काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत

विद्युतीय सवारी करमा शतप्रतिशत छुट

काठमाडौं।  काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम मार्फत विद्युतीय सवारीसाधनमा शतप्रतिशत कर छुट दिने निर्णय गरेको छ। 

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो।

frontline

महानगरका मेयर विद्यासुन्दर शाक्य नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने पनि उल्लेख गरे।

कार्यक्रममा कोभिड -१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। ज्येष्ठ नागरिकको उपचार गर्न १०० बेडको काठमाडौं महानगर विशेष अस्पताल निर्माण गर्ने कार्यक्रममा छ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिने उनले बताए।सरकारको निर्णयनुसार मासिक २० हजार लिटरसम्म खानेपानी खपत गर्ने सेवाग्राहीहरूलाई खानेपानी शुल्क मिनाहा गर्ने उल्लेख छ। सुख्खाक्षेत्रका ग्राहकहरुको वक्यौता रकम मिनाहा गर्ने व्यवस्था मिलाइने शाक्यले बताए।

नाकामा भेहिकल क्लिनिङ सेन्टर 
महानगरपालिकाको उपत्यका भित्रिने सवारीसाधन धुनका लागि भेहिकल क्लिनिङ सेन्टर निर्माण गर्ने योजना छ।

अन्य स्थानीय तहसँग समन्वय गरेर आधुनिक भेहिकल सेन्टर निर्माण गर्ने योजना बनाइएको हो।

चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने महानगरले जनाएको छ।

कोभिडबाट प्रभावित करदातालाई विशेष कर छुट 
बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने उल्लेख छ।

महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने उल्लेख छ। कोभिडबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइनेछ शाक्यले बताए।

‘पौरखी मेला’ देखि ‘रिभल्विङ फण्ड’सम्मको योजना         
ठूला आयोजनामा लगानी गर्न र उक्त आयोजनाहरुबाट प्राप्त हुने लाभको प्रतिफल प्रत्यक्ष रुपमा आम महानगरवासीलाई नै प्रदान गर्न काठमाडौं महानगर बण्ड जारी गर्न आवश्यक कार्य आरम्भ गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।  

‘यस्ता आयोजनाहरूको लागि नेपाल सरकारको स्वीकृति लिई अन्तर्राष्ट्रिय संस्थाहरूबाट प्राविधिक तथा आर्थिक सहयोग जुटाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘काठमाडौं उपत्यकालाई सिङ्गो समृद्ध सहरको रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाइनेछ। ’ 

उपत्यकाका स्थानीय तहहरू, महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरू, स्थानीय समुदाय र उद्योगी तथा व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गरिने पनि नीतिमा उल्लेख छ। ‘महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरुको पुनरुत्थानका लागि ‘रिभल्विङ फण्ड’ को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here