिरेको कर स्वाहा बनाउने खेलले प्राथमिकता पाएको छ । मेयर र उनको विज्ञ समूह सतहमा भ्रष्टाचार विरोधीजस्तो देखिए पनि पछिल्लो समय ऐतिहासिक भ्रष्टाचारमा संलग्न रहेको कर्मचारीहरुको आरोप छ ।




पर्दा पछाडि बसेर कुमार व्यञ्जनकार र घोषित रूपमा सुनिल लम्साल,भुपदेव साहहरूले उक्त भूमिका निर्वाह गरेको बताइन्छ । आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी हुन् तर हर्ताकर्ता चाहिँ शैलेन्द्र देखिन्छन् । शहरी योजना आयोगका सबै कारोबारको जिम्मा भने झाले सम्हाल्ने गरेका छन् । झालाई यसअघि ‘टिच फर नेपाल’ संस्थामा काम गर्दा आर्थिक विवादमा मुछिएपछि त्यहाँबाट हटाइएको थियो ।
अघिल्लो वर्ष महानगरले आयोजना गरेको सीप मेलाको प्रमुख पनि उनै थिए । त्यतिबेला इभेन्ट म्यानेजमेन्टको जिम्मा दिइएको विज्ञापन एजेन्सी सुश्री मिडियाको अनामनगर कार्यालय पुगेर उनले ‘सहमतिको हिसाब’ मिलाएको आरोप लाग्दै आएको छ । आगामी सीप मेलाको संयोजन पनि सोही एजेन्सीलाई दिन खोज्नुले गत वर्षको गम्भीर आरोप पुष्टि हुन लागेको हो ।
यता उपमेयरको सचिवालय प्रमुख सौरभ गौतम पनि झापछि उक्त एजेन्सीमा पुग्नुले सबैलाई झस्काएको थियो । उनीहरुको आवतजावतमा महानगरमा वर्षौंदेखि कोटेशनमा काम हुँदै आएको उक्त एजेन्सीको दाबीले पनि काम गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
महानगरको स्यानिटेसन सुपरभाईजरमा एक दशकअघि प्रवेश गरेका गौतम अहिले करोडौंको मालिक बनिसकेको धेरैको ठहर छ । तर एमालेको तर्फबाट २०८४ को चुनावमा मेयरको प्रत्यासीको रुपमा हेरिएकी उपमेयर डंगोलको सचिवालयमा कार्यरत कर्मचारीहरुको अस्वाभाविक हैसियतले आगामी दिनमा उनैलाई अप्ठेरो पार्ने सम्भावना उत्तिकै छ ।
प्रतिक्रिया दिनुहोस्