एक खर्ब ५२ अर्बका ४६ योजनामा लगानी प्रतिबद्धता (सूचीसहित)

पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधिको क्षेत्रमा लगानी बढाउन सुझाव

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ४६ वटा परियोजनामा १ खर्ब ५२ अर्ब लगानीको प्रतिबद्धता आएको छ । उक्त परियोजनामा सरकार र लगानीकर्ताहरूबिच द्विपक्षीय समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताले हस्ताक्षर गरी समझदारी पत्र हस्तान्तरण गरिएको छ ।

frontline

लगानी सम्मेलनमा कोदोको रक्सी बनाउने उद्योगदेखि व्यावसायिक कृषि फार्म, कृषिमा आधारित उद्योगहरू, बेसार प्रशोधन, छुर्पीदेखि कफी उत्पादनसम्म, जैविक मल उत्पादनदेखि एग्रो टुरिजम र पर्यटनतर्फ बर्जुताल पर्यटकीय क्षेत्र विकाससम्मका परियोजनाका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाइएको छ ।

लगानी प्रतिबद्धतामा हस्ताक्षर भएका परियोजनामध्ये कृषिमा ३ अर्बको ८ वटा, ऊर्जा क्षेत्रमा ८ अर्ब ६२ करोडको ३ वटा, उद्योगमा ६६ अर्ब ८७ करोडका १२ वटा, पूर्वाधारमा ३८ अर्ब ४१ करोडका ९ वटा, आइटी क्षेत्रमा ४७ करोडको २ वटा, वेस्ट मेनेजमेन्टको क्षेत्रमा ६० करोडका २ वटा र पर्यटन क्षेत्रमा ३४ अर्ब १९ करोडको १० वटा परियोजना छन् । सम्झौता भएका परियोजनाहरूमा २७ वटा पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलका छन् भने अन्य निजी क्षेत्रले मात्रै लगानी गर्ने प्रतिबद्धता गरिएको छ ।

लगानीकर्ता केपी सिटौलाले २२ करोड लगानीमा देउमाई कफी फार्मिङ प्रोजेक्ट सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसैगरी टर्मरिक प्रोडक्सन एण्ड प्रोसेसिङ सेन्टर बराह क्षेत्रका सञ्चालक केशव घिमिरेले १९ करोड रुपैयाँ लगानीमा बेसार उत्पादन तथा प्रशोधन परियोजना, गिरिराज बस्नेतले ग्रिनयार्ड एग्रो फार्म सञ्चालन गर्न ४५ करोड रुपैयाँ, इलामकी कुसुम दाहालले ८० करोड रुपैयाँ लगानीबाट एड्भान्सिङ नेप्लिज टी एण्ड कफी प्रोजेक्ट सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यसैगरी नेत्रप्रसाद भण्डारीले १८ करोड लगानीमा छुर्पी प्रोजेक्ट, राजन शर्माले २७ करोड लगानीमा साइट्रस ट्रथ फार्मिङ एण्ड एग्रो टुरिजम, विष्णु अग्रवालले किबी फार्मिङ एण्ड प्रोसेसिङ इन्डस्ट्रिज, ६४ करोड लगानीमा धनकुटा एभोकाडो फार्मिङ प्रोसेसिङ इण्डष्ट्रिज एण्ड एग्रो टुरिजममा लगानी प्रतिबद्धता सम्झौता गरेका छन् ।

विराटनगरका उद्योगी पवनकुमार सारडाले १ अर्ब ६० करोड लगानीमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट सञ्चालन गर्ने, उदयपुरमा राजेन्द्र श्रेष्ठले ५ अर्ब ६० करोड रुपैयाँ लगानीमा एग्रोभल्टिक सोलार प्रोजेक्ट, संखुवासभामा राजन निरौलाले पाँचखपन हाइड्रोपावर कम्पनीबाट १४२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

यस्तै प्रेसिडेन्ट एग्रोटेकमा शम्भुबाबु कोइरालाले २० करोड, शिवशक्ति बायोटेक मोरङमा अनन्तराम खतिवडाले २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट मोरङमा उदय बरालले ११६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस लगानी सम्मेलनमा नयाँ परियोजनाको रूपमा कोदाको रक्सी प्रोजेक्टले प्रदेश सरकारसँग लगानी सम्झौता गरेको छ । कोदोको रक्सी उत्पादन गर्न आवश्यक कानुन निर्माण नभइसके पनि त्यसलाई ब्राण्डिङ गर्दै उत्पादनतर्फ अगाडि बढ्न सोलुखुम्बु तिलिचो पिक फुड एण्ड ड्रिङ्क प्रा.लि.का जनक राईले ४० करोड लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसमा राखेको थियो । त्यसमध्ये ४६ वटा परियोजनामा लगानी प्रतिबद्धता जुटेको सरकारले जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा भएको कोशी प्रदेश लगानी सम्मेलनको समापन समारोहमा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, पूर्वमुख्यमन्त्रीहरू, सरकारका मन्त्रीहरू तथा विशिष्ट पाहुनाहरूको उपस्थिति थियो ।

