कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिए
१५ कात्तिक, काठमाण्डु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । यसअघि नेपाली कांग्रेससँग गरेको आलोपाले सरकार चलाउने सहमतिअनुसार उनले सोमबार साँझ पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
शाहीले राजीनामा दिएसँगै कर्णालीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।
गत बैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । एमालेले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकार जोगाउनका लागि भएको आन्तरिक सहमतिअनुसार उनले सत्ता हस्तानान्तरण गर्नुपरेको हो ।
कांग्रेस र तत्कालीन एमालेका (माधव नेपाल समूह) सांसदले दिएको विश्वासको मतको आधारमा शाहीले मुख्यमन्त्रीमा निरन्तरता पाएका थिए ।काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो ।
पत्रकार सम्मेलनमार्फत देशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले गठबन्धन फेरबदलका क्रममा भएको सहमति अनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै नेपाली काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको बताए । उनले नयाँ सरकारलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको पनि जिकिर गरे ।
मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्णाली प्रदेशमा ३६ ऐन, ६ अध्यादेश, १० नियमावली, ३६ कार्यविधि र १० निर्देशिका निर्माण गरेको बताए ।
सङ्घीयता कार्यान्वयनका क्रममा आफू नेतृत्वको प्रदेश सरकारको ऐतिहासिक जग बसालेको, सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली तथा भेरी करिडोर राष्ट्रिय प्रसारण लाइनको योजना अगाडि बढाइएको उनले बताए ।
समृद्धिको आधार खडा गरी प्रदेश सरकारले समृद्धिको जग बसालेको बताउँदै उहाँले पर्यटन गुरुयोजना निर्माण, यस प्रदेशका ७१८ वटै वडापालिकामा दुई अर्ब ९६ करोड बजेट परिचालन, सुर्खेत उपत्यका खानेपानीको सम्भाव्यता अध्ययन, विद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, जडीबुटीलगायत क्षेत्रको विकासका योजनाहरू अगाडि बढाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्