Lagani Sammelan Bare News (3)
  • ऊर्जा र प्रविधिको विकासमा लगानी गर्न जोड

यसैबिच ऊर्जा, जलस्रोत र डिजिटल प्रविधिको विकासमा जोड दिएरमात्र अब नेपालले समृद्धि प्राप्त गर्न सक्ने विज्ञहरूले बताएका छन् । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको सन्दर्भमा शुक्रबार विराटनगरमा आयोजित ‘पूर्वाधार विकास र ऊर्जा क्षेत्रको भविष्य निर्माण’ विषयक छलफलमा सहभागी विज्ञहरूले औद्योगिकीकरणको परम्परागत तरिका बदल्नुपर्ने बताएका हुन् ।

पूर्वसचिव मनिराज गेलालले दिगो विकासको अवधारणाबाट हेर्दा कोशीको अवस्था सन्तोषजनक रहे पनि अझै समस्या रहेको बताए । सडक, विद्युतीकरणसहित पूर्वाधारको विकास भए पनि आर्थिक विकासमा त्यसले सहयोग गर्न नसकेको उनको भनाइ छ ।

अबको विकासका लागि विराटनगरलाई इटहरी, इनरुवादेखि दमकसम्म कोरिडोर बनाएर विकास गर्नुपर्ने र त्यहाँ व्यापार, पर्यटन र कृषि क्षेत्रको सम्भावना खोज्नुपर्ने गेलालले बताए । त्यसका लागि १ खर्ब ६० अर्ब लगानी गर्नेगरी योजना निर्माण भए पनि कार्यान्वयन प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

सो एकीकृत योजनामा प्रदेश र स्थानीय सरकारले २३ प्रतिशत र संघ तथा दातृ निकायले बाँकी लगानी गर्नेगरी परियोजना बनेको उनले जानकारी दिए ।

नेपाल सरकारका पूर्वसचिव तथा शहरी विकास विज्ञ किशोर थापाले व्यवस्थित सहकारीकरणमा ध्यान पुग्न नसकेको बताए । थोरै लगानीबाट राम्रो प्रतिफल र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले चौथो औद्योगिक क्रान्तिले दिएको त्यो सन्देशलाई ग्रहण गर्न सक्नुपर्नेमा जोड दिए ।

पूर्वाधार मात्र बन्नु विकास नभएको बताउँदै थापाले रोजगारी सिर्जना र जीविकोपार्जन गर्नसक्ने मात्र विकास मान्न सकिने बताए । नेपालमा बढ्दो बसाइसराइ चुनौती बनेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न पहाडी क्षेत्रमा जीविकोपार्जन र रोजगारी बढाउनुपर्ने बताए ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले कोशी प्रदेशमा ३४ हजार मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि अहिलेसम्म ६०० मेगावाट मात्र उत्पादन भएको जिकिर गरे । यसो हुनुमा सरकारको नीति नै बाधक रहेको उनको भनाइ छ ।

कार्कीले प्रचण्ड नेतृत्वको सरकारले भारतसँग गरेको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता र बंगलादेशसँगको विद्युत् व्यापार सम्झौताले नेपालको लागि अपार सम्भावनाको ढोका खोलेको चर्चा गरे । उनले अब सरकारले विद्युत् उत्पादन बढाउन नीतिमा सहजीकरण गर्नुपर्ने बताए । निजी क्षेत्रले अहिले नै १४ खर्ब लगानी विद्युत् क्षेत्रमा गर्न लागेको जानकारी दिँदै उनले २८ हजार ५०० मेगावाटको सरकारी लक्ष्य पूरा गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विराजसिंह थापाले जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिको उचित प्रयोग गर्नसके कोशीले विकासमा फट्को मार्ने बताए । उन जलवायु परिवर्तनको जोखिम कम गर्न नवीकरणीय ऊर्जामा जोड दिनुपर्ने सुझाव दिए ।

अहिले पनि कोशी प्रदेशमा ऊर्जा मागको ७ प्रतिशत मात्र जलविद्युत् प्रयोग भएको तथ्याङ्क पेस गर्दै डा.थापाले विश्वले बन्द गरिरहेको कोइलाको खपत २१ प्रतिशत हुनु गम्भीर रहेको बताए । ऊर्जा क्षेत्रमा देखिएको चुनौतीको हल हाइड्रोजनले मात्र गर्नसक्ने बताउँदै उनले कोशी सरकारले त्यसबारे छलफल थालेकोमा धन्यवाद दिए ।

थापाले नेपालले वार्षिक १८० अर्बको फलाम आयात गर्ने गरेकोमा नेपालमै १५० वर्षका लागि पुग्ने फलाम खानीबाट उत्पादन गर्नेमा भने ध्यान दिन नसकेको बर्त । कार्यक्रमका सहभागीहरूले भने युरेनियम टेक्नोलोजीमा जानुपर्ने, बजेट पूर्वाधारमा मात्र खर्च गर्ने प्रवृत्ति रोकेर रोजगारी सिर्जना, सामाजिक विकास र जीविकोपार्जनमा खर्च गर्नुपर्ने सुझाव दिएका थिए ।

पर्यटनको सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा पर्यटकको ट्रेन्ड फेरिएको बताए । पहिला–पहिला सुविधायुक्त जीवन जिउनका मानिसहरू घुमफिर गर्ने तर अहिले नभोगेको जीवन जिउन गन्तव्यहरू खोज्दै पर्यटकहरू हिँडिरहेको उनको भनाइ छ ।

Mou-Bibaran_page-0001

कोशी प्रदेशकोशी प्रदेश लगानी सम्मेलन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here